Monday, September 9, 2013


         दुःखीको सेवा गरे स्वर्ग देख्न पाइन्छ
रामबहादुर श्रेष्ठ
डिस्ट्रिक्ट गभर्नर, लायन्स क्लब अफ इन्टरनेसनल ३२५ ए १ नेपाल

समाजसेवाका विभिन्न गतिविधि सञ्चालन गर्दै आएको अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लबले नेपालका विभिन्न क्षेत्रमा काम गरिरहेको छ । सोही संस्थाअन्तर्गत लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ ए १ नेपालका डिस्ट्रिक्ट गभर्नर लायन रामबहादुर श्रेष्ठ रहेका छन् । संखुवासभाको खाँदबारीमा आजभन्दा ६५ वर्षअघि जन्मिएका श्रेष्ठ एक खान–लाउन पुग्ने परिवारका हुन् । आना बाबुले समाजमा गरेको सामाजिक कार्यबाट प्रभावित बनेका श्रेष्ठ तत्कालीन राजनीतिका नेतासँग घम्साघम्सी परेका कारण जन्मथलोबाट विस्थापनजस्तै भएका थिए । युवा जोस र जाँगर तथा बाबुको सामाजिक प्रेरणाकै कारणले तत्कालीन ०३६ सालमा अन्जानमै राजनीतिमा लागेका थिए । ०३६ सालको जनमतसंग्रहपछि राजनीतिकै कारण परिवारमा दुई समूह भए पनि गाउँ छाडेर धरान झरेका श्रेष्ठ पहिलोपटक ०४३ सालमा धरान नगरपालिकामा नेपाल किसान संगठनको सहसचिवमा निर्वाचित भए । राजनीति एउटा पाटो थियो तर उद्देश्य समाजसेवा नै भएकाले विभिन्न मितिमा जिल्ला, अञ्चल हुँदै ०४४ सालमा संगठनको केन्द्रीय सहसचिव भई काम गर्न थालेपछि उनी धरानबाट काठमाडौं बस्न थाले । हाल बालुवाटारमा सपरिवार बसोबास गर्दै आएका श्रेष्ठले तत्कालीन समयमा आपूmलाई सहयोग पु¥याउने दर्जनौ“ सहयोगीमध्ये धेरैैको नाम बिर्सिएको बताउँछन् । उनले सो समयमा आपूmलाई सहयोग गर्नेमध्ये डा. मदन दाहाल, डा. ऋषिकेश रेग्मी, डा. सुभद्रा सुब्बा दाहाल, प्राध्यापक प्रयागराज शर्मा र बल्लभमणि दाहालको भने नाम सम्झना भएको बताउँछन् । राजनीतिबाट मात्र समाजसेवामा सहयोग पु¥याउन असम्भव भएको भन्दै ०४६ सालमा काठमाडौंमा सान इन्टरनेसनल कलेज, सेमिस्ट नेपाल अर्थात् नयाँ र पुरानो नेपालको अध्ययन केन्द्रको स्थापना गरेर उनी काठमाडौंमा बसोबास गर्दै आएका छन् । ४ छोरा र २ छोरी गरी ६ सन्तानका पिता पहिले र पछि उनको बाबुको कमाइबाट समाजसेवामा सक्रिय रहेका थिए । त्यसपछि छोराछोरी अमेरिकामा बसोबास गर्न थालेपछि उनीहरुले पठाएको पैसाबाट आनो समाजसेवालाई उनले निरन्तरता दिएका छन् । लगातार २०–२५ वर्ष लायन्स क्लबको विभिन्न पदमा बसेर समाजसेवामा लागिपरेका र हालै सो क्लबको गभर्नर पद सम्हालेका श्रेष्ठसँग लायन्सका विविध गतिविधि र व्यक्तिगत जीवनका बारेमा केन्द्रित भई कमाण्डर पोष्टका लागि रोशन कार्कीले गरेको कुराकानीको सम्पादित अंश ।

लायन्स क्लब कस्तो संस्था हो ?


सन् १९१७ मा लायन्स क्लब इन्टरनेसनल रूपमा अमेरिकामा स्थापना भएको हो जुन समयमा एक जना मानिसले आफू बसेको समयमा के गर्ने भन्नेबारे ४ जना युवाबाट सामान्य छलफलपछि स्थापना भएको संस्था हो । सन् १९१७ मा अमेरिकाको सिकागो अबराबुक (ब्इप्भ्–द्यच्इप्) गाँउमा स्थापना गरेको संस्था हो जसको उद्देश्य थियो, समाजमा सेवा प्रदान गर्नु । सो संस्थाले समाजमा तत्काल शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा सहयोग गरेको थियो । जनस्वास्थ्यको परिकल्पनाबाट सुरु भएको यो संस्था अहिले विश्वका २ सय १८ देशमा पुगिसकेको छ भने क्लबमा १४ लाख सदस्य रहेका छन् । यो नितान्त सेवामूलक संस्था हो । जनस्वास्थ्यको परिकल्पनाबाट सुरु भएको यो संस्था अहिले विश्वको विभिन्न स्थानमा पुगिसकेको छ । तर, नेपालमा सन् १९७१ मा मातृकाप्रसाद कोइरालाको नेतृत्वमा विराटनगरमा लायन्स क्लबको स्थापना भएको हो । नेपालमा अहिले चारवटा डिस्ट्रिक्ट छन् । यी डिस्ट्रिक्टअन्तर्गत १ सय १० क्लब र ३ हजारभन्दा बढी लायन्स सदस्य क्रियाशील छन् । लायन्स क्लब विशुद्ध अन्तर्राष्ट्रिय सामाजिक संस्था हो ।

लायन्स क्लबले गर्ने प्रमुख कार्य के के हुन् ?


संसारभर दृष्टिविहीनताको निवारण गर्नु लायन्सको प्रमुख लक्ष्य हो । अन्तर्राष्ट्रिय जगतमा हेलेन क्लालर, जो दृष्टिविहीन हुन्, उनले आफ्नो अन्धोपनलाई उपचार गर्न नसेकेपछि ‘मजस्तै अरू हजारौँ दृष्टिविहीन हुन नपरोस्’ भन्ने उद्देश्यले समाजमा निःशुल्क आँखाको उपचार गर्ने व्यवस्था मिलाएपछि यस क्लबको मुख्य लक्ष्य आँखाको उपचार अर्थात् स्वास्थ्यमा पनि पहिलो चरणमा आँखाको उपचार गरेर सेवा नै प्रदान गर्नु हो । त्यही मान्यताअनुसार हामीले विभिन्न स्थानमा आँखा शिविर तथा अन्य स्वास्थ्य शिविर सञ्चालन गरी मोतिया बिन्दुको निःशुल्क शल्यक्रिया गर्दै आएका छौँ । हाल नेपालमा ४० हजारभन्दा बढीले आँखाको सही उपचार पाएर सुखी जीवन बिताइरेहका छन् । साथै, बाढीपहिरो, भूकम्प, सुनामीजस्ता प्राकृतिक प्रकोपपीडितलाई क्लबले तत्काल राहत पु¥याउँदै आएको छ । त्यसपछि लायन्सले शिक्षा, स्वास्थ्यलगायत विषयमा आफ्नो ध्यान केन्द्रित गरेको छ ।

लायन्स क्लबको गभर्नरका हैसियतले आप्mनो कार्यकालमा के के कार्यक्रम गर्ने योजना बनाउनु भएको छ ?

मैले २१ वर्षअघि लायन्सको सदस्य पाएको हो । मेरो बुबा सूर्यबहादुर श्रेष्ठले समाजमा स्वास्थ्य, शिक्षामा आफ्नो व्यक्तिगत रूपमा सहयोग गर्नुभएको थियो । उहाँकै प्रेरणबाट म पनि समाजसेवामा लागेँ । उहाँले गाँउमा तत्कालीन समयमा आबश्यक परेको घोरेटो बाटो, विद्यालयको स्थापना गर्नुभएको थियो । उहाँले पहिलो पटक खाँदबारीमा मोटरबाटो पु¥याउनु भएको थियो । यति मात्र होइन आफ्नो नीजि खर्च मै गाउँमा मृत्यु भएकालाई दाहसंस्कार गर्न जाने बाटो ओरालो र चिप्लो थियो, त्यस समयमा सो बाटोबाट शव लिएर जानु चुनौतिपूर्ण रहेको थियो । मेरा बुबाले सो बाटो बनाउनुभयो । यसरी पारिवारिक पृष्ठभूमि नै समाजसेवा भएकाले मैले पनि पहिलो काम समाजसेवा नै रोजेको हँु । त्यसैले मैले सुरुदेखि नै स्वास्थ्य र शिक्षामा विशेष जोड दिएको छु । ‘सबैलाई शिक्षाको अधिकार’ भन्ने नाराका साथ मैले देशको ७५ वटै जिल्लामा शिक्षाबाट वञ्चित भएका गरिब जेहेनदार विद्यार्थीलाई पढाइमा सहयोग पु¥याउने उद्देश्यले ‘मनराम फाउन्डेसनको स्थापना गरी सोही अभियानलाई अगाडि बढाएको छु । मैले यस क्लबमा सक्रिय सदस्य भएदेखि नै विभिन्न साथीले आफ्नो नाम र काम देखिने क्षेत्रमा कमाएको केही प्रतिशत खर्च गर्न आनुरोध गरेँ । सुरुमा के गर्ने भन्नेमा हामी दुई जना (श्रीमान्÷श्रीमती) सोचमा थियौँ । पछि साथीभाइ र संस्थाको सल्लाहमा शिक्षा क्षेत्रमा सहयोग गर्नुहोस् भन्ने सुझाब आयो । सोहीअनुसार कमाएको ५० प्रतिशतभन्दा बढी रकम शिक्षा क्षेत्रमा खर्च गर्न थालेँ । यस अभियानमा क्लबको सहयोग र व्यक्तिगत सहयोगमा पुस्तकालयको स्थापना गर्ने गरेका छौँ जहाँ पुस्तकको अध्ययनबाट वञ्चित विद्यार्थीका लागि सहयोग पु¥याउने मुख्य उद्देश्य हो । ०६८ सालबाट यो अभियान सुरु गरेका हौँ । अहिले ३० वटा पुगेको छ । अब यही चालु आर्थिक वर्षभित्र ५० वटा पु¥याउनेछौँ । हामीहरूले प्राथमिक, माध्यमिक र उच्चमाध्यमिक विद्यालयलाई सो सहयोग प्रदान गर्ने गरेका छौँ । हाम्रो उद्देश्य पहिलो उच्चमाध्यमिक विद्यालय सञ्चालन भएको तर पुस्तकको अभावमा विद्यार्थीहरू पढ्नबाट वञ्चित हुनुपरेका घटना देखेपछि सो फाउन्डेसनबाट पुस्तकालय स्थापना गरेर सहयोग पु¥याउने मुख्य उद्देश्य हो ।
लायन्स सदस्यहरूको नेतृत्व विकासका लागि ‘लिडरसिप क्याम्प’ गर्ने, समयसमयमा नेतृत्व विकास, व्यवस्थापन र लायन्ससम्बन्धी जानकारीमूलक तालिमको आयोजना गर्ने योजना रहेको छ । यहाँ एउटै क्लबले एकभन्दा बढी स्थानमा कार्यक्रमहरू गर्ने गरेका छन् जुन प्रभावकारी नहुन पनि सक्छन् । त्यसैले, क्लबका काम प्रभावकारी बनाउन एउटा गाउँमा क्लबले एउटा कार्यक्रम सम्पन्न गर्नुपर्ने देखिन्छ । व्यवस्थित कार्यक्रम गरी सकारात्मक परिवर्तन गर्न तथा दिगो विकासका लागि नै म लागिपर्नेछु ।

लायन्समार्फत सामाजिक सेवाको अवधारणालाई नेपालमा कसरी कार्यान्वयनमा ल्याउनुहुन्छ ?

नेपालमा लायन्स गभर्नरले पुलको काम गर्ने भएकाले अन्तर्राष्ट्रिय लायन्स क्लब र नेपालमा क्रियाशील लायन्स क्लबबीच मैले सम्बन्ध विस्तारको काम गर्नुपर्छ । त्यसपछि क्लबहरूलाई नेपालमा सामाजिक काम गर्नका लागि प्रोजेक्ट तथा कार्यक्रमहरू ल्याउन आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नेछु ।

लायन्सको आर्थिक स्रोत के हो ?


लायन्स क्लबमा लाग्नेहरू सामाजिक भावना भएकाहरू मात्रै हुन्छन् । लायन्स सदस्यहरूले आफ्नो व्यक्तिगत आम्दानीको केही हिस्सा सामाजिक सेवामा खर्च गर्छन् । लायन्स सदस्यहरूले वार्षिक सदस्यता शुल्कसमेत तिनुपर्छ । यसमा अन्तर्राष्ट्रिय ऐनअनुसार सबैलाई ४० डलर सदस्यता शुल्क बुझाउनुपर्ने हुन्छ । यो अन्तर्राष्ट्रिय नियम हो । यसमा सदस्यता शुल्क अनिवार्य हुन्छ भने अन्य सहयोगका लागि सबै सदस्यहरूले इच्छाअनुसार विभिन्न कोषको स्थापना गरेर आर्थिक स्रोत जुटाउने गरिन्छ र त्यहीँबाट क्लबको कार्यक्रमलाई आगाडि बढाउने गरेका छौँ ।


लायन्स क्लबमा कसले सदस्यता लिन पाउँछन् ?


लायन्सको सदस्यता लिनका लागि कुनै मापदण्ड छैन । सदस्यता बन्ने प्रक्रिया हुन्छ । लायन्सको एक सदस्यले नयाँ सदस्यलाई क्लबको बैठकमा आमन्त्रण गर्छ । क्लबको बैठकमा सहमति भएपछि नयाँ व्यक्तिले लायन्सको सदस्यता पाउँछ । जहाँसम्म जो सदस्य बन्ने हो उसको मूल उद्देश्य समाजसेवा हुनुपर्छ ता कि नाफामूलक काममा भन्दा पनि सेवामूलकमा बढी समय दिनुपर्ने हुन्छ । सो मापदण्ड र क्लबको मापदण्डलाई आत्मसात गर्र्ने जो कोहीले पनि क्लबको सदस्यता लिन पाउँछ । यहाँ राजनीतिक आवरण भने कुनै देखाउन कसैले पाउँदैन ।

लायन्समा आर्थिक पारदर्शिता कत्तिको हुन्छ ?


लायन्स क्लबमा आर्थिक पारदर्शिता हुन्छ । नेपालभर रहेका लायन्स सदस्यहरूले वार्षिक रूपमा राष्ट्रिय शुल्क तिर्छन् । सदस्यबाट उठेको शुल्क लायन्स डिस्ट्रिक्टले खर्च गर्ने हो । अन्तर्राष्ट्रिय क्षेत्रबाट आएको रकम पनि पारदर्शी हुन्छ । लायन्स क्लबको हिसाबकिताब वेबसाइटमा समेत हेर्न पाइन्छ । ४ वर्षअगाडि गरिएको एउटा सर्वेक्षणबाट लायन्स क्लबलाई ‘नम्बर वान भोलेन्टियर अर्गनाइजेसन’ घोषणा गरिएको छ । आर्थिक पारदर्शिता र राम्रो सामाजिक कामबाट नै लायन्स क्लबको छवि उच्च हुँदै गएको छ । हामीलाई लायन्सको रकम हिनामिना गर्नुपर्ने जरुरत नै छैन किनकि क्लबको रकम र व्यक्तिगत सहयोगबाटै संस्थाले समाजसेवालाई अगाडि बढाएको छ भने त्यसमा भएको खर्च पारदर्शिता नगर्नुपर्ने कारण नै छैन । त्यसैले हामी पूर्णरूपमा पारदर्शी छाँै । जो जसले क्लबको रकमलाई हिनामिना गर्छ, त्यसले सो रकम र कारबाही भोग्न तयार हुनुपर्छ । क्लबको आफ्नै विधान छ । सो अनुसार अनियमितता गर्नेलाई कोही कसैले पनि सहयोग र साथ दिनेछैनन् । सो विषयमा म नै भए पनि कारबाहीको भागिदार आफै हुनुपर्छ । सो क्रियाकलापबाट संस्थालाई पुगेको क्षति सोही व्यक्तिले भरताल गर्नुपर्छ । त्यसैले यस संस्थामा भएका र आउने कुनै पनि रकम हिनामिना हुने कुरै आउँदैन ।

लायन्सका कायक्रमहरूबाट प्रत्यक्ष फाइदा पुगेका कुनै उदाहरण छन् ?

प्रशस्त छन् । बर्र्सेनि हामीले गाउँगाउँमा आँखा शिविरहरू सञ्चालन गर्छौं । यसबाट मोतिया बिन्दु भएका थुप्रै व्यक्तिले उपचार पाएका छन् । शिक्षा, स्वास्थ्य क्षेत्रमा लायन्स क्लबहरूले सहयोग गरिरहेका छन् । यसबाट न्यून आय भएका विद्यार्थी र रोगीहरूले प्रशस्त लाभ लिइरहेका छन् । काठमाडौंको तिलगंगा आँखा अस्पताल, त्रिभुवन शिक्षण अस्पताल र पोखराको लेखनाथ सामुदायिक अस्पतालमा लायन्सले आर्थिक सहयोग पनि गरेको छ । तनहुँ, दमौलीको भानुभक्त क्याम्पसको भवन निर्माणका लागि लायन्स क्लबले सहयोग गरेको थियो । यस्ता धेरै कार्यक्रम लायन्स क्लबले गरेको छ । बढी मात्रामा यस क्लबबाट आँखाका रोगी र शिक्षा क्षेत्रमा विशेष सहयोग पु¥याएका कारण प्रत्यक्ष फाइदा पुगेकाको संख्या भन्नु भन्दा पनि कहाँ कतिको सहयोग पुगेको छ त्यसको अनुसन्धान गर्नु नै उत्तम होला हैन र ! मैले भन्नुभन्दा पनि ।

यहाँको खास व्यवसाय के हो ? कसरी लायन्समा लाग्नुभयो ?

मेरो खास व्यवसाय छैन । सुरुमा बुबाको सम्पत्तिबाट सामाजिक सेवा गरियो । पछि छोराछोरी ठूला भए अध्ययन गरेर र अमेरिका गएपछि सबै आ–आफ्नै खुट्टामा उभिने भए । पछि कान्छो छोराले नेपालमा उत्पादन हुने छुर्पीलाई अमेरिका निर्यात गर्ने र त्यहाँ त्यो छुर्पीलाई पुनः प्रशोधन गरेर कुकुरको खानाको रूपमा बिक्री वितरण गर्ने कम्पनी स्थापना गरेपछि त्यसबाट राम्रो आम्दानी भयो । मैले गाउँगाउँमा बनाउने छुर्पीलाई किसानकै मूल्यमा खरिद गरेर अमेरिका निर्यात गर्न थालेँ । मेरा छोराछोरीहरूले कहिल्यै मैले गर्ने भनेको काममा विरोध जनाएनन् । बरु समाजसेवाका लागि भनेपछि छोराछोरीहरूले पैसा पठाउन थाले । अहिले पनि गाउँमा गएर किसानकै मूल्यमा छुर्पी खरिद गरेर अमेरिका पठाउछु यसलाई म पेसा नै चाहिँ नभन्दा नै राम्रो होला । मैले कमाउने रकमको ५० प्रतिशत सामाजिक कार्यका लागि छुट्ट्याउने गरेको छु ।
समाजसेवालाई नै आत्मसात् गरेर लायन्समा लागेकाले व्यवसाय र सामाजिक कार्यलाई सँगसँगै लैजान सकेको छु । व्यवसायी भई पैसा कमाएर मात्र असल नागरिक बन्न सकिँदैन । लायन्सका अन्य सदस्य पनि आफ्नो पेसा र व्यवसायमा भएकाले कोही पनि फुर्सदिला हुँदैनन् । आफ्नो कमाइको केही भाग समाजसेवामा लगाउने इच्छा भएकाहरूका लागि लायन्स राम्रोे माध्यम हो ।

यहाँका छोराछोरी अमेरिकामा बस्ने तपाईं नेपालमा बसेर समाजसेवाको नाममा खर्च गरेको भनेर विरोध त गरेका छैनन् छोराछोरीले ?

मेरा छोराछोरी सुरुदेखिनै अमेरिका बस्न थाले, उतै व्यवसाय गरे र आपूmलाई पुग्ने मात्र नभई समाजसेवाका लागि पनि पुग्ने रकम कमाए । यहाँ जति धन हुन्छ, त्यति नै लोभ लाग्छ भन्ने गरिन्छ तर सो सोच मेरो परिवारमा न मेरो बुबामा आयो, न मलाई आएको छ, न मेरा छोराछोरीमा आयो । मैले छोराछोरीलाई आपूmले कमाएको केही प्रतिशत रकम समाजसेवामा पनि छुट्ट्याउने गर्नु, धन कमाएर थुपार्नेभन्दा पनि समाजमा दुःख पाएकालाई सक्दो सेवा पु¥याउनु मानवधर्म हो भनेर भनेपछि मेरो छोराछोरीहरू अति नै खुसी भए । उनीहरूको पनि समाजसेवा गर्ने मनमा आएपछि अझै सजिलो भयो । अहिले सम्म मेरो परिवारले मैले भनेको कुरालाई काट्ने गरेका छैनन् । बुबाले गर्न लागेको काम सहि छ हामी सक्दो सहयोग गर्छांै तपाई भन्नुहोस्, हामी आर्थिक, भौतिक र नैतिक सहयोग कुन गर्नुपर्छ गर्न तयार छौँ भनेकाले अझै समाजसेवामा सक्रिय भएको हँु ।

अहिले यहाँलाई हेर्दा अस्वस्थ्य देखिनुहुन्छ, यस्तो अवस्थामा पनि समाजसेवा भन्दै बिहानैदेखि विभिन्न बैठक, भेटघाटमा व्यस्त हुनुहुन्छ, यसरी आनो स्वास्थ्यको समेत ख्याल नगरी गरेको समाजसेवाबाट के आशा राख्नुभएको छ ?

हो यहाँले भनेझैँ म पहिलेको भन्दा अहिले अति अस्वस्थ छु । सातामा ३ पटक किडनीको डाइलोसिस गर्छु । डाक्टरको सल्लाहअनुसार आराम गर्नुपर्छ भनेको छ तर मलाई नै भेट्न आउनुभएकालाई भेट नदिई कसरी पठाउनु ? मनले मान्दैन अनि भेट गर्छु । समस्या सुन्छु समाधान निकाल्छु र बैठकसमेतमा सहभागी हुन्छु । सामाजिक सेवा गर्नलाई बिरामी भए पनि छोड्न मन लाग्दैन ।

सरकारी स्तरबाट कस्तो अपेक्षा गर्नुभएको छ ?


हामीले सरकारलाई सहयोग पु¥याउने उद्देश्यले स्थापना गरेर काम गरेका कारण सहयोगको आशा राखेका छैनौँ तर आर्थिक सहयोगको आशा नभए पनि सरकारी ऐन कानुनअनुसार काम गर्न सजिलो बनाइदिनुपर्नेमा चाहिँ आशा राखेका छौँ । सामाजिक क्षेत्रमा लायन्स क्लबहरूले उल्लेख्य काम गरेका छन् । सरकारले सुरुमा संखुवासभामा छँदा नै लायन्सले सामाजिक सेवा गर्ने उद्देश्यले कार्यक्रम राखेको थियो । त्यसबेला सरकारी २ जनाको आवश्यकता परेका कारण सरकारलाई मैले पत्र लेखेर १५ दिनका लागि छुट्टी दिन आग्रह गरेको थिएँ । त्यसबेला सरकारले विनाअवरोध कर्मचारी उपलब्ध गराएकाले सरकारको सहयोग पाएका छौँ । अन्य सहयोगको माग गरेका पनि छैनौँ र गर्नु पनि पर्दैन । यहाँ विभिन्न नामका क्लबहरू स्थापना गर्ने अनि सबै काम गर्न सरकारकै आशा राख्ने भएकाले त्यो कार्य राम्रो होइन । क्लबहरूले सरकारसँग सहयोग होइन, सहयोगचाहिँ पु¥याउनुपर्छ तर पनि कामअनुसार लायन्सको प्रचारप्रसार भएको छैन । विशुद्ध सामाजिक भावनाले काम गर्ने भएका कारण लायन्स क्लबहरूलाई सरकारको सहयोग आवश्यक छ । राम्रो काम गर्नेलाई सम्मान र नराम्रो काम गर्नेलाई कारबाही गर्नेतर्फ सरकारको ध्यान जानु आवश्यक छ ।

अन्तमा........

सबैले आफ्नो तर्फबाट गर्न सक्ने सेवा समाजमा दिनु उचित हुन्छ भन्ने लाग्छ । यहाँ धन थुपारेर बस्नुभन्दा पनि आपूmले कमाएको केही रकम समाजसेवालाई पनि छुट्ट्याउनुहोस् भन्छु किनकि आज तपार्इंहरूले गरेको सक्दो सहयोगले दूरदराजका बासिन्दाको भविष्य बन्छ, स्वास्थ्यबाट वञ्चित भएकाले घरदैलोमा स्वास्थ्य सेवा उपचार पाएर बाच्न पाउँछन्, पढ्न नपाएकाले पढ्न पाउँछन् । त्यसैले यहाँ लोभ होइन, समाजसेवामा खर्च गर्ने वातावरण बनाऊँ भन्न चाहन्छु । सेवा नै धर्म हो, दुःखीको सेवा गरेको खण्डमा यहीँ स्वर्ग देख्न पाइन्छ भन्ने मेरो मान्यता छ ।

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...