


विराटनगर भन्सार कार्यालयमा गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा राजस्व सङ्कलन कम भएको सो कार्यालयको एक तथ्याङ्कले जनाएको छ । आयात निर्यातको कमी, व्यापारीले विराटनगर–जोगवनी बाहेक अन्य नाकाको प्रयोग, सुपारी तथा दलहलनको आयातमा कमी, एलपी ग्यास तथा पेट्रोलियम पदार्थको आयातमा कमी र अवैध चोरी तस्करीले भन्सार राजस्व सङ्कलन कम भएको त्यहाँका कर्मचारी बताउँछन् । भन्सार प्रमुख विनोदबहादुर कँवरका अनुसार आर्थिक वर्ष २०६८ /६९ को साउन महिनामा रु ७५ करोड ७२ लाख ५६ हजार राजस्व सङ्कलन हुने लक्ष्य रहेकोमा रु ६९ करोड ३२ लाख ६० हजार कुल राजस्व सङ्कलन भएको बताइएको छ । कार्यालयबाट प्राप्त विवरण अनुसार २०६८/०६९ को साउन महिनामा भन्सार महसुल रु १९ करोड, मूल्य अभिवृद्धि कर रु ४४ करोड ३५ लाख, अन्तशुल्क रु तीन करोड ८८ लाख तथा सडक सुधारवापत रु १४ लाख ८८ हजार कूल राजस्व सङ्कलन भएको छ । यसअघि २०६७/६८ को साउनमा महिनामा रु ६५ करोड ७५ लाख राजस्व सङ्कलन लक्ष्य रहेकोमा त्यो भन्दा अत्याधिक रु ७४ करोड राजस्व सङ्कलन सो कार्यालयले गरेको थियो । हाल सो कार्यालयबाट जेठ महिनाबाट संक्षिप्त कर लागु गरेपछि रु १०० भन्दा बढीको सामान आयात गर्ने साना व्यापारी तथा सर्वसाधारणले भन्सार राजस्व बुझाउने कार्य व्यवस्थित हुँदै गएको छ । विराटनगर, भदौ १४ ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.