‘बागबाजारबाट नक्कली कागजात बनाउने संघका अध्यक्ष हुन्’
रोशन कार्की
काठमाडौं, असोज ७ । लामो समयदेखि नक्कली कागजात तयार पारी विदेश पठाउने धन्धामा वैदेशिक रोजगार व्यवसायी संघकै उच्च पदस्थ व्यक्तिहरू भएको खुलासा भएको छ । वैदेशिक रोजगारीमा जानेलाई महँगो शुल्क उठाई नक्कली कागजात तयार पारी अर्र्कैमार्फत विदेशी भूमिमा लगी अलपत्र पार्ने काममा जिम्मेवार व्यवसायी नै संलग्न भएका कारण वैदेशिक रोजगार व्यवसायीले अनेक आरोप खेप्नुपरेको स्वयं वैदेशिक व्यवसायीहरूले स्वीकारेका छन् । उनीहरूले व्यवसायलाई मर्यदित र विश्वासिलो बनाउन संघको वर्तमान कार्य समिति असफल भएको र उल्टै व्यवसाय नै बन्द गराउने रणनीतिमा लागेको आरोपसमेत लगाएका छन् ।
नेपाल वैदेशिक रोजगार संघका निवर्तमान कार्य समितिका सदस्य कृष्णगोपाल महर्जन (माइकल) ले संघका अध्यक्ष बलबहादुर तमाङको मेनपावरले नै बागबजारमा तयार पारेको नक्कली कागजपत्र प्रयोग गरी मान्छे विदेश पठाएको आरोप लगाए । उनले भने, ‘संघकै अध्यक्षले नक्कली कागजात प्रयोग गरी मान्छे विदेश पठाएपछि कसरी हुन्छ, व्यवसाय मर्यादित र व्यवस्थित ? त्यसैले पनि उन गतिविधि संघको विधानविपरीत भएका कारण असहमति जनाई संघबाट राजीनामा दिएको हुँ ।’
संघमा आबद्ध र बाहिरका व्यवसायीहरूको समस्याबारे बोल्न र सम्बन्धित निकायमा दबाब दिन पटक–पटक अनुरोध गर्दा पनि कुनै चासो नदिइ उल्टै मातहतका मन्त्रालय र विभागका महानिर्देशकसँग मिली आफ्नो नक्कली कामलाई वैधानिकता दिएको निवर्तमान सदस्य महर्जनको दाबी थियो । महर्जनका अनुसार संघका अध्यक्ष वैद्यले गत महिना एअरपोर्टबाट नक्कली कागजातमार्फत विदेश जानलागेका १९ जनासहित ४६ जनालाई नियन्त्रणमा लिएपछि त्यसको जिम्मेवारीसमेत नलिएको बताए । ‘अध्यक्ष भएर नक्कली कारोबार गर्नेको नेतृत्वको समितिभित्र बस्नु मेरो नैतिकताले दिएन,’ महर्जन भने ।
अध्यक्षका प्रत्यासी किरणकिशोर घिमिरेले वर्तमान अध्यक्षले संघमा भएको समस्याप्रति चासो नदेखाएको, सरकारी कर्मचारीसँग अपवित्र गठबन्धन गरी संघको मानमर्दन गरेका कारण उनी अध्यक्ष पदमा बसिरहनु विधानविपरीत भएकाले नैतिकताका आधारमा राजीनामा दिई बाहिरिनुको विकल्प नभएको बताए । उनले भने, ‘यदि संघका अध्यक्षको मिलेमतो नहुने हो भने सरकारकै दुई मन्त्रालयबीच किन अविश्वास हुने ? श्रम मन्त्रालयले व्यवसायीहरूले पठाएको फाइल र मान्छेलाई किन रोक्छ ? गृह मन्त्रालयले अध्यागमन कार्यलयले विमानस्थलमा किन रोक्छ ।’ अध्यक्षले संघको नाममा नक्कली कागजात तयार गरी मान्छे विदेश पठाउने गरेकाले सो कार्य भएको घिमिरेको दाबी थियो । उनले संघका समस्यालाई नहेरी वैदेशिक रोजगार विभागका कर्मचारीसँग मिली अवैध धन्धा सञ्चालन गरेकाले आम व्यवसायी आलोचित हुनपरेको गुनासो गरे ।
घिमिरेले भने, ‘यस अवैध कारोबारलाई प्रधानमन्त्री डा.बाबुराम भट्टराई र विभागका डीजी पूर्णचन्द्र भट्टराइले सहयोग गरिरहेका छन् ।’ वैदेशिक रोजगार व्यवसायको इतिहासमा संघमा अहिलेजस्तो भष्ट्राचार कहिल्यै नभएको तर, अहिले सरकारी कर्मचारीकै मिलेमतोमा ‘सेटिङ मिलाई’ भष्ट्राचार गरेकोसमेत घिमिरको आरोप थियो । घिमिरेले भने, ‘अहिले महिला कामदारको नाममा, एकल कामदार र सयुक्त कामदारकालाई विदेश पठाउने सवालमा २०÷४० हजार रुपैयाँ लिएर फाइल सदर गर्ने गरेका छन् ।’ सरकारी कर्मचारीलाई लगाएर आफूले राम्रो काम गरेको देखाउन विभागका डीजी भट्टराईले नयाँ नाटक मञ्चन गरेको समेत उनले आरोप लगाए ।
त्यस्तै अर्का अध्यक्षका प्रत्यासी हंशराज वाग्लेले संघको वदमान गर्न व्यवसायीलाई देशद्रोहीको अभियोग लगाएर बन्दी बनाउन अध्यक्ष तमाङ सक्रियरहेको उल्लेख गर्दै भने, ‘अध्यक्षले राष्ट्रिय समाचारमाध्यममा गैरजिम्मेवारी जवाफ दिँदै हिँडेकाले अहिले सरकारले ‘विशेष टाक फ्रोर्स’ गठन गरी हाम्रा कार्यालयमा छापा मार्नुु भनेकै गैरजिम्मेवारी जवाफका कारण भएको हो ।’
संघको दुई वर्षे कार्याकालका लागि गत ५ महिनाअघि निर्वाचित अध्यक्ष तमाङको कार्यशैली वैदेशिक रोजगार व्यवसायीविरुद्ध भएको भन्दै विशेष अधिवेशन बोलाई अविश्वासको प्रस्ताव ल्याउने तयारीमासमेत उनीहरू जुटेका छन् । अध्यक्ष तमाङलाई सुध्रने चेतावनी दिने कि सिधैं अविश्वास पेस गर्ने भन्ने सम्बन्धमा काठमाडौंमा आइतबार व्यवसायीहरूको बृहत् भेला भएको छ । भेलामा सहभागी बहुमत सदस्यले तमाङविरुद्ध अविश्वासको प्रस्ताव नै ल्याउने अडानमा राखेका थिए भने अल्पमतका सदस्यहरूले सुरुमा चेतावनी दिनुपर्ने सुझाव दिएका थिए ।
गत निर्वाचनमा पराजित अध्यक्षहरू पे्रम कटुवाल, किरणकिशोर घिमिरे, हंशराज वाग्ले, निर्वतमान अध्यक्ष सोमलाल बाटाजु, पूर्वअध्यक्ष तिलक रानाभाट, विमल ढकाल, संघका प्रथम उपाध्यक्ष ज्ञानु गैरेलगायतले भेला अयोजना गरेका थिए ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.