हिमालपारि चोरीसिकारी
तस्करहरूको तारोमा हिउँचितुवा र कस्तूरी
तस्करहरूको तारोमा हिउँचितुवा र कस्तूरी
दुर्लभ शोभा हिउँचितुवा र कस्तूरी मृग। एक महिनाअघि मुस्ताङको मार्फाबाट आठ घन्टाको दूरीमा रहेको चौँरीखर्क लेकमा छालासहितका दुईवटा र छालाबाहेक हड्डी र शरीर मात्रै भएको एउटा यस्तै हिउँचितुवा मृत फेला परेका थिए। सिकारीले विष प्रयोग गरेर ती दुर्लभ वन्यजन्तु मारेको आशंका गरिएको छ। त्यसलगत्तै चितुवाका दुईवटा छालासहित मार्फास्थित प्याराडाइज गेस्टहाउसका सञ्चालक श्याम लालचन र कामदार कुलमान घले पक्राउ परे। यो त बाहिर देखिएको एउटा मात्रै घटना हो। यस्ता घटना धेरै छन्। हिमाली भेगका कस्तूरी मृगको अनुसन्धान गरेका पारसविक्रम सिंह भन्छन्, "लुकीछिपी वन्यजन्तुको चोरीतस्करी बढिरहेको छ।" विनाका लागि कस्तूरी मृग मारेपछि सिकारीले मृत शरीर त्यत्तिकै फ्याँकेर हिँड्ने गरेका छन्। चोरीसिकारीमा संलग्न केहीलाई पक्राउ गरिए पनि कारबाहीको दायरामा नल्याउँदा दुर्लभ वन्यजन्तुको सिकारी रोकिन नसकेको हो। गिरोहले भैरहवा, काठमाडाँैसँगै लोमान्थाङबाट तिब्बती नाकामा लगेर वन्यजन्तुका अंग बिक्री गर्ने गरेको स्रोतको भनाइ छ। स्थानीय बासिन्दा र सहरबाट जाने गिरोहले अधिक मात्रामा हतियार प्रयोग गरी यहाँ चोरीसिकार गर्ने गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना -एक्याप) अन्तर्गत पर्ने हिमालपारिवा जिल्ला मुस्ताङ र मनाङमा दुर्लभ वन्यजन्तु पाइने गरे पनि यकिन तथ्यांक छैन। एक्यापले सातवटै क्षेत्रमा स्तनधारी १ सय २, चराहरू ४ सय ८८, घस्रने जीवजन्तु ४० र उभयचरहरू २३ पाइने उल्लेख गरेको छ। तराईका निकुञ्ज क्षेत्रमा गँैडा, बाघलगायतका वन्यजन्तु मारिएको खण्डमा ठूला अनुसन्धान थालिए पनि अन्नपूर्ण क्षेत्रमा यसरी संरक्षित वन्यजन्तु मारँिदासमेत सम्बन्धित निकाय जिम्मेवार हुनसकेको देखिँदैन। राष्ट्रिय वन्यजन्तु तथा संरक्षण ऐन, २०२९ अनुसार चितुवा मार्नेलाई एक लाख रुपियाँ जरविाना र १५ वर्षसम्म कैद सजाय हुन्छ। "कुन संरक्षित हो, कुन दुर्लभ हो, हामीलाई थाहा हुनुपर्यो नि !" मार्फाका स्थानीय नरबहादुर हिराचन हिउँचितुवाका बारेमा अनभिज्ञता प्रकट गर्दै भन्छन्, "हिउँचितुवाको छाला बहुमूल्य हुँदो रहेछ भनेर बल्ल थाहा पाइयो।"उनले यसो भने पनि स्थानीय केही व्यक्ति र बाहिरबाट जाने गिरोहको मिलेमतोमा यहाँ वन्यजन्तुको चोरीसिकारी हुँदै आएको छ। जाल थापेर, गोली हानेर, विष खुवाएर वन्यजन्तुको चोरीसिकारी हुँदै आएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले घरपालुवाबाहेक बिनाअनुमति कुनै पनि जीवजन्तु मार्न नपाइने भनेर उल्लेख गरे पनि त्यसको कार्यान्वयन भएको छैन। चोरीसिकारीमा संलग्न केहीलाई पक्राउ गरिए पनि कारबाहीको दायरामा नल्याउँदा वन्यजन्तुको सिकारी रोकिन नसकेको हो। स्थानीय बासिन्दा र सहरबाट जाने गिरोहले अधिक मात्रामा हतियार प्रयोग गरी वन्यजन्तुको सिकार गर्ने गरेका छन्। एक्यापले केही सिकारीलाई पक्राउ गरे पनि अधिकांश चोरीसिकारीहरू भने पक्राउ परेका छैनन्। मार्फा, टुकुचे, कोवाङ, मुक्तिनाथलगायतका जंगलबाट चोरीसिकारी हुने गरेको छ। मरेका घरपालुवा जनावरमा समेत विष हालेर वन्यजन्तुको सिकार हुने गरेको छ। हिउँचितुवासँगै पछिल्लो क्रममा कस्तूरी मृगको चोरीसिकारी अधिक मात्रामा हुँदै आएको छ। संरक्षित जनावरको सूचीमा रहेको कस्तूरीको चोरीसिकारी मुख्य गरी विनाका लागि हुने गर्छ। गर्भधारण क्षमता कम भएको कस्तूरी मृग चोरीसिकारीकै कारण लोप हुने अवस्थामा पुगेको छ। "बहुमूल्य मानिने विनाका लागि नै यसको चोरीसिकारी हुने गरेको हो," एक्यापका मुस्ताङ प्रमुख सन्तोष शेरचन स्वीकार्छन्, "लुकीछिपी सिकार गर्नेलाई नियन्त्रण गर्न सकिएको छैन।" उनी चोरीसिकारी नियन्त्रणका लागि केन्द्रीय तहबाटै विशेष पहल हुनुपर्ने बताउँछन्। अवस्था कस्तो छ भने चोरीसिकारी नियन्त्रणका लागि यहाँका वन क्षेत्रमा कर्मचारी तथा सुरक्षा टोली खटाइएको छैन। नियन्त्रणका लागि कुनै संरचना नबन्दा चोरीसिकारीलाई पक्राउ गर्नेतर्फ सम्बन्धित निकायले तदारुकता देखाएको पाइँदैन। जिल्लामा बाह्य पर्यटकलाई चेकजाँच गरिए पनि अरूलाई नगर्दा तस्करहरूले झोलामा हालेर मृगको विना र अन्य जीवजन्तुको छाला सीधै लिएर जाने गरेका छन्। संरक्षण क्षेत्रभित्र हातहतियार राख्न, लैजान र प्रयोग गर्न निषेध हुँदाहुँदै पनि यही क्षेत्रमा घरघरमा हतियार राखिएका छन्।






