Saturday, September 24, 2011

         हुन्डी कारोबारी ठगिए पनि उजुरी गर्दैनन्

गत पुस २२ मा राजधानीको कमलपोखरीस्थित घरको ढोकैबाट ७० लाख रुपैयाँ लुटिएको विषय प्रहरी हुँदै सञ्चार माध्यमसम्म पुगे पनि ‘पीडित’ पवन सरियाले उजुरी गरेनन् । प्रहरीका अनुसार नामुद हुन्डी कारोबारी उनले अन्य लुटिने हुन्डी कारोबारीझैं 
सम्पत्तिको स्रोत खोजी भई थप समस्यामा परिने डरले उजुरी नगरेका हुन् । प्रहरीलाई पनि लिखित उजुरी नपुगेकै कारण देखाई अनुसन्धान नगर्ने बहाना मिल्यो । कतिपय अवस्थामा प्रहरी लुटेरा खोज्न होइन, लुटिने व्यक्ति खोज्न लागिपर्ने प्रहरी अधिकृतहरू बताउँछन् । ‘जसोतसो वर्षमा करिब २/३ करोड रुपैयाँ लुटिएको प्रहरीले थाहा पाउँछ,’ अपराध अनुसन्धान महाशाखामा लामो समय हुन्डीको अनुसन्धान गरेका प्रहरी अधिकृतले भने, ‘यसबाट प्रहरीलाई ५०/६० लाख रुपैयाँ लाभ हुन्छ ।’अपराधका साथै राजस्व छल्ने प्रयोजनमा लामो समयदेखि हुन्डीको प्रयोग हुँदै आएको छ । बैंकिङ सेवा बिस्तार हुँदै गएपछि हुन्डीमार्फत पैसाको आन्तरिक स्थानान्तरण निरुत्साहित भए पनि बाह्य स्थानान्तरणचाहिँ फस्टाएको प्रहरी र राष्ट्र बैंकका अधिकारी बताउँछन् । राजधानीमा बढ्दो संगठित अपराधसँगै हुन्डीले मौलाउने अवसर पाएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख डीआईजी राजेन्द्रसिंह भण्डारीले बताए । हुन्डीको कारण पैसाको स्थानान्तरण जति सजिलो भयो अपराध उत्ति नै सजिलो हुन्छ भन्ने भण्डारी अपराध न्यूनीकरणका लागि हुन्डी नियन्त्रण अत्यावश्यक ठान्छन् । अपहरण, जबर्जस्ती असुलीका साथै लागूऔषध कारोबारमा आर्जित रकम स्थानान्तरण गर्न हुन्डी प्रयोग भएको प्रहरीले पाएको छ । ‘गैरकानुनी रूपमा कमाएको धनलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान हुन्डी प्रयोग भएकाले यसको सोझो सम्बन्ध भ्रष्टाचारसँग छ,’ उनले थपे । तीन वर्षअघि फागुन १४ गते अपहरणमा परेका व्यवसायी महेश मुरारकालाई छुटाउन उनको परिवारले ८० हजार अमेरिकी डलर सिंगापुर पठाएको थियो । मुरारकाको अपहरण गरेपछि अमर टण्डनको समूहले उक्त रकम मुम्बईमा बुझेको थियो । भारतको मुम्बईमा बस्ने टण्डनले नेपालमा अपहरणको काम गर्ने अन्य सहयोगीलाई हुन्डीमार्फत नै पैसा पठाएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताए । बैंकमार्फत १० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दा स्रोत खुलाउनुपर्ने भएपछि हुन्डी फस्टाएको छ । खातामा रहेको ठूलो रकम शंकास्पद लागेमा राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण कानुनअन्तर्गत अनुसन्धानका लागि राजस्व अनुसन्धानमा पठाउन थालेपछि यसले थप फस्टाउने मौका पाएको अधिकारी बताउँछन् । ‘ढोका बन्द गरे पनि झ्याल ह्वाङङ पारेर रोक्न खोज्दा यस्तै हुन्छ,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले टिप्पणी गरे । केन्द्रीय बैंकको अनुमानमा वैदेशिक रोजगारी कम्पनीहरूले मात्र दैनिक ४ लाख अमेरिकी डलर बराबरको रकम हुन्डी गर्छन् । रोजगारी थलोमा रहेका एजेन्टले प्रतिकामदार ४ सयदेखि ५ सय डलर यहाँका कम्पनीसँग असुल्छन् । तर यस्तो सबै रकम हुन्डीमार्फत बाहिरिने गर्छ । केन्द्रीय बैंकले केहीअघि सटही उपलब्ध गराउने प्रतिबद्धतासहित यस्तो कमिसन पठाउने काम बैंकिङ प्रणालीमा ल्याउन प्रयास गरेको थियो । ‘म्यानपावर कम्पनी तयार भएर गएका थिए,’ बैंकका एक उच्च अधिकारीले भने, ‘तर भोलिपल्टै राष्ट्र बैंकले वैदेशिक रोजगारी चौपट पार्न लाग्यो भनेर विरोध गरे ।’ एजेन्टहरूले यसरी कामदारको कमिसनबापत चर्को शुल्क असुल्न नपाउने भएकाले तिनले बैंकिङ प्रणालीबाट पैसा लिन नमानेको एक म्यानपावर व्यवसायीेले बताए । ‘खाडीका एजेन्टले पनि हुन्डीमार्फत हङकङ र सिंगापुरमा पैसा बुझ्छन्,’ तिनले भने । राजधानीको हुन्डी कारोबारमा रेमिट्यान्स कम्पनी (मनी ट्रान्सफर) र मनी चेन्जर पनि जोडिएका छन् । कतिपय रेमिट्यान्स कम्पनीले वैध र अवैध दुवै माध्यमबाट पैसा स्थानान्तरणको सुविधा दिइरहेका छन् । विदेशबाट रेमिट्यान्स पठाउनेलाई कतिपय कम्पनीले सस्तो हुन्छ भनेर हुन्डी गर्न प्रोत्साहित गर्ने गर्छन् । सामान आयातका लागि हुन्डीमार्फत पैसा पाउँदै आएका एक व्यवसायी रेमिट्यान्स कम्पनीमार्फत पैसा बाहिर पठाउन नपाइने भए पनि तिनले पठाइरहेका छन् । ‘रेमिट्यान्स कम्पनीबाट हुन्डी गर्दा शंका नहुने भएकाले थप सहज छ,’ तिनले भने । हुन्डीमार्फत पैसा पठाउँदा आय नदेखिने र कर तिर्न नपर्ने भएकाले तिनले हुन्डीलाई प्राथमिकता दिने गरेका हुन् । प्रहरीका अनुसार कतिपय रेमिट्यान्स कम्पनीका सञ्चालक हुन्डी कारोबारी हुन् । हुन्डीलाई सजिलो बनाउन तिनले रेमिट्यान्स कम्पनी दर्ता गरेका हुन्,’ प्रहरी अधिकारीले भने । मुलुकमा अहिले रेमिट्यान्स कम्पनीको संख्या ५० पुगेको छ । राष्ट्र बैंकबाट इजाजतप्राप्त मनी चेन्जर पनि हुन्डीसँग जोडिएका छन् । मनी चेन्जरले रसिद नकाटीकन मुद्रा सटही गरी संकलित विदेशी मुद्रा हुन्डी कारोबारीलाई उपलब्ध गराउने गरेको सीआईबीले गरेको निगरानीका क्रममा फेला परेको डीआईजी भण्डारीले जनाए । ‘चार-पाँच मनी चेन्जर भए पुग्ने ठमेलमा चालीसभन्दा बढी मनी चेन्जर छन्,’ राष्ट्र बैंकका एक अधिकारी भन्छन्, ‘अवैध काम नगर्ने हो भने ठमेलमा त्यतिका मनी चेन्जर चल्नै सक्दैनन् ।’ हुन्डीजस्तो आर्थिक अपराध नियन्त्रणमा प्रहरीभन्दा राजस्व अनुसन्धान विभाग र केन्द्रीय बैंकको चासो हुनुपर्ने प्रहरीको जिकिर छ । ‘कुनै अपराध हुन्डीको कारोबारसँग जोडिएको भए अनुसन्धान हुन्छ,’ एक प्रहरी अधिकृतले भने, ‘होइन भने त्यसको अनुसन्धान र नियन्त्रणको जिम्मा राजस्व अनुसन्धान विभागको हो ।’                     काठमाडौ, चैत्र १३

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...