फेरि ५ सय ६० करदाता राजस्वको छानबिनमा
आन्तरिक राजस्व विभागले कारोबार नमिलेका ५ सय ६० करदातालाई शंकास्पद ठहर्याई छानबिन गर्न निर्देशन दिएको छ । बिक्रेताको विवरणमा बढी परिमाणमा सामान बेचेको देखिए पनि कम सामान खरिद गरेको विवरण पेस गर्ने करदातामाथि छानबिन गर्न निर्देशन दिइएको हो । मूल्य अभिवृद्धि कर (भ्याट) को नक्कली बिलको अनुसन्धान अन्तिम चरणमा पुगेका बेला विभागले अर्को अनुसन्धान सुरु गर्न लागेको हो । ठूला करदाता कार्यालयमा १ लाख रुपैयाँ भन्दा बढीको तथा अन्य कार्यालयमा आबद्ध करदाताले ५ लाख रुपैयाँ भन्दा बढीको खरिद/बिक्रीको विवरण स्वचालित प्रणालीमा रिपोर्टिङ गर्नुपर्छ । विभागले गत आर्थिक वर्षदेखि यस्तो व्यवस्था गरेको हो । यस्तो प्रणालीका कारण मुलुकमा जहाँसुकै खरिद गरिएका ५ लाख रुपैयाँ भन्दा बढीको कारोबार विवरण पनि विभागको प्रणालीमा रेकर्ड हुन्छ ।
जस्तो 'क' नामको करदाताले ५० लाख रुपैयाँको सामान 'ख' कम्पनीलाई बिक्री गरेको रिपोर्टिङ आन्तरिक राजस्वलाई गर्यो । तर 'ख' कम्पनीले निकै कम मात्र सामान खरिद गरेको देखिएको भए अनुसन्धानको दायरामा पर्ने छन् । 'बिक्रेताले करोड रुपैयाँ भन्दा बढीको सामान एउटै खरिदकर्तालाई बेचेको रिपोर्टिङ गरेको छ,' महानिर्देशक टंकमणि शर्माले भने, 'तर खरिदकर्ताले चाहिँ वाषिर्क कारोबार नै २० लाख रुपैयाँ भन्दा कम देखाएको पनि फेला पर्यो । 'विभागले गत आर्थिक वर्ष २० लाख रुपैयाँ भन्दा बढीको कारोबार गर्ने करदाताको खरिद बिक्री भिडाएर नमिलेकालाई छानबिन गर्ने सूचीमा राखेको छ । यसमा १ हजार ७ सयभन्दा बढी करदाताको खरिद र बिक्रीको विवरण नमिलेको फेला परेको छ ।
पहिलो चरणमा ५० लाख रुपैयाँ भन्दा बढीको खरिद बिक्री देखिएका कम्पनीलाई छानबिनको दायरामा पारिएको शर्माले बताए । 'पहिलो चरणको छानबिन सकिएपछि दोस्रो चरणमा अरूको पनि छानबिन हुन्छ,' उनले भने । बिक्रेताले करोड रुपैयाँ भन्दा बढीको सामान बिक्री गरेको रिपोर्टिङ गरे पनि कतिपय खरिदकर्ताले वाषिर्क कारोबार २० लाख रुपैयाँ भित्र देखाएर मूल्य अभिवृद्धि कर -भ्याट) मा दर्ता भएका छैनन् । यस्ता करदातालाई छानबिन पछि कारबाही गर्नुका साथै भ्याटमा दर्ता गरिने पनि उनले बताए । छानबिनबाट छली भएको राजस्व जरिवाना र ब्याजसहित असुली हुनुका साथै छली निरुत्साहित हुने शर्माले दाबी गरे ।
काठमाडौ, माघ ६ -
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.