मापदण्ड विपरीत सिमेन्टको खुलेआम विक्री वितरण
मुलुकभित्र
सञ्चालित अधिकांश सिमेन्ट उद्योगहरुले नेपाल गुणस्तर (एनएस) चिन्ह नलिई
सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएका छन् । मुलुकभित्र अहिले ४४
वटा सिमेन्ट उद्योगहरु सञ्चालनमा छन् । तीमध्ये १६ वटा उद्योगले मात्र १/१
वटा ब्राण्डमा एनएस चिन्ह प्राप्त गरेका छन् । २८ वटा सिमेन्ट उद्योगहरुले
अहिलेसम्म एउटा पनि ब्रान्डमा एनएस चिन्ह प्राप्त नगरेको नेपाल गुणस्तर तथा
नापतौल विभागका उपमहानिर्देशक विश्वप्रसाद पुडासैनीले बताउनुभयो ।
कानुनअनुसार सिमेन्ट उद्योगहरुले नेपाल
गुणस्तर तथा नापतौल विभागबाट गुणस्तर इजाजतपत्र लिई आफ्नो ब्राण्डमा
अनिवार्य एनएस चिन्ह राखेर मात्र बजारमा बिक्री वितरण गर्नुपर्ने हुन्छ ।
लामो समयदेखि गुणस्तरको कानुन पालना गरी गुणस्तर इजाजत पत्र लिन
उद्योगहरुलाई आग्रह गरे पनि सिमेन्ट उद्योगहरुले त्यसको बेवास्ता गर्दै
आएको नापतौल विभागले बताएको छ । ‘सिमेन्ट उद्योगहरुले विभागबाट एनएस चिन्ह
नलिई आफ्नो ब्रान्ड बजारमा बिक्री गर्न पाउँदैनन्’ उपमहानिर्देशक
पुडासैनीले भन्नुभयो- ‘अब मापदण्डभित्र नआउने उद्योगहरुको सम्पूर्ण उत्पादन
बन्द गरिदिन्छौं ।’
सिमेन्टको बोराभित्र भुसको खरानी !
उद्योगहरुलाई पटक-पटक मापदण्डभित्र आउन
लिखित तथा मौखिक आग्रह गर्दा पनि अटेर गरेपछि विभागले मापदण्डभित्र नआउनेको
उत्पादन नै बन्द गरिदिने चेतावनी यसअघि नै दिएको थियो । बिभागको
चेतावनीपछि २६ वटा उद्योगहरुले एनएसको लागि आवेदन दिएको उहाँले जानकारी
दिनुभयो । आवेदन दिने उद्योगहरुको अहिले अनुगमन तथा निरीक्षण भइरहेको
विभागले बताएको छ । चैत मसान्तभित्रमा मापदण्डभित्र परेका उद्योगहरुलाई
एनएस चिन्ह दिने र नपरेकाहरुको उत्पादन बन्द गरिदिने विभागले बतायो ।
सिमेन्ट उद्योगका कर्तुत
विभागले गरेको अनुगमनका क्रममा कतिपय
सिमेन्ट उद्योगहरुले कच्चा पदार्थमा ढुङ्गा, बालुवा र माटो मिसाउने गरेको
फेला परेको उपमहानिर्देशक पुडासैनीले बताउनुभयो । ‘उद्योगहरुले भुसलाई
पोलेर खरानी बनाई सिमेन्टमा मिसाउने गरेकोसम्म भेटियो’ उहाँले भन्नुभयो-
‘अनुगमनका क्रममा धेरैजसो उद्योगहरु भौतिक परीक्षणमा समेत कमजोरी भेटिए ।’
अनुगमनका क्रममा कमजोरी फेला पारेपछि श्री सिमेन्ट उद्योगको ब्रान्ड ‘कलश’,
अम्बे सिमेन्ट उद्योगको ‘मंगलम’ र ‘साहारा’, रिलायन्स सिमेन्ट र बुटवल
सिमेन्टको ब्रान्ड ‘निर्माण’ सोत बिभागले बन्द गरिदिएको थियो ।
गुणस्तर चिन्ह नलिएका उद्योगहरु यी हुन्
उत्पादन तथा विक्री वितरण सुरु गरेको लामो
समयसम्म पनि एनएस चिन्ह नलिने सिमेन्ट उद्योगहरुमा झापाको मनुषा सिमेन्ट
उद्योग र कञ्चनजङ्घा सिमेन्ट उद्योग, बिराटनगरको नेसनल सिमेन्ट उद्योग र
सिरहाको मारुती सिमेन्ट उद्योग रहेका छन् । त्यस्तै, बीरगञ्जमा रहेका श्री
सिमेन्ट, आरएमसी सिमेन्ट, कृण्ण सिमेन्ट, सुभश्री जगदम्बा सिमेन्ट, स्टार
सिमेन्ट उद्योगले पनि अहिलेसम्म एनएस नलिएको विभागले जनाएको छ । हेटौंडाको
शिवम सिमेन्ट, नारायणगढको ओम सिमेन्ट र आँबुखैरेनीको पञ्चरत्न सिमेन्ट
उद्योगहरुले पनि एनएस चिन्ह लिएका छैनन् ।
विभागका अनुसार रुपन्देहीमा सञ्चालित
बुटवल सिमेन्ट, अग्नी सिमेन्ट, विशाल सिमेन्ट, अम्बुजा सिमेन्ट, सुपि्रम
सिमेन्ट, जगदम्बा सिमेन्ट, कैलाश सिमेन्ट र गोइन्का सिमेन्ट उद्योगले पनि
एनएस चिन्ह नलिई आफ्नो उत्पादन बिक्री गर्दै आएको बिभागले बताएको छन् ।
त्यसैगरी, धादिङको केपी सिमेन्ट, दाङको
सोनापुर सिमेन्ट, नेपालगञ्जको यती सिमेन्ट, कपिलवस्तुको बुद्ध सिमेन्ट र
गणपति सिमेन्ट, धनकुटाको निगाले सिमेन्ट उद्योगका साथै अर्घाखाँची सिमेन्ट र
पशुपति सिमेन्ट उद्योगले पनि अहिलेसम्म विभागबाट एनएस चिन्ह लिएका छैनन् ।
ग्रामीण क्षेत्रमा कमसल सिमेन्ट
सिमेन्ट उद्योगहरुले आफ्नो लागत घटाउन
ग्रामिण र सहरी क्षेत्रमा फरक फरक गुणस्तरको सिमेन्ट पठाउने गरेका छन् ।
स्रोतका अनुसार कतिपय सिमेन्ट उद्योगहरुले ग्रामिण क्षेत्रमा कमसलखालको र
सहरी क्षेत्रमा गुणस्तरिय सिमेन्ट विक्री वितरण गर्ने गर्छन् । सहरमा १०/१२
तलाको घर बनाउन मिल्ने सिमेन्ट जति कमसल भए पनि गाउँघरमा बन्ने २/३ तलाका
घरहरु सजिलै धान्ने विज्ञहरु बताउँछन् । त्यसो त सर्वसाधारणलाई सिमेन्टको
प्राविधिक ज्ञान नहुने हुँदा उद्योगीहरुले सजिलै झुक्काउन सक्ने विभागको
भनाइ छ ।
एक/एक ब्रान्डमा एनएस चिन्ह लिने उद्योगहरु
गोरखकाली सिमेन्ट-झापा, मित्तल
सिमेन्ट-झापा, हिमालय सिमेन्ट-झापा, उदयपुर सिमेन्ट-झापा, अम्बे
सिमेन्ट-झापा, विश्वकर्मा सिमेन्ट-वीरगञ्ज, नारायणी सिमेन्ट- विरगञ्ज, जय
मंगलम सिमेन्ट-नेपालगञ्ज र सालिमार सिमेन्ट-वीरगञ्जले एउटा ब्राण्डका एनएस
चिन्ह लिएका छन् । त्यस्तै कसमस सिमेन्ट-जनकपुर, हेटौंडा-सिमेन्ट, चितवन
सिमेन्ट-नवलपरासी, रिलायन्स सिमेन्ट-भैरहवा, बि्रज सिमेन्ट-भैरहवा,
सिद्धार्थ सिमेन्ट-भैरहवा र बिजय सिमेन्ट-कपिलवस्तुले पनि एक/एकवटा
ब्राण्डका लागि गुणस्तर चिन्ह लिएका छन् । तर, यी उद्योगहरुले एक/एक वटा
ब्रान्डमा एनएस चिन्ह प्राप्त गरे पनि ४/५ वटासम्म ब्रान्डहरु उत्पादन
गर्दै आएको विभागको आरोप छ ।
एनएस चिन्ह कसरी प्राप्त गर्न सकिन्छ ?
विभागले सामन्य अनुगमनकै भरमा सिमेन्ट
उद्योगलाई एनएस चिन्ह प्रदान गर्दैन । विभागले विभिन्न चरणमा उद्योग र
उत्पादनको अनुगमन निरीक्षण गर्ने उपनिर्देशक पुडासैनी वताउनुहुन्छ । पहिलो
चरणमा विभागले उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ, प्रविधि, गुणस्तर
नियन्त्रण गर्ने उपकरण लगायतको अनुगमन तथा निरीक्षण गर्छ । दोस्रो चरणमा
विभागले उद्योग र बजारबाट सिमेन्टको नमूना लिएर परीक्षण गर्दछ । सबै
परीक्षणमा उद्योग र उत्पादन सदर भयो भनेमात्र विभागले एनएस चिन्ह प्रदान
गर्दछ ।
एउटा ब्रान्ड बन्द भए अर्को ब्रान्ड
सिमेन्ट उद्योगहरुले एउटा ब्रान्डको
उत्पादन बन्द गरिदिएमा अर्को ब्रान्ड उत्पादन गर्ने गरेको विभागले बतायो ।
रिलायन्स सिमेन्ट उद्योगले पहिला पीपीसी सिमेन्ट उत्पादन गर्दै आएकोमा
विभागबाट कारबाहीमा परेपछि अहिले ओपिसी सिमेन्ट उत्पादन गर्न थालेको छ ।
ओपिसी सिमेन्ट पनि विभागको अनुगमनमा गएको टोलीले मापदण्डअनुरुपको नपाएपछि
बन्द गरिदिएको विभागले बतायो । निर्माण सिमेन्टको ओपिसी सिमेन्ट बन्द
गरिदिएपछि पीपीसी सिमेन्ट बनाउन थालेको छ । अन्य सिमेन्ट उद्योगहरुले पनि
एउटा ब्रान्ड बन्द भएपछि अर्को ब्रान्ड उत्पादन गर्दै आएको विभागको भनाइ छ ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.