मेलम्चीको पानी
सुरुङ निर्माण अवधि ७७ दिन थपिएपछि सन् २०१३ को अन्त्यतिर मेलम्चीको पानी राजधानी पुग्ने विश्वास गरिएको थियो। तर अहिले सन् २०१५ अघि मेलम्ची पूरा नहुने निष्कर्षमा सरकार पुगेको छ। काठमाडौंबासीले मेलम्चीको पानी पिउने सपना पूरा गर्न अझै कम्तीमा चार वर्ष कुर्नुपर्ने निश्चित छ।
१४ वर्षअघि निर्माण थालिएको मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना हो- सुरुङमार्ग। यही सुरुङ निर्माणले अपेक्षित गति नलिँदा सहरबासीको पानी सपना पछाडि धकेलिँदै गइरहेको छ। चिनियाँ कम्पनी चाइना १५ ब्युरो रेल्वे कर्पोरेसनले एक हजार पाँच सय दिन (सन् २०१३ सेप्टेम्बरसम्म)भित्र अम्बाथान-सुन्दरीजल २६ किलोमिटर सुरुङ खन्ने ठेक्का पाएको थियो। उसले समय कम हुने बताएपछि ७७ दिन थपेर निर्माण अवधि सन् २०१३ डिसेम्बर पुर्याइयो। अहिलेसम्म ३६ महिना (एक हजार ८० दिन) पूरा हुँदा साढे चार किलोमिटर सुरुङ निर्माण मात्र पूरा भएको छ। बाँकी चार सय ८६ दिनमा २१.५ किमि सुरुङ बनाउनुपर्ने चूनौती थपिएपछि ठेकेदारले आयोजनालाई स्पष्ट भनेको छ- तीन वर्षयता कसैगरी पनि सुरुङ निर्माण सकिन्न।
चार टनेलको सात स्थानबाट निर्माण गरिरहेको कम्पनीले सुन्दरीजलबाट दुई हजार एक सय २५, सिन्धुबाट एक हजार एक सय ६४, ग्याल्थुमबाट दुई सय ९४ र अम्बाथानबाट एक हजार एक सय तीन मिटर पानी सुरुङ खनेको छ। टनेलसहितको सुरुङ लम्बाइ साढे २७ किमि हो। पानी सुरुङको लम्बाइ २६ किमि हुनेछ। चिनियाँ कम्पनीले यही गतिले सुरुङ खन्ने हो भने अझै दशक लाग्ने उनले बताए।
आयोजनाका कार्यकारी निर्देशक आचार्य चिनियाँ कम्पनीको व्यावसायिक क्षमतामा प्रश्न उठेको बताउँछन्। चीनमा सरकारी काम मात्र गरेको कम्पनीसँग अनुभव कम रहेको उनको ठम्याइ छ। 'कुन सामान कहाँबाट, कसरी ल्याउनै पत्तै पाउन सकेन,' उनले भने, 'पर्याप्त सामग्री अझै स्टोर गर्न सकेको छैन।' भारतबाट सिमेन्ट ल्याउन नसक्दा साउनमा दुईपटक काम रोकिएको थियो।
कम्पनीले भ्याटबाहेक तीन अर्ब ८० करोड रुपैयाँमा ठेक्का सकारेको थियो। सन् २००९ अप्रिल २१ मा साइड पाएको कम्पनीले एक वर्षपछि मात्र निर्माणको काम थालेको थियो। २०६६ साउन १९ गते तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले सुरुङमार्गको शिलान्यास गरेका थिए। अस्थिर राजनीति, सरकार र कर्मचारी परिवर्तन भइरहने प्रवृत्तिले बाधा पुगेको भन्दै कम्पनीले सुरुको डेढ वर्ष कामै गरेन। तीन वर्षपछि कम्पनीले पूर्णसंख्या (चार सय आठ)मा कामदार लगाए पनि निर्माणले तीव्रता लिएको छैन। सुरुदेखि नै सातै स्थानबाट खन्ने योजना रहे पनि अढाइ वर्षपछि मात्र थालिएको हो। वार्षिक ९ किलोमिटरका दरले सन् २०१३ सेप्टेम्बरमा सुरुङमार्ग सम्पन्न गर्ने लक्ष्य थियो।
आयोजनाले दैनिक कम्तिमा २० मिटरका दरले महिनामा ६ सय मिटर खन्न कम्पनीलाई आग्रह गरिरहेको आचार्यले बताए। 'दिनमा २२ मिटरसम्म खने पनि कुनै दिन शून्य हुन्छ,' उनले भने, 'एकै रफ्तारमा काम भएको छैन।'
स्थानीयस्तरमा विगतमा जस्तो अवरोध छैन। सबैको धारणा मेलम्चीप्रति सकारात्मक बन्दै गएकाले काम गर्ने वातावरण उपयुक्त छ। गत जेठ २९ गते स्थलगत भ्रमणमा आएका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आयोजनाको निर्माणप्रति तीव्र असन्तुष्टि जनाउँदै छिटो सक्न निर्देशन दिएका थिए। विभिन्न बाहाना गरेर निर्माणमा अब पनि ढिलाइ गरे, त्यसको दोष सम्बद्ध अधिकारी र ठेकेदारले लिनुपर्ने चेतावनीसमेत उनले दिएका थिए।
'म यहाँ रमिता हेर्न आएको होइन,' उनले भनेका थिए, 'मेलम्चीलगायत राष्ट्रिय गौरवका आयोजना छिट्टै सफल बनाउन उच्चस्तरीय संयन्त्र बनाइने छ। संयन्त्रले आयोजनाहरूको प्रत्यक्ष अनुगमन गरी व्यवधान हल गर्नेछ।' तर उनले भनेजस्तो संयन्त्र अझै बनेको छैन।
सुरुङ निर्माणले गति लिन नसकेपछि आयोजनाका तत्कालीन कार्यकारी निर्देशक हरि शर्मा नेतृत्वको टोली पोहोर भदौमा ठेकेदार कम्पनीको बेइजिङस्थित मुख्यालयमा डेलिगेसन गएको थियो। हेनानस्थित कम्पनीको इन्टरनेसनल इन्जिनियरिङ डिभिजनका प्रेसिडेन्टले कमिकमजोरी स्वीकारेर सच्याउने प्रतिवद्धतासमेत जनाएका थिए। आशंकाकै बीच आयोजनाले सुन्दरीजल पुग्ने पानी राजधानीमा वितरण गर्न पानी प्रशोधन केन्द्र निर्माणको प्रवि्र्कयाअघि बढाएको छ। प्रशोधन केन्द्र निर्माण गर्न आयोजनाले केही समयअघि निकालेको टेन्डरमा तीन विदेशी कम्पनीले फारम दर्ता गराएका छन्। चीनको सिडब्लुई, भारतको भिएसपेक वजाज र जापानको हिटाटिस कम्पनीले हालेको प्रस्तावको मूल्यांकन भइरहेको आयोजनाले जनाएको छ।
'चिनियाँ कम्पनीले सन् २०१५ डिसेम्बरसम्म सुरुङ हस्तान्तरण गर्ने बताएकाले प्रशोधन केन्द्र यसै समयमा बनाइसक्ने उद्देश्य लिएका छौं,' कार्यकारी निर्देशक आचार्यले भने, 'चिनियाँले प्रतिवद्धता पूरा गरे सन् २०१६ को सुरुदेखि नै राजधानीबासीले मेलम्चीको पानी खान पाउनेछन्।' सुन्दरीजल पुगेको पानी दोस्रो चरणमा राजधानीमा वितरण गरेपछि तेस्रो चरणमा सोही सुरुङमार्फत यांग्री र लार्के खोलाबाट थप ३४ करोडसमेत दैनिक ५१ करोड लिटर पानी लैजाने सरकारको दीर्घकालीन योजना छ। अहिले पाइपलाइन आयोजनाका रूपमा राखिएका यी दुई खोलाको प्रारम्भिक सर्वेक्षणको तयारीसमेत भइरहेको छ। आयोजनाले यांग्री र लार्केआसपास १० गाविसबासीलाई १० करोड रुपैयाँको सात वर्षे विशेष कार्यक्रम स्वीकृत गरेको छ। सामाजिक उत्थान कार्यक्रमकै मोडेलमा सञ्चालन हुने यो कार्यक्रममा लागि यो वर्ष एक करोड रुपैयाँ निकासा भइसकेको छ।
बरुवा र भोताङ गाविस हुँदै बग्ने लार्के, यांग्रीको पानी मेलम्चीको प्रस्तावित मुहानस्थल हेलम्बुको अम्बाथानमा मिसाएपछि त्यही सुरुङबाट राजधानी पुग्छ। यी दुई नदी अम्बाथानबाट दक्षिण-पूर्वमा छन्। यांग्रीबाट ९.७ र लार्केबाट १.७ किमी सुरुङ बनाउँदा यी दुई खोलाको पानी अम्बाथानमा मिसिन्छ। मेलम्चीले राजधानीको ४० लाख जनसंख्यालाई पानी खुवाउने विश्वास लिइएको छ।
एडिबी मुख्य दाता रहेको आयोजनाको कुल लागत तीन सय १७ मिलियन अमेरिकी डलर छ। सन् २०१३ को डिसेम्बरमा एडिबीसँगको सम्झौता सकिँदैछ। आयोजनामा हालसम्म करिब ७ अर्ब रुपैया"भन्दा बढी खर्च भइसकेको छ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.