Saturday, September 24, 2011

रक्तचन्दन तस्करीको जालो



घटना २०६२ साउन ७ गतेको हो । अच्युत शिवाकोटी -हाल भन्सार विभागमा निर्देशक) अधिकृतका हैसियतमा तातोपानी भन्सारमा हाजिर भएको दुई दिन मात्रै भएको थियो । उनको टेबुलमा एक ट्रक 'रेडवुड' -रक्तचन्दन) चीन निकासी गर्न लागेको प्रज्ञापनपत्र आइपुग्यो । प्रज्ञापनपत्रमा वन विभागले 'भारतबाट पैठारी भएकाले निकासी गर्न कानुनले रोकेको छैन' भन्ने व्यहोराको सिफारिस र नेपाल चेम्बर अफ कमर्सले जारी गरेको उत्पत्तिको प्रमाणपत्र संलग्न थियो । तर शिवाकोटीले ओसारपसार गर्न प्रतिबन्धित वस्तु भएको भन्दै निकासी गर्न अस्वीकृत गरे  । भन्सार परिसरमा खैलाबैला मच्चियो । 'त्यतिन्जेलसम्म भन्सारका कर्मचारी र प्रहरीले पनि प्रतिबन्धित वस्तु भन्ने थाहा पाएका थिएनन्', उनी सम्झन्छन् । तराईका विभिन्न भन्सार कार्यालय 'रेडवुड' का नाममा रक्तचन्दन पैठारी भई तातोपानी नाकाबाट निकासी भएको सूचना पाएपछि उनले यसमा चासो राखेका थिए । बुझ्दै जाँदा उनले यो काठ विश्व वन्यजन्तु तथा वनस्पतिको व्यापार नियमन र नियमन गर्ने अभिसन्धि -साइटिस) अनुसार अनुसूची-२ मा संकटापन्न वनस्पतिको सूचीमा रहेको ओसारपसारमा प्रतिबन्धित वस्तु भएको थाहा पाएका थिए । 'चिनियाँ पत्नी विवाह गरेर रक्तचन्दनको कारोबार गरिरहेका ती व्यवसायीले मलाई स्वास्नीले छाडिदिन्छे भनेर सामान छोडाउन रोइकराइ गरे,' उनले भन्ो, 'तर सामान छुटेन ।' यद्यपि जाँचपास नभए पनि भन्सारले जफत नगरेका कारण ती व्यवसायील्ो चोरीनिकासी गरेर रक्तचन्दन चिनियाँ बजारमा पुर्‍याएका थिए ।  नेपालको बाटो हुँदै रक्तचन्दन तस्करी हुन्छ भन्ने कुरा सार्वजनिक भएको यो नै पहिलो घटना थियो । त्यसपछि एक कान दुई कान मैदान हुँदै रक्तचन्दन अवैध हो भन्ने हल्ला फिँजिएपछि भन्सारबाट यसको वैध पैठारी/निकासी बन्द भयो अनि सुरु भयो, रक्तचन्दनको चोरीनिकासी र पैठारी । नेपाल प्रहरीले २०६३ सालको पुस २ मा पहिलोपटक झापाबाट भित्रिएको ६ टन रक्तचन्दन बरामद गरेको थियो । ओसारपसारमा प्रतिबन्ध गरेको भन्ने थाहा पाएर पैठारी/निकासी बन्द भएको ६ वर्षमा रक्तचन्दनको तस्करी रोकिएको छैन । एम्बुलेन्सबाट समेत रक्तचन्दन बरामद भएबाट तस्करीका नयाँनयाँ तरिका अवलम्बन हुन थालेको प्रस्ट भएकोे छ । भक्तपुरको जगाती प्रहरी प्रभागले मंगलबार मध्यरातमा 'बिरामी' बोकेको एम्बुलेन्समा चार थान रक्तचन्दनको गोलिया बरामद गरेको थियो । हात भाँच्चिएर धुलिखेल अस्पतालमा भर्ना भएको कागज बोकेका साङबु शेर्पालाई लिएर बौद्धमा रक्तचन्दनको गोलिया लोड गरी तातोपानीतिर गइरहेको अवस्थामा प्रहरीले शंका गरी खानतलासी गर्दा उक्त रक्तचन्दन बरामद भएको हो । बिरामी सुताउने सिटमुनि फल्स बटम बनाएर राखेको अवस्थामा रक्तचन्दन फेला परेको थियो । चालक साङबो शेर्पाले ३० हजार रुपैयाँको लालचमा रक्तचन्दन ओसारेको बयान दिएका छन् ।
बलियो सन्जाल

ओसारपसार अवैध भन्ने खुलेपछि यसका कारोबारीहरू सतहमै सक्रिय हुन थाले । खासमा भन्सारका कर्मचारी र प्रहरीलाई निश्चित 'नजराना' बुझाएर यसको ओसारपसारलाई निरन्तरता दिन थालियो । यसको कारोबारमा अर्बाैं पैसा लाभ हुने देखेपछि यसमा दलका नेता/कार्यकर्ता र गुन्डा समूहको पनि संलग्नता देखियो । माओवादी र गुन्डा समूहले आफ्नो हिस्सा माग्दै सडक अवरोध गरी तस्करीमा बाधा पुर्‍याएपछि प्रहरीलाई स्कर्टिङ गराई रक्तचन्दन गन्तव्यमा पुर्‍याउन थालेको तत्कालीन एकजना कारोबारी बताउँछन् । 'सुरुवातमा यसको कारोबारमा 'सफेदपोस' व्यवसायी संलग्न देखिन्छन्,' नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका निर्देशक -डीआईजीपी) उपेन्द्रकान्त अर्याल भन्छन्, 'तर गुन्डा समूह हावी हुँदै गएपछि तिनले यसबाट हात झिकेका थिए ।' प्रहरी प्रधान कार्यालयले हालै रक्तचन्दन कारोबारको अनुसन्धान गर्ने जिम्मा ब्युरोलाई दिएको छ । फस्टाएको रक्तचन्दनको अवैध कारोबारमा कडाइ गरेकै कारण लिलामणि पौडेललाई गृहबाट सरुवा गरेको एक स्रोतले बताएको छ । यसबाट पनि यो सन्जालको पहुँच र संलग्नता कहाँसम्म होला भन्ने अुनमान गर्न सकिन्छ । 'सरुवा किन गरियो भन्ने मलाई थाहा छैन,' हाल मन्त्रिपरिषद् सचिवालय पुगेका पौडेल भन्छन्, 'तर रक्तचन्दनको ओसारपसारमा छुट दिइयो भने यसका कारोबारी सरकार ढाल्ने बनाउने हैसियत बनाउँछन् भन्ने चाहिँ मलाई थाहा छ ।' उनलाई गृह मन्त्रालय पुग्नासाथ रक्तचन्दनमा छुट दिने दबाब/आग्रहको सामना गर्नुपरेको थियो । 'चिनेजानेकै नेताहरू आएर भारतबाट आउने र चीन पुग्ने भएकाले गृहप्रशासनको टाउको दुखाइ होइन भनेर तर्क गर्थे,' उनी थप्छन्,'तर कसैले पैसाको प्रलोभन दिने हिम्मत चाहिँ गरेनन् ।' अफिम र कोकिनजस्ता लागू पदार्थको खेतीमा छुट दिँदा अफगानिस्तान र कोलम्बियामा युद्ध सरदारहरू च्याउसरि उमि्रएर द्वन्द्वमा फसेको कुरा स्मरण गर्दै पौडेल गुन्डा समूहको हातमा ठूलो मुनाफा हुने कारोबार पुगेपछि त्यो राज्यका लागि चुनौती बन्ने तर्क गर्छन् । 'रक्तचन्दन बाहिरिँदा भित्रिँदा ठूला अर्थतन्त्रमा त प्रभाव देखिँदैन,' उनी भन्छन्, 'तर दुईचार सय ट्रक रक्तचन्दनको मूल्य बराबरका अर्थतन्त्र भएको हाम्रो मुलुकलाई यसरी आउने कालोधनले हल्लाउँछ ।' उनका अनुसार रक्तचन्दनको कारोबारमा आँखा चिम्लिने हो भने त्यहाँका प्रहरीको कमाउने स्रोत बन्न पुग्छ अनि त्यस्ता ठाउँमा सरुवा हुन तँछाडमछाड चल्छ । रक्तचन्दनमा छुट दिनासाथ अरू वस्तुको तस्करीले स्वतः छुट पाउँछन् किनभने रक्तचन्दनमा एकथरीले कमाउने अनि हामीलाई चाहिँ कमाउन नदिने कुरा गर्छ भनेर अरूले माथिबाट जति कडा आदेश दिए पनि पालन गर्दैनन् । थप्छन्, 'रक्तचन्दनको अवैध ओसारमा छुट दिँदा यसको कालोधनमा शासनतन्त्रलाई भ्रष्ट हुन्छ ।' रक्तचन्दनको कारोबारमा आपराधिक प्रवृत्तिका समूहको हालिमुहाली भएकाले छुट दिँदा तिनको सन्जाल थप बलियो हुने डीआईजीपी अर्यालको भनाई छ । खानतलासी नगरी छाड्नु भनी लाइन मिलाइएको वस्तुमा हतियार, लागूऔषधजस्ता खतरनाक भित्रिने गरेकाले पनि यस्ता ओसारपसारमा कडाइ गर्नुपर्ने उनले बताए ।
अठसट्ठी अवरोध

साइटिसको अनुसूची २ मा रक्तचन्दनलाई लोपोन्मुख प्रजातिका रूपमा राखिएको छ । नेपालले पनि यसमा हस्ताक्षर गरेको छ । बिक्री गर्ने, खरिद गर्ने मुलुकबीच परिमाण निर्धारण गरी सम्झौता भएपछि मात्र यसको कारोबार हुन सक्छ । रक्तचन्दनको रूख करिब १० मिटर अग्लो र गोलाइ बढीमा दुई मिटर हुन्छ । यसको चुरोमा रातो रस हुन्छ । रस सुक्दै गएपछि काठ पनि रातै हुन्छ । रक्तचन्दनको बिरुवा हुर्किन करिब ३० देखि ४३ वर्ष लाग्छ । रक्तचन्दनका लागि प्रख्यात दक्षिणी भारतीय राज्य तमिलनाडु, कर्नाटकका साथै पूर्वोत्तरको असमका जंगलबाट अवैध रूपमा नेपाल भित्र्याई चिनियाँ बजारमा पुर्‍याउने गरिन्छ । भारतमा हजारौं किलोमिटर सडकमार्ग पार गरी नेपाल भित्र्याएर चीनको बजार पुर्‍याउनुपर्ने यसको ओसारपसारमा दर्जनौं समूह संलन हुन्छन् । भारतमा पनि एउटै समूहबाट सीमासम्म ल्याउन सम्भव नहुने लुम्बिनी अञ्चलका एसएसपी प्रकाश अर्याल बताउँछन् । 'विभिन्न क्षेत्रमा प्रभावशाली व्यक्तिको जिम्मामा ढुवानी भई सीमासम्म आइपुग्ने गरेको देखिन्छ,' उनको ठम्याइ छ । स्ाीमासम्म ल्याइएको रक्तचन्दन भारतीय व्यवसायीबाट यहाँका व्यवसायीले ७ सयदेखि ३ हजार रुपैयाँ प्रतिकिलोमा खरिद गरिरहेका छन् । न्ोपाल भित्रिएको रक्तचन्दन चीनसम्म पुर्‍याउन यही तरिका अवलम्बन गरिन्छ । प्रभावशाली -खासगरी गुन्डाका नाइके) लाई जिम्मा दिएर यसको ओसारपसार हुने गरेको थियो । तर पछिल्लो पटकचाहिँ गुन्डाका नाइकेलाई नै लगानी गराई यसको ओसारपसार गरेको अपराध अनुसन्धान महाशाखाले गरेको अनुसन्धानले देखाएको छ । भैरहवा नाकाबाट नेपाल भित्रिएपछि चीनको सीमा लिपिङसम्म रक्तचन्दन पुर्‍याउनका लागि ६८ वटा चेकपोस्ट पार गर्नुपर्ने हुन्छ । तातोपानीमा भन्सारले कडाइ गरेपछि दोलखाको बिगु र रसुवाको रसुवागढी नाकालाई पनि तस्करले रक्तचन्दन निकासी गर्न प्रयोग गरेका छन् । तिनै मार्गबाट गएका रक्तचन्दन प्रहरीले बरामद गर्नुले पनि यसको थप पुष्टिसमेत भएको छ । कुनै एक मार्गमा कडाइ भएका बेलामा सहजता र सुरक्षित रूपमा चिनियाँ बजारमा पुर्‍याउनका लागि उनीहरूले यी तीनमध्ये कुनै एक मार्गलाई प्रयोगमा ल्याउने गरेको देखिन्छ । दुई वर्षअगाडि दोलखाको लादुक गाविसको बिगुबाट रक्तचन्दन लैजान लागेको अवस्थामा प्रहरीले लादुक ८ बाट २९ थान गोलिया रक्तचन्दन बरामद गरेको थियो । सुरक्षा निकायको मिलेमतोमा गल्छी-त्रिशूली-रसुवागढी हुँदै चिनियाँ बजारमा रक्तचन्दन तस्करी भएको खुलासा वैशाख अन्तिम साता भएको थियो । रसुवाको लाङटाङ राष्ट्रिय निकुञ्ज सुरक्षार्थ परिचालित सेनाको अहि्रदमन गणका पति -प्रमुख सेनानी) रामजी थापा विवादमा तानिएको यस्तो खुलासा भएको थियो । रसुवामा अहिले सेनाले कडाइ गरेकाले तस्कर तातोपानी नाकामै केन्दि्रत छन् । तर त्यहाँ पनि भन्सारले कडाइ गरेका कारण चोरीपैठारीमा प्रयोग हुने बाटोलाई तिनले प्रयोग गरिरहेका छन् ।

दस अर्बको खेल

यतिखेर मुलुकमा ठूलो परिमाणमा रक्तचन्दन भित्रिएको विभिन्न स्रोतहरूले दाबी गरेका छन् । कम्तीमा ८/१० अर्ब रुपैयाँ बराबरको रक्तचन्दन नेपाल भित्रिसकेको सूचना पाएको पूर्वगृहसचिव पौडेल बताउँछन् । त्यस्तै नेपाल प्रहरीका एक एसपी २० लाख किलो रक्तचन्दन मुलुकका विभिन्न ठाउँमा भण्डारण भइसकेको भरपर्दो सूचना पाएको दाबी गर्छन् । चिनियाँ व्यापारीले केही अघिसम्म प्रतिकिलो नौ हजार रुपैयाँमा खरिद गरिरहेको रक्तचन्दनको मोल आपूर्ति कम भएपछि तेह्रसम्ममा बिक्री हुन थालेको छ । 'रक्तचन्दन कारोबारीले सबै खर्च कटाएर कम्तीमा दुई हजार रुपैयाँ मुनाफा गर्ने गरेको ती एसपीको दाबी छ । निर्वाध ओसारपसार गर्न नपाएपछि टनका टन रक्तचन्दन भारतको गोरखपुरमा थन्किएको सूचना आएको छ,' लुम्बिनीका एसएसपी प्रकाश अर्याल भन्छन् । रक्तचन्दन आपूर्तिको सौदा भई एक लाख किलो काठमाडौं भित्रिसकेको जानकारी आएको तातोपानी भन्सार प्रमुख निर्मलहरि अधिकारी बताउँछन् । भन्छन्, 'एकैचोटि ठूलो परिमाणमा लैजान नसकिने देखिएपछि तिनले हलुका गाडी र ट्रकमा फल्स बटम बनाई ससानो परिमाणमा लैजान लागेका हुन सक्छन् ।' ठूलो परिमाणमा रक्तचन्दन भित्र्याए पनि ओसारपसार गर्न लाइन नपाउँदा कारोबारी हतास मनस्थितिमा रहेको प्रहरीको दाबी छ । तातोपानी भन्सारले गत साता सामान लोड गर्न खासा जान लागेको खाली ट्रकमा 'हुड' बाट फल्स बटम बनाई लैजान लागेको चार गोलिया रक्तचन्दन बरामद गरेको थियो ।

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...