Saturday, May 28, 2011

क्यासिनो कारबाही प्रक्रिया अवरुद्ध

काठमाडौ, जेष्ठ ५ - सरकारमा माओवादीको प्रवेशसँगै क्यासिनोबाट राजस्व बक्यौता असुली र नियमनको प्रक्रिया अवरुद्ध भएको छ । सार्वजनिक लेखा समितिको निर्देशनअनुसार बक्यौता नतिर्ने क्यासिनोको इजाजत खारेज गर्ने तथा क्यासिनो सञ्चालनका लागि कार्यविधि बनाउने कार्यमा जुटेको पर्यटन मन्त्रालय माओवादीको भागमा परेपछि यससम्बन्धी प्रक्रिया रोकिएको छ । क्यासिनो व्यवसायमा मजदुर युनियन मार्फत माओवादीले पकड राख्दै आएको छ ।बक्यौता असुली र नेपाली नागरिकको प्रवेश रोक्न लेखा समिति र अर्थ मन्त्रालयको सक्रियतासमेत घट्दैै गएपछि क्यासिनोमा राजस्व नतिर्ने, नेपाली ग्राहकलाई स्वागत गर्ने क्रम बढ्न थालेको सम्बद्ध स्रोतले बताएको छ । राजस्व नतिरे पनि सम्बद्ध निकायले चासो देखाउन छाडेपछि क्यासिनोको आर्थिक स्रोतमा हालीमुहाली चलाउन माओवादी मजदुर युनियनमै विवाद हुन थालेको क्यासिनो सम्बद्ध मजदुर बताउँछन् । 'पछिल्लो समय शालिकराम जमकट्टेल र उनका विरोधी मजदुरबीच सुरु भएको लडाइँको कारण क्यासिनोको आर्थिक स्रोत हो,' तिनले भने ।    

समितिले पुस १३ गते बक्यौता तिर्न ३५ दिनको समय दिएर नतिर्नेको इजाजत खारेज गर्न निर्देशन दिएको थियो । निर्देशनअनुसार राजस्व अनुसन्धान विभागले दिएको म्यादमा दसमध्ये होटल एभरेस्टस्थित क्यासिनो एभरेस्ट र ह्यातको क्यासिनो ताराले मात्र सबै बक्यौता तिरेका थिए । बाँकी आठ क्यासिनोको दर्ता खारेज गर्न अर्थले फागुन १ गते पत्र पठाए पनि पर्यटनले प्रक्रिया अघि बढाएन ।
यसबीच भ्याली लिंकमा आबद्ध क्यासिनो र्‍याड (र्‍याडिसन), भेनस (मल्ल), ग्रान्ड (पोखरा ग्रान्ड) ले सबै बक्यौता तिरेका छन्् । याक एन्ड यतीको क्यासिनो रोयल र पोखराको फूलबारी रिसोर्टस्थित क्यासिनो फूलबारीले केही तिरेका छन्् । विभागले करिब २१ करोड रुपैयाँ असुल गरेको थियो । तर बढी बक्यौता रहेका होलट सोल्टीस्थित क्यासिनो नेपाल र अन्नपूर्णको क्यासिनो अन्नाले ब्ाक्यौता तिर्न चासो देखाएका छैनन् । यसबीच अन्नामा रिक्रियसन सेन्टरको साझेदारका रूपमा व्यवस्थापन जिम्मा लिएको शिवं इम्पेक्स होटल एन्ड रेस्टुरेन्ट (प्रा) लि नामको कम्पनीले पनि बक्यौता नतिरी माओवादी मजदुर युनियनको एउटा पक्षलाई रिझाएर निर्वाध सञ्चालनको प्रयास गरिरहेको सम्बद्ध स्रोतले बताएको छ । 
राज्य संयन्त्रलाई बेवास्ता गर्दै एक पैसा पनि राजस्व नतिर्ने क्यासिनोले निर्वाध सञ्चालनको सुविधा पाउँदा ऋणसापट गरी बक्यौता तिर्ने अरूमाथि अन्याय भएको एक क्यासिनो सञ्चालकले गुनासो गरे । 'यस्तै हो भने अब हामी पनि राजस्व तिर्न बाध्य छैनौं,' तिनले भने ।
क्यासिनो नेपालले १३ करोड तथा क्यासिनो अन्नाले १० करोड रुपैयाँभन्दा बढी तिर्न बाँकी
छ । तिरेका क्यासिनो फूलबारीको ६ करोड २६ लाख तथा रोयलको २ करोड २० लाख रुपैयाँ बक्यौता छ । क्यासिनो नेपाल र अन्नाका साथै तारा र एभरेस्टका सञ्चालक नेपाल रिक्रियसन सेन्टरको होटल सोल्टी परिसरस्थित चार रोपनी भन्दा बढी जग्गा अर्थ मन्त्रालयले रोक्का राखेको छ । यसबीचमा सर्वोच्च अदालतले रोयल्टी बक्यौताको अन्तिम दायित्व इजाजतवाला होटल हुने निर्णय गरेको छ । सम्बद्ध होटलले रिक्रियसन सेन्टरको सम्पत्ति लिलाम गरी अपुग रकम तिर्ने लेखा समितिमा प्रतिबद्धता जनाएका थिए । 
लेखा समितिले रोक्का सम्पत्ति लिलाम गरी बक्यौता असुल गर्न तथा कार्यविधि निर्माणलगायत प्रक्रिया तत्काल थाल्न चैत ११ गते पुनः निर्देशन दिएको थियो । चैत ११ को बैठकमा तत्कालीन पर्यटन सचिव किशोर थापाले कार्यविधि बनाउन काम अन्तिम चरणमा पुगेको बताएपछि समितिले १५ दिनभित्र तयार पार्न निर्देशन दिएको थियो । तर दुई महिनाभित्र पनि कार्यविधि तयार भएको छैन । 'कार्यविधि बनाउने समूह नेपाली नागरिकको प्रवेश खुला गराउने पक्षमा छ,' सम्बद्ध स्रोतले भन्यो, 'तर यस्तो कार्यविधिको कडा विरोध हुने डर पनि तिनलाई छ ।' कार्यविधिमा रहेको नेपाली नागरिक प्रवेश गराउने  कुरामा गृह र अर्थ मन्त्रालयले असहमति जनाएका थिए ।  
क्यासिनोको नियमन र बक्यौता असुलीका लागि समितिको निर्देशन कार्यान्वयन नहुनु संसद्कै अपमान गरिएको सभासद दीपकुमार उपाध्याय बताउँछन्् । जेठको ९ गते बस्ने बैठकले समितिको कार्यान्वयनबारे छलफल गरी कदम चाल्ने उनले जनाए । 

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...