Wednesday, September 21, 2011


तस्करीमा गृहमन्त्री विजय गच्छदार



काठमाडौं,  तस्कर र माफियाको दबाबमा उपप्रधान तथा गृहमन्त्री विजय गच्छदारले प्रधानमन्त्री बाबुराम भट्टराईलाई सत्ता समीकरण नै भत्किने चेतावनी दिएर सचिव लीलामणि पौडेललाई सरुवा गरेपछि देशभरि तस्करीको लाइन खुलेको छ। काठमाडौंका क्यासिनो, अवैध रक्तचन्दनको ओसारपसार र तराईमा काठ तस्करीको लाइन खुलाएर गृहमन्त्री गच्छदार अहिले मासिक करोडौं रूपैयाँ कमाउने योजनामा जुटेका छन्।
नेपालका भ्रष्ट नेताको अग्रसूचिमा आउने गच्छदारले गृहमन्त्रीको पदभार सम्हालेकै दिन गृहमन्त्री हुने २० वर्षदेखिको सपना साकार भएको बताएका थिए। त्यसपछि उनले मन्त्रालयमै पत्रकार सम्मेलन गरेर आफ्नो भ्रष्ट छविलाई सुधार्ने प्रतिबद्धता पनि व्यक्त गरे। तर त्यो प्रतिबद्धतालाई भदौरे झरीको फोकाझैं फुटाउँदै गच्छदार पुरानै पदचिन्हमा हिँडिरहेका छन्। तस्कर, माफिया र अपराधीसँग गृहमन्त्री गच्छदारको उठबस देखेपछि गृहमन्त्रालयका कर्मचारीले उनको गृहमन्त्री हुने दुई दशक लामो सपनाको रहस्य बल्ल पत्ता लगाएका छन्।
गृहमन्त्रीमा नियुक्त भएको तीन हप्तामै गच्छदारले गरेको उपद्रो देखेर गृह तथा प्रहरीका अधिकारीहरू निराश बनेका छन्। तस्करीमा साथ नदिने प्रहरीलाई केही दिनमै हटाइदिने भन्दै उनले सीधै फोन गरेर थर्काउन थालेपछि तराईका जिल्लामा कार्यरत प्रहरी अधिकारीहरू आतंकित छन्। सचिव पौडलले गलत काम रोक्ने प्रहरीलाई साथमा लिएर गलत धन्दामा संलग्न प्रहरीलाई कारबाही गर्न थालेपछि गच्छदारसँग उनको विवाद सुरु भएको थियो।े दिनप्रतिदिन अधोगतितर्फ लागेको गृह प्रशासन र प्रहरीलाई सुधार्न तीन महिनाको छोटो अवधिमा नै महत्पूर्ण काम गरेर प्रशंसा बटुलेका सचिवलाई सरुवा गरेर गच्छदारले पूर्वकांग्रेसी सुशीलजंग राणालाई गृहमा भित्र्याएका हुन्। हिजो सोमबारबाट गृहमा हाजिर भएका सचिव राणासँग सुरुकै दिनमा एसएसपीको सरुवाको विषयमा डिलिङ सुरु भइसकेको छ।


                                          कमाइको बाटो 
करिब एक महिनाअघिसम्म प्रहरीले नियमित रूपमा काठमाडौंका पाँचतारे होटलमा रहेका क्यासिनोमा छापा मार्थ्यो। तर अहिले त्यो अवस्था छैन। क्यासिनोका समाचार कमैमात्र संचारमाध्यममा आउन थालेका छन्। यसको कारण काठमाडौंका प्रहरी अधिकारीलाई मात्र थाहा छ।
गच्छदारले मन्त्रीमा नियुक्त भएलगत्तै क्यासिनोमा छापा नमार्न काठमाडौं प्रहरीलाई निर्देशन दिएपछि क्यासिनोमा नेपालीको भीड बढेको छ। सरकारको नेतृत्व गरेको माओवादी पनि क्यासिनोमा कडाइ गर्न नहुने अडानमा रहेको र गच्छदारलाई पनि पैसा मात्र चाहिएकाले उनले क्यासिनोमा नेपालीको प्रवेशलाई खुला गरिदिएका छन्। काठमाडौंका प्रहरी प्रमुखलाई त एउटा क्यासिनोले मासिक कम्तीका दुई लाखका दरले बुझाउने गरेको छ भने मन्त्री नै क्यासिनोको लाइन खुलाउन लागेकाले यसका पछाडि करोडौको खेल भएको स्रोत बताउँछ। गच्छदार मन्त्रीमा नियुक्त हुने चर्चा सुरु भएदेखि नै राजस्वमारा क्यासिनो संचालकहरूले उनलाई भेटेर लाइन मिलाएका थिए। उपत्यकामा केही गर्ने चाहना लिएका महानगरीय प्रहरी आयुक्त कुवेरसिंह राना पनि मन्त्रीको निर्देशनका कारण निरीह बनेका छन्। पक्राउ परेका गुन्डाहरूलाई समेत तत्कालै छोड्न गृहमन्त्रीले फोन गर्न थालेको आयुक्त कार्यालयका एक अधिकारीले बताए। राजधानीका आठ क्यासिनो र पोखराको एक गरी नौ वटा क्यासिनोले मासिक लाखौं बुझाउने सम्झौता गृहमन्त्री गच्छदारसँग गरेका छन्। दशैंको बेला क्यासिनो धेरै चल्ने भएकाले पनि उनीहरूले मन्त्रीसँग लाइन मिलाएका हुन्।
गच्छदारको कमाइएको अर्को स्रोत तराईका सामुदायिक वनमा रहेका काठ, अवैध ढङ्गले हुने मलको कारोबार, चोरीका गाडी र भारतबाट भित्र्याइने विभिन्न सामानको तस्करी हो। तराईका नेताहरूको अप्रत्यक्ष संलग्नतामा त्यस्तो तस्करी हुँदै आएको छ। केही महिनायता तस्करी रोकिएपछि तराईका माफियाहरू तिरमिराएका थिए। तर गच्छदारले गृहसचिवबाट पौडेललाई हटाएलगत्तै तीन दिनभित्रै भन्सार र काठको तस्करी खुलिसकेको छ। तराईका जिल्लामा कार्यरत प्रहरीसँग दृष्टिले सम्पर्क गर्दा धेरै प्रहरी प्रमुखले गच्छदार गृहमन्त्री भएपछि काम गर्न सक्ने वातावरण नरहेकाले आफूहरू सरुवाका लागि प्रयासरत रहेको बताए। प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहले पनि गच्छदारकै बोलीमा लोली मिलाउने गरेकाले काम गर्न असहज हुने गरेको उनीहरूले बताए। पौडेललाई गृहसचिवबाट हटाउन आईजीपी शाहले समेत लगानी गरेका थिए।
तराईका जिल्लामा दशैंको समयमा ठूलो परिणाममा काठ लगायतका अन्य सामानको तस्करी हुने गरेको छ। विभिन्न दलमा रहेका व्यापारीहरू राजनीतिक आवरणमा यसमा सक्रिय हुने गरेका छन्। गच्छदार गृहमन्त्री भएलगत्तै सुरु भएको काठ तस्करी आफूहरूले चाहेर पनि  रोक्न नसकेको तराईका प्रहरी अधिकारीहरूले दृष्टिलाई बताए। गृहसचिव पौडेलको सरुवामा काठतस्करहरूको समेत संलग्नता रहेको स्रोतको भनाइ छ।
गृहमन्त्री गच्छदारको सबैभन्दा ठूलो कमाउने प्राजेक्ट चाहिँ  रक्तचन्दन नै हो। एक किलोको नौ हजार पर्ने रक्तचन्दन एक ट्रक चीन पठाउदा पाँच करोडसम्म कमाइ हुन्छ। दशैंको समय पारेर उनका सहयोगी डन गणेश लामाको नेतृत्वमा कम्तीमा २० ट्रक रक्तचन्दन चीन पठाउने गृहमन्त्री गच्छदारको योजना छ। त्यसका लागि चितवन, धादिङ, काठमाडौं, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोकमा प्रहरी लाइन मिलाउने काम भइरहेको छ। काठमाडौंमा एक अर्ब र चितवनमा ५ अर्ब मूल्य बराबरको रक्तचन्दन रहेको उल्लेख गर्दै स्रोत भन्छ, 'यो रक्तचन्दन चीन पठाउन लाइन क्लियर गरेर गृहमन्त्री गच्छदारले एक अर्बभन्दा बढी रूपैयाँ हात पार्ने योजना बनाएका छन्। यसका लागि मध्यमाञ्चलका डीआईजी वीरेन्द्रबाबु श्रेष्ठलाई गृहमन्त्र िगच्छदारले निर्देशनसमेत दिइसकेका छन्। रक्तचन्दन तस्करीको चास्नीमा माओवादीका नेताहरूसमेत डुबिसकेकाले रक्तचन्दनको लाइन खुलाउन अर्थमन्त्री वर्षमान पुनले समेत सहयोग गरिरहेका छन्। पुनकै नेतृत्वमा यसअघि रक्तचन्दन तस्करी हुँदै आएको थियो। गच्छदारको पुल्चोकस्थित निवास आजभोली तस्कर, दलाल र भ्रष्ट प्रहरी अधिकारीले भरिने गरेको छ। पटकपटक आफूले भ्रष्टाचार रोकेर राष्ट्रपति जस्तै सम्माननीय बन्ने बताएका गच्छदार अन्ततः तस्कर र माफियाका लागि मात्रै सम्माननीय बन्न पुगेको गृहस्रोत बताउँछ।
प्रहरीको सरुवा/बढुवाबाट पनि करोडौं कमाउने योजना गच्छदारले बनाएका छन्। मन्त्री नियुक्त हुनु एक साताअघि नै उनले तीनै वटा सुरक्षा निकायका प्रमुखलाई फोन गरी आफू गृहमन्त्रीमा नियुक्त हुन लागेकाले एउटै पनि सरुवा नगर्न निर्देशन दिएका थिए। नेपाल प्रहरीमा हाल एक एआईजी, प्राविधिक समेत गरेर दुई डीआईजी र आधा दर्जनभन्दा बढी एसएसपीका पद रिक्त छन्। त्यसै गरी सशस्त्र प्रहरीमा तीन एआईजीका पद खाली छन्। राष्ट्रिय अनुसन्धान विभागमा पनि एक एआईजी, तीन डीआईजी लगायतका पद रिक्त छन्। ती पदमा अहिले बढुवा हुने अधिकारीहरू भावी आईजीपीका दावेदार हुने भएकाले यो बढुवा रकमको ठूलै चलखेल भइरहेको छ। यसका लागि उनले आफू निकटस्थ पूर्व डीआईजी भक्तिनाथ माझीलाई परिचालन गरेका छन्।
स्रोतका अनुसार नेपाल प्रहरीमा सुडान प्रकरणमा निलम्बित भएका दुई एआईजीसहित २३ वटा पदमा विशेष दरबन्दी सिर्जना गरी बढुवा गर्न डीआईजीसहितको एक टोलीले गच्छदारलाई फकाइरहेका छन्। एसपी र डीएसपीको सरुवा भएको दुई महिना मात्र भए पनि आकर्षक कार्यालयमा सरुवाका लागि टेन्डर खुलाइएको छ। इन्स्पेक्टरको सरुवामा पनि त्यही रूपमा चलखेल भइरहेको छ। ६ महिनाअघि नै आठ सय इन्स्पेक्टरको सरुवा हुनुपर्नेमा हालसम्म हुन सकेको छैन। उपत्यकाका प्रभाग, राजमार्गका इलाका प्रहरी कार्यालय र तराईका जिल्लामा सरुवा हुनका लागि आर्थिक चलखेल सुरु भइसकेको छ। गृहमन्त्री गच्छदारका सहयोगीहरू अहिले पैसा उठाएर सरुवाको सूचि बनाइरहेका छन्। सरी तस्करीबाट आउने लाभांश, सरुवा बढुवाबाट प्राप्त हुने नगद, क्यासिनोबाट आउने मासिक उठती र प्रहरीबाट नियमित रूपमा आउने कमिशन गरेर गृहमन्त्री गच्छदारले दैनिक ठूलो धनराशी जम्मा गरिरहेको स्रोतको भनाइ छ।  गच्छदारको नियुक्तिसँगै तस्करहरू जोसिएपछि राम्रा प्रहरी अधिकारीहरू भने निराश बन्न थालेका छन्। पछिल्लो सरुवामा तराईमा राम्रो छवि बनाएका प्रहरी अधिकारीहरूलाई जिम्मेवारी दिइएको थियो। झापाका तारिणी लम्साल, मोरङका प्रद्युम्न कार्की, पर्साका रमेश खरेल र कपिलवस्तुका धिरु बस्नेत पैसा कमाउनेभन्दा पनि राम्रो काम गरेर इज्जन कमाउन खोज्ने प्रहरी अधिकारी हुन्। तर गच्छदार गृहमन्त्री भएलगत्तै बढेको तस्करहरूको चलखेलका अगाडि उनीहरू समेत निरीह बन्न पुगेका छन्।


                    को को छन् गच्छदारका दायाँबायाँ ?
गच्छदारले प्रहरीको सरुवाको तयारी गरेपछि उनी निकट केही प्रहरी अधिकारी सरुवाको लिस्ट बनाउन थालेका छन्। जसमा पूर्व डीआईजी माझी, उनका आफन्त एसपी दिलिप चौधरी, नक्कली सर्टिफिकेटधारी डीएसपी उमाप्रसाद चुर्तवेदी, डीएसपीहरू अनुराग द्विवेदी, प्रकाश पौडेल लगायत अहिले सरुवाको लाइन मिलाउन खोजिरहेका छन्। माझीले अहिले सरुवा बढुवाका लागि आर्थिक रूपमा सेटिङ मिलाउने काम गरिरहेका छन्।
गच्छदारकै दबाबमा पहिला धेरै पछाडि भएपनि एक नम्बरमा राखेर बढुवा गरिएका एसपी चौधरी वीरगंज वा काठमाडौं सरुवा हुने तयारीमा छन्। आफन्तलाई नै काठमाडौंमा सरुवा गर्दा आलोचना हुने डरले चौधरीलाई पर्सा सरुवा गर्न लागिएको छ। हाल कञ्चनपुरका एसपी रहेका चौधरी सरुवा मिलाउन काठमाडौंमै व्यस्त छन्। पर्साका एसपीलाई चितवनमा सरुवा गर्न लागिएको छ। चितवन एक महिनादेखि तनावग्रस्त रहेकाले त्यहाँ शान्ति सुरक्षा कायम गर्ने बहानामा खरेललाई चितवन सरुवा गर्न लागिएको स्रोत बताउँछ। त्यसो गर्दा वीरगंजको तस्करीको लाइन पनि खुल्ने र धेरै आलोचना पनि नआउने योजना पूर्व डीआईजी माझीले बनाएका छन्। खरेल वीरगंज गएदेखि तस्करीको लाइन पूरै बन्द भएकाले छ।
प्रहरीमा भ्रष्ट छवि बनाएका चुतर्वेदी पनि सरुवाको लाइन मिलाउन काठमाडौंमै व्यस्त छन्। उनी बौद्ध वृत्त वा काभ्रेमा सरुवा हुन खोजेको स्रोत बताउँछ। काभ्रेका डीएसपी सुरेन्द्र मैनालीले गणेश लामा समूहको गुण्डागर्दी बन्द गराएकाले मैनालीलाई सरुवा गर्न लामाले दबाब दिइरहेका छन्। रक्तचन्दन तस्करी बन्द गर्न पनि मैनाली सक्रिय भएकाले रक्तचन्दनको लाइन खोल्ने तयारीमा रहेका लामाले आफू अनुकुलको डीएसपीलाई काभ्रेमा लैजान खोजेका हुन्।


                                       पार्टीमा संकट
तस्करीको लाइन खुलाएका गच्छदार पार्टीमा भने संकटमा छन्। मन्त्री नपाएका कारण रामेश्वर यादव, जितेन्द्र देव, सर्वदेव ओझा, करिमा बेगम, रमानन्द मण्डलले पार्टी फुटाउने चेतावनी दिइसकेकाले पनि नेताहरूको चित्त बुझाउनलाई तस्करीमार्फत् गच्छदारले रकम उठाएको बताइएको छ। मन्त्री पद नपाएका नेतालाई गच्छदारले ठूलो धनराशी खर्च गरेर चित्त बुझाउँदै आएका छन्।

लगानी वातावरण बनाउँछौं: राष्ट्रपति



राष्ट्रपति रामवरण यादवले विदेशी लगानीका लागि जुनसुकै अवस्था र समयमा पनि नेपालमा वातावरण बनाउने प्रतिबद्धता जनाएका छन् । दक्षिण एसियाली व्यवसायीहरूको राजधानीमा सुरु भएको बैठकको उद्घाटन कार्यक्रममा राष्ट्रपति यादवले यस क्षेत्रका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरे । 'जुनसुकै समय र स्थानमा पनि नेपाल सरकारले लगानीको वातावरण बनाउने छ,' उनले भने, 'तपाईहरू लगानी गर्न आउनुहोस् ।' दक्षिण एसियाली उद्योग वाणिज्य संघले आयोजना गरेको चारदिने कार्यक्रममा सहभागी हुन यस क्षेत्रका करिब २ सय २० व्यवसायी यतिखेर राजधानीमा भेला भएका छन् । उक्त कार्यक्रममा नेपाल अहिले घुम्नका लागि उपयुक्त समय भएको जनाउँदै राष्ट्रपति यादवले नेपाल भ्रमण वर्षमा यस क्षेत्रका व्यवसायीहरूलाई नेपाल भ्रमणको निम्तो पनि दिए । क्षेत्रीय सञ्जालमार्फत शान्ति र समृद्धि नारा दिइएको यस कार्यक्रममा महिला उद्यमी विकास, युवा उद्यमीको सम्भावना, क्षेत्रीय ऊर्जा सञ्जाल विस्तारका विषयमा छलफल हुने कार्यक्रम छ । 'हामी मनैदेखि दक्षिण एसियालाई एक आपसमा जोड्न चाहन्छौं,' सार्क चेम्बरका उपाध्यक्ष प्रदीपकुमार श्रेष्ठले भने ।
चेम्बरका अध्यक्ष अनिसुल हकले तीन टीमार्फत यस क्षेत्रलाई जोड्न सकिने अवधारणा प्रस्तुत गरे । 'सस्तो टेलिभिजन, टेलिफोन र टुरिजममार्फत यस क्षेत्रको समृद्धि सम्भव छ,' उनले भने । उनले दक्षिण एसियाली क्षेत्रीय लगानी प्रवर्द्धन एजेन्सी, दक्षिण एसियाली एक्सचेन्ज इन्डेक्स स्थापना गर्नुपर्ने अवधारणा सार्वजनिक गरे । कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले नेपालमा लगानी गर्न यस क्षेत्रका लगानीकर्तालाई आह्वान गरे । सम्मेलनमा सहभागी हुन नेपाल आएका श्रीलंकाका पूर्वप्रधानमन्त्री रत्नाश्री विक्रमानायकेले मिडिया, पर्यटन, खाद्य सुरक्षालगायत विषयमा यो क्षेत्र एक हुनुपर्नेमा जोड दिए ।
सन् २००६ देखि यस क्षेत्रभित्र स्वतन्त्र व्यापार विस्तार गर्न दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) कार्यान्वयनमा आए पनि अन्तर क्षेत्रीय व्यापार ५ प्रतिशत भन्दा बढ्न सकेको छैन । धेरै गरिबहरूको समेत बासस्थान रहेको यस क्षेत्रमा विश्वका २० प्रतिशत जनता बसोवास गर्छन् । सम्मेलनले व्यापार विस्तारमार्फत गरिबी कम गर्ने सम्भावना पनि खोज्ने आयोजकहरूले जनाएका छन् । काठमाडौ, आश्विन ४ -
बिरामी बोक्ने एम्बुलेन्सले रत्तचन्दन बोक्ने गरेको खुलासा

1 
बा ६ च ८७८९ नम्बरको एम्बुलेन्स भैरवकुण्ड युवा कल्व तातोपानी सिन्धुपाल्चोकको हो 
2 भैरवकुण्ड युवाकल्व हिन्दी,
3 सदावहार स्वास्थ्य केन्द्र खाडीचौर 
4 अरनीको यातायात सेवा समिति
ले साचालन गरेको एम्बुलेन्सबाट अबैध सामानको आयात निर्यातमा प्रयोग हुदै आएको छ ।
 
४ असोज, भक्तपुर । बढ्दो अपराध र तस्करी नियन्त्रण रोक्न प्रहरीले जतिजति नायाँ रणनीति बनाउँछ त्यसरी नै तस्करहरुले पनि प्रहरीलाई छल्न नयाँ तरिका अपनाउने गरेको पाइएको छ ।
बिरामी बोक्ने एम्बुलेन्सजस्तो अत्यावश्यक सवारी साधनलाई अवैध रक्तचन्दन ओसारपसार गर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेपछि त्यस्तो रहस्य खुलेको हो । महानगरीय प्रहरी प्रभाग जगातिले बुधबार भक्तपुरबाट रक्तचन्दान लोड गरिएको बा ६ च ८७८९ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएको हो । उक्त एम्बुलेन्सलाई काठमाडौँको बौद्धबाट चार गोलिया अर्थात 50 किलोग्राम रक्तचन्दन लिएर तिब्बतको खासातर्फ जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
सो एम्बुलेन्स भैरवकुण्ड युवा क्लब तातोपानी सिन्धुपाल्चोकले सञ्चालन गर्दै आएको बुझिएको छ । लामो समयदेखि एम्बुलेन्समा नक्कली बिरामी राखेर चन्दन ओसार्ने गरेको चालकले प्रहरीसँगको बयानका क्रममा स्वीकार गरेका छन् । भक्तपुर प्रहरीले एम्बुलेन्स चालक स्याङबो लामालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको जनाएको छ ।

Monday, September 19, 2011

सिन्धुपाल्चोकबाट एक ट्रक रक्तचन्दन बरामद्
२ असोज, सिन्धुपाल्चोक । प्रहरीले सिन्धुपाल्चोकबाट चीनको तिब्बततर्फ निकासी गर्दै गरिएको एक ट्रक अवैध रक्तचन्दन बरामद गरेको छ ।
प्रहरीले खाँडीचौर नजिकैबाट अँधेरीखोला प्रहरी चौकीले लुकाइछिपाई बिक्रीका लागि खासा लैजाँदै गरिएको ६ गोलिया अवैध रक्तचन्दन बरामद् गरेको हो । बा१ख ५६९३ नम्बरको ट्रकमा लैजाँदै गरिएको चन्दन गएराति बरामद गरिएको इप्रका बाह्रबिसेका एसपी र...ाजुराम सुवालले जानकारी दिनुभयो । सुवालका अनुसार चन्दन निकासीमा प्रयोग गरिएको ट्रक र त्यसका चालक सिन्धुपाल्चोक मर्मिन गाविस स्थायी घर भएका डुन्डुप तामाङलाई प्रहरीले चन्दनसँगै नियन्त्रणमा लिएको छ । बरामद चन्दन आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय सिन्धुपाल्चोकको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । यसअघि केही दिनअघि पनि प्रहरीले सिन्धुपाल्चोकबाटै रक्तचन्दन नियन्त्रणमा लिएको थियो । चन्दन निकासीमा मिलेमतो रहेको रहस्य खुलेपछि केही जुनियर प्रहरी अधिकृतलाई निलम्बन गरी थप कारबाही अगाडि बढाइएको छ ।

अनियमितता गर्नेलाई नाम मात्रको कारबाही




आयातित सामान राजस्व नलिई छाड्ने कर्मचारीलाई भन्सार विभागले सामान्य कारबाही गर्ने भएको छ । राजस्व छलीमा संलग्न देखिएका उपसचिव लक्ष्मण थापा, शाखा अधिकृतद्वय राजेन्द्र ढुंगाना र गोविन्द अधिकारीलगायत ७ कर्मचारीलाई नसिहत र ग्रेड रोक्काको कारबाही गर्न विभागले लोक सेवा आयोगसँग सहमति मागेको छ ।   राजस्व नतिरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार हुँदै व्यवसायीको गोदाममा पुगेको ४० लाख (खरिद बिलको मूल्य) रुपैयाँको क्यामेरा, आइपड, चिप्सलगायत सामान राजस्व अनुसन्धान विभागले जेठ २४ मा बरामद गरेपछि भन्सार विभागले छानबिन गरी कारबाही थालेको थियो । सामान बरामद भएको थाहा पाएपछि आयातकर्ताले ल्याएको प्रज्ञापनपत्र दर्ता गरी राजस्व बुझेर सामान जफत हुनबाट बचाउने प्रयास भन्सारका कर्मचारीले गरेका थिए । प्रमुख भन्सार कार्यालयहरूमा जाँचपासको काम स्वचालित प्रणालीमार्फत हुन्छ । यस्तो प्रणालीमा 'ब्याकडेट' मा प्रज्ञापनपत्र दर्ता गर्न सकिन्न । तैपनि राजस्व छल्ने आयातकर्तालाई बचाउन कर्मचारीले यस्तो दुस्साहस गरेका थिए । तर यस्तो जघन्य अनियमिततामा संलग्न कर्मचारीले पनि नसिहत र ग्रेड रोक्कामा मुक्ति पाउने भएका छन् । 'पहिले छुटे पनि पछि राजस्व तिराइएकाले कम कारबाही भएको हो,' विभागका महानिर्देशक टंकमणि शर्माले भने । भन्सार कार्यालयमा कार्यसम्पादनको आधारमा तलबको दुई सय प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने सुविधा दिएर सदाचार पद्धति लागू गरेको घोषणा गरिएको छ । अनियमितताका लागि बद्नाम भन्सारलाई भ्रष्टाचारमुक्त बनाउने लक्ष्य लिएर यस्तो भत्ताको सुविधा दिइएको हो । तत्कालीन अर्थमन्त्री रामशरण महतले नमुनाका रूपमा केही कार्यालयमा सुरु गरेको प्रोत्साहन भत्तालाई अहिलेका प्रधानमन्त्री बाबुराम भट्टराईले अर्थमन्त्री हुँदा सबै भन्सार र आन्तरिक राजस्व कार्यालयमा लागू गरिएको थियो । सदाचार पद्धति घोषणा गरिएको ठाउँमा दुराचारको नमुना पेस गर्दा पनि कर्मचारी सजिलै उम्किने भएका छन् । २०५९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तेईसजना कर्मचारीका घरमा छापा मारेर कारबाही गरेयता राजस्व समूहका कर्मचारीमाथि कारबाही भएको छैन । बरु राजस्व मारेर अकूत सम्पत्ति कुम्ल्याउन सफल कर्मचारीमाथि कारबाही गर्ने साहसिला प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय बाहिरिएपछि त्यही आयोगले राजस्व नलिई सामान छाड्ने कर्मचारीलाई उन्मुक्ति दिएर भन्सारमा अराजकता बढाउन मलजल गरेको उदाहरण छन् । तीन वर्षअघि माओवादीको वाईसीएलले राजस्व नतिरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट बाहिरिएको एक लट (कन्साइन्मेन्ट) सामान राजस्व अनुसन्धान विभागको जिम्मा लगायो । करिब ९० लाख रुपैयाँ बराबरको उक्त सामान राजस्व नतिरी भन्सारबाटै उम्किएको पुष्टि भयो । विभागले संलग्न अधिकृतलगायत सात कर्मचारीमाथि कारबाहीका लागि अख्तियार पठायो । तर अख्तियारको गुपचुप निर्देशनअनुसार कर्मचारीले सम्बद्ध व्यवसायीबाट राजस्व दाखिला गरे । अनि अख्तियारले राजस्व दाखिला भइसकेकाले कर्मचारीमाथि कारबाही गर्नु नपर्ने ठहर्‍यायो । आयुक्तहरू छँदा अख्तियारबाट यस्तो निर्णय भएको थियो । वैशाख अन्तिम साता रसुवाको लाङटाङ राष्ट्रिय निकुञ्ज सुरक्षार्थ रहेको सेनाको अहि्रदमन गणका पति (प्रमुख सेनानी) रामजी थापाको मिलेमतो भारतबाट भित्रिएको रक्तचन्दन तिब्बत पुर्‍याइएको समाचार प्रकाशित भएपछि सैन्य मुख्यालयले छानबिन गरेको थियो । छानबिनमा दोषी देखिएका अधिकृतलाई सेनाले सेवाबाट बर्खास्त गर्नुका साथै २ वर्ष कैद सजायको फैसला साउन अन्तिम साता सुनाएको थियो । प्रहरीमा भ्रष्टाचार हुनेमा कहलिएको पर्सा जिल्लामा अहिले प्रहरीले दिन खोज्दा पनि घूस नखानेको पहिचान बनाउन थालेका छन् । करिब तीन महिनाअघि एसपी रमेश खरेलले जिल्ला प्रहरीको नेतृत्व सम्हालेपछि प्रहरीकोरूरुप यसरी फेरिएको हो । घूस नखानका लागि सम्झाइबुझाइ गर्ने खरेलले निर्देशन अवज्ञा गर्ने प्रहरीलाई तत्काल कारबाही थाल्ने गरेका छन् । उनले नौजनालाई कानुनी कारबाही गरिसकेका छन् । आठजना प्रहरीलाई चाहिँ केही दिन थुनेर सुधि्रने मौका दिइएको छ ।'सीमापारिबाट चोरी पैठारी गर्न छुट दिन्छु' भन्दै पैसा लिए पनि सामान ल्याउन नदिएको गुनासो आए पछि खरेलले इनर्वा प्रहरी चौकीका सइ जयकृष्ण कुर्मीलाई रंगेहात समातेर पछि थुनेको थियो । विराटनगरमा पनि प्रहरीको कार्यशैली परिवर्तन देखिन थालेको छ । भन्सारमा सदाचार पद्धतीलाई साँच्चिकै कार्यान्वयन गराउने हो भने अर्थ मन्त्रालयले अनियमिततामा संलग्न कर्मचारीमाथि कडारूपमा प्रस्तुत हुन जरुरी छ । नत्र प्रोत्साहन भत्ता र घूस खाने भाग्यमानी कर्मचारीको जमात मात्र तयार हुनेछ ।                काठमाडौ, आश्विन २ -

Sunday, September 18, 2011


रक्तचन्दन समाउने पुरस्कृत, लैजाने थुनामा

अरनिको राजमार्ग हुँदै तातोपानी नाकाबाट चिनियाँ बजारमा बिक्री गर्नको लागि लैजादै गरेको अवस्थामा प्रतिबन्धित रक्तचन्दन बरामद गर्ने प्रहरी पुरस्कृत र लैजान सहयोग गर्ने एक प्रहरी सहित चालकलाई कारबाहीका लागि थुनामा राखिएको छ ।
प्रहरी कार्यालयले रक्तचन्दन समाउने पाँचखाल प्रहरी चौकीका ४ प्रहरीलाई प्रोत्साहन स्वरुप अभिलेखमा जनिने गरी नगद पुरस्कारद्धारा पुरस्कृत र चन्दन पास गराउन सहयोग गर्ने प्रहरी जवान सिद्धि बहादुर कार्की र जिप चालक बिजय श्रेष्ठलाई कारवाहीको लागि बन कार्यालयको आदेशमा थुनामा प्रहरीले राखेको हो ।
पुरस्कृत हुनेमा पाँचखाल प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक बच्चुराम फुँयाल, हवल्दार तिर्थ बिक्रम सिलवाल, जवान फुर्वा लामा र रमेश महत्तरा रहेका छन । उनीहरुले भक्तपुरको जगाती चेकपोष्ट कटी निजी जिपमा आएको ६ सय किलो रक्तचन्दन शुक्रवार बिहान ३ बजे बरामद गरेका थिए ।
'इमानदारीताका साथ आफ्नो जिम्मेवारी पुरा गरि जगाती चेकपोष्ट कटेर आएको रक्तचन्दन बरामद गर्न सफल भएकाले आगामी दिनमा उनीहरुको थप हौसला बढाउँन पुरस्कृत गरेका हौ,' जिल्ला प्रहरी प्रमुख सुरेन्द्रप्रसाद मैनालीले भने 'तस्कर र सहयोगी कसैलाई छोडिन । चन्दन तस्करीमा संलग्न हुने हाम्रै एक प्रहरीलाई अनुसन्धान पुरा गरि आइतवार निलम्बन गरिसकेका छौं ।'

अस्थिरताको दुष्चक्रमा परेको अर्थतन्त्र
अर्थ मन्त्रालय मन्त्रालयको आर्थिक सर्वेक्षणले अर्थतन्त्रको कहालीलाग्दो तस्वीर प्रस्तुत गरेको छ गएको केही वर्षयता झाँगिएको राजनीतिक अस्थिरताले अर्थतन्त्रमा गम्भीर प्रभाव परेका खबरहरु त निकै आएका थिए। अब त्यसका प्रष्ट प्रमाणहरु देखिन थालेका छन्। वर्षैपिच्छे घट्दै गइरहेको आर्थिक वृद्धि यसपाली पोहोर पह्रार भन्दा खस्किएको छ। आगामी वर्षको बजेटको ठिक अगाडि सरकारले विहिबार संसदमा पेश गरेको यो वर्षको आर्थिक सर्वेक्षणले कहालीलाग्दो तस्वीर कोरेको छ।
कछुवा गति
छिमेकी भारत र चीन कोही हात्तीझैं लम्किंदै छन त कोही घोडाझैं चम्किंदै छन्। उनीहरु वर्षमा १० प्रतिशतभन्दा माथिको वृद्धि गर्दै गत दशकमा गरीबी स्वात्तै घटाउन सफल भएको बेला नेपाल कछुवा गतिमा अड्किएको छ। दक्षिण एशियाली क्षेत्रभरिमै पाकिस्तानबाहेक अरु सबै देशको आर्थिक वृद्धि नेपालको साढे तीन प्रतिशतभन्दा निकै बढि छ। यो सुस्त वृद्धि वर्तमान अर्थतन्त्रको सबभन्दा ठूलो चिन्ताको विषय मान्ने धेरै छन्। “यो जनसंख्या वृद्धि दरभन्दा सीमान्तमात्रै बढि छ। यथार्थमा व्यक्तिको आय त केवल १.३ प्रतिशतले बढेको छ। प्रतिव्यक्ति आय नबढिकन गरीबी घट्दैन,” पूर्व अर्थ सचिव रामेश्वर खनालले बताए।
चौपट व्यापार

उक्त वृद्धिमध्येपनि कृषि बाहेक अर्थात उत्पादनमूलक उद्योगधन्दाको वृद्धिदर त झनै खराब छ।

त्यसको सोझो असर देशको व्यापारमा परेको छ। गएका केही वर्ष यता निकै चिन्ताजनक रुपमा बढेको आयात र बढ्न नसकेको निर्यातको तस्वीर यसपाली त कहालीलाग्दो बनेको छ। “मुसुरोको दाल देखि लिएर जुटका सामान, गलैंचादेखि लिएर डाबरले उत्पादन गरेका सामान भएभरको कूल निर्यातबाट भएको आम्दानीले एउटा वस्तुको मात्र आयात गर्नपनि नपुग्ने स्थिति आइपुगेको छ,” अर्थ मन्त्रालयका प्रमुख सल्लाहकार केशव आचार्यले भने। दश महिनाको पछिल्लो तथ्यांक अनुसार पचास अर्ब रुपियाँ चानचुनको कूल निर्यातभन्दा तेलको आयातमै बढि खर्च भएको छ। यही अवधिमा देशले तेल सहित सवा तीन खर्ब रुपियाँको सामान आयात गर्‍यो। आयात गरिएका सामानमध्ये देशको उत्पादन मेरुदण्डलाई गुन लाउने खालका मेशिनरी, उपकरणका साटो सुन, तेल र मोटरकार जस्ता उपभोगमुखी सामानको भाग निकै ठूलो रह्यो।
रोगले च्याप्यो

आयात र निर्यातको यत्रो फरकलाई धान्न यतिञ्जेल रामवाण बनिरहेको रेमिटेन्स आम्दानीको वृद्धिमा ब्रेक लागेपछि गएको डेढ वर्षयता शोधनान्तर घाटापनि भनिने भुक्तानी सन्तुलन घाटाको रोगले अर्थतन्त्रलाई च्यापेको छ। यो वृद्धि जनसंख्या वृद्धि दरभन्दा सीमान्तमात्रै बढि छ। यथार्थमा व्यक्तिको आय त केवल १.३ प्रतिशतले बढेको छ। प्रतिव्यक्ति आय नबढिकन गरीबी घट्दैन रामेश्वर खनाल, पूर्व अर्थ सचिव रोगी शरीरमा विभिन्न सङ्क्रमणको खतरा बढेजस्तै बिमारी अर्थतन्त्रमाथि निकै जटिलताहरु थपिएका छन्। केही साता अगाडि नेपाल राष्ट्र बैंक आफ्नो पाँच दशकको इतिहासमा पहिलोपल्ट अन्तिम ऋणदाताको भूमिका अपनाउन वाध्य भयो। तरलताको संकट चर्किएको भनिएको बेला एउटा विकास बैंकले निक्षेपकर्ताहरुलाई पैसा दिन नसकेर हात उठाएपछि केन्द्रिय बैंकले त्यस्तो भ‍ूमिका खेल्नुपर्‍यो। अर्कोतिर अर्थतन्त्रको प्रमुख मानक मानिने पूँजीबजारको बेहाल छ। तीन वर्ष अगाडि झण्डै बाह्र सय पुगेको नेप्से इन्डेक्स हाल तीन सयको हाराहारीमा लडखडाइराखेको छ। शेयर लगानीकर्ताहरुको अर्बौं रुपियाँ डुबेको छ उर्जा संकट, श्रम अस्थिरता जस्ता विषयहरुले उत्तिकै पिरोलेको छ। जे होस् अझैपनि राजनीतिक स्थिरता आयो भने आर्थिक वातावरणमा नाटकीय सुधार आउने सम्भावनाचाहीं जिउँदै छ। अस्थिरता र असुरक्षाका कारण जग्गा, सुन वा विदेश पलायनमा खर्चिएका पूँजी, उद्योगधन्दा, कलकारखाना एवं जलविद्युत परियोजनाहरुमा लगानी हुन सक्छ। खाँचो छ त केवल सहज वातावरण निर्माणको। अर्थात अर्थतन्त्र सपार्ने हो भने अर्थतन्त्रभन्दा बाहिरको वातावरण पहिले सुध्रिनु जरुरी छ।

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...