Sunday, June 19, 2011

भारतीय नागरिक वाधवाका सबै क्यासिनो बन्द गराउने निर्णय


 सरकारले लामो समयदेखि करोडौं रोयल्टी बुझाउन अटेर गर्दै आएको नेपाल रिक्रिएसन सेन्टरलाई सात दिनभित्र पनि सबै बक्यौता चुक्ता नगरे आठौं दिनबाट उसका नाममा सञ्चालित सबै क्यासिनो बन्द गराउने निर्णय गरेको छ।
भारतीय नागरिक राकेश वाधवाको कम्पनी रिक्रिएसन सेन्टरलाई बारम्बार ताकेता गर्दा पनि क्यासिनो सञ्चालनवापत् सरकारलाई तिर्नुपर्ने करोडौं रोयल्टी नबुझाएपछि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उक्त निर्णय गरेको हो।
पर्यटन मन्त्री स्तरीय असार २ मा भएको निर्णयअनुसार आगामी एक साताभित्र रिक्रिएसन सेन्टरले हालसम्मको बक्यौता चुक्ता नगरे उसको व्यवस्थापनमा सञ्चालित सबै क्यासिनोलाई चल्न नदिइने मन्त्रालय उच्च स्रोतले शनिबार नागरिकलाई जानकारी दियो।
मन्त्रालयले गरेको निर्णयअनुसार रिक्रिएसन सेन्टरका नाममा पत्र तयार भएको छ। आइतबार पत्र पठाइने स्रोतले बतायो। पत्रको बोधार्थ सार्वजनिक लेखा समिति, अर्थ, गृह र कानुन मन्त्रालय र राजस्व अनुसन्धान विभागलाई दिइइको छ।
वाधवाको कम्पनीले हाल पाँचतारे होटलहरू सोल्टीमा क्यासिनो नेपाल, हायातमा तारा, एभेरस्टमा क्यासिनो एभरेस्ट र डेल अन्नपूर्णमा क्यासिनो अन्ना चलाइरहेको छ।
तीमध्ये तारा, एभरेस्ट र अन्नाले सबै बक्यौता चुक्ता गरिसकेका छन् भने क्यासिनो नेपालले भने हालसम्म तिरेको छैन। क्यासिनो नेपाल २०२३ सालदेखि सञ्चालनमा छ। यो क्यासिनो एसियाकै सम्भवतः पहिलो क्यासिनो भएको अनुमान छ। गत चैत पहिलो सातासम्मको तथ्यांकअनुसार क्यासिनो नेपालले मात्रै १३ करोड ३ लाख रोयल्टी तिर्न बाँकी छ।
'रिक्रिएसन सेन्टरले एक साताभित्र सबै बक्यौता चुक्ता नगरे विगतमा उसलाई सरकारले दिएको मान्यता खारेज हुनेछ,' पर्यटन मन्त्रालय स्रोतले भन्यो, 'त्यसपछि सेन्टरले क्यासिनो नेपाल, तारा, एभरेस्ट र अन्ना बन्द गर्नुपर्ने छ भने आफ्ना नाममा नेपालभित्र कतै पनि अरू क्यासिनो सञ्चालन गर्न पाउँदैन।'
मन्त्रालयका अनुसार क्यासिनो सञ्चालनसम्बन्धी कुनै पनि नीति वा ऐन नभएका कारण २०५० जेठ ४ मा पर्यटन मन्त्रालयले नेपालमा क्यासिनो सञ्चालन गर्न रिक्रिएसन सेन्टरलाई मान्यता दिएको थियो। मन्त्रालयले पाँचतारे होटलहरूलाई क्यासिनो सञ्चालनको लाइसेन्स दिए पनि होटलले भने आफूले नचलाई तेस्रो पक्षलाई चलाउन दिएका थिए।
त्यसरी तेस्रो पक्षलाई क्यासिनो चलाउन दिएको विषयलाई तत्कालिन सरकारले मान्यता दिएको थियो। त्यसबेला नेपालमा तीनवटा मात्र क्यासिनो सञ्चालनमा थिए।
'अर्थ मन्त्रालयले रिक्रिएसन सेन्टरको सबै जग्गा किनबेच र सम्पत्ति रोक्का गरेको भने पनि सेन्टरअन्तर्गत चारवटै क्यासिनो निर्वाध चलिरहेका छन्,' स्रोतले भन्यो, 'यो कसरी सम्भव छ?' राजस्व अनुसन्धान विभागले रिक्रिएसन सेन्टरका नाममा ताहाचलमा रहेको ३ रोपनी जग्गा बिक्री वितरण रोक्का गरेको छ।
सेन्टरका सञ्चालक वाधवालाई सरकारले पक्राउ पुर्जी जारी गरेका कारण उनी फरार छन्। उनी भारत नयाँदिल्लीमा बसेर ती क्यासिनोका अधिकारीहरूलाई निर्देशन दिँदै उतैबाट क्यासिनो चलाइरहेको सम्बद्ध एक क्यासिनोको मजदुर ट्रेड युनियनका पदाधिकारीले बताए।
स्रोतका अनुसार कारबाही निर्णय गर्नुअघि सेन्टरका महाप्रबन्धक पुरुषोत्तम पौडेललाई मन्त्रालयमा बोलाएर जानकारी दिइएको थियो। पौडेलले भने 'आफूहरू कर्मचारीमात्र भएकाले सरकारको निर्णयबारे जिम्मेवारी नलिने' बताएका थिए। नियतवस सरकारी रोयल्टी नतिरेका कारण सेन्टरले अदालतबाट अन्तरिम आदेश ल्याउन सक्दैन।
मन्त्रालयको निर्देशनपछि क्यासिनो वा त्यसका सञ्चालक कम्पनी फरार भयो, टाट पल्टियो वा उसको सम्पत्ति लिलाम गरेर पनि अपुग भए पाँचतारे होटलबाट असुलउपर गराइने स्रोतले जानकारी दियो। 'यो निर्णयबाट पनि काम नगरे पाँचतारे होटलले क्यासिनो सञ्चालनको लाइसेन्स पाएका कारण होटलबाटै असुलिने छ,' स्रोतले भन्यो।
क्यासिनो सञ्चालन भइरहेका पाँचतारे होटल व्यवस्थापकहरूले क्यासिनोका जायजेथाबाट अपुग भए बक्यौता आफूहरूले तिर्ने गत फागुन १७ मा लेखा समितिको बैठकमा बताएका थिए।
बारम्बार ताकेता गर्दा पनि रोयल्टी तिर्न अटेर गर्ने क्यासिनोहरूको अनुमति तत्काल रद्द गर्न लेखा समितिले. गत चैत ११ मा सरकारलाई निर्देशन दिएको थियो।
यसअघि पनि लेखा समितिले रिक्रिएसन सेन्टर र इजाजत प्राप्त क्यासिनो
सञ्चालकबाट उठाउन बाँकी सबै राजस्व ३५ दिनभित्र असुल गर्न र असुल नभए क्यासिनो सञ्चालन अनुमति रद्द गर्न गत पुस १३ मै निर्देशन दिएको थियो।
समितिले राजस्व नतिर्ने क्यासिनोको अनुमति तत्काल रद्द गर्न/गराउन तथा असुल गर्न बाँकी राजस्व प्रचलित कानुनबमोजिम अुसल गर्न/गराउन क्यासिनो सञ्चालन अनुमति दिने पर्यटन मन्त्रालय तथा राजस्व उठाउने अर्थ मन्त्रालय र मातहतको राजस्व अनुसन्धान विभागलाई निर्देशन दिएको थियो।
काठमाडौंका आठ र पोखराका दुईसहित १० क्यासिनोमध्ये एभेरस्ट, तारा, सांग्रिलाको सांग्रिला, मल्लको भेनस, र्‍याडिसनको र्‍याड र पोखरा ग्रान्डको क्यासिनो पोखरा ग्रान्डले सबै बक्यौता चुक्ता गरिसकेका छन्।
विभागको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षसम्म क्यासिनोहरूबाट रोयल्टी, ब्याज, शुल्क, स्रोतमा कर कट्टीसहित ३२ करोड ३७ लाख रुपैयाँ उठ्न बाँकी छ। तीमध्ये क्यासिनो अन्नाको १० करोड ३७ लाख, फूलबारीको ६ करोड २६ लाख, रोयलको २ करोड २० लाख रुपैयाँ बक्यौता छ। प्रत्येक क्यासिनोले वार्षिक २ करोड रोयल्टी तिर्नुपर्छ।

                                                                                                                         सुशील भट्टराई, काठमाडौं, असार ५-

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...