अख्तियारमा एनसेलविरुद्ध उजुरी
कमाण्डर पोष्ट
काठमाडौं । अवैधानिक प्रलोभन देखाउँदै ग्राहकलाई ठगी गरेको भन्दै अन्तर्राष्ट्रिय मोबाइल सेवाप्रदायक कम्पनी एनसेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । विभिन्न बाहनामा ग्राहकलाई डबल धमाका भन्दै ठगी गरेको भनी सर्वसाधारणले उजुरी गरेका छन् । उजुरीकर्ताको नाम गोप्य राखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतका अनुसार एनसेल छानबिनको दायरामा छ । ‘अख्तियारको छानबिन दायरामा परेको छ, हामीले अनुसन्धान गरिरहेका छौँ,’ अख्तियार अधिकारीले भने, ‘कहाँ–कहाँ दुरुपयोग भएको छ र ठगी भएको छ भन्नेबारे गम्भीर छानबिन हुनेछ ।’
प्रचार–प्रसारमा करोडौं रूपैयाँ खर्च गरेर ग्राहकलाई ठगी गर्दै आएको एनसेलले ल्याएको डबल योजनाले ग्राहकलाई झुक्याएको उजुरीमा उल्लेख छ । उजुरी दूरसञ्चार प्राधिकरणमा पनि परेको छ । उता, उजुरीबारे छानबिनमा प्रभाव पार्न एनसेल अधिकारी सरकारी अड्डामा धाउने गरेको स्रोतले बतायो ।
उता, कर्मचारी र श्रम–ऐनविपरीत पनि एनसेल प्रशासनले कर्मचारीको श्रम शोषण गरिरहेको छ । केही दिनअघि मात्र सयभन्दा बढी कर्मचारीलाई विनाकारण निष्कासन गरेको थियो ।
कम्पनीले उद्योगपतिदेखि बैंकरलाई समेत आर्थिक प्रलोभनमा पारेर ठूलो रकम असुल गर्ने तर असुल गरेअनुसारको सेवा दिएको छैन । एनसेलले सेवा शुल्कबापत २८ करोडभन्दा बढी रकम तिर्न बाँकी रहेको र उक्त रकम नतिर्न मुख्य अधिकृतहरूलाई आर्थिक प्रलोभनमा पारेर उम्किन खोजिरहेको कर्मचारीले बताएका छन् । युरोपियन मुलुकमा ठगी गरेको एनसेलले नेपाललगायत अन्य मुलुकमा कार्यरत तल्लोस्तरका कर्मचारीलाई आजित पारेको छ । उता, एनसेलले चलाएका कलसेन्टर पनि श्रम–ऐनविपरीत रहेको बताइएको छ ।
0 श्रम–ऐनविपरीत एनसेल कल सेन्टर 0 खाँजा खान जाँदा कर्मचारीको जागिर गयो 0 कार्यालयमा सञ्चार उपकरण प्रयोगमा प्रतिबन्ध |
यसैबीच, एनसेलमा कार्यरत कर्मचारी खाजा खान गएका कारण जागिरबाट हटाइएको छ । एनसेलद्वारा सञ्चालित कलसेन्टरका कर्मचारीलाई श्रम–ऐनविपरीत काममा लगाई कुनै पनि सेवा–सुविधा नदिई सम्पर्कविहीन बनाएर घन्टाँै समय काममा लगाएको पीडितले स्विकारेका छन् । कल सेन्टरमा कार्यरत ‘फुलटाइमर र पार्टटाइमर’ कर्मचारीलाई लगातार काममा लगाउने र खाजा, पानीसमेत खाने समय नदिने गरेको गुनासो सम्बन्धित कर्मचारीको छ । एनसेल कार्यालयमा सञ्चारसम्बन्धी सुविधाबाट कर्मचारीलाई बन्देज पारिएको छ । कार्यालयमा रहुन्जेलसम्म पत्रपत्रिकासमेत पढ्न प्रशासनले निषेध गरेको छ । सेन्टरमा काम गर्दा मोबाइल, इन्टरनेट, पत्रपत्रिकाबाट समेत वञ्चित गरेको छ । एनसेलले नेपाली गोप्य सूचना चुहावट गर्ने आरोप पनि लगाइएको छ, यसबारे अहिलेसम्म पुष्टिका आधारचिाहिँ फेला परेका छैनन् । तर, पीडित कर्मचारीले भने, ‘हामीलाई विभिन्न सूचना चुहावट गर्नका लागि पनि खटाइएको थियो, उनीहरूको स्वार्थअनुसार काम नगर्दा जागिर गयो ।’
कम्पनीले आफ्नो नजिकका कर्मचारीलाई विनाप्रतिस्पर्धा प्रमुख सुपरभाइजर बनाउने र उनीहरूलाई विभिन्न सुविधा दिएको समेत कर्मचारीले बताए । एकै तहका कर्मचारीमा समेत कम्पनीले भेदभावपूर्ण रूपमा मासिक तलब दिने गरेको पाइएको छ । प्राप्त सूचनाअनुसार सो सेन्टरमा काम गर्ने एक तहका कर्मचारीमा २६ दिन काम गरेबापत कोहीलाई ५ हजार ५ सय र आफ्नो नजिकको कर्मचारीलाई ८ हजार ७ सय रूपैयाँ दिने गरेको पाइएको छ । अहिले कलसेन्टरमा ३ सय जना कार्यरत छन् । कम्पनीमा कार्यरत कर्मचारीलाई विनासेवा–सुविधा लामो समयदेखि काममा लगाए पनि सम्बन्धित निकायले ध्यान नदिँदा अधिकांश कर्मचारीको श्रम शोषण एनसेलले गर्दै आएको छ । यता, खाजा खान गएको समयमा कलसेन्टरका कर्मचारी अमित तामाङको जागिर गएको थियो । समयमा कार्यालयमा नछिरेको भन्दै उनलाई निष्कासन गरेको थियो ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.