डलर बलियो हुँदा राजस्व असुली बढ्यो
काठमाडौ, असार ५ -
अमेरिकी डलरको तुलनामा रुपैयाँ कमजोर भएकाले राजस्व असुली वृद्धि भई चालू आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य पूरा हुने सम्भावना बढेको छ । डलरमा आयात भएका सामानको लागत नेपाली रुपैयाँमा हिसाब गरी राजस्व असुली गरिने भएकाले डलर वृद्धि हुँदा राजस्व बढेको हो । जेठमा लक्ष्यभन्दा १ अर्ब ५१ करोड रुपैयाँ बढी राजस्व संकलन भएको छ । १९ अर्ब ३७ करोडको लक्ष्य थियो । दुई साता बन्द हडतालमा बिते पनि डलर बढेकैले लक्ष्यभन्दा बढी संकलन भएको हो । वैशाखसम्म लक्ष्यभन्दा २ अर्ब ४७ करोड रुपैयाँ कम असुली भएको थियो । जेठको वृद्धिले चालू आर्थिक वर्षको राजस्व्ा वृद्धिदर २० प्रतिशत पुगेको छ । असारको लक्ष्य २९ अर्ब ८५ करोड रुपैयाँ छ । असारको लक्षसँगै वर्षभरिको लक्ष भेट्न ११ महिनाको नपुगे ९६ करोड पनि संकलन गर्नुपर्ने छ । 'अब राजस्व संकलनको लक्ष्य पूरा हुने करिब निश्चित भएको छ,' अर्थ सचिव कृष्णहरि बाँस्कोटाले भने ।
बाँस्कोटाका अनुसार चालू आर्थिक वर्षको ११ महिनामा २ खर्ब १० अर्ब ९६ करोड रुपैयाँ असुली भएको छ । गत आर्थिक वर्षको उक्त अवधिमा १ खर्ब ७५ अर्ब ८६ करोड रुपैयाँ राजस्व असुली भएको थियो । गत वर्षभन्दा ३५ अर्ब १० करोड रुपैयाँ बढी राजस्व असुली भएको छ । चालू आवमा मूल्य अभिवृद्धि कर -भ्याट), आयकर र भन्सार महसुल लक्ष्यभन्दा बढी असुली भएको छ । भ्याट ६३ अर्ब ७८ करोड असुली गर्ने लक्ष्य राखिएकामा ६४ अर्ब ७८ करोड असुली भएको छ । यसैगरी आयकर ४० अर्ब २२ करोड असुली गर्ने लक्ष्य राखिएकोमा ४१ अर्ब ९७ करोड रुपैयाँ उठेको छ । साथै, ३७ अर्ब ५ करोड असुली गर्ने लक्ष्य राखिएकोमा .३८ अर्ब ४७ करोड रुपैयाँ भन्सार महसुल संकलन भएको छ । तर, अन्तःशुल्क, रजिस्ट्रेसन दस्तुर, सवारी साधन कर र गैरकर राजस्वमा लक्ष्यअनुसार राजस्व असुली हुन सकेको छैन । गैरकर २६ अर्ब ७१ करोड, रजिस्ट्रेसन दस्तुर, ३ अर्ब ५८ करोड र सवारी कर ३ अर्ब ४९ करोड असुली भएको छ भने यस अवधिमा गैरकर राजस्वतर्फ ३१ अर्ब ९८ करोड रुपैयाँ असुली भएको छ ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.