जुत्ताको गुणस्तर जाँँच्ने काम उपभोक्तालाई दिएका छौं
होमनाथ उपाध्याय
अध्यक्ष , छाला जुत्ता तथा बस्तु उत्पादक संघ
होमनाथ उपाध्याय
अध्यक्ष , छाला जुत्ता तथा बस्तु उत्पादक संघ
२०४० सालमा म्याग्दीबाट आमाबुबाले काठमाडौं ल्याउनु भयो । २०४३ सालमा क्याम्पस पढ्दै गर्दा मामासंग सामान्य रुपमा तयारी कपडा र अन्य सामानको व्यापार सुरु गरेका होमनाथ उपाध्याय अहिले नेपाली उत्पादनको महत्वपुर्ण पदमा रहेर कुशल नेतृत्व गरी रहेका छन् । उनले मामाकै सहयोगमा भारतबाट तयारी कपडा जुत्ता र चप्पलको आयातगरी व्यवसाय सुरु गरे । भारतबाट आयातको कार्य गदैजादाँ भारतीय नागरिक शुकदेवसिंह बत्राको सल्लाहा अनुसार उनले जुत्ता चप्पलको मात्र व्यवसाय गर्न थाले । भारतीय नागरिक बत्राको सहयोगमा आज उनी आफ्नै देशमा जुत्ता चप्पलको व्यवसाय गर्न सक्षम भएका छन् । जुत्ता चप्पल, तयारी पोशाक पसलबाट व्यवसाय सुरु गरेका उपाध्याय विभिन्न संघ÷संस्थामा आबद्ध भई सामाजिक उत्तरदायित्वका कार्यमा पनि सक्रिय रहँदै आएका छन् । काठमाडौंमा ‘विएफ डियर हिल’ को नामबाट जुत्ता चप्पलको व्यवसाय गर्दाको अनुभवकै कारण पछिल्लो समय उनले स्वदेशमै उत्पादन हुने जुताचप्पलको उत्पादन र बिक्री सुरु गरेका छन् । उक्त कम्पनीको प्रबन्ध निर्देशक पदमा रही गुणस्तरीय सामान उत्पादन गरी उपभोक्तमाझ लोकप्रिय बनाउने सोचका साथ उपाध्याय हाल नेपाली जुत्ता चप्पल व्यवसायीहरूको छाता संगठनका रुपमा रहेको छाला जुत्ता तथा उत्पादक संघको अध्यक्ष समेत रहेका छन् । पछिल्लो समय विभिन्न देशको भ्रमणका क्रममा त्यहाँबाट सिकेको सीप र प्रविधि प्रयोग गरी नेपाली जुत्ता चप्पलको गुणस्तर उत्पादन गर्दै आएका संघका अध्यक्ष उपाध्यायसँग नेपाली जुत्ता चप्पल उत्पादनको सम्भावना, चुनौतीकाबारेमा केन्द्रीत भई कमाण्डर पोष्टका रोशन कार्कीले गरेको कुराकानीको सम्पादित अंश ः
० नेपाली जुत्ता चप्पलको अवस्था र यसको भविष्य कस्तो छ ?
– अहिलेसम्म हाम्रो देश आफ्नै उत्पादनमा निर्भर नभई सकेको अवस्था रहेको छ । ५० प्रतिशतभन्दा बढी फुटवेयर सामानहरू आयात हुनेगरेको छ । त्यसैकारण पनि स्वदेशी जुत्ता चप्पलको माग दैनिक रूपमा बढ्दो छ । अहिले स्वदेशी उत्पादनले माग पूरा गर्न सकेको छैन । विगत ४÷५ वर्षदेखि विदेशी जुत्ता चप्पलभन्दा स्वदेशी जुत्ता चप्पलहरूको माग बढेका कारण यसको भविष्य राम्रो देखिएको छ । सुरुका दिनमा नेपाली उत्पादनलाई उपभोक्ताहरुले नरुचाउने हो की भन्ने चिन्ता थियो । तर हामीहरुले उत्पादन सुरु गरेर जुत्ता चप्पल बजार पठाएपछि थाहा भयो हाम्रा उपभोक्ताहरु विदेशीभन्दा स्वदेशी सामानको खोजीमा रहेछन् भन्ने । त्यसैले अहिले यो व्यवसाय फस्टाउदो क्रममा रहेको छ । विदेशी जुत्ता चप्पलहरू देख्दा राम्रो झल्याक–झुलुकमात्र हुने गुणस्तर नहुने कारण पनि विदेशी ब्राण्डभन्दा स्वदेशमै उत्पादन गरिएका जुत्ता चप्पल गुणस्तरीय हुने विश्वासका साथ केही वर्षदेखि स्वदेशी सामान प्रयोग गर्नेहरूको संख्या बढेको छ ।
० विदेशी कम्पनीको जुत्ताभन्दा नेपाली जुत्तामा फरक विशेषता चाहीँ के छ ?
– उत्पादनमा पक्कै पनि फरक विशेषता छ । हाम्रो अनुभवी ग्रुपद्वारा सञ्चालित कम्पनी हो । यो समूहले पटक–पटक विदेशमा गई गुणस्तर सम्बन्धी तालिम र अनुभवलाई समेटेर नेपाली उत्पादनै उपभोक्ता माझ लैजाउन हामीले उत्पादन सुरु गरेका हांै । लगाउँदा आरमदायी र हलुका सबै पिढीलाई सुहाउँदो जुत्ताचप्पलहरू बजारमा ल्याएका छौं । त्यसो त यो विशेषता छ भनेर प्रचार गर्नुभन्दा पनि अन्यभन्दा नेपाली उत्पादनका जुत्ताका यस्ता विशेषता रहेछ भनेर ग्राहकबाटै आओस् भन्ने चहान्छौं । कम्पनीले सुधार गर्नुपर्ने कुरामा पनि प्रचारबाजीभन्दा हामीलाई भनेर सहयोग पु¥याउनुु हुनेछ भन्ने हामीले अपेक्षा गरेका छौं । विदेशबाट आयत भएका जुत्ता चप्पलकामा प्रयोग भएका छालाहरु गुणस्तर त भन्नेमा विश्वास लिन सकिदैन् । विदेशी जुत्ता चप्पल हेर्दा झिलिक्क चिल्ला हुन्छन् तर त्यसबाट उपभोक्ताहरु ठगीने गरेका छन् । विदेशबाट आयत हुने जुत्ता चप्पलको भन्सार मुल्याङकमा समेत छली गरेका हुन्छन् त्यसैले उपभोक्ताहरु मंहगोमा जुत्ता चप्पल खरिद गर्नु पर्ने बाध्यता छ । अब सो बाध्यता नेपाली जुत्ता उत्पादनकहरुबाट हटेको छ । जुत्ता प्रयोग गर्नेहरुले सहजै सम्बन्धित कम्पनीका प्रमुखसंग खुलेर आफ्ना कुरा राख्न र सुझाब समेत दिन सक्ने भएकाले विदेशी भन्दा स्वदेशीमा यही फरक हुन्छ ।
० विदेशबाट आयातित सस्ता जुत्ता चप्पलले बजार लिइरहेको अवस्थामा यहाँहरूको कम्पनीले विदेशी जुत्ता चप्पलसँग प्रतिस्पर्धा गर्न सक्ला र ?
– हामीले विदेशी उत्पादनसंग सुरुका दिनदेखिनै प्रतिस्पर्धा गरेका छौ अब प्रतिस्पर्धा हैन प्रतिस्थापन गर्नेमा पुगेका छौ । सवै साथीहरुले पछिल्लो समयमा ठूला मेसिनहरु र नयाँ प्रविधिबाट उत्पादन सुरु गरेका छन् । तरपनि आबश्यकता अनुसार नेपालमा कच्चा पदार्थ नभएकाले पनि कठिन भएको छ तर पनि कच्चा पदार्थ आयात गरेर भएपनि हामी विदेशी जुत्ता चप्पलको विस्थापन गर्नेमा सक्षम हुने छौ । आयातित सामानको भीडमा हामीहरू पनि विदेशीभन्दा स्वदेशी उत्पादन बढी टिकाउ र गुणस्तरीय हुन्छ । आयातित जुत्ता चप्पलहरू कति समय टिक्छ भन्ने पनि वारेन्टी छैन । किनेको भोलिपल्टै पनि च्यातिन सक्छ । त्यसबारे उपभोक्ताहरूले कहाँ गएर उजुरी÷गुनासो गर्ने भन्ने ठाउँ नै छैन । हेर्दा झिलिक्क राम्रो देखिन्छ तर गुणस्तर हुँदैन । त्यसैले आम उपभोक्तालाई सामान खरिद गरेपछि राम्रोसँग उपयोग गर्न पाउन्, उपभोक्ता नठगिउन् भन्ने हाम्रो मुख्य उदेश्य हो । सोहीअनुसार हामी अघि बढेका कारण आयातित जुत्ताचप्पलका कारण कुनै असर पर्दैन भन्ने लाग्छ । हामी हाम्रोे लक्ष्यअनुसार विदेशीभन्दा स्वदेशी उत्पादन नै प्रयोग गरौं भन्ने भावना आम उपभोक्तालाई जागृत गराउने छौं ।
० नेपाली उत्पादनको नाममा स्वदेशी कच्चा पदार्थ प्रयोग गर्नेभन्दा पनि अर्ध तयारी जुत्ता बाहिरबाट ल्याएर टुक्ताहरू जोड्ने काम मात्र भएको भन्ने आरोप पनि लाग्दै आएको छ नि ?
– व्यवसायमा केही विसंगती, विकृति भित्रिएका होलान् सवै ठिक भन्न सकिदैन् । कोही कोही व्यवसायले चाडो नाफा कमाउने उदेश्यले यस्तो कार्य भएका होलान् । त्यसोभनी रहदाँ सवैले त्यो कार्य गरेर उपभोक्तालाई ठगी गरेका छन् भन्नेमा चाही म विस्वास लिन सक्दिन ।
किनकि जुत्ता चप्पलको काम भनेको करिब ८० प्रतिशत हातले गर्नुपर्ने हुन्छ । यहाँले भने झै नेपालमा आवश्यकता अनुसार कच्चा पदार्थ पाइँदैन । जुत्ताचप्पलका लागि नपुग कच्चा पदार्थ विदेशबाट आयात गर्दैमा जुत्ता नेपालमा ल्याएर जोड्ने भन्ने कुरा हुँदैन । त्यो गर्ने हो भने करोडौं रुपैयाँ लगानी गरेर किन कम्पनी स्थापना गर्नु प¥यो ? बैंकबाट महँगोमा ब्याज किन लिनुप¥यो, होइन र ? त्यसैले यो नबुझिकन लगाएको आरोपमात्र हो । अन्य उद्योगहरूले के गर्छन् थाहा छैन, तर हामी भने कच्चा पदार्थ आयात गरेपछि पुनः त्यसलाई प्रशोधन गरेर नेपाली जुत्ता चप्पल उत्पादन गर्छाैं ।
० अहिले नेपाली उत्पादनका नाममा बजारमा आएका विभिन्न ब्रान्डका जुत्ता चप्पल अत्यधिक महँगा छन् भनिन्छ नि ?
– हो यहाँले भने झै अन्य जुत्ता चप्पलभन्दा केही मंहगो छ । किनकी हामीले जुत्ता चप्पल बनाउने कच्चा पदार्थ आयत गर्नुपर्छ । स्वदेशमा पाउने हो भने त्यो गुनासो आउने छैन् । डलरको मूल्यमा भएको वृद्धि ३० प्रतिशतले भएकाले केही मंहगो हुन गएको हो । आयातित सामानहरू सिधैं बिक्री वितरणमा लैजान सकिन्छ, लागत पनि कम पर्छ, तर नेपालमै उत्पादन गरिने त्यसमा पनि गुणस्तरीय उत्पादन उपभोक्तालाई दिनुपर्ने भएकाले अन्यको तुलनामा केही महँगो हो, तर अहिलेको बजारअनुसार धेरै महँगो भने होइन ।
० यहाँहरूले पत्रकार सम्मेलन गरेर आफ्नो उत्पादनको खुवै चर्चा गर्नुभयो, तर उपभोक्ताले भने नेपाली जुत्ता चप्पल लगाउँदा पैताला पोल्ने, औंला सुनिनेलगायतका आरोप लागएका छन् नि ?
– हामी सवैमा गुणस्तर छ भनेर ठोकुवा गर्ने पक्षमा छैनौन् । किनकी उत्पादन गरिदा एक दुई जोरमा त्यस्तो भेटीनु स्वभाविक हो । यसो भनी रहदाँ आफ्नो उत्पादन गुणस्तरीय हुनु हुदैन भन्ने हैन् । किनकी उपभोक्ताहरुको गुनासाका आधारमा आफ्नो कमीकमजोरीलाइै सुधार गरेर गुणस्तरीय जुत्ता चप्पल उत्पादन गरिनुमा विकल्प छैन् । दोस्रो कुरा उपभोक्ताहरुले आफुले खरिद गर्ने सामाग्रीको बनावट र गुणस्तरीयताका बारेमा जान्नु पनि पर्छ । जुत्ता खरिद गर्दा बाहिर चिल्लो चिटिक्क परेकोमात्र खरिद गर्दा त्यो समस्या बढी आउछ । भित्रको उत्पादित जुत्ताको बनावट पनि हेर्नु पर्छ ।
कुनै पनि लगानीकर्ताले आफ्नो लगानी डुबोस् भन्ने चहाना राखेको हँुदैन । त्यसैले आफ्नो लगानी उठाउने भनेको आम उपभोक्ताले उत्पादित सामानको प्रयोग गरे दिएपछि मात्र हो । पैलाता पोल्ने, औला सुनिनेलगायतका समस्या नआओस् भन्ने कुरामा लगानीकर्ताले ध्यान दिएकै हुन्छ । त्यस्तो भएकै रहेछ भने पनि सम्बन्धित ठाउँमा गुनासो गरेमा उपभोक्तामाथि परेको असुविधाबारे कम्पनीले कुनै कन्जुस्याई नगरी समस्याको समधान गर्छ ।
० आफ्नो उत्पादन गुणस्रीय भएको दाबी गर्नुभयो, कसरी प्रमाणित गर्न सक्नु हुन्छ ?
– गुणस्तरका बारेमा हामीहरुले दाबी गर्ने होइन् । यो गुणस्तर छ या छैन भन्ने जिम्मा आम उपभोक्ताहरु नै भएकाले कसको उत्पादन गुणस्तर छ भन्ने बारे उपभोक्ताबाट आएको सुझाबका साथै गुनासोबाट नै प्रष्ट हुन्छ । किनकी, मंहगोमा खरिद गरेपछि २÷३ मा च्यातिने गरेको छ तर, हामीले उत्पादन गरेका जुत्ताहरुमा ६ महिनाको वारेन्टी दिएका छौ । दैनिक ५ सय जोर जुत्ता बिक्री हुदाँ १÷२ जोर जुत्तामा कमजोरी आउनुले नै हाम्रा उत्पादन गुणस्तर छ भन्ने हाम्रो ठप्याई रहेको छ । कम्पनीले आफ्नो सामान गुणस्तर छ भनेर दाबी गनेनै होइन् नी । करोडौं लगानीमा सञ्चालन गरेको कम्पनीले गुणस्तरहीन सामान उत्पादन गरेको खण्डमा त उसको लगानी त ढुब्छ होइन र । आफ्नो लगानी सुरक्षित गर्न पनि गुणस्तर जुत्ताचप्पल उत्पादन गर्नुको विकल्प छैन् ।
० यहाँहरूकै उत्पादनको न्यूनतम मूल्य १ हजार रुपैयाँभन्दा माथि छ, यसमा सबै नेपालीको पहँुच पुग्छ र ?
– आबश्यकता अनुसारको छाला पाउने अबस्था छैन् । विदेशबाट आयात गरिनु पर्छ । कच्चा पदार्थ स्वदेशमा नपाउने भएकाले मंहगोमा विदेशबाट आयात गर्नु पर्नेभएकाले मंहगोे पर्न गएको हो । अहिलेको अबस्थामा जुन मुल्य नेपाली उत्पादनको मुल्य छ त्यो अरु उत्पादनको हकमा सस्तो नै हो भन्नु पर्छ । नेपाली मुद्राको अवमूल्यनका कारण सामान पनि मँहगो भएको छ । यहाँ छिमेकी देशबाटै आयात भएको जुत्ताचप्पलको मूल्य गत वर्ष र यस वर्षमा फरक छ ।
० पटक–पटक उद्योगमा मजदुर समस्याहरू आउने गरेका छन् । मजदुर समस्या कसरी समाधान गर्नुभएको छ ?
– हो, पटक पटक मजदुर समस्या आउने गरेको छ । यहाँ एउटा उद्योग सञ्चालनका लागि मजदुर मालिकबीच नङ मासुको सम्बन्ध हुनु पर्छ । मजदुरको समस्यालाई पनि मालिकले बुझ्नु पर्छ मालिकको समस्यापनि मजदुरले बुझ्नु पर्छ यसो भएमा मजदुर समस्या आउदैन भन्ने लाग्छ । गएको दशैताका शिखर सुज कम्पनीमा मजदुर समस्या भयो । त्यो समस्याबाट मालिकलाईमात्र हैन मजदुरलाई पनि घाटा पर्ने गयो । किनकी जहाँ जुन समस्या आउछ त्यो मालिकलाईमात्र पर्दैन नी । देशमा राजनीतिक अस्थिरता कारण मजदुर समस्याहरू आउने गरेका छन् । जाहेज मागका कारण आएको समस्यालाई समाधान गर्न कुनै गाह्रो हँुदैन, तर कामदारको नाममा बाहिरबाट हुने आन्दोलन मागका कारण मजदुर समस्याले उग्ररूप लिएको छ । तर, यसलाई पनि बार्ताका माध्यमबाट समाधान गर्नुको विकल्प छैन । किनकि एउटा कम्पनी सञ्चालन हुनलाई मालिकले मात्रै गरेर पुग्दैन, उसले लगानी गर्ने हो, त्यसपछि त्यो कम्पनीमा कार्यरत मजदुर, कर्मचारी र मालिकबीचको सुमधुर सम्बन्धबाट मात्रै सफल हुनेभएकाले जबसम्म यो कम्पनी आफ्नै हो भन्ने भावना उत्पन्न हँुदैन, तबसम्म समस्या आइरहन्छन् । मालिकले पनि मजदुरको पसिनाको उचित मूल्य दिनुपर्छ र मजदुरले पनि मैले यसैबाट परिवार पालेको छु, कम्पनी फस्टाएमा हामीलाई पनि फाइदा पुग्छ भन्ने भावना जागृत गराउनुपर्छ ।
० विभिन्न उद्योगमा देखिएका श्रम समस्यालाई कसरी हेर्नुभएको छ, सरकारले यो समस्या दीर्धकालीन रूपमा समाधान गर्न के गर्नुपर्ला ?
– यो श्रम समस्या राष्ट्रिय रोग नै भएकाले सचेत हुनेपर्ने छ । कुनै पनि कम्पनी सञ्चालन गर्न एक्लैले सक्दैन । त्यहाँ जनशक्ति भर्ना गरिनुपर्छ । सुरुमा नोकरीका लागि प्रवेश गर्छन्, पछि उनीहरूले नै विभिन्न पार्टीको नाममा युनियन स्थापना गरेर जायज÷नाजाहेज माग राखी कम्पनीनै बन्द गराउनेसम्मका काम भएका छन् । यस्तो हुनु देशमा अस्थिर सरकार र अस्थिर राजनीतिक कारण हो । यहाँ राजनेताहरूले कम्पनीमा पनि राजनीतिक गरेकाले यो समस्या राष्ट्रिय समस्या बनेको छ । सरकारले यो समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न समयमा औद्योगिक नीति ल्याउनुपर्छ, समयानुकूल श्रम ऐन नियमलाई परिमार्जन गरिँदै पूर्णरुपमा कार्यान्वयन गर्नु पर्छ । अनिमात्र समस्या समाधान हुन्छ । सरकारले सो समस्या समधान गर्न कुनै पहल गरेको जस्तो मलाई लाग्दैन । किनकी पटक–पटक श्रम समस्या, उद्योग सञ्चादन गर्नकालागि आबश्यक र उचीत स्थानका नभएका कारण नेपाली उत्पादनलाई विश्व सामु पु¥याउन सकि रहेका छैन भनेर सो समस्या समधान गर्न दवाव दिएका छौ तर पनि सरकारले त्यसप्रति ध्यान नदिएका कारण पटक–पटक श्रम समस्याले उद्योगमा सताई रहने गरेको छ । अब बन्ने सररकारले पहिलो चरणमा श्रम समस्यालाई सम्बोधन हुनेगरी ऐन कानून ल्याई कार्यान्वयन गर्नु पर्छ ।
० व्यवसायीहरुबीच कत्तिको प्रतिस्पर्धा छ ?
नेपाली व्यवसायीबीच प्रतिस्पर्धा भन्दा पनि बिदेशी जुत्ताहरूनै हाम्रो मुख्य प्रतिस्पर्धी हुन् । खासगरी नक्कली बिदेशी ब्राण्डका जुत्ताले हामीलाई समस्या भएको छ । पाइरेसी जुत्ताहरू ठुलो मात्रामा नेपालमा भित्रने गरेको छ । यसमा भन्सार कार्यालयले पनि चासो दिन सकेको छैन् । यसले हाम्रो व्यवसायलाई असर परेको छ । नेपाली जुत्ताको व्यवसाय राम्रो हुदा हुदै पनि जून रुपमा औद्योगिक राष्ट्रका रुपमा विकसित हुनुपर्ने हो त्यो हुननसकेकाले यो व्यवसायले पनि सोचेअनुरुप प्रगति भने गर्न सकेको छैन् । दलहरुले आर्थिक क्रान्तिको नारा दिएपनि त्यसको साकार पार्नका लागि काम हुन सकेको छैन् । हामीले पनि गुणस्तरमा धेरै सुधार गरिसकेका छौं । नयाँ नयाँ डिजाइनमा उत्पादन गरेका छौं । बजार विस्तार भएको छ । नेपाली उत्पादन भन्ने बित्तिकै नाक खुम्चाउनेहरुले अहिले नेपाली उत्पादनका जुत्ताहरु खोजी खोजी प्रयोग गर्ने गरेका छन् ।
० अहिले कुल बजारमा कति प्रतिशत नेपाली जुत्ताको स्थान छ ?
ठ्याक्कै भन्न सकिने आकलन हामीसँग छैन । तथापी ६० प्रतिशतभन्दाबढी बजार नेपाली जुत्ताले ओगटेको छ भन्न सक्छौं । अब त्यो प्रतिशतलाईपनि हाम्रा उत्पादनले विस्तारै विस्तापन गरेर सय प्रतिशत पु¥याउने योजनाका साथ हाम्रो संघ अघि बढि रहेको छ । यसमा स्वदेशी उत्पादनमा भर पर्नकालागि सरकारले पनि अमिल्दो भन्सार नीति र करमा समयसापेक्ष परिमार्जन गरेमा हामी सजिलै विदेशी जुत्ता चप्पलमा आत्मनिर्भर बन्नेमा कुनै दुविधा छैन् ।
० समस्या चाहीँ के छ यस व्यवसायमा ?
मुख्य समस्या भनेको दक्ष जनशक्तिको अभाव नै हो । ४५ डिग्रीको तापक्रममा गएर हाम्रा नेपालीहरू पसिना बगाइरहेका छन् तर हामी कामदार नपाएर आक्रान्त छौं । दोस्रो कुरा राज्यले पनि यो व्यवसायलाई प्रबद्र्धन गर्ने खालको नीति ल्याउन सकेको छैन । हामीचाहिँ त्यहि मुलुकबाट सम्पूर्ण सामान खरिद गरेर ल्याई लोडसेडिङ झेलेर जुत्ता उत्पादन गरी त्यहि देशका जुत्ताहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । बिदेशबाट आउने जुत्ताको वास्तविक भन्सार मूल्याङकन हुनु जरुरी छ । तबमात्र हामी प्रतिस्पर्धा गर्न सक्षम हुनेछौ ं।
० यहाँले पनि लामो समयदेखि ‘विएफ डियर हिल’ जुत्ताको उत्पादन गर्दै बिक्री गर्दे आउनु भएको छ, सो जुत्तापनि चीनको खासाबाट आयात गरेर नेपाली ब्राण्डको स्टीकर टाँस्ने गरेको भन्ने आरोप रहेको छनी ?
– त्यो आरोपमात्र हो । आरोप लगाउन सजिलो हुन्छ तर त्यो अनुसार काम गर्न कठिन हुने गरेको छ । मेरो उत्पादनका जुत्तामा नेपाली ब्राण्डको स्टिकर टाँस्ने हो भने कामदार किन राख्नु प¥यो र । जुत्ता ल्यायो अनी २÷३ जना राखेर रातभरी टाँसे भयो हैन् र ? एउटा उत्पादनमा अर्को लेवल टाँसिदैन् । एक÷दुई पटक त्यो सफल होला तर लामो समयसम्म जुत्ताकै व्यवसाय गर्ने भएपछि त त्यो सम्भाबना नै रहदैन । उपभोक्ताले एक पटक लगाएको जुत्ता अर्कोपटक खोज्न आएनन् भने त लगानी ढुव्ने खतरा कुनै व्यवसायीले गर्दैन् नी ।
० यहाँ त जुत्ता उद्योगको छाता संगठनका रुपमा रहेको छाला जुस्ता तथा वस्तु उत्पादक संघको अध्यक्ष पनि हुनुहुन्छ, संघको भावि योजना के रहेको छ ?
–लामो समयदेखि सरकारले औद्योगिक ऐन ल्याउन सकेको छैन, औद्योगिक क्षेत्रको अभाब रहेको छ, भन्सार, करमा मेलखाने ऐन लगायत अन्य समस्याहरु धेरै रहेकाले सोबारे क्रमैसंग छलफल गरेर समधान गर्नेतर्फ संघले योजना बनाएको छ । स्वदेशी उत्पादनकालागि दक्ष जनशक्तिको अभाब भएकाले सरकारले तालिमको व्यवस्था गर्नु पर्नेमा पनि दवाव दिएका छौ । यदी सरकारले तालिम दिन सक्दैन भने, हामीलाई उपयुक्त स्थान दिएको खण्डमा तालिमकालागि संघले दिने छ । दक्ष जनशक्ति, आबश्यकता अनुसारको कच्चा पदार्थ पनि स्वदेशमै पाउने व्यवस्था सरकारले गर्नकालागि हामीले पहल गर्ने छौ । मासिक रुपमा ३ सय भन्दाबढीलाई तालिम दिएर दक्ष जनशक्ति उत्पादन गर्न सकेको खण्डमा विदेशबाट माग भइ आएको नेपाली उत्पादनका बस्तुहरु पु¥याउन सक्ने दाबी गर्दछौ । सवै यस उद्योगमा भएका विसंगती बिकृतिलाई हटाउनकालागि पनि संघले विषेश कार्याक्रमका साथ आफ्नो योजनाहरु आम सदस्यहरुमा छलफल गरेर अगाडि बढ्ने गरेका छौ ।
० अन्तमा
सरकारद्वारा श्रम ऐनलाई कानूनीरुपमा लागू गरिनु पर्छ भन्नेमा छौ । सरकारले फुटवयर टेक्नोलोजी कलेज स्थापना गर्ने, सो सम्बन्ध पुस्तक प्रकाशन गर्ने जस्ता कार्या गरेमा हामी स्वदेशी उत्पादनमै आत्मनिर्भर भई आयातलाई विस्तापन गर्न सक्षम हुने थियौ । अरु कुरा स्थापना कालदेखिनै हाम्रा उत्पादनमा गुणस्तरको नाममा नक्कली वस्तुको बिक्री वितरण हुने गरेको अलि बढीनै गुनासो आएका कारण त्यो समधान गर्नकैलागि संघको पहलमा ‘समुहिक व्यापार चिन्ह’ लागू गर्दै छौ । त्यो चिन्ह आगामि वर्ष हुन लागेको ११ औं प्रर्दशनीका क्रममा सार्वजनीक गर्ने छौ । जुन प्रर्दशनीमा संघमा अबद्ध भएका ७० वटा उद्योगबाट उत्पादन भएका जुत्तामा त्यो चिन्ह (होलोग्राम) टाँसिएर सार्वजनिक हुने छ । जुनले त्यो चिन्ह प्रयोग गर्दैन त्यो वस्तुको गुनासो हामी समधान गर्ने छैननौ । त्यो चिन्ह सहि रुपमा प्रयोग भएको छ या छैन भन्ने अनुगमन हाम्रो संघ, नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिले अनुगमन गर्ने छ । यदी नभएको पाइएमा विधान अनुसार कारवाही संघले गर्छ ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.