Sunday, December 17, 2017

यही हो हाम्रो देशको लोकतन्त्र !!!

रोशन कार्की
संस्कार बिनाको राजनीति गर्नु गुण्डागर्दी हो, छलकपट हो । त्यस्ता दल या समूहबाट जनताको हित हुन्छ भनेर पत्याउने हामी जनता महामुर्ख हौ । जतिजति राजनैतिक आवरणमा गलत हर्कतहरु हुन्छन्, त्यति त्यति जनतामा राजनीतिप्रति घृणा त हुन्छ तर निर्वाचनमा त्यही पृष्टभुमीका व्यक्तिलाईनै आफ्नो अमुल्यमत दिएर सोही कार्य गर्न लाईसेन्स दिने गरेका छौ । भखैरै सम्पन्न निर्वाचनबाट पनि सोही पुष्टी भएको छ । अनि सुझबुझ भएकाहरुले राजनीतिलाई सराप्छन् । तर देश बनाउने पनि राजनीतिले नै हो, देश बिगारेको पनि राजनीतिले नै हो । यसैले राजनीतिको नयाँ कथ्य र तथ्य चाहिएको छ । गत वर्ष चितवनमा अन्तिम समयमा आएर सत्ता र शक्तिको आडमा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यात्दा त्यसको विरोध सर्वत्र भयो । माओवादीहरुमा अझै पनि युद्धको धङधङी छ भन्ने तर्कमा थप बल पुगेको थियो । तर एमालेले पनि हुलदंगाको राजनीति गर्नु हुँदैनथ्यो । राजनैतिक स्वार्थको लागि जोसंग पनि घाँटी जोड्ने, राज्यकोषको दोहन गरी खाने कुरामा एकगठ हुने, राष्ट्रिय स्वाभिमानका मुद्दाहरुमा जनतालाई गुमराहमा राखेर आफ्नो स्वार्थसिद्ध गर्ने, सांसद पदको किनबेच गर्ने, राजनैतिक आवरणमा भ्रष्टाचार गर्ने, न्यायपालिका र कार्यपालिकाबीच तनाव पैदा गर्ने, एउटा उद्देश्य प्राप्तिका लागि एउटासंग र अर्कोको लागि अर्कोसंग मौसमअनुसार घाँटी जोड्ने संस्कारको हामी प्रत्यक्षदर्शी बनेर हामी बसिरहेका छौँ । भखैरै भएको प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनबाट एकाएक माननीय ‘डन’ को विजय यात्रा सुरु भयो हिमाली जिल्ला मनाडबाट । धनगढी हत्याकाण्डका फरार अभियुक्त रेशम चौधरीले प्रदेश ७ को संसद् यात्रा सुरु गरे । हिंसालाई सर्वोपरि ठान्नेहरूका निम्ति उनको विजय यात्रा गौरवको विषय बन्न पुगेको छ । तर, विधिको शासन हुनुपर्छ भन्नेका निम्ति उनको विजयमा खुसी हुन सकिँदैन । निश्चय नै यसपटकको निर्वाचन परिणाम आश्चर्यचकित तुल्याउने किसिमको आएका छन् । निर्वाचित व्यक्तिहरूको आपराधिक पृष्ठभूमि कहिन कहि जोडीएको छ, तर अहिले सम्म एकदुई जनाकोभन्दा अरुको सतहमा आएको छैन । अहिले चर्चाकै विषय बनेका ‘डन’ का रूपमा छवि बनाएका राजीव गुरुङ उर्फ दीपक मनाङेको मनाङमा प्रदेश सभाका लागि भएको विजयले पनि यस्तै आश्चर्यचकित तुल्याएको थियो । मुलुक संघीयतामा प्रवेश गरेका र विधिको शासन सञ्चालन होला भन्ने अपेक्षा विपरित भएका यस्ता विजय यात्राले लोकतन्त्रकै उपहास गरेको छ । त्यसमा पनि एक बालकसहित आठ प्रहरीको हत्या भएको मुद्दामा अदालतसमेत उपस्थित नभई फरार रहेका चौधरी माननीय बन्नुले कानुनको शासनको धज्जी उडाउने काम गरेकै हो । कानुनी छिद्र प्रयोग गरेर भोलि गम्भीर अपराधमा संलग्न भएका व्यक्तिसमेत निर्वाचनबाट विजय भएर आउने बाटो विस्तारै खुल्दै गएको छ । गएको संविधानसभाको निर्वाचनमा विजय भएर संसद पुगेका बबन शाहदेखि प्रत्यक्ष आपाराधिक कृयाकलापमा मुछिएका व्यक्तिहरुको संसद बन्ने लहर सुरु भएको हो भने अहिले त्यसमा बृद्धि हुदै गएको छ । कुनै बेला भारतमा दलहरूले गुण्डाहरूलाई निर्वाचनमा प्रयोग गर्ने गरेका थिए । कालान्तरमा तिनै गुण्डाले राजनीतिको आश्रय लिए र संसदमा निर्वाचितसमेत भए । हत्या, बलात्कार र अन्य गम्भीर आरोप लागेका सांसदको ठूलो संख्याबारे उल्लेख गर्दै त्यहाँका सञ्चारमाध्यमले तिनको विवरण सार्वजनिक गर्दा लाजमर्दो स्थिति पैदा भएको थियो । ठिक अहिले नेपालमा पनि सोही अबस्था आएको छ । नयाँ नेपालको परिकल्पना गर्दै जारी भएको संविधानअनुसारको पहिलो निर्वाचन चक्र पूरा नहुँदै देखिएको यस्तो विषम परिस्थिति आउनु आफैँंमा लोकतन्त्रको लज्जा हो । प्रहरीको खोजीमा रहेको व्यक्तिको उम्मेदवारी वारेसमार्फत् दर्ता हुन सक्ने अवस्था यसको पहिलो त्रुटि हो । उम्मेदवारी दर्ता भइहाले पनि त्यसविरुद्ध अन्य दलका उम्मेदवारले उजुरी दिन सक्ने व्यवस्था थियो । तर त्यसमा कसैको उजुरी परेन । उजुरी नपर्नुको कारण मिलेमतो हो वा कानुनी अज्ञानता हो भन्ने प्रश्न अहिले दलहरुमाथीनै लागेको छ ? चौधरीलाई स्थानीय मतदाताले जिताउँदैमा उनीमाथि लागेको अभियोगको सफाइ हुन सक्दैन । संविधानसभामा यसअघि यस्तै किसिमको घटना दोहोरिएको थियो । फरार अभियुक्त बबन सिंह निर्वाचित भइसकेपछि झुक्याएर सपथग्रहण गर्न सफल भएका थिए । अहिले रेशम चौधरीको सन्दर्भमा पनि यसैगरी झुक्याएर सपथ लिने÷दिने प्रपञ्च नहोला भन्न सकिन्न । एक, गम्भीर अभियोग लागेका व्यक्तिले उम्मेदवारी दिनै नपाउने व्यवस्था हुनुपर्छ । पक्राउ पुर्जी जारी भइसकेका फरार व्यक्तिको उम्मेदवारी दर्ता गर्ने व्यवस्था आफैंँमा त्रुटिपूर्ण छ । त्यस्ता व्यक्ति निर्वाचित भएकै आधारमा उनीप्रति अन्याय भएको अर्थ निकाल्न मिल्दैन । ती बालक र सुरक्षाकर्मी हत्याको अभियोगमा अदालतमा चलेको मुद्दामा पुर्पक्ष हुनु आवश्यक छ । अदालतबाट उनी निर्दोष सावित भए भने त्यसलाई मान्न सकिन्छ । जनताले जिताइसकेका हुनाले दलका नेतासँग सल्लाह गरेर उनीहरूले भनेअनुसार नै उनी अभियोगबाट मुक्त हुने अवस्था आउन सक्दैन । कानुनका दृष्टिमा सबै बराबर हुनुपर्छ । स्थानीय प्रहरी र प्रशासनले उनी आउनासाथ पक्राउ पर्ने बताउँदै आए पनि झुक्याएर सपथ ख्वाउने र पछि प्रदेश सभामुखको स्वीकृति नलिई कारबाही गर्न नपाउने उन्मुक्ति उनले पाउन सक्ने अवस्था आउन सक्छ । दलका नेताका अगाडि कानुन कार्यान्वयन गर्ने प्रहरी र स्थानीय प्रशासनले पनि आँखा चिम्लन सक्ने अवस्था आउन सक्छ । उनी निर्दोष भए पहिल्यै अदालतमा हाजिर भई मुद्दा टुंगोमा पु¥याई उम्मेदवार बन्ने बाटो खोल्नुपर्ने थियो । फरार चौधरीले प्रधानमन्त्रीका रूपमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसँग भारतको औपचारिक भ्रमणका क्रममा भेटसमेत गरिसकेका छन् । त्यतिमात्र होइन, उनलाई सरकारले करोडभन्दा बढी रुपैयाँ क्षतिपूर्तिसमेत दिएको छ । यस आधारमा उनलाई जोगाउन सर्वदलीय सहमति हुन सक्छ । लोकतन्त्रको जग बसाउने बेलामा यस्ता नजीर कायम गर्दै जाने हो भने लोकतन्त्रको लाज जोगिने छैन । यसरी कतै आपाराधिक पृष्ठभुमीमा संलग्नहरु मननिय बने भने गत वर्षको स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको मतपरिणाम अन्त्यतिर आईपुग्ने बेलामा सरकार पक्ष माओवादी केन्द्रकै प्रतिनिधिहरुले मतपत्र धुजाधुजा पारेर च्यातेर अर्को अपराध गरे । उनीहरुले जनताको विश्वास च्यातेका थिए, लोकतन्त्र च्यातेका थिए र आफ्नै साख च्यातेका थिए । आफूले जित्ने अवस्थामा सबै जायज र हार्ने अवस्थामा सबै गलत हो भन्ने प्रवृत्ति लोकतन्त्र हैन, यो झोकतन्त्रमा गए । मतपत्र च्यातिए पछि नेकपा एमालेले चितवन बन्द गरेको थियो । हाम्रो देशमा नीति निमार्ण गर्नेदेखि कार्यान्वयन गर्नेसम्ममा भ्रष्ट आचरण भएकै कारण देश आर्थिक समृद्धिमा जान नसकेको हो । पछिल्लो समयमा आन्तरिक राजस्व विभागका निर्देशक चूडामणी शर्माले गरेको भ्रष्टाचारको पर्दाफासले त राजनीतिज्ञ र निजामति कर्मचारीहरु मिले भने कतिसम्म भ्रष्टाचार गर्न सक्ने रहेछन् भन्ने तितो सत्य उजागर भएको छ । मासिक चालीस पचास हजार तलब खाने कर्मचारीको नीजि सुरक्षागार्ड, बाह्र रोपनी जग्गामा ६ वटो गेटहरु छिचोलेर जानुपर्ने घर, नातागोताहरुका नाममा चल अचल सम्पतिलाई वैध बनाउन किताब बेचेर २३ करोडको आम्दानी देखाउने देशका करोडपति कर्मचारी र राजसी जीवन बाँचेर दाईजोको सुन सम्पत्ति विवरणमा देखाउने राजनैतिक दलका नेताहरुबाट पारदर्शिताको के आश गर्ने ? नेता र कर्मचारीहरु मध्ये धेरै जसो भ्रष्ट नै छन् । अब चुनाव तिरै फर्कौँ, जनताको मतलाई सम्मान नगर्ने तर, जनताको लागि राजनीति गर्छु भन्ने जिम्मेवार दलका कार्यकर्ताहरु नै जनमतलाई कुल्चने चेष्टा गर्छन् भने जनताले यिनीहरुबाट आशा गर्नुपर्ने कुरा केही छैन । भरतपुरको घटनाले माओवादी केन्द्रलाई एउटा अत्यन्त गैरजिम्मेदार दलको रुपमा चित्रण गरेको थियो तत्कालको समयमा । यद्यपि मतपत्र च्यात्ने काम पार्टीको आवरणमा व्यक्तिले गरेको हुनुपर्छ, तर त्यसलाई अनुमोदन गरेर माओवादी केन्द्रले ठूलो भूल गरेकै हो । हामीले देखेकै सुनेकै हो, अठ्ठाईस बर्षसम्म निरन्तर राजनैतिक दलका सत्ता सोपानका अक्षम्य हर्कतहरु सहेर बसेकै हो, राजनीतिलाई गलत प्रयोग गरेर हाम्रै सामु शून्य आर्थिक हैसियत भएकाहरु एकाएक महंगा गाडी, आलिशान महल र अकूत बैंक ब्यालेन्ससहित राजाको जस्तो जीवनशैली त छँदैथ्यो । त्यसमाथि राज्यले दिने मानपदवी समेत आफ्नै आसेपासे र पहुँचवालाहरुलाई बाँडेर थप निर्लज्जताको बलियो उदाहरण प्रस्तुत गरेका छन् । ईमानका सबै व्यवहारहरु बेईमानको भट्टीमा पाकिरहेका छन् । जनताले यति सबै गलत हर्कतहरु देख्दै आएका छन् । राजनैतिक पार्टीको आलोचना चाहिँ गर्ने, तर पटकपटक तिनै आलोचनाका पात्रहरुलाई छानेर पठाउने परम्परा अझै केही समय कायम हुने देखिएको छ । मुहानको उत्पत्ति नै खराब छ भने त्यसबाट सफा पानीको आशा के गर्न सकिन्छ र ? कुशल र सुसंस्कृत राजनीतिको मूल पुराना पार्टीहरुमा छैन र कहिल्यै देखिएन । बन्द, हड्ताल गर्ने, सडक बन्द गर्ने, आगो लगाउने, संसद चल्न नदिने, संसदभित्रै हानाहान गर्ने, सार्वजनिक साधन तोडफोड गर्ने जस्ता काम सबैजसो पुराना शक्तिहरुले गर्दै आएका छन् । न यिनीहरुको आयव्यय नै स्पष्ट छ, न त देशलाई एउटा लक्ष्यमा पुर्याउने स्पष्ट खाका नै छ । कोही बिपी र गणेशमानको नाम बेचेर बाँचेका छन्, कोही पुष्पलाल र मदन भण्डारीलाई भजाएर टिकेका छन् त कोही युरोप, जर्मनी र चीनमा विकास भएका तर त्यहीँ फ्लप भएका ‘वाद’ हरुको रटान गरेर टिकेका छन् त कोही पूर्वराजा र हिन्दु धर्म भजाएर टिकेका छन् भने एक थरीहरु भारतले नचाउने मदारीको भालुजस्तै उसैको ईशारामा अस्तित्व रक्षा गरेका छन् । आज जो जस्ले जे भने पनि आफ्नो हैसियत प्रष्ट भएको छ । पहिलो भएको दल अन्त्यतिर गयो गठबन्धन गरेर पहिलो पाटी त बनेको छ तर त्यो पनि दिगो हुने सम्भाबना कम छ । कोही गफ मात्रै गर्ने र कोही गफकै गफका बारेमा आलोचना गरेर नथाक्ने र केही गर्न खोज्नेलाई पनि जसरी हुन्छ काम गर्न नदिएर त्यसको दोष उसैलाई थोपर्ने गलत संस्कारयुक्त राजनीतिको विकल्प जनताले खोज्ने बेला आएको छ । जे जस्तो भए पनि लोकतन्त्र गणतन्त्र ल्याएर हामीलाई बोल्ने अधिकार ल्याईदिएकोमा यिनीहरुलाई धन्यवाद दिऊँ तर, अबको समय गम्भीर चिन्तनको समय भएकोले देशको लागि केही गर्न नसकेकाहरुको विकल्पमा पद्दति, पारिदर्शिता, ईमानदारी र उत्कृष्टताको सिद्धान्त अँगालेकाहरुलाई काम गर्न दिनेबारे सोचौँ । संस्कार र पद्दति अंगाल्न नसकेका दलहरुले कमसेकम राम्रो कामलाई निरन्तरता र नराम्रो कामलाई त्याग्नु पर्नेमा अलोकप्रिय कामहरु दोर्होयाई रहने हो भने जनता तिनैको पछाडि हिँड्नु हुँदैन । भरपर्दो विकल्प तयार भईसकेको अवस्थामा वैकल्पिक राजनीतिप्रति जनताको सद्भाव जरुरी छ । जसले जुनसुकै कारणले पनि बन्द गर्दैन, जहाँ ईमान भएकाहरु छन्, जो पारदर्शी छन् , जो केही जान्ने क्षमता राख्छन् त्यस्तो लक्ष्य लिएका पार्टीहरुलाई अब जनताले रोज्ने बेला आएको छ । यो देश सतीले सरापेको भन्दै भाषण गर्नेहरुले बुझ्नु पर्छ सतिले सरापेको हैन यो त भ्रष्ट कर्मचारी र भ्रष्ट राजनीतिले उठ्नै नसकिने गरी धुजा धुजा पारेको देश हो । अझै पनि भ्रष्ट राजनीतिलाई आँखा चिम्लेर अरुले जित्दैनन् क्यारे यिनैलाई भोट नदिएर के गर्नु भन्ने हो भने देश कहिल्यै बन्ने छैन । हामीले देश बिग्र्यो भनेर कसैलाई गाली गर्ने नैतिक अधिकार हुने छैन । त्यसैले अब देशमा संच्चा देशभक्तभन्दा पैसावाल, गुण्डा, तस्कर र आपाराधिक कृयाकलापमा संलग्नहरुले जनमत पाएर देश चलाउने मुख्य विन्दुमा आएका छन र आउनेछन् । अब हत्या, अपहरण, गुण्डागर्दी र तस्करीमा सकृय भएका सांसदबाट देशको आर्थिक बृद्धि हुन्छ देशमा आर्थिक समृद्धि भएर जान्छ भनेर आसा गर्नु खरानीको घर बनाउनु सरह हुने छ । जय होस karkirimn@gmail.com

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...