Sunday, May 29, 2011

भन्सारमा जान मान्दैनन् अधिकृत

काठमाडौ, श्रावण २९ - कर र भन्सार भनेका कर्मचारीले सबैभन्दा जान रुचाउने कार्यालय हुन् । तुलनात्मक रूपले सबैभन्दा बढी 'लाभ' पाइने क्षेत्रका रूपमा मानिएका यी कार्यालय अब धेरैको प्राथमिकतामा पर्न छाडेका छन् । त्यति मात्र होइन, भन्सारमा पनि सबैभन्दा आकर्षक मानिने तातोपानीमा दरबन्दी अनुसार पूरै कर्मचारी नभएको तीन महिना भइसक्यो । छ जना भन्सार अधिकृतको दरबन्दी रहेको तातोपानी भन्सारमा यतिबेला एक जना मात्र कार्यरत छन् । 'अधिकृत जानै मान्दैनन्,' भन्सार विभागका महानिर्देशक नवराज भण्डारी भन्छन् । काजमा पठाउन खोजे पनि अधिकृतहरू तयार नभएको उनले बताए । 'जसलाई सोधे पनि साथीहरू मलाई चाहिँ नपठाइदिनू भनेर अनुनय विनय गर्छन्,' उनले भने । 

विगतमा तातोपानी जान अर्थमन्त्री मात्र होइन प्रधानमन्त्रीसम्मले चासो देखाउने गरेको विभागका अधिकारी बताउँछन् । 'बद्नाम भएकाले तातोपानीमा जानु भनेको डामिनु हो,' विभागका एक अधिकारी भन्छन्, 'बद्नामी कमाए पनि केही हात नलाग्ने ठाउँमा जान नरुचाउनु स्वाभाविक हो ।'

२०६५ साल मंसिरदेखि-बाबुराम भट्टराई अर्थमन्त्री हुँदा) प्रोत्साहन प्रणाली लागू गरी भन्सारमा दस्तुरी खारेज गरेपछि संस्थागत भ्रष्टाचार नियन्त्रण भएकाले तातोपानीको आकर्षण यसै पनि घटेको छ । सामानको प्रवाहमा ठूलो गिरावट आएका कारण व्यक्तिगत जोखिम मोलेर पनि धेरै कमाइ गर्ने अवस्था नरहेको सम्बद्ध कर्मचारीहरू बताउँछन् ।
दस्तुरी हुँदा तातोपानीमा प्रतिट्रक १० हजार रुपैयाँ असुलिन्थ्यो । दैनिक १ सयभन्दा बढी गाडीमा सामान भित्रिने नाकामा मासिक १ करोड रुपैयाँभन्दा बढी त दस्तुरी संकलन हुन्थ्यो । यो तहअनुसार भाग लाग्ने गथ्र्यो । यसबाहेक सामानको मूल्यांकन र परिमाणमा पनि सबैभन्दा चलखेल हुने भन्सारमा २ वर्षमै जिन्दगीभर आरामदायी जीवनयापन गर्ने कमाइ हुन्थ्यो ।
राष्ट्र बैंकले गत फागुनमा तातोपानी नाकामार्फत हुने उधारो आयात बन्द गर्नुका साथै ड्राफ्ट र टिटीबाट सातामा २५ हजार डलरसम्मको सामान मात्र आयात गर्न सकिने सीमा निर्धारण गरेपछि व्यापार घटेको हो । प्रमुख भन्सार अधिकृत चूडामणि देवकोटाका अनुसार दैनिक १ सय गाडी सामान आयात हुने नाकाबाट अहिले सातामा ६० गाडीको हाराहारीमा सामान भित्रिरहेको छ ।
गत आर्थिक वर्ष ६० जना अधिकृतको दरबन्दी थपिए पनि लोकसेवाबाट नयाँ अधिकृतहरू नआएको कारण यसै पनि भन्सारमा शाखा अधिकृतको अभाव छ । सुरक्षाको कारण देखाई कर्मचारीले उपत्यकाबाहिर जान उत्साह नदेखाएकाले भन्सारमा कार्यालयहरूमा शाखा अधिकृतको थप अभाव छ । प्रमुख भन्सार अधिकृत -उपसचिव) को दरबन्दी कायम गरिए पनि गौर, राजविराज, जनकपुर र जलेश्वर भन्सारमा भन्सार अधिकृतलाई कायममुकायम दिएर काम चलाइएको छ । शाखा अधिकृत प्रमुख हुनुपर्ने पशुपतिनगर र रसुवा भन्सार नायब सुब्बाको जिम्मामा छन् ।
अतिरिक्त आम्दानीका कारण आकर्षक मानिएका सबैजसो भन्सारमा अधिकृत तहका कर्मचारी दरबन्दीभन्दा थोरै छन् । शाखा अधिकृत तहका १० जनाको दरबन्दी रहेको वीरगन्जमा ८ जना छन् । ६/६ जना अधिकृत हुनुपर्ने विराटनगर र भैरहवामा ३/३ जना छन् । तीन जना अधिकृत दरबन्दी रहेको मेचीमा एक जना अपु छ । दुई जना दरबन्दी भएको कृष्णनगरमा १ जना तथा १ जना शाखा अधिकृत हुनुपर्ने नेपालगन्ज शाखा अधिकृतविहीन छ । वीरगन्ज, विराटगनर, मेची र कृष्णनगर भन्सारका प्रमुखहरूले नै बस्न रुचि नदेखाएको महानिर्देशक बताउँछन् । 'दैनिक फोन गरेर काठमाडौं आउन पाए हुन्थ्यो भन्नुहुन्छ,' उनले भने ।      
भन्सारमा प्रोत्साहन प्रणाली लागू गरी दस्तुरी खारेज भएपछि भन्सारको आकर्षण घटेको छ ।  'सुरक्षाका कारण पनि कर्मचारी हम्मेसी उपत्यकाबाहिर जान रुचाउँदैनन्,' भण्डारीले भने । खासगरी तराईमा कर्मचारीले सुरक्षाको अभाव महसुस गरिरहेका छन् । चन्दालगायत दबाबका कारण तनावमा काम गर्नुपर्ने अवस्था छ । 'हाम्रा हातमा रहेका मोबाइल बिरलै अन हुन्छन्,' कृष्णनगरका प्रमुख भन्सार अधिकृत कालीप्रसाद पोखरेल भन्छन्, 'मोबाइल अन गर्न साइत हेर्नुपर्ने अवस्था छ ।'
 प्रकाशित मिति: २०६७ श्रावण २९

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...