Sunday, March 3, 2013

टंकमणि शर्मा
महानिर्देशक, आन्तरिक राजश्व विभाग  --
नेपालको प्रशासनमा टंकमणि शर्मा 'ब्राण्ड' बनिसकेका छन्। देशका महत्वपूर्ण विभागहरूको जिम्मेवारी पाउने थोरै प्रशासनमध्ये एक उनले एक सफल महानिर्देशकको रुपमा आफ्नो ब्राण्ड स्थापित गरेका छन्। सहकारी विभाग, राजश्व अनुसन्धान विभाग, भन्सार विभाग हँदै विगत १४ महिनादेखि उनी आन्तरिक राजश्व विभागमा महानिर्देशकका रुपमा कार्यरत छन्। यसरी लगातार महत्वपूर्ण विभागको जिम्मेवारी पाउने भाग्यमानी मात्र नभई आफूलाई एक जना सफल प्रशासकको रुपमा पहिचान बनाउन सफल भएका छन्। 
सबै विभाग उत्तिकै महत्वपूर्ण भए पनि आन्तरिक राजश्ज विभागको महानिर्देशकका रुपमा भने आफूले थप बढी जिम्मेवारी महसुस गरेको शर्मा बताउँछन्। 'देशको  समग्र अर्थतन्त्रको निगरानी गर्नुपर्छ' शर्मा भन्छन्, 'कुल राजश्वको ४२ प्रतिशत आन्तरिक राजश्व विभागले उठाउने भएकाले पनि यहाँ अन्य विभागभन्दा बढी नै जिम्मेवारी छ।' 
त्यसो त विभागको महानिर्देशक पद जति आकर्षक देखिन्छ, त्यतिनै चुनौतीपूर्ण पनि छ। देशमा राजनीतिक तथा आर्थिक अवस्था तरल भएको अवस्थामा कर प्रशासनलाई बलियो बनाउनु निकै चुनौतीपूर्ण छ। तर पनि धेरै मेहनतपछि आफूहरूले लक्ष्यभन्दा धेरै राजश्व उठाउन सफल भएको शर्मा बताउँछन्। 
गत आर्थिक वर्ष विभागले ९६ अर्बको लक्ष्य राखेकोमा ९८ अर्ब उठाएको थियो। चालु आर्थिक वर्षको माघ महिनासम्ममा पनि लक्ष्यभन्दा बढी राजश्व जम्मा गरिएको उनले बताए।  कर प्रशासनलाई चुस्त बनाएर लक्ष्यभन्दा बढी रावश्व उठाउन सफल भएको उनको भनाइ छ। 
त्यस्तो त कर प्रशासनको सुधारका लागि उनले धेरै काम गरेका छन्। कर प्रशासनको इतिहासमा विभागले यो वर्ष पहिलोपटक कर दिवस मनायो। यो वर्षलाई विभागले कर प्रशासन सुधार वर्षको रुपमा मनाइरहेको छ। जसअर्न्तगत व्यवस्थापन पक्षलाई चुस्त र बलियो बनाउनतर्फ विभाग लागेको छ। 
तर राजनीतिक तरलताले आफूहरूले सोंचअनुरुप काम गर्न नसकेको उनको भनाइ छ। 'समयमा बजेट, नीति/कार्यक्रम तथा करका दरहरू नआउँदा हामीले सोचेअनुरुप काम गर्न सकेका छैनौं,' उनले भने। अहिले मुख्य गरी चार प्रक्रियाबाट कर उठाउँदै आएको उनले बताए। 
राज्यको नीति र कार्यक्रमले अर्थतन्त्रमा गर्मावट ल्याउने र त्यसले राजश्व तिर्न पनि प्रोत्साहित गर्नेमा यस पटक त्यस्तो हुन नसकेको उनले बताए। 'दोस्रो प्रक्रिया भनेको नीति नियममा कडाई गर्ने हो,' शर्मा भन्छन्, 'तर अहिले राजनीतिको कारणले धरपकड गर्नका लागि उचित वातावरण छैन।' पछिल्लो समयमा जनतालाई जागरुक बनाएर कर उठाउनतर्फ प्रोत्साहित गरेको उनले सुनाए।  
'नेपालमा व्यापारीले मात्र कर तिर्नुपर्छ भन्ने गलत धारणा छ,' उनी भन्छन्, 'कर त आय गर्ने सबैले दिनुपर्छ भन्ने जागरुकता ल्याउनमा हामी लागेका छौं।' पहिला देशको ८०  प्रतिशतभन्दा धेरै अर्थतन्त्र कृषिमा आधारित भएकामा पछिल्ला वर्ष अहिले कृषि खुम्चिदै गएर सेवा क्षेत्र विस्तार हँुदै गएको छ। कृषि पेशाका व्यक्ति सेवा क्षेत्रमा लागेको तर कर तिर्नुपर्छ भन्ने ज्ञान नभएकाले पनि जागरुकता आवश्यकता रहेको उनी औंल्याउँछन्। देशमा ३८ देखि ४० प्रतिशत क्षेत्र करको दायरा बाहिर रहेको विभागको अनुमान छ। त्यसकारण विभागले करसम्बन्धी चर्चा घर घरसम्म पुर्‍याउने अभियान सुरु गरेको छ। 
प्रशासनलाई नै बलियो बनाएर पनि राजश्जको क्षेत्रमा सुधार थालिएको उनी बताउँछन्। प्रशासनलाई चुस्त बनाउने अभियानमा विभाग लागेको छ। त्यसका लागि पाँच वर्षे कर प्रशासन रणनीति बनाउने मात्र होइन तीन वर्षे कार्ययोजना पनि निर्माण गरी लागू गरेको छ। अहिले नेपालमा आठ लाख व्यक्तिले प्यान नम्बर लिएका छन् भने एक लाख १५ हजारले भ्याट नम्बर लिएर कारोबार गर्दै आएका छन्। करको बारेमा प्रबर्द्धनलाई प्राथमिकता दिएको र बदनियत राख्नेहरूमाथि कारबाही पनि भइरहेको उनले बताए। गत वर्ष नक्कली बिल बनाई कर छली गर्ने पाँच सय १८ वटा कम्पनीबाट विभागले ६ अर्ब ६० करोड रुपैयाँ राजश्व असुलेको थियो। त्यसो त ठूला व्यापारीहरूको राजनीतिक पहुँच हुने भएकाले कर छल्ने गरेको चर्चा पनि सुनिने गरेको छैन। तर आफूलाई कहिल्यै त्यस्तो राजनीतिक दबाब नआएको उनी बताउँछन्। 
हरेक विभागमा सफल भएकाले पनि उनलाई प्रशासनमा सफल कर्मचारीको रुपमा लिने गरिन्छ। करिब पाँच वर्षअघिसम्म सहकारी विभागमा सरुवा हुन कर्मचारीहरू रुचाउँदैन थिए। तर शर्माले विभागमा महानिर्देशकको रुपमा करिब एक वर्ष काम गरे पनि सहकारीको क्षेत्रमा पनि धेरै काम गर्न सकिँदोरहेछ भनेर देखाइदिए। त्यसपछि राजश्व अनुसन्धान  र भन्सार विभागमा पनि सफल महानिर्देशकका रुपमा आफूलाई स्थापित गरेपछि उनले आन्तरिक राजश्व विभागको जिम्मेवारी पाएका हुन्। 
नेपालको प्रशासनमा राम्राे कार्यालयमा सरुवा हुनका लागि कर्मचारीहरूको निकै दौडधुप हुने गर्दछ। तर त्यसरी राम्रो कार्यालयमा सरुवा माग्ने भन्दा पनि जहाँ सरुवा हुने त्यहाँ राम्राे काम गरेर देखाउनुपर्ने उनको विचार छ। जहाँ अयोध्या त्यहाँ राम भन्दा पनि जहाँ राम त्यहाँ अयोध्याको नीतिअनुसार उनी प्रशासनमा सफल हुँदै आएका छन्।  आन्तरिक राजश्व विभाग उनको जागिर जीवनको २२ औं पोष्टिङ हो। यसबीचमा उनले सोलुखुम्बुदेखि डोटीसम्म पुगेर सेवा गरेका छन्। 
खोटाङबाट एसएलसी गरेपछि कलेज पढ्न उनी विराटनगर झरेका थिए। महेन्द्र मोरङ क्याम्पसमा पढ्ने क्रममा आफू संयोगवश जागिरे बन्न पुगेको उनले सम्भि्कए। कलेज पढ्दासम्म सरकारी जागिर नै खान्छु भन्ने विचार उनको थिएन। 'खासमा बजारमा गोरु किन्न हिंड्दा  विज्ञापन देखेपछि, परीक्षा दिएको हुँ, पास भए' उनले सुनाए। २०३६ सालमा सरकारी सेवामा आबद्ध भए पनि उनी २०४१ सालमा अधिकृत भए। अधिकृत भएपछि दुर्गम मानिने सोलुखुम्बु जिल्लामा पहिलो पदस्थापन भयो। त्यसपछि डोटी जिल्लाको कोष तथा लेखा नियन्त्रण कार्यालय हुँदै लामो समय राजश्व तालिम केन्द्रमा बिताए। राजश्व तालिम केन्द्रमा झन्डै ६ वर्ष उनले पठाए। लेखा समूहका भएकाले कार्यालयमा काम गरे। 
२०६१ सालमा उनी सहसचिव भएका हुन्। त्यसयता महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका छन्। सफल प्रशासन हुनका लागि आफूलाई दिइएको जिम्मेवारी गहनताका अध्ययन गरेर काम गर्नुपर्ने उनको भनाइ छ। उनी भन्छन्, 'लिडरसीप इज एक्सन नट पोजिसन ।' पदलाई ओगट्ने भन्दा पनि एक्सनमा परिणत गर्नुपर्ने उनको भनाइ छ। कुनै विषयको गहिराई बुझे पनि हुनुपर्ने के हो र के भइरहेको थाहा हुने उनको भनाइ छ। 'त्यसपछि कहाँ ग्या भइरहेको थाहा हुन्छ, त्यो ग्याप पुर्ने काम गर्न सकेको सफल भइन्छ।' 
'प्रशासनमा कतिपय काम गरेर पनि अवसर नपाउने व्यक्ति छन्,' उनी भन्छन्, 'कति काम नगरी अवसर पाउनेहरू पनि छन्।' कार्यक्षेत्रलाई ग्रिपमा लिएर प्रशासनले काम गर्नुपर्ने उनको भनाइ छ। सरकारी जागिर १०–५ को भन्ने छ। तर उनको लागि कहिल्यै पनि समयको सीमा हँुदैन। बिदाको दिनमा पनि कार्यालयमा आउँछन्, बिहान ८ बजेदेखि बेलुकासम्म कार्यालयकै काममा उनी व्यस्त हुन्छन्। आफूले कामलाई बोझ भन्दा पनि सोखका रुपमा लिएको बताउँछन्। 'मन परेपछि काम मनपर्ने फिल्म हेरेजस्तो हुन्छ,' उनले भने। त्यसकारण काम गर्दा आफूले आनन्द लिने गरेको उनी बताउँछन्। फुर्सदको समय एकदम कम हुने र हुँदा लेखपढ तथा परिवारसँग बिताउने उनले सुनाए।

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...