प्रतिबन्धित हात्तीको रौं कारोबार गर्ने पक्राउ
काठमाडौं, भाद्र ३० - प्रहरीले प्रतिबन्धित हात्तीको पुच्छर (रौं) कारोबार गर्ने दुई जनालाई शुक्रबार राजधानीबाट पक्राउ गरेको छ । हात्तीको रौं कारोबार गर्ने पक्राउ परेको यो पहिलो घटना हो । सुराकीका आधारमा महाराजगञ्ज प्रहरीले गोंगबुबाट ३० वर्षीय ध्रुव राउत र १८ वर्षीय अरविन न्यौपानेलाई पक्राउ गरेको हो । उनीहरुलाई शुक्रबार नै जिल्ला वन कार्यालय बुझाइएको थियो । बन कार्यालयले दुवैलाई पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गरेको जिल्ला वन अधिकृत मनबहादुर खड्काले जानकारी दिए । उनीहरुको साथबाट ३ सय थान रौं बरामद गरिएको उनले बताए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २५ (२) अनुसार संरक्षित वन्यजन्तु (हात्तीसहित २५ प्रजाति)को अंग/प्रत्यंग कारोबारीलाई ५० हजारदेखि एक लाखसम्म जरिवाना र ५ देखि १५ वर्ष कैद वा दुवै सजाय हुन्छ ।
हात्तीको रौंदेखि सावधान !
तपाईंले हातमा लगाएको बालामा हात्तीको पुच्छर (रौं) प्रयोग भएको त छैन ? सौख पूरा गर्न र भाग्य चम्किने विश्वासले त्यस्तो बाला लगाउनुभएको छ भने सावधान ! हात्तीका पुच्छर (रौं) लगाउँदा भाग्य चम्किने होइन, बरु वन कर्मचारी र प्रहरीको फन्दामा पर्न सक्नु हुन्छ । सर्वसाधारणदेखि उच्चपदस्थ अधिकारीसम्मले बालामा हात्तीका पुच्छरका रौं प्रयोग गर्न थालेपछि वन मन्त्रालयले त्यसको नियन्त्रण गर्ने भएको हो । वन्यजन्तु ऐन र दुर्लभ वन्यजन्तु तथा वनस्पति व्यापार नियन्त्रण महासन्धि (साइटिस) कार्यान्वयन गर्न मन्त्रालयले वन्यजन्तुका अंग/प्रत्यंगको दुरुपयोग रोक्न लागेको हो । नेपाल १९७५ मा साइटिसको पक्ष राष्ट्र भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको प्रस्तावमा मन्त्रालयले केही समयअघि हात्तीका पुच्छर प्रयोग नगर्न कर्मचारी र सर्वसधारणलाई आग्रह गरेको हो । हात्तीका रौंलगायत संरक्षित सूचीका वन्यजन्तुका अंग/प्रत्यंग प्रयोग गर्ने वा राख्ने व्यक्तिबारे सुराकी दिनेलाई पुरस्कारको समेत व्यवस्था गरेको जानकारी विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले दिए । चालू आर्थिक वर्षका लागि पुरस्कारस्वरूप दुई लाख रुपैयाँ छुट्याइएको छ । भन्सार, विमानस्थल, प्रहरीलाई हात्तीको पुच्छरको रौं नियन्त्रणमा मन्त्रालयलाई सहयोग गर्न आग्रह गरिसकिएको विभागका इकोलोजिस्ट महेश्वर ढकालले बताए .हात्तीका रौंको प्रयोग बढ्दा निजी र घरपालुवा हात्तीका पुच्छर चोरी हुने गरेको पाइएको छ । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटालगायतका निकुञ्ज र बर्दियाका हात्तीका पुच्छर रौंविहीन छन् । त्यहाँ कार्यरत कर्मचारीले नै पुच्छर काटेर बिक्री गर्ने गरेको आरोप लाग्ने गरेको छ । नेपालमा निजी/पाल्तु र सकारी गरी झन्डै दुई सय हात्ती छन् । 'हात्तीको रौं प्रयोग गर्नु गैरकानुनी हो भन्ने धेरैलाई जानकारी छैन,' इकोलोजिस्ट ढकालले कान्तिपुरसित भने, 'अब यसलाई रोक्न फिल्डमै उत्रिन्छौं ।' ऐनमा संरक्षित वन्यजन्तुको आखेटोपहार खरिद गर्ने वा बिक्री गर्ने व्यक्तिलाई ५० देखि एक लाख वा ५ देखि १५ वर्षसम्मको कैद तथा दुवै सजाय हुने व्यवस्था भए अनुसार रौंको कारोबार गर्ने व्यक्तिलाई पनि कानुनी दायरामा ल्याइने ढकालले बताए । हात्तीका पुच्छर भनेर नक्कली बनाई (प्लास्टिकको) बिक्री गर्नेलाई पनि कारबाहीको दायरामा ल्याइने मन्त्रालयले जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २५ (२) मा संरक्षित वन्यजन्तु (हात्तीसहित २७ प्रजाति) को अंग/प्रत्यंग राखेको जानकारी गराउने व्यक्तिलाई १० हजार रुपैयाँसम्म पुरस्कार दिने व्यवस्था छ । ऐनमा गैंडा, बाघ, भालु, कस्तुरीमृगजस्तै हात्ती पनि संरक्षित वन्यजन्तु सूचीमा छ । हात्तीलाई साइटिसमा अनुसूची १ र आईयुसिएनको रातो किताबमा अति दुर्लभ वन्यजन्तुको सूचीमा राखिएको छ । वन्यजन्तुका अंग/प्रत्यंगको अवैध व्यापार नियन्त्रण गर्न दक्षिण एसियाली मुलुकहरू एकजुट भईरहेका बेला मन्त्रालयले हात्तीको रौं दुरुपयोग रोक्ने अभियान थालेको हो । वन्यजन्तुको अवैध व्यापार रोक्न दक्षिण एसियाली मुलुकहरूले बनाएको 'दक्षिण एसियाली वन्यजन्तु कानुन कार्यान्वयन सञ्जाल (साविन)' को केन्द्रीय कार्यालयसमेत काठमाडौं छ ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.