जिम्मेवारी पाए पनि नपाएपनि संघकैलागि खट्छु
टिबी कार्की
एनआरएन सचिव तथा उपाध्यक्षका प्रत्यासी
सन् १९७४ जनवरीमा मोरङको उर्लाबारीमा जन्मिएर खाडी मुलुक कतारमा सफल व्यवसायी बनेका टिवी कार्की एनआरएन अभियानको सुरुवातदेखि नै सक्रिय रहेका छन् । एनआरएनका वर्तमान कार्य समितिका सचिव कार्की कुशल र सक्रिय मात्र होइन, एनआरएनका हरेक अभियानमा सरिक हुँदै आएका छन् । एनआरएन कतारको सदस्य, आइसीसी सदस्य हुँदै एनआरएन आइसीसीको सचिव पद सम्हालि रहेका कार्की अहिले एनआरएन आइसीसीको बैदेशिक रोजगार कार्यदलको संयोजक पदमा रहेका छन् । एनआरएन अभियानको दौरानमा उनको कार्यकालमा बैदेशिक रोजगारको क्षेत्रमा उल्लेखनीय काम भएका छन् । एनआरएनको संस्थागत विकास, एनआरएनमार्फत राष्ट्र विकास, परोपकारी कार्य गर्न र एनआरएनको अभियानलाई निरन्तरता दिनका लागि कार्कीले आगामी नेतृत्वका लागि एनआरएनएको उपाध्यक्ष पदमा उम्मेदवारी दिने औपचारीक धोषणा गरेका छन् । यसै विषयमा केन्द्रीत भएर उनीसँग कमाण्डर पोष्टले गरेको कुराकानीको सम्पादित अंश ः
संघको उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषण गर्नु भएको छ तपाईको उम्मेदवारी के का लागि ?
म अहिले एनआरएनको सचिव हुँ । सचिवका रुपमा मैले जति गरें, सबैलाई छर्लग छ । एनआरएन अभियानमा सुरुवातदेखि नै संलग्न छु । अबका दिनमा यही अभियानमा सक्रिय दिने अठोट लिएको छु । बाहिर बसेर भन्दा संस्थाभित्रै बसेर यो अभियानलाई सशक्त रुपमा अगाडि बढाउन सकिन्छ । त्यहीकारण मैले सचिवबाट उपाध्यक्षमा पदमा उम्मेदवारी दिने निष्कर्षमा पुगेको हो । एनआरएनको यो अभियानमा मेरो लामो अनुभव छ । संस्थाको संस्थागत सुदृढिकरण, सवलीकरणका साथै विदेशमा रहेका ३० लाखभन्दा बढी नेपालीहरुको दुःखसुखको साथी बन्न, अनि राष्ट्र विकासमा इटा थप्न मैले उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ ।
हाल यहाँले के काम गर्नुभयो र फेरी संघको नेतृत्वमै दावेदारी दिइरहनुभएको छ ?
संघको उद्देश्य र मेरो कार्य क्षेत्रले निर्देश गरे बमोजिम एनआरएनलाई सँधै एकतावद्ध र संगठित पार्ने अभियानमा निरन्तर सक्रिय रहेको छु । खासमा मेरो जिम्मेवारी वैदेशिक रोजगार कार्यदलको संयोजक हो, त्यसको नेतृत्वकर्ताको रुपमा मैले बैदेशिक रोजगारीमा रहेका २३ लाखभन्दा बढी नेपालीको सुरक्षित आप्रावासन कसरी गर्न सकिन्छ भन्ने सवालमा दिनरात नभनी काम गरिरहें । यिनै विषयलाई लिएर सरकार र सरोकारवाला निकायमा २२ पटक भन्दा बढी त डेलिगेशन नै गइयो । हाम्रा धेरै मागहरु पूरा भएका छन्, केही हुँदैछन् । केही अपूरा कामहरु आगामी कार्यकालमा गर्ने मेरो योजना छ ।
धेरै काम गरे त भन्नुभयो, खास के काम गर्नु भयो र खै बाहिर त समस्या जस्ताकै तस्तै छ हैन र ?
हो यहाँले भने झै प्रत्यक्ष रुपमा देखिने काम हुन नसकेको होला, तर कानूनी रुपमा सरकारबाट गर्नु पर्ने काममा हामीले गरेका छौ । त्यतिमात्र नभई हाम्रो पहलमा ओमान र बहराइनमा नेपाली दुतावासको स्थापना भइसकेको छ । दुतावास स्थापना भएका ठाउँमा देखिएको कर्मचारीको अभाव समाधानका लागि भएका पहल पनि सफल भएका छन् । कतिपय देशमा अझै कर्मचारीको संख्या अपुग छ । हरेक दुतावासमा एनआरएन डेक्स स्थापना भइसकेको छ । नेपालवाट विदेश जाँदा पुनः श्रम स्वीकृति लिने काम सहज र सरल भएको छ । बैदेशिक रोजगार प्रबद्र्धन बोर्डवाट विदेशमा मृत नेपालीहरुको शव स्वदेश फर्काउनका लागि छिटो—छरितो बनाउन सकिएको छ । मेरै कार्यकालमा मैले गर्नुपर्ने एक परोपकारी कार्यअन्तर्गत मोरङ इटहरा र गोविन्दपुरमा पाँच लाख रुपैंयाँ हस्तान्तरण गरिसकेको छु ।
तपाईहरुको संघ स्थापना भएको पनि १० वर्ष भइसक्यो अझै नेपालमा दर्ता हुन सकेको छैन, किन ?
हो, अझै संघ दर्ता गर्न नसकिएकै हो । हाम्रो विधान र नेपाल सरकारको ऐन बाँझिएको छ । मलाई लाग्छ अब आउने कार्यकालमा राज्यले आफ्नो ऐनमा परिबर्तन गरी सहज रुपमा संघ दर्ता गर्ने बाटो खोल्नेछ ।
उपाध्यक्षका लागि आफुनै योग्य छु भन्ने आधार के छ तपाईसँग ?
स्थापनाकालदेखि निरन्तर म एआरएनको हरेक अभियानमा सक्रिय छु । संस्थाले सुम्पेको हरेक जिम्मेवारी सफल रुपमा कार्यान्वयन गरेको छु । एनआरएनका हरेक काममा अहोरात्र खटेको छु । एनआरएनको अभियानलाई नयाँपन र शसक्त बनाउन लागि मैले हरतरह कोसिस गरेको छु । एनआरएनका अग्रज तथा साथीहरुले मेरो अनुभव, मेरो कार्य दक्षता र विगतमा मैले गरेका कामका आधारमा सर्वसम्मत मलाई उपाध्यक्षमा चयन गर्नुहुनेछ भन्ने मेरो आत्मविश्वास छ ।
एनआरएनहरु एजेण्डा बनाउँछन अनि हल्लामात्र गर्छन भन्ने आरोप वर्षौंदेखि लाग्दै आइरहेको छ नी ?
सत्य हो, यस्ता आरोप लाग्छन् । तर, सबैको हकमा यो लागू हुँदैन । म काममा विश्वास गर्छु । संघ स्थापनाको यो एक दशकसम्म हामीले संस्थाको परिचय, समस्या पहिचान र सञ्जालको निर्माणमा समर्पित गर्यौं । संगठन सुदृढिकरणको अतिरिक्त लगानीका आधारहरु तयार गर्नमा खर्चियौं । अबको दशक एनआरएनको लगानी दशक रहनेछ । सीप, ज्ञान र पूँजीको लगानी गरेर देश निर्माणमा संसारभरिका थुप्रै एनआरएनहरु लगानीका लागि जुटिसक्नु भएको छ ।
विश्वभर छरिएर रहेका प्रवासी नेपालीलाई तपाईको मुख्य काम गर्नु हुन्छ ?
विश्वमा छरिएर रहेका सम्पूर्ण गैरआवासीय नेपाली प्रति मेरो सम्मान छ । हामी संघ मार्फत विश्वभरका गैरआवासीय नेपालीहरुलाई एक सुत्रमा बाँध्ने अभियानमा छौं । मलाई तपाईहरुले काम गर्न एक कार्यकाल सचिव बनाउनु भयो, अब उपाध्यक्ष पदमा पनि यहाँहरुको साथ, समर्थन र सहयोग रहनेछ भन्ने विश्वास लिएको छु । मैले यो पद गरिमामय सम्मानमात्र होइन, जटिल जिम्मेदारी समेत ठानेको छु । विदेशमा रहेका सवै गैरआबशिय नेपाली मित्रहरुको सुख दुखमा म आफै सहभागी हुने छु यदी म संघको जिम्मेवारी पाए पनि नपाएपनि अहोरात्र संघकै लागि खटिने प्रतिबद्धता गर्दछु ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.