Tuesday, April 3, 2018
चौधरी ग्रुपको अरुण इन्टरकन्टिनेन्टलमाथि कारबाही अघि नबढाउन एसएसपीलाई ‘माथि’बाट दबाब
रोशन कार्की
काठमाडौं, चैत १९
विभिन्न बहानामा उपभोक्तालाई वर्षौंदेखि ठगी गर्दै आएको चौधरी ग्रुपका कुनै पनि कम्पनीमाथि सरकारले कारबाही नगर्ने तयारी गरेको गोप्य स्रोतले जनाएको छ । ग्रुपका अध्यक्ष तथा करोडौँ रुपैयाँ तिरेर खरिद गरी सांसद् भएका विनोद चौधरीका भाइ अरुण चौधरीले सञ्चालन गरेको अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्सले उपभोक्ता ठगी गरेको प्रमाणसहित सरकारी निकायले कारबाहीका लागि पत्र नै पठाएको भए पनि अहिलेसम्म कुनै कारबाही सरकारले गरेको छैन ।
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गत पुस १७ गते महानगरीय प्रहरीपरिसर ललितपुरलाई उक्त ट्रेडर्सले उपभोक्ता ठगेको भन्ने प्रमाणसहित कारबाहीका लागि पत्राचार गरेको थियो । पत्रअनुसार उक्त ग्रुपका सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान गर्नुपर्नेमा अहिलेसम्म कुनै कारबाही हुन नसकेको एक प्रहरी अधिकृतले जनाएका छन् । महानगरीय प्रहरीपरिसर ललितपुरका एक प्रहरी अधिकृतले नाम नलेख्ने शर्तमा भने, ‘कारबाहीका लागि विभागबाट पत्र आएको हो, सो सम्बन्धमा सम्बन्धित पक्षलाई बोलाएर अनुसन्धान गर्ने तयारी गरिरहँदा, माथिबाट दबाबसहितको फोन आएपछि सबै कार्य अहिले स्थगित भएको छ, जबसम्म मन्त्री र नेताबाट फोन आउँछ तबसम्म कुनै कारबाही गर्न सकिँदैन ।’
विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार विभागको टोलीले अनुगमनमा भेटिएका कैफियतबमोजिम ठगीको मुद्दा दर्ताका लागि पञ्जिकासहितको फाइल महानगरीय प्रहरीपरिसर ललितपुर पठाइसकिएको छ । दाहालले भने, ‘आफूहरूले पठाएका कागजपत्रहरू नै ठगी मुद्दामा कारबाहीका लागि पर्याप्त छ, हामीले आवश्यक अनुसन्धानपछि प्रहरीपरिसरमा कारबाहीका लागि पठाएका हौँ ।’ चौधरी ग्रुपको लगानीमा सञ्चालन भएका सबै कम्पनीहरुले कहीँ न कहीँबाट उपभोक्तालाई ठगी गरेको भन्दै कारबाहीका लागि पत्र पठाएको लामो समय बितिसक्दा समेत सो समूहको ठगी धन्दामा कुनै नियन्त्रण हुनसकेको छैन ।
उपभोक्ता ठगी गरेको ठहरसहित विभागले २०७४ पुस १७ गते चलानी नम्बर ५५९, पत्रसंख्या ०७४÷०७५ को पत्र महानगरीय प्रहरीपरिसर ललितपुरलाई पठाएको थियो । विभागले ‘कारबाहीको लागि पठाइएको सम्बन्धमा’ भन्दै सो ट्रेडर्समा अनुगमन गर्दा मारुती अल्टो ८०० एसटीडी गाडीमा विज्ञापन खर्च ९६ हजार, प्रशासनिक र तलबखर्च ३६ हजार र पेट्रोल, मोबिल, हिटर, फिटिङ, एसेसरिज, डेलिभरीलगायत अन्य खर्च समेत जोडेर उपभोक्ता ठगी गरेको ठहरसहित कारबाहीका लागि पत्राचार गरेको थियो ।
सो पत्र प्राप्त भएपछि सोही मितिमै सो पत्रबमोजिम लेखी पठाउनका लागि निर्णयार्थ पेश गरेको भन्दै निर्देशन दिएको भए पनि सोहीअनुसार कुनै कारबाही भने अहिलेसम्म हुनसकेको छैन । सो कम्पनीका मालिक चौधरीले विभिन्न उपहार योजना र छुट योजनासहित अग्रिम बुकिङ गरेमा छुट दिने भन्दै उपभोक्तालाई समेत झुक्याउँदै ठगी गरेको छ ।
गत महिना सम्पन्न अटो मेलामा सो कम्पनीले उपभोक्तालाई विभिन्न छुटको लोभ देखाउँदै गाडी बुकिङ गर्न लगाएको भए पनि गाडी भने अहिलेसम्म कसैलाई पनि दिएको छैन । बुकिङ गर्ने उपभोक्ता गाडी लिन गएको खण्डमा अतिरिक्त ८० हजारदेखि एक लाख ५५ हजार छ सय रुपैयाँसम्म माग गर्ने गरेको गुनासो उपभोक्ताहरुको छ । सो रकम नदिएसम्म कुनै पनि गाडी नदिने गरेको पीडित पक्षहरु बताउँछन् ।
विभागले अनुगमनका क्रममा तयार पारेको मुचुल्का र अन्य आवश्यक कागजात प्रहरीलाई बुझाइसकेको छ भने ठगीको मुद्दामा थप अनुसन्धान गर्न आवश्यक देखिए सोहीअनुसार अगाडि बढ्न पत्रमा उल्लेख छ ।
विभागले महानगरीय प्रहरीपरिसर ललितपुरलाई पठाएको पत्रमा अरुण इन्टरकन्टिनेन्टलका सञ्चालकलाई ठगीको मुद्दाअनुसार पक्राउ गरी कारबाही गर्नुपर्ने उल्लेख गरेको छ । ललितपुरस्थित उक्त कम्पनीले मारुती अल्टो ८०० एसटीडी गाडीमा प्रतिगाडी विज्ञापन खर्च ९६ हजार, प्रशासनिक र कर्मचारी तलब खर्चका रूपमा ३६ हजार रुपैयाँ उपभोक्तालाई तिर्न लगाई ठगी गरेको जनाएको छ ।
यसैगरी कम्पनीले उपभोक्तालाई बैंक ब्याजसमेतको रकम प्रतिगाडी २७ हजार पाँच सय रुपैयाँ तिर्न लगाएको दाबी सो मुद्दामा उल्लेख छ । चौधरीले उसैको शोरुममा पार्क गरेको शुल्कमार्फत २० हजार रुपैयाँ समेत उपभोक्ताबाट असुली गर्दै आएको छ । सो सम्बन्धमा पटक–पटक ट्रेडर्सका कार्यकारी निर्देशक करण चौधरीसँग सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् ।
कालोबजारी तथा अन्य केही अपराध तथा सजाय ऐन २०३२ अनुसार अतिरिक्त २० प्रतिशतसम्म रकम जोडेर वस्तु बिक्री गर्दा कालोबजारी गरेको ठह¥याइने उल्लेख छ । तर सो कम्पनीले विज्ञापन र प्रशासनिक खर्चलगायत फरक–फरक शीर्षकमा शुल्क लिँदै गाडी बिक्री कार्यलाई तीव्रता दिएको छ ।
सो कम्पनीले सञ्चालन गरेको व्यवसायको पुँजी कम भएको तथा प्यान दर्ता प्रमाणपत्रमा कारोबार प्रस्ट नभएको विभागले दाबी रहेको छ । ऐनअनुसार मालवस्तुको उत्पादक, आयातकर्ता वा मुख्य वितरकले निर्धारित मोलभन्दा बढी मोल लिई कसैले कुनै मालवस्तु बिक्री गर्न पाइँदैन । कसैले यस्तो कार्य गरेमा सो मालसामान लिएको मोल फिर्ता गराई सो मालवस्तु जफतसहित त्यस व्यक्तिलाई १० वर्षसम्म कैद तथा र जरिवानासमेत हुनसक्ने व्यवस्था छ । सोही ऐनले कुनै मालवस्तुको व्यापार गर्ने व्यक्तिले मालवस्तु र व्यापारको प्रचलनअनुसार सामान्यतया २० गुणाभन्दा बढी मुनाफा लिएमा वा अभावको लाभ उठाई सो मालवस्तुको अनुचित नाफा लिई बिक्री गरेमा त्यस व्यक्तिलाई पाँच वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ । सोही कारबाहीबाट बच्नका लागि चौधरी ग्रुपले शक्ति केन्द्रको प्रयोग गर्दै कारबाहीलाई रोक्न दबाब दिँदै आएको छ । चौधरी समूहले सो कारबाही रोक्नका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता, एमालेका वरिष्ठ नेतादेखि सुरक्षा निकायसमक्ष हारगुहार गरिरहेको छ ।
विभागले कारबाहीका लागि पत्र पठाएको महानगरीय प्रहरीपरिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गणेशबहादुर ऐरले जानकारी दिँदै भने, ‘सो कम्पनीलाई ठगी मुद्दामा कारबाहीका लागि दुईपटक पत्राचार गरेको र सोही पत्रका आधारमा अनुसन्धान भइरहेको छ, अनुसन्धान सकिएपछि दोषी देखिए ठगी मुद्दाका लागि कारबाही अगाडि बढाइनेछ ।’ तर, वरिष्ठ प्रहरी उपरीक्षक ऐरले सो कुरा बताए पनि उनीमाथि ‘माथि’को शक्तिकेन्द्रबाट अनुसन्धानलाई औपचारिकतामात्र दिन भन्दै दबाब आएको एक सुरक्षाकर्मीले नाम नलेख्ने शर्तमा बताए ।
Subscribe to:
Post Comments (Atom)
सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ
रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...
-
रोशन कार्की काठमाडौं । तारे होटल तथा विभिन्न ठाउँमा सञ्चालनमा रहेका क्यासिनो (जुवाघर) सञ्चालकले सरकारलाई बुझाउनु पर्ने कर, बक्यौता र नव...
-
रोशन कार्की काठमाडौं । नेपालको मात्रै नभएर विश्वकै अर्बपतिहरुको सुचीमा परेका चौधरी ग्रुपका अध्यक्ष विनोध चौधरीको ठगीधन्धाको विवरण आउनेक्रम...
-
रोशन कार्की काठमाडौं । तीन वर्षअघि गएको महाविनाशकारी भूकम्पबाट घरबारविहीन भएका पीडितहरुले ऋण गरेर पक्की घर बनाउने कार्यमा तीव्रता आएसँगै...
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.