हुण्डीबाट अर्बौंको राजश्व हरण
राजस्व अनुसन्धान विभागले प्रहरीको सहयोगमा केही महिनाअघि अवैध हुन्डीको कारोबार गर्ने शिवरतन पोद्दारलाई ज्ञानेश्वर सेढाईटोलबाट २५ लाख ५० हजार रुपैयाँसहित पक्राउ गर्योद। उनलाई बिगो बराबरको २५ लाख ५० हजार रुपैयाँ धरौटी लिएर सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा कारबाहीका लागि बुझाइयो। कर कार्यालयका एक पूर्व कर्मचारीको घरमा डेरा लिएर विगत १५ बर्षदेखि हुन्डीको कारोबार गर्दैआएका पोद्दारलाई सम्पत्ति शुद्धिकरणले अनुसन्धान गरिरहेको छ। तर उनलाई कारबाहीबाट बचाउन राजस्व अनुसन्धान विभागकै अधिकृत मित्र सेढाईले पुलको काम गरिरहेको खुलासा भएको छ। स्रोतका अनुसार अधिकृत सेढाईले सम्पत्ति शुद्धिकरण विभागका कर्मचारीहरूलाई हुन्डीका कारोबारी पोद्दारको अनुसन्धान नगर्न २५ लाख रुपैयाँको घुस दिने प्रस्ताव गरिरहेका छन्। नेपालमा केही महिनाअघि लागू भएको सम्पत्ति शुद्धिकरण ऐनमा हुन्डीबाट भित्रिएको रकम पनि कालोधनसरह मानिने व्यवस्था छ।
मित्र सेढाईको घरसँगै उनका निकट भाइ विनय सेढाईको घरमा बसेर हुन्डीको कारोबार गर्दैआएका पोद्दारले हुन्डी कारोबार गदर् आएको उजुरी विभागमा परे पनि उनी पक्राउ परेका थिएनन् । गुण्डासमेत पालेर हुन्डीको कारोबार गर्दैआएका पोद्दारलाई विभागकै अधिकृतको संरक्षण भएकाले उनी पक्राउ नपरेको बताइन्छ । पोद्दारले बढी हुन्डी कारोबार भारतसँग गर्ने गरेको फेला परेको छ। दक्षिण कोरियामा रोजगारी र व्यवसाय गर्ने नेपालीहरूले बार्षिक १२ अर्ब रेमिन्ट्यास पठाउने गरेको तथ्यांक छ। तर त्यसमध्ये १० प्रतिशत पनि वैधानिक बाटो (रेमिट कम्पनीहरू)बाट नेपाल नभित्रने गरेको कुरा रेमिट कम्पनीहरूको संघका अध्यक्ष चन्द्र ढकाल स्वीकार गर्दछन्। हुन्डी कारोबार अवैध भएकाले यो कारोबार ट्राभल एजेन्सी, मनी ट्रान्सफर, होटल लज र विश्वासै गर्न गाह्रो हुने व्यवसायी पनि संलग्न हुने गरेका छन्। नेपाल राष्ट्र बैंकले २ बर्षअघि अनौपचारिक रुपमा गरेको एक अनुसन्धानमा हुन्डी मार्फत् २१ अर्ब रुपैयाँ देशबाट बाहिरिएको तथ्यांक सार्वजनिक गरेको थियो।
के हो हुन्डी ?
गैरकानुनी रुपमा पैसा एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण गर्ने कार्यलाई हुन्डी भनिन्छ। पैसा पठाउने मान्छेले हुन्डी गर्ने ठाउँमा बुझाएपछि त्यहाँबाट इमेल वा एसएमएस गरेर पैसा पठाउनेको नाम र कोड नम्बरसहित रकम पैसा पठाइदिने ठाउँमा हुन्डीका कारोबारीहरूले पठाइदिएका हुन्छन्। जस्तो कुनै व्यक्तिले हुन्डीको कारबोर हुने ठाउँमा गएर पैसा दिन्छ र उसलाई एउटा कोड नम्बर दिइन्छ र उसले पैसा पाउने व्यक्तिलाई त्यो कोडनम्बर दिएको हुन्छ। पैसा पाउने स्थानमा रहेको स्थानीय एजेन्टले त्यो रकम घरैसम्म पुर्या इदिने व्यवस्था गरेको हुन्छ। बैंकको तुलनामा सजिलो हुने भएकाले विदेशमा कमाएको पैसा हुन्डीमार्फत् बढी भित्रिने गरेको छ। यसले एकातर्फ रेमिटेन्सबाट प्राप्त हुने राजस्व गुमिरहेको छ भने अर्कोतर्फ हुन्डीबाट रकम पठाउँदा विदेशमा रोजगारीमा गएका कामदार ठगिने संभावना पनि हुन्छ। अवैध हुन्डीमार्फत् पैसा पठाउनेहरू र हुन्डी कारोबारमा संलग्नहरू ठगिए पनि प्रहरीमा उजुरी गर्दैनन्। बैंकभन्दा हुन्डीमार्फत् कारोबार गर्न सजिलो हुन्छ भन्ने प्रचार गरी विदेशमा काम गर्न गएका नेपालीहरूले अवैध हुन्डीमार्फत् पैसा पठाउँदा धेरै ठगीमा पर्ने गरेका छन्।
हुन्डीलाई कस कसको संरक्षण ?

नेपालमा हुन्डीको कारोबारमा प्रायः भारतीय मूलका मारवाडीहरू संलग्न रहेका छन्। राजस्व अनुसन्धान विभागका अधिकृत एक प्रतिनिधि पात्र मात्र हुन् अवैध हुन्डीको कारोबारीहरूलाई राजनीतिक दलका नेता, उच्चपदस्थ कर्मचारी, प्रहरीका उच्चपदस्थ अधिकारीहरूले समेत संरक्षण गर्दैआएका छन्। राजनीतिक र प्रशासनिक संरक्षण पाएकैले हुन्डी तस्करहरू पक्राउ पर्दैनन्, परिहाले पनि छुटाउन दबाब आउने गर्दछ। कतिपय हुन्डीकारोबारीहरूले नेता, प्रहरी हाकिम र कर्मचारीलाई नै व्यवायिक पार्टनर बनाउने, उनीहरूको धन चर्को ब्याज दिने सर्तमा लिने गर्दैआएको कुरासमेत सार्वजनिक भएका छन् । डेढ बर्षअघि कमलपोखरीबाट सुन व्यवसायी पवन सरियाको ७५ लाख रुपैयाँ लुटियो। तर उनले कतै पनि लुटिएको उजुरी गरेनन्। कारण थियो, उनी हुन्डी कारोबार गर्थे। उजुरी गरे सम्पत्तिको स्रोत खोजी हुने भएकाले उनले उजुरी नै गरेनन्। सूत्रका अनुसार, सरियाले नेपाल प्रहरीका बहालवाला चर्चित दुई डीआइजीको भ्रष्टाचारको धन चर्को ब्याज दिने सर्तमा लिएका छन्। तिनै दुई डीआइजीको आडमा उनले आफ्नो हन्डीको साम्राज्य चलाउँदै आएका छन्। मासिक करोडौंको हुन्डीको कारोबार गर्नेहरूमा घनश्याम धरानिया अग्रवाल, पवन धरानिया, मोहन धरानिया पनि हुन्। धरानिया दाजुभाइका विशालबजारमा जय माता दी गोल्ड प्यालेस, जय माता दी सिल्भर हाउस जस्ता सुन पसल पनि छन्। तर उनीहरूको देखावटी व्यवसाय सुन भए पनि हुन्डीको कारोबार नै मुख्य हो।
भोटेबहाल, सुन्धारा, न्यूरोड क्षेत्रमा उनीहरूले हुन्डीको कारोबार गर्दैआएका छन् । धरानियाँ दाजुभाइलाई एआइजी कल्याण तिमिल्सिनाको संरक्षण रहेको बताइन्छ । एआइजी तिमिल्सिनाका भाइ किशोर तिमिल्सिनालाई उनीहरूले व्यवसायिक पार्टनर बनाएर व्यवसाय सुरक्षित राखेका छन्। काठमाडौं परिसरका डीएसपी आभूषण तिमिल्सिना कल्याणकै दाजुभाइ खलक भएकाले किशोर मार्फत् धरानिया दाजुभाइले उनलाई समेत प्रभावमा पारेको प्रहरी स्रोत बताउँछ । खिचापोखरीमै हुन्डीको कारोबार गर्ने विमल पोद्दार प्रहरीका एसपी हरि पाल, हेमन्त पालहरूसँग विशेष सम्बन्ध राखी हुन्डीमार्फत् देशको अर्थतन्त्र खोक्रो पार्न तल्लीन छन्।
न्यूरोडका दामोदर मोदी पनि डलर र हुन्डीको कारोबारमा संलग्न रहेका छन्। यसरी अवैध हुन्डी र डलरको कारोबार मौलाउँदै देशको अर्थतन्त्र खोक्रो पार्ने रमेश चाचानले त मैतीदेवी मन्दिर पछाडि जुवाअखाडा नै संचालन गरेका छन्। त्यो जुवाघरमा नेपाल प्रहरीका भूपू एआइजी, डीआइजी, पूर्व सचिव, बहालवाला एसएसपी हरेक दिने जाने गर्दछन्। केही महिनाअघि राजस्व अनुसन्धान विभागले सुनधारामा युनिभर्सल ट्राभल्सका संचालक कृष्ण ज्ञवालीलाई हुन्डीको कारोबार गरेको प्रमाणसहित पक्राउ गरे पनि एमाले नेता तथा राज्यव्यवस्था समितिका सभापति रामनाथ ढकालको दबाबमा कारबाही नै नगरी छोडिएको थियो।
काठमण्डप विकास बैंकका संचालक समेत रहेका ज्ञवालीका दाजुभाइ नै हुन्डीबाट रातारात करोडौं आर्जन गर्न सफल मानिन्छन्। गैरकानुनी क्रियाकलापबाट आर्जन गरेको सम्पत्ति त्यस्ता व्यवसायीले हुन्डीमार्फत विदेश पठाउने गरेका छन्। अन्तर्राष्ट्रिय कल बाइपास गर्ने गिरोह, अपहरण, जाली नोट र लागूऔषधका धन्दामा संलग्नहरूले हुन्डीमार्फत् रकम विदेश विदेश पठाउने गरेका छन्। अन्तर्राष्ट्रिय कल चोरी (भीओआइपी) गर्नेहरूले अरबौं रकम हुन्डीमार्फत् विदेश पठाएको कुरा नेपाल प्रहरीको अपराध अनुसन्धान ब्यूरोले नै फेला पारेको थियो। यस्ता अवैध कार्यमा संलग्नहरूलाई प्रहरी अधिकृत, राजनीतिक नेतृत्व र कर्मचारीले संरक्षण गरेका यी प्रतिनिधि घटना हुन्। राष्ट्रको अर्थतन्त्रलाई नकारात्मक असर पार्ने यस्तो अवैध कार्य नियन्त्रण गर्न ऐन मात्र भएर केही हुँदैन, ऐन कार्यान्वयन गर्ने निकायका अधिकारीहरू नै इमान्दार हुुनुपर्ने खाँचो टड्कारो बन्दै गएको छ।
बोर्ड एउटा धन्दा अर्कै
काठमाडौंका सुन्धारा, न्यूरोड, भोटेबहाल क्षेत्रमा ट्राभल्स, मनी ट्रान्सफर र नयाँ बसपार्कका होटल, लजहरू हुन्डी कारोबारका मुख्य ठाउँ हुन् । ती स्थानमा ट्राभल्स, मनी ट्रान्सफर, म्यानपावर, लज, सुनपसल लगायतको बोर्ड झुन्ड्याएर हुन्डीको कारोबार हुने गरेको छ । राजस्व अनुसन्धान विभागले हुन्डीको कारोबारले देशको अर्थतन्त्रलाई नै नकारात्मक असर पारेको कुरालाई मध्यनजर गर्दै हुन्डी कारोबारविरुद्ध अनुसन्धान सुरु गरे पनि अपेक्षाकृत सफलता हासिल नभएको विभागका अधिकारीहरू बताउँछन्। ट्राभल्स, म्यानपावर, लज, सुनपसलको बोर्ड राखी हुन्डी कारोबार हुने भएकाले विभागले जुन आशाका साथ अनुसन्धान सुरु गरेको थियो, त्यसअनुरुप सफलता हासिल गर्न नसकेको ती अधिकारीको भनाइ छ। विभागले सुराकीका आधारमा केही दिनअघि लाजिम्पाटबाट हुन्डीका कारोबारी भारतीय नागरिक रत्ना दासलाई पक्राउ गरेको थियो। विभागले तोकेको धरौटी बुझाउन नसकेपछि उनी थुनामा छन् ।