अध्यक्ष तामाङ विरुद्ध प्रशासनमा पुन ः उजुरी
रोशन कार्की
काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तमाङले व्यवसायीहरुको हित विपरित काम कार्य गरेको भन्दै संघका सदस्यहरुले तामाङको अध्यक्षतामा रहेको वर्तमान कार्यसमिति भंगको माग गर्दै आइतबार पुन ः काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका छन् । संघका अधिकाशं असन्तुष्ट सदस्य पक्षले ७५ प्रतिशत सदस्यको हस्ताक्षर सहित प्रशासनमा वर्तमान कार्य समिति भंगको माग राख्दै निवेदन दिएका हुन् । जिल्ला प्रशासनले आवेदकको हस्ताक्षर प्रमाणित गरी संघको वर्तमान कार्य समिति भंग गर्न सकिने जनाएकोे छ । अध्यक्ष सहित कार्यसमिति प्रशासनले भंग गरेपछि तदर्थ समिति गठन गरी सो समितिले विशेष अधिवेशन गरेर नयाँ कार्यसमिति चयन गर्ने व्यवस्था संघको विधानमा व्यवस्था गरेको छ ।
कुल ७ सय ७० सदस्य रहेको संघका ६ सय १ जना सदस्यले अध्यक्ष तमाङका विरुद्ध हस्ताक्षर गरी प्रशासनमा निवेदन दिएका छन् । असन्तुष्ट पक्षले संघ कार्यालयमा लगाएको ताला खोली आइतबार निवेदन दर्ता गरेका थिए । दुई वर्षे कार्यकालमा तामाङले डेढ वर्ष आफ्नो कार्य सम्पादन गरी सकेको छन् । गत ६ महिनाभन्दा अगाडिदेखि संघका अध्यक्ष विरुद्ध संघर्षका कार्यक्रम हुँदै आएका थिए ।
यसअघि जिल्ला प्रशासनले विशेष अधिवेशन बोलाउन अध्यक्ष तामाङलाई निर्देशन दिएको भएपनि यस भन्दा अगाडि पेश गरेको व्यवसायीहरुको हस्ताक्षर नक्कली भएको भन्दै उल्टो छानविन गर्न प्रशासनमा अध्यक्ष तामाङले निवेदन पेश गरेपछि सो समस्याको समधान हुन सकेको थिएन् । ४० प्रतिशत सदस्यले हस्ताक्षर गरी अध्यक्ष विरुद्ध अविश्वासको प्रस्तावको लागि अधिवेशन बोलाउन आग्रह गरेका थिए । अध्यक्ष तामाङ सभा बोलाउन तयार नभएपछि सदस्यहरु प्रशासन गएका थिए । तर, प्रशासनको निर्देशनपछि पनि उनले सभा बोलाउन तयार नभएपछि सदस्यहरु पुनः प्रशासन कार्यालयको शरणमा पुगेका हुन ।
बैदेशिक रोजगारमा विवाद |
संघकै कार्यसमितिमा आबद्ध असन्तुष्ट पक्षले यस भन्दा अगाडिनै विशेष साधारण सभा बोलाउन माग गरेको थियो । हालको कार्य समितिले व्यवसायीको हितमा काम नगरेको भन्दै नेपाल वैदेशिक रोजगार लोकतान्त्रिक व्यवसायी फोरमले एक तिहाइ हस्ताक्षर संकलन गरी संघमा बुझाएको थियो ।
सम्पूर्ण वैदेशिक रोजगार व्यवसायीको भावना अनुरूप काम हुनुपर्नेमा अध्यक्षले व्यवसायीको हितविपरीत आफूखुसी काम गरेको भन्दै विशेष साधारण सभा बोलाउन दबाब दिदै आएपनि सो मागका बारेमा संघका अध्यक्षले बेवास्था गर्दै आएका थिए । संघको विधानमा उल्लेख भएअनुरुप असन्तुष्ट पक्षले एकतिहाइ हस्ताक्षर संकलन गरी बुझाएको १५ दिनभित्र विशेष साधारण सभा बोलाई सभानै सम्पन्न गर्नु पर्ने व्यवस्था रहेको छ ।
संघका द्वितीय उपाध्यक्ष कुमुद खनालले वैदेशिक रोजगार व्यवसायका नाममा राजनीतिक खेती भएको आरोप लगाउदै आएका छन् । संघको कार्यसमितिले व्यावसायिक हितका लागि भन्दा पनि व्यक्तिगत स्वार्थका लागि काम गरेकाले कार्यसमिति भंग गर्न दबाब दिएको संघका सदस्यहरुको भनाई रहेको छ । पूर्वअध्यक्ष सहित २ सय ५० जनाले विशेष साधारण सभा बोलाउन हस्ताक्षर गरी बुझाएका थिए । तर सो बारे कुनै चासो बर्तमान कार्य समितिले नलिएपछि संघमा नेतेत्व विवाद झन चरम बन्दै गएको छ ।
अध्यक्ष तामाङले भने असन्तुष्ट पक्षले उपस्थित नै नभएका सदस्यको समेत हस्ताक्षर गरेको आरोप लगाउदै आएका छन् । कार्यसमितिमा आबद्ध अन्य सदस्यले संकलन गरेका अधिकांश हस्ताक्षर किर्ते भएकाले ‘भेरिफाई’ गर्नुको विकल्प नभएको अध्यक्ष तामाङको जिकिर रहेको छ ।
संघको काम सम्पूर्ण व्यवसायलाई व्यवस्थित गर्ने हो कि गोलमाल गर्नै त्यो आफुले बुझ्न नसकेको अध्यक्ष तामाङको भनाई रहेको छ । वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन सबैको सहयोग आवश्यक रहेकाले आफ्नो ठाउँबबाट आवश्यक पहल गर्न समेत आग्रह गरेका छन् ।
गत महिनादेखिनै अध्यक्षको अभिव्यक्ति र कार्यशैलीप्रति असन्तुष्ट रहेका संघका पदाधिकारी एवम् सदस्यहरूले अध्यक्ष हटाउन पहल गरे पनि सो सफल भने हुन सकेको छैन् । अध्यक्ष तमाङले पदबाट राजीनामा नदिने मनस्थितीमा पुगेपछि केही दिन सवै विवाद समधान भएको चर्चा चलेपनि आईतबार एक समुहले उनी विरुद्ध पुन ः उजुरी गरेको हो । सुरुमा अध्यक्ष पदबाट हट्नकालागि दवाव दिएको भएपनि पछिल्लो समयमा आएर अध्यक्ष तमाङ नेतृत्व कार्य समितिनै भंग हुनु पर्ने माग राख्दै प्रशासनमा उजुरी दिएका छन् ।
संघका अध्यक्ष तामाङले समग्र वैदेशिक रोजगार व्यवसायीमाथि नै आघात पुग्ने गरी अभिव्यक्ति दिएको भन्दै त्यसको चर्को विरोध गर्दै आएका व्यवसायीले पछिल्लो समयमा अध्यक्षलाई अविश्वासको प्रस्ताव मार्फत पदबाट हटाउने अभियान समेत थालेका थिए । संघका पूर्वअध्यक्ष तिलक रानाभाटले अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले दिएको अभिव्यक्तिले समग्र वैदेशिक रोजगार व्यवसायीलाई मर्माहत तुल्याएको प्रतिक्रिया दिदै आएका छन् । यसअघि अध्यक्षको भनाइप्रति असन्तुष्टि जनाउँदै संघका प्रथम उपाध्यक्ष सहित १३ जनाले राजीनामा गरेका थिए । अध्यक्ष समक्ष वैदेशिक रोजगार व्यवसायीहरूको विरुद्धमा अभिव्यक्ति दिएको भन्दै प्रथम उपाध्यक्ष ज्ञानबहादुर गैरे, द्वितीय उपाध्यक्ष कुमुद खनाल, महासचिव कमल तामाङलगायत कार्यसमितिका १३ जनाले राजीनामा गरेका थिए । अध्यक्ष तामाङले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको एक कार्यक्रममा ९९ प्रतिशत व्यवसायीले दोहोरो सम्झौतापत्र बनाएर काम गर्ने गरेको बताए पछि उनी विवादको भुमरीमा परेका थिए । व्यवसायीको हकहित अनुकूल हुनेगरी बोल्नुको साटो उल्टो विरोध गरेको भन्दै ती पदाधिकारीले राजीनामा दिएका थिए राजीनामा गर्नेहरूले नयाँ नेतृत्वको तुरुन्त चयन गर्नुपर्ने र अध्यक्ष तामाङले राजीनामा गर्नुपर्ने माग राखेका थिए । त्यसप्रति अध्यक्षले प्रक्रिया अगाडि नबढाउँदै उनीहरूले अध्यक्ष विरूद्ध अविश्वासको प्रस्ताव राखेका थिए ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.