Monday, June 6, 2011

थप तीन करदाता सेवा कार्यालय सञ्चालनमा




करदाताको घरदैलोमा सेवा पु¥याउने उद्देश्यले आन्तरिक राजस्व विभागअन्तर्गत थप तीनवटा करदाता सेवा कार्यालय सञ्चालनमा आएका छन् । चाबहिलको चुच्चेपाटी, गौशाला र नयाँ बानेश्वरमा सेवा कार्यालय स्थापना गरिएको हो । चुच्चेपाटीस्थित करदाता सेवा कार्यालयको उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले सोमबार उदघाट्न गरे । गत साता न्युरोड, ठमेल र महाराजगञ्जमा तीनवटा करदाता कार्यालय स्थापना गरी सञ्चालनमा आइसकेका छन् ।
कर कार्यालयको उद्घाटन गर्दै अर्थमन्त्री अधिकारीले कार्यालयको स्थापनाले विस्तारै नेपालको राजस्व प्रशासन पनि विश्वस्तरको मापदण्डमा जान सहयोग पुग्ने बताए । उनले राजस्व प्रशासनबारे चेतना र शिक्षा फैलाउन यसले सहयोग पुग्ने बताए ।
उनले राजस्व मारेर कोही पनि धनी नहुने भन्दै कानुनअनुसार राजस्व बुझाएर कारोबार गर्ने निजी क्षेत्रलाई सरकारले प्रोत्साहन गर्दै जाने बताए ।
कार्यक्रममा राजस्व सचिव कृष्णहरि बास्कोटाले कर प्रशासनमार्फत सरकारी सेवाप्रति आम मानिसमा परेको छाप हटाउन सहयोग पुग्दै गएको बताए । आन्तरिक राजस्व विभागका महानिर्देशक राजन खनालले करदाता सेवा कार्यालयको स्थापनाले करदाताको लागत पनि कम हुने बताए । कार्यालयको स्थापनापछि कर परीक्षण र कर अनुसन्धानको काम कर कार्यालयहरूले गर्ने र सेवा कार्यालयहरू दर्ता र संकलनको मात्रै काममा केन्द्रित हुने बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कर तथा राजस्व परामर्श समितिका सभापति जगदीशप्रसाद राठीले कर छली गर्नेलाई कानुनअनुसार कारबाही गर्ने अधिकार सरकारलाई भए पनि छापा मार्ने नाममा त्रास फैलाउन नहुने बताए ।
जनताको घरदैलोमा कर प्रशासन पुगी राजस्व असुलीलाई बढावा दिन गत वर्षको बजेटले काठमाडौं उपत्यकामा १३ र उपत्यकाबाहिर १३ गरी २६ वटा करदाता सेवा केन्द्र थप गर्ने लक्ष्य लिएको थियो । बजेटले काठमाडौं उपत्यका, धनकुटा, सुर्खेत, बागलुङ र जुम्लामा करदाता सेवा केन्द्रहरू र बुटवलमा आन्तरिक राजस्व कार्यालय स्थापना गर्ने नीति लिएको थियो । त्यसअनुसार गएको साउन १ देखि बुटवलमा आन्तरिक राजस्व कार्यालय स्थापना भई कार्य सञ्चालन भइसकेको छ ।
आन्तरिक राजस्व विभागका अनुसार यही वैशाखभित्र थप चार करदाता सेवा कार्यालय स्थापना हुनेछन् । असार मसान्तसम्ममा काठमाडौंभित्र स्थापना गर्ने १३ करदाता सेवा कार्यालयहरू सञ्चालनमा आउने विभागले जनाएको छ । आगामी आवभित्रमा उपत्यकाबाहिर समेत सबै स्थानमा करदाता सेवा कार्यालयहरू स्थापना गरिनेछन् ।
सेवा कार्यालयहरूको स्थापनाबाट सेवाको गुणस्तर र दायरा विस्तार हुने विभागले जनाएको छ । यसले करदाता र कर प्रशासनबीचको दूरी घटाउनुका साथै कर सहभागिता लागत खर्चमा कमी ल्याउनेछ ।
सेवा कार्यालयहरूले करदाताको सन्तुष्टिप्रति विशेष ध्यान दिई प्रवाहमा सुधार र परिमार्जन गर्दै गुणस्तरीय सेवाको प्रत्याभूति गर्नेछन् । करदाता सेवाबाट स्वेच्छिक कर सहभागिता नगर्ने वा करको चुहावट गर्ने करदाताको पहिचान गरी कर परीक्षण र अनुसन्धानको माध्यमबाट कर कानुनको परिपालना गराउने लक्ष्य विभागले लिएको छ ।
करदाता शिक्षा कार्यक्रम सञ्चालन गरी स्वेच्छिक कर सहभागिता वृद्धि गर्ने कार्यमा करदाता सेवा कार्यालयहरू केन्द्रित रहने विभागले जनाएको छ । करदाता सेवा कार्यालयपरिसरमा बैंकिङ सेवा उपलब्ध गराउने गरी बैंक काउन्टरको व्यवस्था गरिएको छ ।

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...