Monday, May 30, 2011

दैनिक १५ लाख राजस्व चुहावट

तातोपानी (सिन्धुपाल्चोक), जेठ १६
सरकारी सक्रियतामा कमी आएपछि चिनियाँ सामग्रीको चोरी बढेको छ। अरनिको राजमार्गमा सशस्त्र प्रहरी र भन्सार कर्मचारीसहितको चेकपोष्ट खडा गरिए पनि चोरी नियन्त्रण नहुँदा यो नाकाबाट दैनिक १५ लाख रुपैयाँ राजस्व चुहावट भइरहेको छ। तस्करले झोलेपोके व्यापारी, विद्यार्थी र शारीरिक अपाङ्गता भएका व्यक्तिलाई भरिया बनाएर सामग्री तस्करीमा अघि सारेका छन्।
चोरी नरोकिएको भन्सार अधिकारीहरु नै स्वीकार्छन्। 'चोरीका बाटा र तरिकाहरु मात्रै बदलिएका हुन्', तातोपानी भन्सार प्रमुख  भने- चुहावट रोकिएको छैन। सुविधाको दुरुपयोग गर्दै तस्कर सक्रिय भएका छन्। उनले झोलेपोके, शैक्षिक भ्रमणमा आउने विद्यार्थी, अपाङ्ग र दृष्टिबिहीनलाई तस्करीमा अघि सारिएको बताए।
सर्वपक्षीय सहमतिमा दिएको सुविधा दुरुपयोग गर्दै भन्सार गेटबाटै चोरी भइरहेको छ। भन्सारले घरायसी प्रयोजनका लागि ३० किलोमिटर क्षेत्रभित्रका जिल्लाबासी र आन्तरिक पर्यटकलाई १ हजार ५ सय रुपैयाँ मूल्यका सामग्रीमा राजस्व नलाग्ने छुट दिएको छ। यसैको फाइदा तस्करले उठाएका हुन्। नाकामा नाम चलेका व्यापारी नै भरिया प्रयोग गरेर तस्करी गर्न सक्रिय रहेको भन्सार स्रोतले बतायो।
साढे २ देखि ३ सय झोले-पोके व्यापारी सामान ओसार्न सक्रिय छन्। मङ्सिरदेखि नियमित २ दृष्टिबिहीन र ४ अपाङ्ग सामान ओसारपसारमा लगाइएका छन्। उनीहरु एकैदिन २/३ पटकसम्म खासा र लिपिङ बजार पुगेर चिनियाँ सामग्री ल्याउँछन्। 'एकै जनाले २ सय राजस्व छल्दा उनीहरुबाट मात्रै ५ लाख राजस्व गुम्छ'- देवकोटाले भने। ब्रा, पेन्टी, पाइन्ट, रक्सी, जुस, तन्ना, डिभिडी, मोजा, थर्मस, राइसकुकर, ट्वाइलेट पेपर, कम्बल जस्ता सामग्रीको चोरी बढेको छ।
चुहावट गर्नेको सूचीमा नाका घुम्न आउने आन्तरिक पर्यटक पनि छन्। उनीहरुबाट मात्रै दैनिक औसतमा २ लाख रुपैयाँ राजस्व छली हुन्छ। अध्यागमन कार्यालय कोदारीका अनुसार दैनिक ३/४ सय आन्तरिक पर्यटक एक दिने अस्थायी प्रवेश पास लिएर किनमेल गर्न खासा जान्छन्। १/२ थान कम्बल मात्रै लैजान दिने हो भने पनि उनीहरुबाट ५ लाख गुम्ने भन्सार कर्मचारी बताउँछन्।
भरियामार्फत् नाका तारिने सामान यात्रु बसमा राजधानी पुर्‍याइन्छ। राजमार्गको अँधेरीमा राजस्व गस्ती रहेकाले बसका यात्रुलाई सामग्री वितरण गरिन्छ। घरायसी प्रयोजनका लागि तोकिएअनुसार सामग्री ल्याउन पाइने भएकाले गस्तीका प्रहरी खोस्न सक्दैनन्। दैनिक ३/४ कन्टेनर चोरी सामग्री राजधानी भित्रँदै आएको छ। सामान्यतया एक कन्टेनर सामग्रीको ५/६ लाख रुपैयाँ राजस्व सङ्कलन हुने प्रमुख देवकोटाले जानकारी दिए।
रातिको समयमा चिनियाँ भू-भाग हुँदै चाकु, दस किलो र लाप्टाङ रुटबाट पनि चोरी भइरहेको छ। चाकु, बाह्रबीसे, कोठे, सुकेटलगायत् स्थानमा सामग्री गोदाम छन्।  चोरी सामग्रीसँग राजस्व तिरेका सामग्रीले बजारमा प्रतिस्पर्धा गर्न नसकेको व्यापारीको गुनासो छ।
विगतमा भोटेकोसी नदीमा पुल नै हालेर सामग्री चोरी हुन्थ्यो। एक वर्षअघि चेकपोष्ट खडा भएपछि चोरी केही घटेको थियो। झोले-पोकेको अवरोधले सशस्त्र प्रहरीको सक्रियतामा कमी आएको छ। सामग्री नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरी र झोले-पोकबीच दैनिकजसो झडप हुने गरेको छ। पोष्ट राखिएपछि सशस्त्र प्रहरीले एक वर्षको बीचमा ३ करोड रुपैयाँ बराबरका सामग्री पक्राउ गरी बुझाएको भन्सार तथ्याङ्क छ। पोष्टले यो महिना मात्रै ६ लाख रुपैयाँका सामग्री बरामद गरिसकेको छ।

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...