रक्तचन्दन तस्करीः कर्णेललाई काराबास
काठमाडौं। रसुवाको केरुङ नाकाबाट प्रतिबन्धित रक्तचन्दन तस्करी गर्न मतियारको भूमिका निर्वाह गर्ने नेपाली सेनाका कर्णेल रामजी थापा जेलमा छन्। एउटै प्रकृतिको गल्तीमा दुई सरकारी निकायका अधिकृतलाई फरक फरक कारबाही भएको छ, रसुवाको रक्तचन्दन प्रकरणमा। रसुवाको अहिरदमन गणका कर्णेल थापालाई सेनाले कोर्टमार्सल नै गरिसकेको छ। तर सोही अभियोग लागेका रसुवाका तत्कालीन डीएसपी ओमबहादुर रानामगरलाई नेपाल प्रहरीले राजनीतिक दवावमा सामान्य कारबाहीमात्र गरी उन्मुक्ति दिएको छ। गृहमन्त्रालयले प्रहरी कितावखानाका महानिर्देशक नारायण संजेलको संयोजकत्वमा गठन गरेको छानबिन समितिले रक्तचन्दन तस्करीमा रसुवाका डीएसपी राना, सेनाको अहिरदमन गणका गणपति कर्णेल रामजी थापाको मूख्य संलग्नता रहेको प्रतिवेदन बुझाएको थियो। तर सेनाका कर्णेल जेल परेको महिनौं भइसक्दा पनि नेपाल प्रहरीले रक्तचन्दन प्रकरणका दोषी रानामगर, नुवाकोटका डीएसपी बालकृष्ण थापामाथि कारबाही गरेको जानकारी दिएको छैन।
गृहको छानबिन समितिले नुवाकोटका डीएसपी बालकृष्ण थापा कर्तव्यपालनमा उदासिन देखिएकोले उनलाई समेत कारबाही गर्नुपर्ने उल्लेख गरेको छ। नेपाल प्रहरीले आन्तरिक रुपमा छानबिन गर्दा पनि दुवै डीएसपी दोषी देखिए पनि नेपाल प्रहरीले अहिलेसम्म उनीहरूमाथि कारबाही नगरी तल्ला तहका आदेश तामेली गर्नेहरूलाई मात्र कारबाहीको प्रक्रिया अगाडि बढाएको प्रहरी सूत्रले बतायो। प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो–'रक्तचन्दन तस्करीमा मूल रुपमा जिम्मेवार डीएसपीद्वय राना र थापालाई उन्मुक्ति दिएर मातहतका कनिष्ट अधिकृतहरूलाई फसाउन खोजिएको छ। यो घटनाले लोकतन्त्रमा पनि सानालाई ऐन ठूलालाई चैन भन्ने लोकोक्ति नेपाल प्रहरीमा लागू भएको छ।'
गृहको छानबिन समितिले विभागीय कारबाही गर्न सिफारिस गरे पनि डीएसपी रानालाई ग्रेड घटुवा गरी जोगाइएको छ। नुवाकोटका डीएसपी थापा ससम्मान अद्यापि इन्चार्जकै रुपमा कार्यरत छन्। उनलाई सचेत समेत गराउने आवश्यकता प्रहरी संगठनले ठानेको छैन। संजेलको नेतृत्वको ३ सदस्यीय छानबिन समितिमा नेपाल प्रहरीबाट एसएसपी रमेश फुयाँल र राष्ट्रिय अनुसन्धान विभागबाट एसएसपी राजु अर्याल सदस्य थिए। समितिले स्थलगत निरीक्षण गरी २५ दिनमा प्रतिवेदन दिएको थियो। सो रक्तचन्दन सेनाको ब्यारेक हुँदै पास भएको थियो। तर चन्दन रसुवा जाने नाकाका डीएसपी बालकृष्ण थापामाथि कुनै कारबाही भएको छैन। समितिका संयोजक संजेलले भने–'रसुुवाबाट रक्तचन्दन चीनतर्फ निकासी गराउन मूलरुपमा डीएसपी राना र गणपति थापा नै संलग्न देखिन्छन्। उनीहरूलाई सघाउनेमा कनिष्ट प्रहरी अधिकृतहरू पनि छन्। नुवाकोटका डीएसपीको पनि लापरबाही देखिएको छ। नुवाकोट ट्राफिकका सईले रक्तचन्दन बोकेको ट्रकको नम्बर नै इन्ट्री नगरेको पाइयो।'
प्रहरीमा मत्स्यन्याय
गृहमन्त्रालयको छानबिन समितिले रसुवाबाट रक्तचन्दन तस्करीमा मूलरुपमा प्रहरीका डीएसपी राना र सेनाका कर्णेल थापा संलग्न रहेको कुरा प्रतिवेदनमा उल्लेख गरी उनीहरूमाथि कारबाही गर्न सिफारिस गरेको छ। तर प्रहरी प्रमुख आईजीपी रविन्द्रप्रताप शाहले मुख्य दोषीलाई जोगाएर तल्ला तहका आदेशपालकहरूलाई कारबाही गर्न लागेको प्रहरी सूत्रले जनाएको छ। सूत्रका अनुसार ती निरीह सई, असईहरूलाई कारबाहीका लागि १ नम्बर गणमा ल्याइसकिएको छ।समितिले सईहरू रामबहादुुर कार्की, राजु पौडेल, निलकन्ठ चौलागाई, असईद्वय शिव साह हलुवाई र गोरे लामाले रक्तचन्दन पार गराउन सघाउ पुर्याएको कुरा प्रतिवेदनमा उल्लेख छ। यी मध्ये कार्कीले अवकाश पाइसकेका छन् भने अरुलाई कारबाहीका लागि प्रहरी प्रधान कार्यालयले १ नम्बर गणमा तानिसकिएको छ। नुवाकोट ट्राफिकका असई पूर्णबहादुर अधिकारीले रक्तचन्दन बोकेको ट्रकको नम्बरसमेत इन्ट्री नगरी लापरबाही गरेको उल्लेख गरिएको छ। गृहको समितिलाई नुवाकोटका डीएसपी थापाले दिनमा कयौं ट्रक ओहोरदोहोर हुने भएकाले कसले के लान्छन् हेरेर साध्य नहुने जवाफ दिएका थिए।
सवारी साधन चेकजाँच गर्ने जिम्मेवारी लिएका नेपाल प्रहरीका डीएसपी थापाको गैरजिम्मेवार जवाफले अवैध सामान ओसारपसार भए पनि प्रहरीले चेक गर्नेरहेनछ भन्ने कुरा उजागर भएको छ। सवारी साधनको नम्बर इन्ट्री गर्न ड्युटीमा बसेको असईले लापरबाही गरेका हु्न् कि हाकिमको आदेशमै नम्बर इन्ट्री नगरेका हुन् भन्ने कुरातिर छानबिन समितिले गहिराइमा नपुगी प्रतिवेदनमा अधिकारीलाई दोषी देखाइएको प्रहरी स्रँेत बताउँछ। चेन अफ कमाण्डमा चल्ने प्रहरी संगठनमा सई र असईहरूले डीएसपीको आदेश पालना गर्दा उल्टै दोषको भागी हुनुपरेको छ।
तातोपानी नाकामा हुँदा सुनकाण्ड लागेका नुवाकोटका डीएसपी थापाको नक्कली प्रमाणपत्रबारे सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यता पेश गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरे पनि विशेषले उनलाई सफाइ दिएपछि सर्वोच्चमा पुनरावेदन गरेको छ। यस्ता आचरणविपरीत काम गरेका डीएसपी थापालाई नुवाकोटमा जिल्ला प्रमुख बनाउदा नै विरोध भएको थियो। तर दामकाम मिलाएर उनी रक्तचन्दन प्रकरणमा पनि हेडक्वार्टरमा तानिएनन्। तर उनको सट्टा निरीह असई अधिकारीलाई हेडक्वार्टरले कारबाही गर्न लागेको छ। निरंकुश राजतन्त्रकालीन समयमा माथिल्ला हाकिमलाई जोगाउन सानालाई दोषी बनाउने गरेको कुरा लोकतान्त्रिक भनिएको सरकारका पालामा पनि देखिएको गुनासो कारबाहीमा परेका सई असईका आफन्तहरूले गर्न थालेका छन्।
सेनाका कर्णेललाई कारबास संजाय भइसकेको तर उत्तिकै दोषी डीएसपी रानालाई जोगाइएकोबारेमा प्रहरी प्रवक्ता डीआइजी विनोद सिंहले यस्तो प्रतिक्रिया दिए–'गृह मन्त्रालय र प्रहरीले गरेका छानबिनका रिपोर्टहरू आइसकेको र कानुन शाखाबाट कारबाहीको प्रक्रियामा गएको छ।'
रसुवाकाण्डमा जस्तै मत्स्यन्याय प्रहरीभित्र तातोपानी रुटबाट भएको रक्तचन्दन तस्करी प्रकरणमा पनि देखिएको छ। भक्तपुरको जगाते, काभ्रे हुँदै तातोपानी नाकाबाट चीनतर्फ लैजान लागेको रक्तचन्दन पटक पटक बरामद भएको छ। तर २०६८ साउन १५ गते पाँचखालमा बरामद भएको रक्तचन्दन प्रकरणमा जगाते प्रभागका इन्स्पेक्टर केशव थेवे, धुलिखेल चौकीका इन्चार्ज र स्वयं काभ्रेका डीएसपीलाई जोगाइयो। र, रक्तचन्दन पार गराउन तस्करसँग मिलेको आरोपमा प्रहरी हवल्दार भीमसेन आचार्य, कृष्ण बस्नेत र जवान सिद्धी कार्कीलाई थुनियो।
काभ्रेका असई पूर्ण गुरुङ पनि वागमती अन्चल प्रहरीमा कारबाहीका लागि तानिए। बाह्रबिसे नजिकै सखुवामा बरामद भएको रक्तचन्दन पार गराउन जगाते प्रभागका इन्स्पेक्टर थेवेले ५० हजार रुपैयाँ घुस लिएको कुरा त्यतिबेलै सार्वजनिक भएको थियो। इन्स्पेक्टर थेवेेले उक्त ट्रक आउने बेलामा नम्बर इन्ट्री गर्न बसेका प्रहरीलाई कार्यालयमा बोलाई ट्रक पार भएपछि मात्र पठाएर पछि मात्र उक्त ट्रकको नम्बर आफैं टिपाएको कुरा त्यतिबेला निकै चर्चामा आए पनि राजनीतिक दबाबका कारण उनीमाथि कुनै कारबाही भएन।
साउन १५ गते पाँचखालमा बरामद भएको रक्तचन्दन काण्डमा जगातेका इन्स्पेक्टर थेवेलाई जोगाइयो, सोझा सई चन्द्र मानन्धर निलम्बन परे। यो काण्डमा डीएसपी सुरेन्द्र मैनालीको हात थियो भन्ने कुरा उनकै सिपाही कार्कीले थुनाबाटै सार्वजनिक गरेको समाचार सार्वजनिक भइसकेको छ। उनकै आदेशमा पूर्ण रक्तचन्दन पार गराउन गएका भए पनि पछि सिद्धी कार्कीले उक्त रक्तचन्दन पक्राउ गर्न पाँचखालका सई बच्चुराम फुयाल, हवल्दार तिर्थराम सिलवाल र सिपाही फुर्वा लामा र रमेश महतारालाई सघाए। सिपाही कार्कीलाई रक्तचन्दन समातेकोमा पुरस्कृत गर्नुपर्नेमा उल्टै डीएसपीले फसाएको गुनासो कार्कीले गर्दैआएका छन्।
तातोपानीमा जोखिम बढेपछि रसुवा
तातोपानी नाकाबाट रक्तचन्दन चीनतर्फ पार गराउन निकै जोखिम मोल्नुपरेकाले कारबारीहरूले रुट बदलेर रसुवाको केरुङ नाकाबाट चीनतर्फ रक्तचन्दन लान सुरु गरेका थिए। रक्तचन्दन तस्करीमा लागेको गोपाल श्रेष्ठ, रुद्र तिमिल्सिनाको समूहले रसुवाको रुट हुँदै चीनतर्फ धेरै रक्तचन्दन पार गराउन नपाउँदै तस्करी प्रकरण सार्वजनिक भयो। यही समूहले २०६८ बैशाख अन्तिम साता ना ३ ख २८९४ नं.को ट्रकबाट उक्त रक्तचन्दन रसुवाको केरुङ नाकाबाट चीनको स्वशासित क्ष्ँेत्र तिब्बततर्फ निकासी भएको थियो। २० लाख बराबरको रक्तचन्दन सेनाको ब्यारेक हुँदै लगे पनि कर्णेल थापाले मौनता साँधेको र त्यसमा जिल्लाको प्रशासन, प्रहरी र सेनाको मिलेमतो रहेको कुरा लाङटाङ राष्ट्रिय निकुन्जका वार्डेनले रहस्य खोलेका थिए। बेत्रावती, कालिकास्थान, धुन्चे, स्याफ्रूबेसी, टिम्बुरबोटे र रसुवागढी नाकाबाट प्रहरी–सेनाको मिलेमतोमा रक्तचन्दन पास गराउने तस्करहरूको योजना पनि गणपतिमाथिको कारबाहीपछि तुहिएको थियो। एकपटक हेलिकोप्टरबाट समेत रसुवाको थुम्मनमा रक्तचन्दन झारिएको समाचार सार्वजनिक भएको थियो। भारतमा हुने रक्तचन्दन नेपालको बाटो हुँदै चीनतर्फ निकासी हुने गरेको छ। चीनमा यो प्रतिकिलो ९ हजार रुपैयाँमा बिक्री हुने भएकाले यसको ओसारपसारमा राजनीतिक दलका नेता, गुण्डा र प्रहरी प्रशासनको ठूलो चलखेल हुने गरेको विभिन्न स्रोतहरूको भनाइ छ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.