‘एनसेल गरिवलाई लुट्दै धनीलाई पोस्दै’
काठमाडौं, १२ जेठ। नेपाल दुरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भेषराज कँडेलले नेपालका दुई ठूला मोवाइल सेवा मोवाइल सेवा प्रदायक कम्पनीहरु नेपाल टेलिकम र एनसेलका बारेमा गरेको एक तुलनात्मक अध्ययनले एनसेल नेपाल टेलिकम भन्दा ७७ प्रतित महङगो देखिएको तथ्य सार्वजनिक गर्नुभएको छ। कँडेलले आफ्नो नीजि वेभसाइटमा के लेख्नु भएको छ जस्ताको तस्तैः
१. आम नेपालीको निम्ति एनसेलको भन्दा नेपाल टेलिकमको मोवाइल सेवा झण्डै आधा (४४ प्रतिशत) सस्तो छ। तर गरीव नेपालीलाई भने नेपाल टेलिकमले यो सस्तो सेवा “निषेध” गर्दछः मानौ गरीवलाइ फोन नै चाहिदैन !
२. गरीव नेपालीलाई एनसेलले सेवा त दिन्छ, तर नेपाल टेलिकम भन्दा ७७ % वढी महसूल लिएर।
३. एनसेलले सिमित संख्याका चलाख, पढे लेखेका र व्यवशायीहरुलाई भने झण्डै नेपाल टेलिकमकै जस्तै महसूल दरमा नेपाल टेलिकमको भन्दा वढी स्तरीय सेवा उपलव्ध गराउँछ।
४. नेपाल टेलिकम आफ्ना ग्राहक विस्तारका लागि मूलतः “आम नेपालीको आफु प्रतिको सदाशयता, राष्ट्र प्रेम र विश्वास” मा निर्भर रहने गर्दछ, भने एनसेलले व्यापक प्रचार प्रसार र बिभिन्न प्रकारका वम्पर उपहार राखी गरीव नेपालीलाई “धनी बन्ने सपना वेचेर” ग्राहक विस्तार गरी महंगो सेवा विक्री गर्न सफल छ।
५. नेपाल टेलिकमले ग्राहकले आफै कल नगरे टेलिकमको आम्दानी नै हुदैन भन्ने मान्यता राख्दछ भने एनसेलले कुनै ग्राहकले आफुले कल नगरे पनि त्यसको फोनमा अन्यले कल गर्दा कम्पनीलाइ आय आर्जन हुन्छ भन्ने मान्यता राख्दछ।
आइटियुले निर्धारण गरे अनुसार टेलिफोनका लागी मोवाइल सेवाका विभिन्न कलहरुको टोकरीप्रति महिना ५०.९ मिनेटको हुन्छ। करको हिसाव नगर्ने हो भने यो मूल्य नेपाल टेलिकमका हकमा रु ५७.१५ हुन्छ भने एनसेलका हकमा यो मूल्य रु १०१.२५ अर्थात नेपाल टेलिकमको भन्दा ७७ % मंहगो। तर नेपाल टेलिकमले औषतमा मासिक रु ८३.३३ भन्दा कम खर्च गर्नेको सिम कार्डनै खारेज गरी दिन्छ, जसले गर्दा अरुवाट कल आउने पर्खाइमा वस्ने आफै खर्च गर्न नसक्ने वृद्ध, मजदूर आदि गरीवका लागि नेपाल टेलिकमको सेवा प्रकारान्तरले वर्जित छ। एनसेलले मासिक न्यूनतम कल तोकेको छैन, केवल छ महिना सम्म पनि कुनै कल गरेन भने मात्र सिमकार्ड खारेज गरी दिन्छ। ग्रामीण क्षेत्रका लागि त केही समय पहिले एनसेलले मोवाइल सेटमा केही अनुदान समेत दिएको थियो। यस किसिमले यसको सेवा कुनै हद सम्म “सिमान्तकृत मैत्री” छ भन्दा अनुपयुक्त नहोला।
आईटियूको मोवाईल कल टोकरीमा टेलिफोनको अलावा मासिक १०० एस एम एस कल पनि समावेस गरिएको छ। अत पढा लेखा चलाखहरुका लागि उपयोगी यो सेवा समेत हिसाव गर्दा नेपाल टेलिकम र एन सेलको महशूल क्रमशः रू १७०.६५ र २१४.७९ छ। अत एन सेलको सेवा टेलिकमको भन्दा एक चोथाइ (२६%) ले महंगो छ। चलाख ग्राहकका निमित्त एसएमएस मार्फत थप छुट पाउने एनसेलको व्यवस्थाले गर्दा यो भिन्नता झण्डै शून्य हुन्छ। गत वर्ष नेपाल दूरसंचार प्राधिकरणले मापन गरेको आधारमा भन्ने हो भने नेपाल टेलिकमको भन्दा एनसेलको राम्रो छ।
तितो सत्य के भने नेपाल टेलिकमले सेवा सस्तो त दिन्छ, तर यो सेवा तुलनात्मक रुपमा “धनी”लाई मात्रै दिन्छ। साथै गुणस्तर तुलनात्मक रुपमा त्यति राम्रो पनि छैन। एनसेलले गरीवलाई सेवा दिन्छ तर महंगो। एकातिर देशका वहुसंख्यक सोझा साझा र गरीवलाई “भिमकाय” विज्ञापनवाट कार, मोटर साइकल, सुन, मोवाइल, नगद का वम्पर उपहार राखी “धनी वन्ने सपना” वेचेर महंगो सेवा वेच्न सफल छ भने चलाख, अर्को तिर धनी र व्यवशायीलाई विभिन्न सुविधा युक्त तुलनात्मक रुपमा गुणस्तरीय र सस्तो सेवा उपलवन्ध गराउँछ। वुझ्नै कठीन हुने वेबसाइट र एस एम एसवाट मात्र थाहा पाउन सकिने विभिन्न सहुलियत सहितका योजनाले गर्दा एन सेलले सिमित चलाख, पढे लेखेका र व्यवशायीहरुलाई सस्तो सेवा उपलव्ध गराउने गर्दछ भने वहुसंख्यक साधारण सोझा साझालाई यो सस्तो सेवा व्यवहारिक रुपले “निषेध” नै गरको छ।
यी समस्याहरु संवोधन गर्न सरकारी संयन्त्रले मात्रै पुग्दैन, सचेत नागरिक, मिडिया र यो क्षेत्रका विज्ञहरुको ध्यान जान आवश्यक छ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.