Tuesday, June 7, 2011

लडाकू पनि शक्तिखोर हिँडे (फोटो फिचरसहित)

काठमाडौँ, २४ जेठ। नेता सुरक्षामा खटिएका माओवादी सेनाका लडाकू दोस्रो चरणमा आज चितवनको शक्तिखोरका लागि हिँडेका छन् । उपाध्यक्ष, महासचवि, सचिव, स्थायी समिति र पोलिट्ब्युरो सदस्यका सुरक्षामा खटिएका ६६ लडाकू हतियारसहित शक्तिखोरस्थित तेस्रो डिभिजन मुख्यालय फर्कन लागेका हुन् । उनीहरु डिभिजन कमाण्डर सन्तु दराई ‘परवाना’ को नेतृत्वमा शक्तिखोर गएका हुन् ।
नयाँबजारस्थित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा आज बिहान एक कार्यक्रमबीच उनीहरुको विदाई गरिएको थियो । विदाइका क्रममा प्रचण्डले यसअघि जस्तो भावोत्तेजक अभिव्यक्ति नदिएपनि लडाकूहरुसँग सामूहिक तस्बिर खिचाउनु भएको थियो ।

प्रचण्डका छिमेकीले शिविर र्फकन लागेका लडाकूलाई फुलमाला लगाएर विदाइ गरे । विदाई कार्यक्रममा प्रचण्ड बाहेक कोही पनि नेता सहभागी थिएनन् । यसअघि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षार्थ खटिएका ४४ आइतबार र ५ लडाकू सोमबार डिभिजन मुख्यालयको सम्पर्कमा पुगिसकेका छन् ।लडाकू टोलीलाई प्रहरीको विशेष सुरक्षा कार्यदलको एक टोलीले स्कर्टिङ गरेर लगेको छ । टोली शक्तिखोर पुगेर र्फकने छ ।

दुईवटा माइक्रो बस र एउटा स्कोरपियो गाडीमा लडाकू शक्रिखोर हिँडेका हुन् ।विदाई हुनुअघि लडाकूलाई प्रचण्डको सुरक्षा गर्ने जिम्मेवारी लिएको सशस्त्र प्रहरीले आफ्नो मेसमा खाना खुवाएको नयाँबजार स्रोतले जनाएको छ । संविधानसभाको म्याद थपअघि दलहरुबीच भएको मौखिक सहमतिका आधारमा माओवादी पदाधिकारी बैठकले गत साता एक पक्षीय रुपमा दोहोरो सुरक्षा अन्त्य गर्ने निर्णय गरेको थियो । उक्त निर्णयप्रति असहमति जनाएको उपाध्यक्ष मोहन वैद्य पक्षसमेत पछिल्लो समयमा लडाकू फर्काउन सहमत भएको हो ।

सो पक्षले लडाकूलाई शिविर फर्काउँदा उनीहरुको मनोबल खस्कने तथा अमपान गरिएको ठहर्ने भन्दै यसअघि उक्त निर्णय मान्न अस्वीकार गरेको थियो । यसअघि अध्यक्ष प्रचण्डको सुरक्षा हेर्ने जिम्मेवारी पाएका डिभिजन सहायक कमाण्डर युवराज दुलाल ‘शरद’ले आफूहरु पार्टी निर्णय स्वीकार गर्दै शिविर र्फकन लागेको बताउनु भयो । ‘हामी संसारको सबैभन्दा अनुशासित सेना हौं भन्ने कुरा यो घटनाले फेरि एकपटक पुष्टि भएको छ’ दुलालले भन्नुभयो ‘हाम्रो नेतृत्वको सँधै सुरक्षा गरिरहने मन थियो तर, समयको बाध्यताले त्यो अवसर पाइएन ।’

माओवादी शीर्ष नेतादेखि पोलिटब्युरो सदस्यसम्मको सुरक्षामा १ सय ६ लडाकू अनमिनद्वारा प्रमाणीकरण गरिएका साना ठूला गरी ९६ थान हतियारसहित तैनाथ थिए ।
तेस्रो डिभिजनमा जम्मा भएपछि उनीहरुलाई प्रमाणीकरण गरिएकासम्बन्धीत शिविरमा पठाइने जनसैनिक मुख्यालयले जनाएको छ । हतियार भने शक्तिखोरमै कन्टेनरमा राखिने छन् । प्रचण्डको सुरक्षामा भने सरकारले हिजैदेखि ५० सशस्त्र र २० नेपाल प्रहरी खटाइसकेको छ । तस्वीरहरु: दीपेश कार्की


No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...