बैदेशिक रोजगार – ठगीको यो स्वरूप
लाग्छ ‘ठगी’ बैदेशिक रोजगार क्षेत्रमा अब सामान्य र पाच्य बन्दैछ ।
कामदार ठगिए र बिदेशमा बिचल्लीमा परे भन्दा अब सरोकारवालाहरूले नै ‘ए त्यो
कुन चैं नयां कुरा भयो त, यस्तो त निरन्तर भइ नै रहेको छ’ भनी सहजै पचाइदिन
थालेका छन । बैदेशिक रोजगार ऐन पनि कसका लागि बनाइयो र कुन कुनामा
थन्किएको छ, कसैलाई पर्बाह छ जस्तो लाग्दैन । किनकि त्यो ऐनको पाइला
पाइलामा नेपालमै ब्यवसायीहरू र बैदेशिक रोजगार बिभागबाट समेत खिल्ली उडाइदै
आएको छ ।
बैदेशिक रोजगार बिभागले खाडीका कुनैपनि मुलुकहरूमा कुनैपनि काममा जांदा
जम्मा रू. ७० हजार भन्दा बढी रकम कामदारहरूबाट लिनु हुंदैन भनी तोकेको छ र
ऐनको दफा २१ (३)मा उक्त रकमको भर्पाई समेत कामदारलाई दिनु पर्दछ भन्ने
उल्लेख छ । साथै ऐनकै दफा १४ (३) (क) मा कामदारको योग्यता मुताविकको सेवा,
शर्त र सुविधा नभएमा बिभागले श्रम स्वीकृति दिने छैन पनि भनिएको छ र झुठ्ठा
कागजात पेश गरी अनियमितता गरी ऐनको उलंघन गरेमा आर्थिक जरिमाना सहित इजाजत
रद्ध हुने र म्यानपावर सञ्चालकलाई जेल सजाय सम्मको ब्यवस्था गरिएको छ ।
बिगत ३ हप्तादेखि साउदी अरबमा हामिले एउटा केशलाई नजिकबाट अवलोकन गर्दै
आएका छौं । पीडित कामदारलाई उद्धार गर्ने, न्याय र क्षतिपुर्ति दिलाउने
देखि पीडकलाई कार्बाही गराउनेसम्मको ध्येय राखी एनआरएनए साउदी अरब यो केशमा
खटिएको छ । यस दौरानमा हामी नेपाली दूतावास रियादका श्रम सहचारी र स्वयम
राजदूतज्युसंग समेत निरन्तर सम्वाद र सहकार्यमा छौं । यथार्थमा हाम्रो
उद्धेश्य पीडित २-४ जनाको उद्धार गर्नुमात्र नभई बैदेशिक रोजगार (सिस्टम) मा
रहेको ञुटी र बिकृति जुन प्रबृत्ती बन्दै प्रकोपका रूपमा फैलिदो छ को
गहिरो अध्ययन र चिरफार गर्नु पनि हो ताकी समस्याको दिर्घकालिन समाधान खोज्न
सकियोस । फिल्डमा गरिएको यो प्रत्यक्ष अभ्यास कुनै सेमिनार गोष्ठीमा गरिने
छलफल बिचार बिमर्श भन्दा कम महत्वको हुंदैन भन्ने हाम्रो मान्यता पनि हो ।
प्रसंग साउदी अरबको कतिफमा पीडित बनेका मोरङ डांगीहाट-३ का होमनाथ
बास्कोटा सहित अन्य ४ जनाको हो जसमा दूतावास र एनआरएनए साउदी अरबको संयुक्त
पहलमा ३ जनाको तुरून्तै उद्धार भई स्वदेश फर्किपनि सके, एक जना घरायसी
समस्याका कारण केही महिना साउदी मालिक र म्यानपावर कम्पनीको बिरूद्धमा
उत्रन सकेनन तर होमनाथ बास्कोटा जसले आफ्नो उद्धार या सजिलो मात्र नहेरी
खासगरी आफुंलाई ठगेर बिचल्लीमा पार्ने कपिल म्यानपावर कम्पनीका बिरूद्ध
उजुरी समेत दिन पुगे, उनी भने अहिलेसम्म स्वदेश फर्किन पाएका छैनन । हो,
कमाउनका लागि साउदी अरबको रोजगारमा आएका होमनाथको समुहका पांचै जनाका लागि
केही पनि आर्जन नगरी रित्तो हात सुरक्षित स्वदेश फर्किनु नै ठूलो राहत हुने
परिस्थिती बन्यो ।
पांचै जना ड्राइभरको भिषा (काम)मा आएका थिए । होमनाथले यस अघि साउदीमै र
कतारमा समेत हेभी ड्राइभरको काम गरेका र कतारको ड्राइभिङ लाइसेन्स समेत
बोकेका थिए तर यिनलाई २ वटा करारनामा गराइयो एउटामा १,१०० रियाल तलब र
ड्राइभर लेखियो भने अर्कोमा मात्र ८०० रियाल तलब र लेबर भनी लेखियो ।
बिभागले पनि लेबरकै स्वीकृति दिएर पठायो । तर यहां आएर होमनाथलाई हेभी गाडी
(ट्रेलर) चलाउनुपर्यो र साउदी ड्राइभिङ लाइसेन्स पनि बनाइदियो किनकि भिषा त
आखिर ड्राइभरकै थियो । अनौठो र अनियमित लाग्छ यिनको मेडिकल टेष्ट भने अल
खालिज ओभरसिजबाट गराइयो र गल्फ इन्टरप्राइजेज कम्पनीको करारनामा बनाइयो,
भनियो आरामकोको डाल्मा कम्पनी र पठाइयो कतिफको एउटा साउदीको कफालत भिषामा ।
होमनाथसंग रू. १ लाख लियो कपिल म्यानपावरले तर माग्दा पनि भर्पाई भने दिएन
बरू भाषण सुनाइयो “यो कपिल म्यानपावरले अरू जस्तो ठगी र बेइमानी गर्दैन” ।
होमनाथले त्यसैमा बिश्वास र भरोषा राखे ।
साउदी आएपछि बल्ल होमनाथलाई आंफु ठगिएको अनुभूति भयो । तुरून्तै कपिल
म्यानपावर कम्पनीसमक्ष यहांको यथार्थ समस्या सुनाए र म्यानपावरले पनि
भन्यो, “हो तपाई ठगिनुभयो, हामीबाट गल्ती भयो, तपाईलाई छिट्टै नेपाल
फर्काउछौं र सबै क्षतिपूर्ति दिन्छौं” होमनाथले फेरि पनि बिश्वास गरे
कपिलको त्यो भनाईमा र शुरूको एक हप्ता ड्युटी नै नगरी हडताल गरे । तर
कपिलले भने बमोजिम तुरून्तै नेपाल फर्काउन नसकेपछि होमनाथले मन नलागेरै पनि
ड्युटी गर्न थाले । राती २ बजेदेखि बेलुका ६ बजेसम्मको १६ घण्टा लगातार
ड्युटी पर्थ्यो उनको । महिना बित्यो, तलब मागे साउदी मालिकसंग तर साउदी
मालिकले तलब त दिएननै उल्टै रिसाएर एकान्तमा खजुरको बोटमुनि लगेर लात्तै
लात्ताले हान्यो होमनाथको छातिमा । होमनाथले यो कुटाईको घाउ देखाउन सकेनन
तर उनको भित्री दर्द यति गहिरो थियो कि हाम्रो क्यामरामा र फोनमा पटक पटक
भक्कानो छोडेर रोएका छन उनी । एनआरएन टिभीमा उनीसंगको भिडियो अन्तरवार्ता
प्रसारण भएको छ तर उक्त टिभीले होमनाथ रोएको दृश्य सम्पादन गरी काटिदिएछ !
हाम्रो अर्को उद्धेश्य होमनाथलाई नभगाइकनै बैध कामदारकै हैसियतमा उनको
कानूनी उपचार खोज्ने पनि थियो । जसमा होमनाथ पनि सहमत भई यत्रो यातना र
बिचल्लीका वावजुद पनि उनी भागेनन । ज्यान जोगाउन केहीदिन भागेका उनलाई
हामीले पुनः साउदी मालिककोमा फर्कन आग्रह गर्यौं र हाल उनी साउदी मालिकले
नै दिएको कोठामा छन तर आजभोलीमै उनलाई ५०-६० कि.मी टाढा मरूभुमीमा रहेको
भेडीगोठमा खानपनि नदिने गरी पठाउन लागेको छ ।
होमनाथलाई स्वदेश फर्काउनका लागि साउदीले ४,५०० रियाल मागेको छ । यो रकम
होमनाथका लागी खर्चेको भिषा लगायतको रकम रे । उता नेपालमा पनि भिषा
लगायतको खर्च नै भनी कपिल म्यानपावरले रू. १ लाख लुटेकै हो । हो, त्यो लुट
नै थियो, त्यसैले त भर्पाई पनि दिइएन । कुनैपनि ‘बैध कारोबार’ का बिल,
भर्पाई रसिद हुन्छन । चोरेको, ठगेको, लुटेको, घुस खाएको रकमको मात्र रसिद
भर्पाई केही पनि हुंदैन । बिभागले पनि एउटा सुयोग्य जिसिसी हेभी ड्राइभर
जसको भिषा समेत ड्राइभरकै छ, लाई लेबरको श्रम स्वीकृति कसरी दियो ? बैदेशिक रोजगार ऐनको दफा १४ (३) (क) को बिभागबाटै उलंघन भएको स्पष्ट देखिएको छ यो केशमा (दस्तावेजहरू तल संलग्न छन) ।
आफ्नो पुर्ब प्रतिबद्धता बिपरित कपिल म्यानपावरले अहिले साउदीले मागेको
रकम दिन आनाकानी गरिरहेको छ । जसका कारण होमनाथ थप मानसिक तनाव र सास्ती
खेप्न बाद्द्य बन्दैछन । जबकि ऐन र श्रम स्वीकृतिमा समेत स्पष्ट उल्लेख छ
कि भनिए बमोजिमको काम तथा तलब सुविधा नपाएमा स्वदेश फर्काउने जिम्मा
म्यानपावर कम्पनीकै हुनेछ भनेर । तर म्यानपावरले पैसा पठाउन शर्त राखेको
रहेछ होमनाथ नेपाल फर्केपछि म्यानपावर बिरूद्ध कुनै दावी या उजुरी नगर्ने
भनेर । यो उसको होमनाथले तिरेको रू. १ लाख क्षतिपूर्ति नदिने नियत हो र
म्यानपावरको (आंफूले स्वीकार गरिसकेको) गल्तीको सजाय होमनाथलाई दिने साजिस
पनि । हो, यसरी नै धेरै म्यानपावर कम्पनीहरू पानीमाथिको ओभानो बन्दै हरेक
गल्ती र समस्याबाट बिनाकुनै सजाय सजिलै उम्कंदै आइरहेका छन जसका कारण
बैदेशिक रोजगार क्षेत्रमा दण्डहिनता मौलाउंदो छ र बिकृतिहरू पनि यसैकारण
बढिरहेका छन ।
होमनाथलाई अहिले जरूरत छ सरकारी सहयोग, न्याय र क्षतिपूर्तिका लागि
म्यानपावरलाई दबाव । तर बिडम्बना सरकारी निकायले होमनाथलाई उनीसंग बुझेको
रकमको भर्पाई नदिएर म्यानपावर कम्पनीले ऐनको दफा २१ (३) उलंघन गरेको
देख्दैन परन्तु रसिद नलिनु होमनाथकै गल्ती हो भन्ने निर्क्योलमा पुग्नेछ ।
यसरी नै नेपाली कामदारहरू पल पलमा ठगिदै आएका छन, शोषिदै र बिचल्लीमा पर्दै
आएका छन । कामदारका पीडाहरू सुनिदिने र उनीहरूका लागि उनीहरूका पक्षमा काम
गरिदिनेको अभाव निरन्तर खटकिंदो छ ।
तर होमनाथ जस्ता पीडित नेपाली कामदारहरूको छातिभित्रको बेदनाको
आगो कुनैदिन मसाल बनेर बल्नेछ, आगोको त्यो उज्यालोमा ठगिएका सबै
कामदारहरूले पाइ पाइको हिसाब मागेमा र आगोको त्यो रापमा ठग म्यानपावर
कम्पनीहरू र सम्बद्ध सरकारी निकायका भ्रष्ट कर्मचारीहरू जलेर राख भएमा
अनौठो मानिने छैन ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.