Friday, November 8, 2013

          सीप र प्रविधिलाई नेपालमा भित्र्याउनुपर्छ
  मुक्तिराम खनाल (विनोद)
               एनआरएन जापान, महासचिव

आफ्नो मातृभूमिको विकासका लागि जुन ठाउँमा बसे पनि सहयोग गर्नुपर्छ भन्ने भावना लिएका एक युवा हुन् मुक्तिराम खनाल (विनोद) । विगद ९ वर्षदेखि प्रविधिमा पोख्त देश जापानको हिरोसीमामा स्थायी रूपमा बसोबास गर्दै आएका खनाल लामो समयदेखि नेपाली खानाको स्वादका साथै विभिन्न देशका खानाको स्वाद आम ग्राहकलाई खुवाउँदै आएका छन् । विशेषगरी जापानमा रेष्टुरेन्ट सञ्चालन गरेका खनालको नेपालमा भने स्थायी घर नवलपरासीको गैँडाकोट–४ मा रहेको छ । उनका बाबुआमाका साथै सपरिवार जापान बस्दै आएका छन् । रेष्टुरेन्टको अलवा उनले युरोप, अमेरिका, चीन, भारतलगायत अन्य राष्ट्रमा सामानको आयात÷निर्यातको समेत व्यवसाय गर्दै आएका छन् ।
हाल ३२ वर्षका युवा खनाल मातृभूमिको विकासका लागि आफ्नो तर्फबाट र जापानी नागरिकलाई नेपालमा लगानीका लागि वातावरण तयार गर्ने कार्यमा लागेका छन् । लगानी भित्र्याउनका लागि गैरआवासीय नेपाली संघ, जापानको महासचिवको रूपमा आफ्नो कार्यभारसमेत सम्हालेर अगाडि बढ्दै आएका खनालले एमबिबिएको अध्ययन पूरा गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएन) को छैटौँ विश्व सम्मेलन तथा १० औ वार्षिकोत्सवको जापानको प्रतिनिधित्व गर्दै नेपाल आएका खानलसँग जापानबाट नेपालमा लगानी भित्र्याउन, समस्या, चुनौती र व्यक्तिगत रूपमा कस्तो भूमिका रहेको छ भन्ने विषयमा केन्द्रित भएर कमाण्डर पोष्टका लागि रोशन कार्कीले गरेको कुराकानीको सम्पादित अंश ।

एक दशकको अवधिमा चुनावकै माध्यमबाट अध्यक्षको चयन भयो, यहाँले एक प्रतिनिधिको तर्फबाट एनआरएनको भविष्य कस्तो देख्नुभएको छ ?
एनआरएनको भविष्यका बारेमा मैले भन्दा पनि हाम्रो संघको नेतृत्व लिने अग्रजहरूकोे कामको भरमा निर्भर हुने गर्दछ । किनकि जहाँसम्म मेरो विचार अनुसार संघको भविष्य अहिलेसम्मको अवस्था हेर्दा उज्ज्वल रहेको छ । संघको भविष्यमा प्रश्नचिन्ह लगाउनुपर्ने अवस्था देखिँदैन । मेरो सोचाइमा हाल प्रजातान्त्रिक पद्धतिद्वारा निर्वाचन भएको हो । संघको नेतृत्व लिनका लागि प्रतिस्पर्धा हुनु नराम्रो होइन । किनकि जहाँ प्रतिस्पर्धा हुन्छ त्यहाँ आफूले पाएको जिम्मेवारी पूरा गर्नुपर्ने चुनौती पनि हुने गर्दछ । निर्वाचनमा को कससँग प्रतिस्पर्धा भयो भनेर पछिसम्म वहश गर्ने भन्दा पनि संघलाई कसरी मजवुत बनाउने भन्नेतर्फ सबै साथी लाग्नुपर्छ । संघप्रति आबद्ध भएका नभएकाहरूको लगाव बढ्नुपर्छ । संघलाई साझा संस्थाको रूपमा अगाडि बढाउन अग्रजहरूको मुख्य भूमिका खेल्नुपर्छ र त्यही भूमिकालाई दोस्रो पुस्ताले कार्यान्वयन गरेर संघको भविष्यलाई उच्च राख्नुपर्छ । केहीगरी चुनावकै कारण विवाद आएमा नेतृत्व पक्षले साझा संस्थाको रूपमा सबैलाई एउटै व्यवहार गरेर मिलाउन तत्परता देखाउन पछि हट्नु हँुदैन । आएका समस्यालाई सबैले आ–आफ्नो तहबाट समाधान निकालेर अगाडि बढ्नुको विकल्प छैन ।
यहाँहरूको सभामै राजनीतिक दलको दबाब र हस्तक्षेप पनि देखिनुलाई कसरी हेर्नुभएको छ ?
संघको सभामा यहाँले भनेझैँ राजनीतिक दलहरूको दबाब र हस्तक्षेप हुन गएको हो । यो संघका लागि राम्रो पक्ष होइन । यस संघमा आबद्ध सबै राजनीतिक दलको सदस्य होइनन्, मात्र नेपाली हुन् । तर पनि जाति, लैँगिक धर्म बोकेका कारणले राजनीति जोडिन आएको हो । तर, सोबारे संघको नेतृत्व गर्छु भन्नेहरूले उनीहरूको दबाब र हस्तक्षेपलाई अस्वीकार गर्नुपर्ने हो । तर, कता–कता त्यसो गरेको पाइएन र दलहरूको हस्तक्षेप सभास्थलसम्मै आइपुग्यो । संघमा राजनीतिक हस्तक्षेप र दबाब आउनुमा एनआरएनहरूकै कमजोरीका कारण हुन पुगेको हो । हामीले आ–आफ्नो प्रतिबद्धता साथीहरूकै माझ गर्नुहोला । कोठाभित्र गर्नु होला र संघमा राजनीतिक हस्तक्षेप हुनबाट बचाउन नेतृत्व तहलाई पटक–पटक घच्घच्याएका हौँ । तर, हामीबीच कुनै दलको दबाब हँुदैन भनेका थिए तर त्यो व्यवहारमा देखाउन नसक्नु नै कमजोरी हो भनेको हुँ मैले । मान्छे भएपछि राजनीतिक आस्था होला तर त्यसलाई देखाउनु गलत पक्ष हो । एनआरएनमा दलको प्रभाव भोगिरहेको छ । एनआरएन जापान सो प्रभावलाई निवारण गर्नेतर्पm लागिपरेको छ । भने संघमा राजनीतिविहीन बनाउनु पहिलो दायित्व यस नयाँ नेतृत्वले मुख्य भूमिका खेल्नुपर्छ । संघलाई राजनीतिक दलको निर्देशनभन्दा पनि एनआरएन सदस्यहरूकै सुझाव र सल्लाहमा अगाडि बढ्नुपर्छ । आगामी नेतृत्वका बेलामा राजनीतिक दबाब र हस्तक्षेपमुक्त बनाउन सबै एक जुट हुनुपर्छ जस्तो लाग्छ ।
यहाँ त जापान बस्दै आउनुभएको छ, संघले लामो समयदेखि नेपालमा लगानी गर्ने भन्ने धेरै सुनियो । तर, खासै लगानी भने हुन सकेको छैन, लगानी नहुनुको कारण के होला ?
पहिलो कुरा के हो भने आफ्नो देशमा लगानी गर्ने सबै साथीको इच्छा छ । केही साथीले लगानी पनि गरिरहनु भएको छ । संघको स्थापना गरेको पनि १० वर्ष भयो यस अवधिमा संघलाई बलियो बनाउन, ऐन कानुन तयार गर्न र आफू बसेको देशको कानुनसँग पनि सहकार्य गर्नका लागि धेरै समय बितेका कारण लगानी गर्ने इच्छा हुदाँहँुदै पनि देखिने लगानी नभएको जस्तो यहाँहरूलाई लाग्नु ठीकै हो । यहाँ नगद लगानीभन्दा पनि हाम्रो देशमा व्यावसायिक लगानीका साथै आफूले सिकेका ज्ञान, सीप र प्रविधिलाई भित्र्याउनु मुख्य पाटो हो जस्तो लाग्छ मलाई । जहाँ लगानीकै रूपमा सीप, ज्ञान र पछिल्लो प्रविधिलाई नेपाल भित्र्याउने हो भने त्यही सीप अन्यलाई सिकाएर अर्बौं रुपैयाँको लगानी नेपालमा हुन्छ । त्यो स्वदेशी तथा विदेशी दुवै पक्षले लगानी गर्न आकर्षित हुनका लागि ज्ञान, सीप र प्रविधि आवश्यक पर्छ । साथै देशमा विद्यमान लगानी ऐन कानूनलाई समयसापेक्ष परिमार्जन गरेर लगानीमैत्री वातावरण बनाउनुपर्छ नेपाल सरकारले । भएका कमिकमजोरी दुवै पक्षबाट सुधार गरिँदै अगाडि बढ्दै जानुपर्छ । लगानी आकर्षण गर्न सरकारले कुनै कसुर बाँकी राख्नु हुँदैन जस्तो लाग्छ । लगानीका लागि सरकारले सबै विकल्प र ढोका खुला राख्नुपर्छ ।
कमाण्डर पोष्ट दैनिकको कार्तिक २२ –२०७० मा अर्थपेजको १० पृष्ट

जापानी लगानी नेपाल भित्र्याउनका लागि यहाँका कस्ता खालका योजना रहेका छन् ?
हाम्रो तर्फबाट नेपालमा लगानी भित्र्याउनका लागि विभिन्न योजना तयार छन् तर जापानबाट नेपालमा बढीभन्दा बढी सीप, ज्ञान र प्रविधिलाई विशेष जोड दिएका छौँ । देशको समग्र अवस्थालाई लगानीकर्ताहरूले मूल्यांकन गर्ने भएकाले सरकारले त्यसतर्फ ध्यान दिनु पहिलो उद्देश्य हुनुपर्छ । कुनै पनि लगानीकर्ताले आफ्नो रुपैयाँ खर्चनका लागि देशमा शान्ति सुरक्षा, लगानीमैत्री वातावरण, लगानीको सुरक्षा र राजनीतिक अवस्थालाई अध्ययन गर्ने भएकाले पहिलो चरणमा सरकारले ती विषयलाई सम्बोधन गरेर ढुक्कसँग लगानी गर्न कुनै अवरोध छैन भन्नेमा विश्वास दिलाउनुपर्छ । अहिलेकै अवस्थालाई हेर्ने हो भने लगानी आउने सम्भावना निकै कम छ । किनकि देशमा पूर्णरूपमा शान्तिसुरक्षा छैन, लगानीको सुरक्षाको वारेन्टी नभएकाले जापानीको लगानीमात्र नभई अरू देशको लगानीलाई नेपाल भित्र्याउन नसकिएको पक्कै हो । नेपाल सरकारले शान्तिसुरक्षा र लगानीको सुरक्षाको प्रत्याभूति दिन सकेको खण्डमा लगानी आउँछ ।
होइन, विदेशी लगानी आउन नसके पनि यहाँहरूले त साना÷साना लगानी गर्नुपर्ने होइन र ?
यहाँले भनेझैँ हामीले साना÷साना उद्योगमा लगानी गर्नुपर्ने हो । तर, केही साथीले आफ्नोतर्फबाट लगानी गरेका पनि छन् । जति हुनुपर्ने हो त्यो किन भएन भन्दा पहिला आफ्नो संस्थालाई विश्वमाझ वैधानिकता दिनु हो । त्यस विषयमा सबै साथीको ध्यान संघ बलियो बनाउनका लागि खटिनु परेका कारण र अधिकांश समय संघमा लगाउनुपरेका कारण हुन नसकेको हो । संघलाई देशमा वैधानिकता दिनमात्र १० वर्ष लाग्यो । संगठनको संरचना बनाउनै समय बितेका कारण लागनी हुनमा कमी भएको हो । अब विस्तारै लगानी नेपालमा हुने विश्वास दिलाउँछु ।
नेपालमा विशेषगरी कुन क्षेत्रमा जापानमा रहेका एनआरएनले लगानी गर्ने सम्भावना छ ?
नेपालमा जापानी नागरिक तथा एनआरएनहरूले विशेषगरी ऊर्जा, पर्यटन, होटल र कृषि क्षेत्रमा लगानी गर्ने चाहना बढी भेटिएको छ । साथै औषधि र प्राविधिक क्षेत्रमा आफूले सिकेका विषयमा पनि लगानी गर्ने योजना बनाएको पाइन्छ । हाम्रो टिमले जापानी नागरिक तथा हाम्रा साथीलाई पनि आफ्नो सीप अनुसार नेपालमा लगानी गर्न अनुरोध गरेका छाँै । लगानीको भन्दा पनि प्रविधिमा अगाडि रहेका जापानीको प्राविधिक पक्षलाई देशमा भित्र्याउनुपर्छ भन्ने भनाइ मेरो हो । जहाँसम्मको कुरा छ लगानीका साथै प्रविधि नेपाल भित्र्याएर त्यसलाई प्रयोग गर्नसक्ने दक्ष प्राविधिकहरूको जन्म गराउनसकेमा त्यो प्रविधि नै अर्बौं रुपैयाँबराबरको लगानी हुने छ । अनि उत्पादन गरेका सबै सामान अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हुने ठप्याइ मेरो छ । त्यसैले यो क्षेत्रमा यति लगानी गर्छु भन्नु भन्दा पनि आफू रहेको देशमा यो प्रविधि रहेको छ, नेपालमा उपयुक्त हुने भएकाले सो प्रविधि र सीपलाई भित्र्याउनेतर्फ हामी पहिलोचरणमा लागिपरेका छाँै । नेपालमा रहेको अस्थिर राजनीतिको सही रूपमा व्यवस्थापन हुने हो भने लगानी र प्रविधिलाई भित्र्याउन कुनै समस्या हामीलाई हँुदैन ।
त्यसोभए जापानी नागरिकको प्रतिक्रिया कस्तो पाउनुभएको छ, नेपालमा जापानी प्रविधि भित्र्याउने सम्बन्धमा ?
स्वदेशमा शान्ति सुरक्षा, लगानीको वातावरण र लगानीको सुरक्षाको वारेन्टी दिने हो भने आफूसँग भएका सीप, प्रविधि र लगानी एकैसाथ नेपाल भित्रने निश्चित छ । तर, अहिलेको वातावरणले त्योे सम्भावना मैले देखेको छैन । नेपाल सरकारले त्यो वातावरण बनाउनुपर्छ । बाँकी कुरा के भने, जापानबाट विश्वका विभिन्न देशमा ठूलो लगानी भएका छन् । शान्ति वातावरण र लगानीको सुरक्षाको प्रत्याभूति सरकारले दिने हो भने नेपालमा पनि ठूला लगानी भित्रने छन् । जापानले फिलिपिन्स, चीनमा ठूला÷ठूला कम्पनीले आफ्नो अर्बौं रुपैयाँ लगानी गरेका छन् । नेपालमा पनि विद्यमान श्रम समस्या, अस्थिरतालाई हटाउनुपर्छ । जहाँ आवश्यकताभन्दा बढी युनियनको समस्या देखिएको छ । साना कुरामा हुने बन्द हड्तालका कारण लगानीकर्तालाई नेपालमा आकर्षित गराउन हामीले सकिरहेका छैनौँ । यी कुरामा सुधार हुने हो भने लगानी आउनमा कुनै दुविधा छैन । सरकार यसमा जिम्मेवार नभसम्म र सरकार औपचारिक रूपमा लगानीमैत्री नबनेसम्म लगानीका बारेमा हामीले लगानीकर्तालाई विश्वास दिलाउन सकिँदैन ।
एक दशकको अवधिमा एनआरएनहरूको गफ धेरै, काम थोरै भए भन्न आरोप छ नि ?
झट्ट हेर्दा यो आरोप एक हिसाबले ठीक हो । तर, एउटा संस्थालाई व्यवस्थित बनाउन यो एक दशक पर्याप्त होइन । किनकि, पहिला संगठनलाई मजवुत बनाउनु अघिल्लो नेतृत्वको काम थियो । संस्थालाई दर्ता गर्नेदेखि बाँझिएका ऐन कानुन समयसापेक्ष परिमार्जनसमेत गर्नुपर्ने भएकाले काम थोरै देखिएको हो । तर, जुन रूपमा हुनुपर्ने काम संगठन बलियो नभकाले पनि कमी देखियो भन्दा पनि हाम्रो संगठनले काम नै नगरेको भने होइन । काम गरेको छ । जुन काम बाहिर रूपमा देखिएन भन्नु चाहिँ उपयुक्त होला । पहिलो काम संगठनमा विश्विका एनआरएनहरूलाई समेट्नु पनि छ । यो अधिवेशनसम्म त्यो समस्या रहेको थियो । अब त्यो समस्या विस्तारै न्यूनीकरण हुँदै जाने छ । तैपनि यीे आरोप नआउने बनाउन सकिन्थ्यो । नेतृत्व लिनेहरूले अलि आफ्नो कार्यशैलीलाई परिमार्जन गरेर अगाडि बढेको भए । त्यसैले यो आरोप लाग्नुमा केही हदसम्म नेतृत्व पक्षको पनि कमजोरी छ भन्नुपर्छ ।
सामाजिक क्षेत्रमा पनि लगानी गरेको भन्ने सभामा अलि बढी नै सुनिएको छ, वास्तविकता के हो ?
हो, हामीले नाफामूलक र सामाजिक सेवामा लगानी गरेका छौँ । आफ्नो जन्मस्थानमा रहेका विद्यालय, स्वास्थ्यलगायतका क्षेत्रमा सहयोग गरेका छन् । नेपालको सामाजिक विकासमा एउटा इँटा थप्ने हामीले विश्वास गरेका छौँ । यसअघि पनि हामीले विभिन्न सामाजिक काम गरिसकेका छौँ ।
नेपालमा लगानीको वातावरण कस्तो देख्नुभएको छ ?
खासै पुरानो ऐन, कानुन र तरिका भएकाले नयाँ लगानीका लागि राम्रो वातावरण छ भन्नसक्ने अवस्था छैन । लगानीका लागि लगानीकर्ताले पहिलो चरणमा लगानीको सुरक्षा र अवरोध नहोस् भन्ने चाहन्छ । सरकारले त्यो पहिलो चरणमा पूरा गरेको खण्डमा देशमा लगानी आउने पक्का छ । तर, वातावरण नभए पनि आफ्ने जन्मभूमिको माया मान्नेहरूले लगानी गर्न हिच्किचाउनु भने हुँदैन । नेपाल र बाहिर बसेका नेपालीले यस्तो समयमा लगानी नगरे कहिले लगानी गर्ने ? हामीले नै लगानी नगरे विदेशीले कसरी गर्छन् ? उनीहरू राजनीतिक अस्थिरता देखेर डराइरहेका छन् । उनीहरूले नेपालका ठूला आयोजनामा लगानी गर्न चाहिरहेका छैनन् । नयाँ संविधान बन्न नसक्नु, लोडसेडिङको चर्को समस्या र शान्ति सुरक्षालाई उनीहरूले बाधकका रूपमा देखाएका छन् । त्यसैले, हामीले गैरआवासीय नेपालीलाई आफ्नो देशमा लगानी गर्न आग्रह गरिरहेका छौँ ।
यहाँले गएको नेतृत्वकै कारण लगानीभन्दा पनि कुरा मात्र गरेको भन्न खोज्नुभएको हो ?
त्यस्तो भन्न खोजेको होइन । जति हुनुपर्ने थियो त्यति भएन भन्न खोजेको हो । गएका कार्यसमितिले लगानी भित्र्याउनेबारे, संस्थालाई वैधानिकता दिनेबारे, साथीहरूलाई आबद्धता गराउने बारेमा नेतृत्व पक्षले अलि सोचविचार गरेको भए आरोपहरू संगठनमाथि लाग्ने थिएन कि भन्न खोजेको हुँ । पहिलो नेतृत्वबाटै लगानीको रूपरेखा तयार गरेको भए अहिले लगानीका लागि मापदण्ड खोजिरहनुपर्ने थिएन । सबैलाई विभिन्न विषयको जिम्मेवारी दिएर त्यसको कार्यान्वयन गरेको भए हामी आरोपमुक्त हुने थियौँ भन्न खोजेको हुँ ।
भन्न त सबैले होटल, ऊर्जा र पर्यटनमा लगानी गर्छौं भनेर एक दशकदेखि भन्दै आएका छन्, तर कार्यान्वयन भने हुने छाँटकाँट अझै देखिँदैन नि ?
हो, एक दशकदेखि ऊर्जा, पर्यटन र होटललाई पहिलो प्राथमिकता दिँदै साथीहरूले लगानी गर्ने भनेका हुन् । तर, त्यो किन रोकिएको छ भन्नेबारे कसैले विचार पु¥याएको हामीले पाएका छैनौँ । तर, लगानी गर्ने विभिन्न विषयमा अध्ययन गरेरमात्र आफ्नो पैसा झिक्ने भएकाले नेपाल सरकारले पहिलोपटकमा भौतिक संरक्षणका साथै सामान्य सुविधाहरू त उपलब्ध गराउनुपर्छ नि होइन । जहाँसम्म कुरा रह्यो, ऊर्जामा लगानी गर्नका लागि न्यूनतम भौतिक संरक्षणसमेत नभएको स्थानमा गएर लगानी गर्न कुनै पनि लगानीकर्ताले चाहँदैन । भौतिक संरक्षण भएको खण्डमा त्यहाँ कुनै अवरोध र सम्पत्तिको सुरक्षा हुने स्थानमा सबैले आफ्नो लगानी गर्ने पक्का छ । पछिल्लो चरणमा विभिन्न साथीहरूमा ऊर्जा, पर्यटन र होटलका साथै प्राविधिक पक्ष, शैक्षिक क्षेत्रमा पनि आफ्नो लगानी बढाउनेबारे छलफलहरू भइरहेको र केहीमा त समितिसमेत बनेर अध्ययन भएका छन् । अब कुराभन्दा पनि काम हुनेमा म विश्वास दिलाउँछु ।
यहाँहरूलाई लगानी गर्न केले रोकेको जस्तो लाग्छ ?
प्रष्टै छ नि अस्थिर राजनीति र अस्थिर सरकार नै मुख्य कारण हो । जहाँसम्मको लगानीको पक्षमा सरकार स्थिर नभएसम्म ऐन कानुन पूर्णरूपमा कार्यान्वयन हँुदैन । आवश्यक कानुन र ऐन समयसापेक्ष थपघट गरिनुपर्छ त्यसका लागि स्थायित्व सरकार आवश्यक पर्छ । अध्यादेशबाट ल्याइएका कानुन निश्चित समयभित्र संशोधन नगरे निष्क्रिय हुने भएकाले स्थिर सरकार चाहिन्छ भनेका हौँ । राजनीतिक दलको पनि आर्थिक मुद्दामासमेत प्रष्ट छैन । त्यसमा दलहरूको आर्थिक एजेण्डा प्रष्ट हुनुपर्छ । युनियनपक्षबाट आवश्यक र कम्पनीले सक्ने माग राख्नुपर्छ  । अहिले त्यो अवस्था नभएकाले लगानीमा अवरोध भएको हो ।
लगानी भित्र्याउनका लागि एनआरएनहरू पुलको रूपमा रहेको भनिए पनि सो काम गर्न सकेका छैनन् भनिन्छ नि ?
विदेशमा बस्ने नेपालीलाई एकै स्थानमा ल्याउनुपर्ने संगठनको कामसँगै नेपालमा लगानी भित्र्याउनेबारे पुलको कामसमेत एनआरएनहरूको जिम्मेवारीका रूपमा रहेको छ । तर, सबैको एकै विचार एकै उद्देश्य हुँदैन । सबैको आ–आफ्नै तरिका र बानी हुन्छ । सबैलाई एकैस्थानमा राखेर अगाडि बढ्नुपर्छ । संगठनले त्यो कामसमेत गर्दै आएको छ । सबै देशमा आ–आफ्नै सीप, प्रविधि, आर्थिक, राजनीति र सामाजिक सवालका पक्ष हुने भएकाले सबैलाई सबै कुरा बुझाउन कठिन हुन्छ । सबै पक्षलाई एकै स्थानमा ल्याएर नेपालमा भित्र्याउनुपर्ने र त्यसलाई कार्यान्वयनमा ल्याउनुपर्ने भएकाले केही कमजोरी देखिएको हो । तर, संगठनले पुलकै भूमिका निभाएको छ जस्तो लाग्छ हामीलाई । सुरुमा आबद्ध हुनका लागि पुलको काम गर्नुपरेको छ, आबद्ध भएकालाई नेपालमा आफूले सकेको लगानी गर्नका लागि पनि पुलकै काममा खटिनुपरेको छ । यहाँ संगठन र एनआरएनहरूबाट पुलको काम भए पनि देखिने काम नभएको हो । देखिने कामलाई समय लाग्छ ढिलो भए पनि काम राम्रो हुन्छ भन्नेमा छौँ । संगठनको अझैसम्म भित्री काम भइरहेकाले पनि कमजोरी जस्तो देखिन आएको हो । भित्री काम सकिनासाथ लगानीका लागि एनआरएनहरू पूर्णरूपमा नेपालका लागि पुलकै काममा खटिनेछन् । पुलका साथै लगानीसमेतमा वृद्धि हुनेमा कुनै शंका छैन ।
तत्काल केही नयाँ उद्योग खोल्ने सम्भावना कत्तिको छ ?
हामी नयाँ उद्योग खोल्नेभन्दा पनि नयाँ प्रविधि भित्र्याउने जमर्कोमा छौँ । हामी नेपालीले बाह्य मुलुकमा गएर मजदुरीमात्र गर्ने होइन, त्यहाँको नयाँ प्रविधिका बारेमा पनि सिक्नुपर्छ । विश्वमा प्रवेश गरिसकेको तर नेपालमा आइनपुगेको नयाँ प्रविधि नेपालमा भित्र्याउनु पर्छ । विदेश काममा जाने व्यक्तिलाई नयाँ प्रविधिका बारेमा ज्ञान दिन जरुरी देखिएको छ । त्यस्ता व्यक्तिलाई तालिम दिने विषयमा पनि सोच बनाएका छौँ । सरकारले गर्न नसकेका विद्युत्, खानेपानीलगायतका क्षेत्रमा हात हाल्ने कुरा गरिरहेका छौँ ।
जापानी लगानीकर्ताले नेपालमा लगानी गर्ने सम्भावना कत्तिको छ ?
जापानी लगानीकर्ता सानातिना आयोजनामा लगानी गर्न इच्छुक देखिएका छन् । केही समय पहिला जापानका वैज्ञानिक नेपाल आएका थिए । उनीहरूले विभिन्न औद्योगिक क्षेत्रको अवलोकन गरेका थिए । उनीहरूले नयाँ प्रविधि जापानबाट ल्याउने र अन्य भौतिक पूर्वाधारहरू नेपालमै बनाउने योजना बनाएका छन् । फोहोरबाट विद्युत् निकाल्नका लागि जापानबाट प्रविधि भित्र्याउने कुरा भइरहेको छ । सम्भवतः त्यसले छिट्टै मूर्तरूप लिनेछ । यसैगरी शिक्षा, स्वास्थ्य, कृषिलाई पनि बढी जोड दिएका छन् । ती क्षेत्रमा पनि लगानी ल्याउने कुरा धेरै अगाडि बढिसकेको छ ।
एनआरएनहरूले नेपालमा व्यावसायिक रूपमा भन्दा पनि चर्चाकै लागि मात्र लगानी गर्ने अवस्था देखिएको छ नि ?
होइन, लगानी पनि चर्चाका लागि कसैले गर्दैन । किनकि कोही कसैले आफू चर्चामा आउन केही रकम लगानी गरे पनि त्यो दिगोपन हँुदैन । क्षणिक हुने भएकाले आफ्नो रकम लगानी गर्नेले नाफामूलक र सेवामूलक क्षेत्र नै खोज्ने गर्दछ । आफू अनुकूलको भेटेको खण्डमा त्यहाँ व्यावसायिक रूपमै लगानी गर्छ । लगानी भनेको सामान्य कुरा होइन । जहाँ रकम खर्च हुन्छ त्यहाँ धेरथोर व्यावसायिकता हुन्छ । हामी सामूहिक लगानीको मापदण्डमा गएका छौँ र जहाँ जुन काम हुन्छ त्यहाँ हाम्रो प्रष्ट नाफामूलकभन्दा पनि सेवामूलक क्षेत्रमा लगानी गर्ने सोचाइमा लागेको छाँै । कुन लगानीलाई व्यावसायिक भन्ने कुन लगानीलाई व्यवसायिक नभन्ने ।
विदेशी नागरिकलाई नेपालमा लगानी गर्नका लागि कस्ता खालका कार्याक्रम गर्नुभएको छ ?
हामीले आ–आफ्नो पक्षबाट नेपालमा लगानी भित्र्याउनका लागि भिन्न चेतनामूलक कार्यक्रम, छलफल भेटघाट जस्ता कार्याक्रम चलाइरहेका छाँै । त्यस अवस्थामा इच्छुक विदेशी नागरिक लगानीकर्ताले नेपालमा विशेषगरी कुन क्षेत्रमा लगानी गर्न उपयुक्त हुन्छ भनेर प्रश्न गर्दछन् । हामीले ऊर्जा, पर्यटन, होटल र कृषिमा राम्रो छ भनेका छौँ । विभिन्न चरणमा हुने गरेका कुराकानीमा उनीहरूलाई नेपालमा लगानीका लागि राम्रो छ भन्ने गरेका छाँै । अब समय अनुसार नयाँ कार्यक्रमका साथ अगाडि बढ्ने छौँ ।
यहाँहरूको छैटौँ विश्व सम्मेलन तथा १० औँ वार्षिकोत्सवमा राजनीतिक हस्तक्षेपका कारण संघमा चर्को विवाद आएको छ भन्ने सुनिन आएको छ, यो विवादले चर्को रूप लिने अवस्था देखिन्छ, अब भन्नु होस् कि, यहाँ पनि जिम्मेवार पदमा रहेकाले सो विवाद मिलाउन कस्तो खालको भूमिका खेल्नु हुन्छ ?
हो, नयाँ नेतृत्व चयनमा राजनीतिक हस्तक्षेप नहुनुपर्ने थियो भयो । यो संगठनका लागि ठूलो घाटाको विषय हो । प्रजातान्त्रिक तवरबाट आ–आफूमा प्रतिस्पर्धा हुने नराम्रो होइन । तर, राजनीतिक दलको इशारामा प्रतिस्पर्धा हुनु भनेको राम्रो पक्ष होइन । अब जे नहुनुपर्ने थियो भयो । यसलाई नेतृत्व लिनेले सबै प्रतिस्पर्धालाई बिर्सिएर अगाडि बढ्नुपर्छ । सबैको समस्यामा हातेमालो गरिनुपर्छ । राजनीतिक हस्तक्षेपलाई नेतृत्व तहले नियन्त्रण गर्न सक्नुपर्छ । हामी पनि विवादलाई बढाउने नभई समाधान गर्नेतर्फ आफ्ना पाइला अगाडि बढाउने छौँ । संगठनको सामूहिक र सामाजिक अभियानलाई प्राथमिकता दिन आग्रह गरेका छाँै । अरूको संगठनजस्तो चिराचिरा पारेर आफ्नो काम नगर्न पनि हामीले जिम्मेवार पक्षलाई चेतावनीसमेत दिइरहेका छाँै ।

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...