रक्तचन्दन तस्करीको लहरो
रक्तचन्दन तस्करीको मिलेमतोमा संलग्न चारजना प्रहरी कारबाहीको घेरामा परेपछि काभ्रे र आसपासका इलाका प्रहरी कार्यालयमा खैलाबैला मच्चिएको छ । प्रहरी अधिकृतसमेत तस्करीमा संलग्न रहेको अभियोगमा कारबाहीको दायरामा परेपछि यसमा गृहमन्त्रालयसम्मको चासो बढेको छ । बागमती अञ्चल प्रहरी कार्यालयले प्रहरी जवान सिद्धिबहादुर कार्की, प्रहरी सहायक निरीक्षक (सई) चन्द्र मानन्धर, हवल्दारद्वय कृष्णबहादुर बस्नेत र भीमसेन आचार्यलाई निलम्बन गरी कारबाही चलाएपछि प्रहरी अधिकृतहरु पनि तस्करीमा मुछिएका छन् । भदौ १६ गते राति चन्दन बोकेकै गाडीमा बसेर साँगादेखि पाँचखाल चौकीसम्म 'माथिको आदेश' भन्दै रक्तचन्दन बोकेको बा ६ च ४०३८ नम्बरको बस पास गराउन लागिपरेका प्रहरी जवान कार्की निलम्बनमा परेका छन् । सिन्धुपाल्चोक दरबन्दी भई काभ्रेमा काजमा कार्यरत कार्की एक्लै तस्करीमा संलग्न नभएको अन्य प्रहरीलाई पनि कारबाहीको घेरामा पारिएको छ । काभ्रे प्रहरी प्रमुख सुरेन्द्र मैनालीमाथि पनि अनुसन्धान भइरहेको उच्च स्रोतले जानकारी दिएको छ । त्यस्तै, राति इलाका प्रहरी कार्यालय बनेपा अगाडिबाट चन्दन बोकेको गाडीमा चढेर पाँचखालतर्फ गएका प्रहरी हवल्दार भीमसेन आचार्य र त्यहाँका इन्चार्ज सन्तोष तामाङमाथि पनि छानबिन भइरहेको स्रोतले बताएको छ । आचार्य महानगरीय प्रहरी अपराध महाशाखामा काजमा छन् । भक्तपुरस्थित प्रहरी चौकी जगातीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (सई) चन्द्र मानन्धरलाई ड्युटीमा लापरबाही गरेको भन्दै निलम्बन गरिएपछि त्यहाँका प्रहरी प्रमुख इन्सपेक्टर केशव थेबेमाथिसमेत सोधपुछ भइरहेको अञ्चल प्रहरी कार्यालय बागमतीले जनाएको छ । सोही अभियोगमा मुछिएका पाँचखाल प्रहरी चौकीका हवल्दार कृष्णबहादुर बस्नेतलाई पनि निलम्बन गरी कारबाही अगाडि बढाइएको छ भने अन्य अधिकृतहरुको पनि संलग्नता हुनसक्ने आशंकामा छानबिन भइरहेको छ । "कुनै प्रहरी दोषी देखिए तत्काल कारबाही अघि बढाइनेछ," बाग्मती अञ्चल प्रहरी प्रमुख प्रेमबहादुर चन्दले भने, "कारबाहीमा परिसकेका प्रहरी जवानहरुलाई त्यस्ता क्रियाकलापमा लाग्न प्रोत्साहन वा आदेश गर्ने कुनै पनि प्रहरी अधिकृत कारबाहीबाट उम्कन सक्दैनन् ।"तस्करीमा संलग्न प्रहरीलाई पक्राउ गरी कारबाही अगाडि बढाउन प्रहरी मुख्यालय र गृहमन्त्रालयको समेत चासो बढेको छ । काभ्रेस्थित एक प्रहरी अधिकृतले चन्दन तस्करका नाइके रुद्र तिमल्सिनालाई आफ्नै स्कुटरमा बोकी काठमाडौंको दरबार मार्गस्थित नाङ्लो रेस्टुरेन्टमा गोप्य छलफल गरेको खुलेको छ । चन्दन समातिएको एक सातासम्म तिमल्सिना फरार भएको भन्दै रिपोर्ट बुझाउने ती अधिकृत तिमल्सिनासँगै नाङ्लो रेस्टुरेटमा देखिएका हुन् । तस्करीको खबर बाहिर आएपछि केन्द्रदेखि लाइन मिलाउन दौडधूप गर्ने प्रहरी अधिकृतहरु तल्लो तहका प्रहरीलाई कारबाही चलाई आफू जोगिन प्रयासरत रहेको स्रोतले बताएको छ । चन्दन तस्करको आरोपमा निलम्बित प्रहरीलाई पत्रकारले समेत भेट्न पाएका छैनन् । परिवारसँगको भेटमा उनीहरुले 'कमान्डरको आदेश पाएरै आफू चन्दन पास गराउन लागिपरेको' पोल खोलेका छन् । "कमान्डरको आदेश मान्दा फसियो," निलम्बित प्रहरीलाई उद्धृत गर्दै एक आफन्तले भने । रक्तचन्दन तस्करीमा संलग्न विभिन्न सञ्जालबारे व्यापक छानबिन भइरहेको भन्दै गृहमन्त्रालयले पदीय दुरुपयोग गर्ने प्रहरीलाई कडा कारबाही गरिने बताएको छ । मन्त्रालयका प्रवक्ता सुधीरकुमार शाहले ड्युटीकै क्रममा कमजोरी भेटिएका प्रहरीहरु निलम्बित भइसकेको तथा अन्यको आन्तरिक छानबिन भइरहेको बताएका छन् । "रक्तचन्दन पास गराउने काममा संलग्नता देखिए कसैलाई बाँकी राखिँदैन," उनले भने, "छानबिनका क्रममा धेरै कुरा थाहा पाइसकेका छौं, अब मुख्य जरोमा पुग्ने प्रयासमा छौं । अब केही दिनमै वास्तविक तस्कर प्रहरीहरु सार्वजनिक हुनेछन् ।"
तस्करीमा को-को संलग्न छन् ?
अन्तर्राष्ट्रिय कानुनले समेत प्रतिबन्ध लगाएको रक्तचन्दन कारोबारमा मुलुककै ठूलो दल माओवादी, कांग्रेस, एमालेका नेता, कार्यकर्ता, प्रहरी, प्रशासन हुँदै अर्थन्त्रालयअन्तर्गका भन्सार कार्यालयसमेत मिलेर अघि बढिरहेको व्यापारी बताउँछन् । सबै मिलेर गरिएको तस्करीका ट्रक भने प्रायः समातिदैनन् । कहिले चन्दनको सानो टुक्रा त कहिले बोरामा धुलो बनाएर समेत लैजाने गरिएको छ । धुलो बनाएर लैजाँदा सुगन्धमा अलि ह्रास आउने भएपछि त्यसको कारोबारमा कमी आएको जानकारहरुको भनाइ छ ।
केमा प्रयोग हुन्छ ?
रक्तचन्दन काठ हो, जुन पूर्णतया रातो र अत्यन्त बासनादार हुन्छ । हिन्दू र बौद्ध धर्ममा यो काठको अत्यन्तै महत्व छ । अधिकांश हिन्दूहरु यो काठ घोटेर टीका लगाउँछन् भने बौद्ध धर्मावलम्बीहरुले गुम्बामा प्रयोग गर्छन् । चीनमा अत्यन्त धनी व्यक्तिहरु घरायसी फर्निचर बनाउन पनि करोडौं रुपैयाँ रक्तचन्दनमा लगाउँछन् । तिब्बतीहरु रक्तचन्दनलाई माला उन्न तथा उच्च रक्तचापको औषधिका रूपमा प्रयोग गर्छन् । पछिल्लो समय चीनको फर्निचर विश्वमा बढी खपत हुने एउटा प्रमुख कारण रक्तचन्दन हुनसक्ने व्यवसायीहरुको अनुमान छ ।
कसरी हुन्छ कारोबार ?
एकलट रक्तचन्दन (करिब २ हजार किलो) बिनारोकावट खासा पुर्याउँदा व्यापारीहरुलाई कम्तीमा ६० लाख रुपैयाँ फाइदा हुन्छ, अर्थात एक किलोमा करिब ३ हजार रुपैयाँ बच्छ । अवस्था हेरेर प्रहरी, स्थानीय नेता र गुण्डाहरुलाई यसको केही प्रतिशत भाग लाग्छ । चीन, नेपाल र भारत तीनै देशले साइटिसको सन्धिमा हस्ताक्षर गरिसकेकाले यसको कारोबार अवैध हो । भारतले निजी जंगलमा उत्पादन भएको रक्तचन्दन वैधानिक ढंगमा हरेक वर्ष हजारौं टन काट्न र प्रयोग गर्न दिन्छ । अझ सरकारी जंगलबाट समेत हजारौं टन रक्तचन्दन धार्मिक प्रयोजनका लागि भनेर काटिने गरेको छ । चिनियाँ सरकारले नेपालबाट गएकै रक्तचन्दनलाई समेत भन्सार तोकिदिएर वैधानिक बनाइदिएको छ । भारतबाट ल्याएर खासा पुर्याउने बेलासम्म विभिन्न स्थानमा फरक-फरक 'पार्टी'लाई कमिसन बुझाउनुपर्छ । कमिसनमा कचिंगल आएन भने रक्तचन्दन बिनारोकटोक सीधै सीमापार हुन्छ तर बिलौचियाबीच कमिसनमा कुरा मिलेन भने बरामद हुने गरेको यसमा संलग्न व्यक्तिहरु बताउँछन् । गएको चार वर्षमा सरकारले घोषणा गरेको रक्तचन्दनको मूल्यमात्र करिब १ अर्ब ८० करोडभन्दा बढी छ । घोषणा नगरेको योभन्दा पनि बढी छ । "त्यसबाहेक बाटोमा मान्छेलाई खुवाउने, ढुवानी गराउने, प्रहरी मिलाउने, भन्सार कटाउने गरेर कम्तीमा अर्क २ अर्ब खर्च भएको छ," तस्करीमा संलग्न शेर्पा थरका एक व्यक्तिले भने । चीनमा यो काठ प्रतिकिलो ९ हजार रुपैयाँसम्म बिक्री हुने गरेको भए पनि सरकारले प्रतिकिलो ८ सय रुपैयाँमा लिलाम गर्ने गरेको छ । भारतको आन्ध्रप्रदेशअन्तर्गत तिरुपति र तमिलनाडुमा पाइने रक्तचन्दन चीनको सीमा लिपिङसम्म पुर्याउन ६८ वटा नाका पार गर्नुपर्छ । यो बहुमूल्य काठको ढुवानीमा संलग्नहरुका अनुसार भारतका व्यापारीले नेपालको सिमानामा पुर्याएर आफ्नो सामान बेच्ने गरेका छन् । उनीहरुले प्रतिकिलो गुणस्तरअनुसार २ हजारदेखि ३ हजार ५ सय रुपैयाँमा नेपालीलाई बेच्छन् । त्यो रक्तचन्दनलाई सुरक्षितरूपमा नेपालको सिमाना कटाउनसके चिनियाँ व्यापारीले ७ देखि ९ हजार प्रतिकिलोसम्म पैसा तिर्छन् ।
वन विभागअन्तर्गको साइटिस शाखाका अनुसार देशका विभिन्न भागबाट अहिलेसम्म करिब सवा २ लाख किलो रक्तचन्दन बरामद गरिएको छ । बरामदमध्ये ३६ हजार ९ सय ६० किलो भारतलाई बुझाइसकिएको छ भने १६ हजार ७ सय ९९ बेवारिसे अवस्थामा छ । त्यस्तै, १ लाख ८४ हजार २ सय २३ किलो अदालतमा विचाराधीन अवस्थामा रहेको शाखाका कर्मचारी दीपक आचार्यले बताए । साइटिसद्वारा ओसारपसारमा प्रतिबन्धित लोपोन्मुख प्रजातिका जडिबुटी नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र वन कार्यालयको सक्रियतामा बरामद गरिन्छ । १ सय किलोदेखि एकैचोटि ७ हजार ८ सय किलोसम्म बरामद गरिएको छ । रक्तचन्दन पहिलेदेखि नै पास हुने भए पनि ६४ सालदेखि मात्र औपचारिक रूपमा बरामद गर्न थालिएको विभागले जनाएको छ । पहिले रातो काठ भनेर भन्सार भएर जाने गरेको विभागको भनाइ छ । नेपाली सिमानाको कडाइ हेरी चिनियाँ भन्सार भएर वा नभएरै रक्तचन्दन भित्रिने गरेको छ । भन्सार भएर गएको रक्तचन्दनको मूल्य बढी आउँछ किनभने चीनमा ढुवानी गर्न सजिलो हुन्छ । चिनियाँ भन्सारले रक्तचन्दनमा प्रतिकिलो १ हजारदेखि १२ सय रुपैयाँसम्म भन्सार लिने गरेको सिन्धुपाल्चोकका व्यापारी कर्म शेर्पाले बताए ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.