Tuesday, March 11, 2014

अस्पताल क्याविन नम्बर २५
रोशन कार्की

सयम ठिकै थियो । फागुन १४, २०७० को दिन । आफ्नै काम र व्यस्थताका कारण सो दिन बेलुका ८ बजे कोठामा पुगेको थिए । सदा झै त्यसदिनपनि मेरो सानो परिबार खाना पकाएर मलाई नै कुरेर बसेका थिए । तीनकुने स्थित कोठामा श्रीमती ईश्वरी, छोरा मनिष र छोरी नीशा । सदा झै त्यसदिन अलि ढिला नै कोठमा पुगेको थिए । खाना अरुका दिनभन्दा ठिक ३० मिनेट ढिला । सो दिन सवैजना एकैसाथ खाना खाइयो, प्राधिकरणको विजुली थिएन रातको ११ बजे आउने सेडुल । चार्जर बत्तीको भरमा बेलुका १० बजेसम्म आफ्नो काम गरे । निद्रा लाग्यो सुते । 
२०७० फागुन १५ गते विहान २ बजे एकाएक छोरा मनिष निद्रामै बेजेडसंग काम्न थाल्यो । सकुशल सुतेको छोरो एकाएक काम्ने, टाउको माथितिर लैजाने क्रमसंगै बेहोस भएको थियो । सो दिनकोभन्दा अगाडि त्यस्तो नभएको एकाएक त्यस्तो भएपछि अब के गर्ने र के नगर्ने भन्ने बारे सो समयमा दिमागले काम गर्न पनि छोड्दो रैछ । एकातर्फ श्रीमती रुने अर्कोतर्फ छोरी रुने । रातको समय । एक्लोले के गर्ने नगर्ने सोच्नै सकेन । यस्तै अबस्थामा जे होला नहोला भन्दै बोकेर अस्पताल ल्याइयो । कोठाबाट बोकेर तीनकुने स्थित मेन रोडमा ल्याएपछि ट्याक्सीमा राखी २ बजेर २९ मिनेट २ सेकेन्डमा मीनभवनस्थित सिभिल सर्भिस हस्पीटलको इर्मेजेन्सीमा भर्ना गरेर उपचार गर्दा समेत छोराको होस खुलेको थिए । जव ५, १० मिनेटको उपचारसंगै बान्ता गरेपछि होस खुल्यो । बोल्न थाल्यो र सोध्यो मलाई किन यहाँ ल्याएको ? इर्मेजेन्सी वार्डमा डाक्टर नर्सहरुको अथक प्रयास जारी थियो । होस खुलाउन । तर लामो समय लागेन । होस खुल्न । इर्मेजेन्सीको उपचारपछि अन्य के कारणले यस्तो भयो भनेर खोजी हुन थाल्यो । रगत, पिसावको परिक्षण भयो । केही खरावी भेएिन । सो परिक्षणपछि टाउकाको परिक्षण गर्न मलाई भनियो । मैले सोही अनुसार अस्पतालको काउन्टरमा गएर पैसा बुझाए र रकम बुझाएको रसिद संगै लगेपछि मात्रै टाउकाको परिक्षण भयो । रातको समय खल्तीमा जम्माजम्मी १५ सय रुपैयाँ । तर अन्य नीजि अस्पतालकोभन्दा सस्तो भएकाका कारण उपचार सुरु गरियो । टाउकाको परिक्षणपछि थाहा भयो । जुकाको खपटा टाउकोमा पुगेको रैछ । सुरुकै अबस्थामा भेटिएकोमा डाक्टरबाट सहानुभुती दिनु भयो । तपाईको बच्चाको अबस्थामा कुनै गम्भीर र चिन्ता लिनु नपर्ने । तर ३ वर्षसम्म नछुटाई औषधिभने सेवन गर्नु पर्ने पनि जानकारी दिए । यति गरुनजेलसम्म विहानका ४ बजी सकेको थियो । चेकजाँचपछि ७२ घण्टा भर्ना गरेर उपचार गर्नु पर्ने सल्लाहा अस्पतालबाट जानकारी भयो । खल्ती कमजोर भएका कारण जनरल वाडमा भर्ना गर्ने त भनियो तर त्यहाँ विरामीलाई उपयुक्त वातावरण नभएपछि तत्कालै सारियो क्याविन नम्बर २५ मा । 
छोरालाई इर्मेजेन्सी वार्डमा भर्ना गरेर उपचार गरे अबस्थामा मलाई अस्पतालको विल बुझाउन ठुलै रकम लाग्ने भयो । पहिलो चरणमा मैले काम गरेको सस्था कमाण्डर पोष्ट दैनिकका कार्यकारी निर्देशक डोलेन्द्र थापालाई पटकपटक फोन गरे तर उनले सो फोन रिसिव गरेनन् । किनकी मैले त्यो अफिसबाट तलवनै लिनु पर्ने भएकाले सो रकम माग गरेको थिए तर त्यो रकम दिने त परै जाओस् कुनै चासो नदिएपछि त्यस्ता निर्देशकसंग कुनै सरोकार राख्नुको महत्व देखिन । आपत्त परेको बेला पाउने तलव समेत दिन नसक्ने यस्ता मालिकले किन मिडिया मालिक हुँ भन्दै हिड्नु । बरु कमडलु बोकेर माग्न हिड्नु राम्रो हो । अब यस्ता व्यक्तिले समाजमा कुनै अर्थ छैन किनकी आफु मिडिया मालिक हुँ भनेर नाक फुलाउनु पर्ने । यस्तो बेला त शत्रुले समेत सहयोग गर्दछन् । तर मलाई निर्देशक डोलेन्द्रले बदलाको भाबनाले लिएपछि अब मैले चाही किन निर्देशक या मिडिया मालिककोे रुपमा हेर्ने र ? 
उपचारकै क्रममा सो अस्पतालका कार्याकारी निर्देशक डा. विमल थापा र मिडिया मालिक भन्ने थापाबीच ठूलो भिन्नता पाए । सो अस्पतालमा । 
सुरुमा मैले न सो अस्पतालमा आफ्नो परिचय दिए न अहिलेनै दिएको छु औपचारीक रुपमा । अस्पतालको क्याविन दिनको १ हजार रुपैयाँ शुल्क । क्याविनमा सारेपछि एउटा बेड र एउटा सोफा मात्र छ । ओड्ने पनि छैन् । क्याविन सार्नुअगाडि केही नर्ससंग चर्काचर्कीपनि पर्यो । कारण भुइ सफा गरि रहेको अबस्थामा नहिड्न र जहाँ हो त्यही रोकिन निर्देशात्मक भनाई आएपछि परेको थियो चर्काचर्की । आफु औषधि र अन्य सामान लिएर विरामी राखेको कोठामा जानलाग्दा एकाएक सो उर्दी आएपछि भयो चर्काचर्की । मलाई सो अस्पतालको भुईसंग कुनै सरोकार छैन । किनकी मेरो छोरो अस्पतालको बेडमा रहेको अबस्थामा भुई सफा गरेको अबस्थामा नहिड्नु भन्नु र सो स्थानमा हिड्नु मेरो गल्ती हो या अस्पतालका ती नर्सहरुको गल्ती हो अझै छुटाउन सकेको छौन मैले । 
नर्ससंगको चर्काचर्कीपछि मैले सो अस्पतालमा खटिएका नर्सहरुको बारेमा जानकारी गराउनु सचेत नागरिकको धर्म सम्झेर प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिब कृष्णहरि बाँस्कोटालाई फोन गरि जानकारी गराए । बाध्य भएर फोन गर्नु पर्ने अबस्था आयो । सचिब बाँस्कोटासंग फोन बार्ताभयो । उहाँले अस्पतालका कार्यकारी निर्देशक डा. विमलकुमार थापालाई फोन गर्नु भएछ । उहाँ विहानै क्याविन नम्बर २५ मा आउनु भयो र जानकारी लिनु भयो । ७२ घण्टामा उहाँ पटकपटक आउनु भयो । उहाँले उपचारकालागि कुनै कसुर बाँकी नराख्न निर्देशन दिनुभयो । हो उपचार गरेपछि शुल्क तिर्नुपर्छ त्यो मैले तिरेकै थिए । जति विल आयो त्यही अनुसार रकम बुझाउदै आए तर क्याविनमा सोचे अनुसारको सुविधा नहुनु र भुई सफागरेपछि नसुकुनजेलसम्म हिड्न नपाउनुले कता कता मलाई बिद्रोहको अबस्थामा ल्याइपुर्याएको हो । अस्पतालमा रमाइलो गर्न कोही पनि आउदैनन् । कोही विरामी भेट्न आउछ त कोही विरामी लिएर आउछन् । यस्तो अबस्थामा हिड्नै प्रतिबन्ध लगाउनु उचीत होइन । हामी यस देशका चौथो अंगका रुपमा रहेका पत्रकार भन्नेले त यस्तो अबस्था भोग्नु पर्छ भने अरुको अबस्था कस्तो होला । 
म प्रायः आफ्नो कामका लागि कहिल्यै पनि परिचय नदिने व्यक्ती हुँ किनकी शुल्क तिरेर काम गर्नु पर्ने भएपछि किन म यस्तो हुँ भनेर परिचय दिनु परो र । यहाँ अन्य पत्रकार मित्रहरु चिया पसल, मम पसलदेखि फुटपथमा पसल राख्नेलाई समेत प्रेस पास देखाउने गरेका र बार्गेनिड गर्ने गरेका उदाहरण थुपै रहेका छन् । तर मैले जटिल अबस्थामा समेत म पत्रकार हुँ भनेर परिचय दिने गरेको छैन् । 
तर पहिलो पटक मैले उच्च पदस्थ कर्मचारीलाई फोन गरेको यो पहिलो पटक हो । किनकी मैले क्याविनमा दिनको १ हजार रुपैयाँ बुझाउनु पर्ने भएपछि र क्याविनमा एउटा सोफा र एउटा बेडमा भएपछि क्याविनको अबस्था देखाउनकालागि मैले सो फोन गरेको हँु किनकी मेरो मनमा लागेको थियो क्याविन भनेपछि विभिन्न सुविधा होला भन्ने र त्यो मेरो सोचाइ मात्र रैछ । क्याविन भनेको छुटै ट्वाइलेटमात्र रैछ अरु सवै जनरल सरहकै । यस्तो भएपछि मैले हेल्लो सरकारको समेत जिम्मेवारी लिएका र गुनासा सुन्ने काम समेत गरेर सम्बन्धि निकायमा पुर्याउने भएकाले सो फोन गरेका थिए । कि म एउटा पत्रकार हैन एउटा सेवाग्राहीको रुपमा गुनासो पोखेको थिए सचिब बाँस्कोटा समक्ष । 
मेरो फोनलाई सचिब बाँस्कोटाले बढो गम्भीर रुपमा लिएर उहाँले सम्बन्धि निकायमा गुनासो तत्कालै पुर्याउनु मात्र भएन कि आफैले यस अस्पतालका कार्याकारी निर्देशक डा.थापालाई फोन नै गरेर अबस्था बुझ्न निर्देशन दिनु भएछ । उहाँको फोनपछि तत्कालै निर्देशक डा. थापा क्याविन नं. २५ मा आफै आउनु भयो र अस्पतालको नियम र संरचना बारे बुझाउनु भयो । उहाँ मेरो छोरा क्याविन नंंं २५ मा राखिनु जेलसम्म विहान बेलुका आफै आएर अबस्था बुझ्ने काम गरि रहनु भयो । भने सचिब बाँस्कोटा शनिबार आफै अस्पताल आई विरामीका बारेमा बुझ्नु भयो । एउटा सामान्य व्यक्तिको छोराको अबस्था बुझ्नका लागि उहाँले जुन कार्य गर्नुभयो यो मेरो उहाँप्रति ठूलो ऋणी बनेको छु । यो ऋण मैले तिर्ने सक्ने अबस्थामा छैन म । किनकी ऋण भनेको रकममा गरेको भए हिसाव गरेर फिर्ता गर्न सकिन्थ्यो तर यो भावनात्मक ऋण भएकाले सो तिर्न मसंग कुनै सामान छैन । साथै यस अस्पतलका निर्देशक डा. थापाको पनि ऋण तिर्ने मसैग केही छैन । 

Sunday, February 9, 2014

           आजदेखि देश अन्धकार 

रोशन कार्की
काठमाडौं । सरकार र नीजिक्षेत्रको दोहोरीका कारण देश आज (आइतबार) देखि देश अन्धकार बन्ने भएको छ । अस्थिर राजनिती र सरकारका कारण पाइप लाइनमा रहेका विद्युत् आयोजनाहरु निमार्णमा ढिलाई हुदै गएकै कारण देश अन्धकारमय हुन पुगेको छ । नेपाल विद्युत् प्राधिकरणमा हुने चुहावट र कर्मचारीको ‘जागिरे प्रथा’ कारण विजुली उपभोक्ताहरु साताको ८४ घण्टा अन्धकारमा आफ्नो दैनिकी सञ्चालन गर्न बाध्य हुनु परेको छ । प्राधिकरणका कर्मचारीको मिलेमतोमा देशका विभिन्न स्थानमा विना अनुमति ४ फ्रेज लाईननै फर्निचर उद्योगमा समेत दिने गरेको र लामो समयदेखि हुदै आएको विद्युत् चुहावट नियन्त्रण गर्न नसक्दा उपभोक्ता दैनिक १२ ÷१३ घण्टा अन्धकारमा बस्न बाध्य हुनु परेको सम्बन्धि क्षेत्रका विज्ञहरुले बताएका छन् ।  
प्राधिकरणले नदीमा पानीको मात्राममा कमी आएको र माग अनुसार विद्युत् उपलव्ध गराउन सक्नै भन्दै लोडसेडिङ पुन ः चार घण्टा बढाए पछि देश अन्धकारमय भएको हो । प्राधिकरणले आइतबार (आज) बाट लागू हुने गरी लोडसेडिङ सातामा चार घण्टा बढाएको हो । यसअघि सातामा ८० घण्टा लोडसेडिङ हुँदै आएकामा अबदेखि ८४ घण्टा लोडसेडिङ हुनेछ ।


पहिले सातामा चार दिन ११ घण्टा लोडसेडिङ हुँदै आएकोमा आइतबारबाट हरेक दिन १२ घण्टा लोडसेडिङ हुनेछ । प्राधिकरणले यो हिउँदमा दैनिक १२ घण्टाभन्दा बढी लोडसेडिङ नगर्ने घोषणा गरेको थियो । फागुन र चैत दुई महिना लोडसेडिङ १२ घण्टामा सिमित गरे बैशाखबाट भने विद्युत् उत्पादन बढ्ने र लोडसेडिङ घट्ने जनाएपनि सो समयमा दैनिक १७ घण्टा सम्म हुने अनुमान प्राधिकरणकै एक उच्च कर्मचारीले अनुमान गरेका छन् । ती कर्मचारीले नाम नलेख्ने सर्तमा भने,‘प्राधिकरण, मन्त्रीपरिषद्का अध्यक्ष जस्ले जे भने पनि प्राकृतिक रुपमा विद्युत् उत्पादन गरेका कारण दैनिक १७ घण्टा सम्म लोडसेडिङ हुन अबस्था रहेको छ ।’ उनले लोडसेडिङ कम गर्न आदेश र निर्देशनले नहुदै बताउदै भने,‘पाइप लाईनमा भएका आयोजना समयमै सम्पन्न गर्ने वातावरण बनाउनु तर्फ विना राजनीति नगरि अगाडि बढ्नु पर्छ ।’
यस अधि विद्यार्थी संघ÷संगठनका प्रतिनिधिहरुले प्राधिकरणका कार्याकारी निर्देशक शंकर कार्कीलाई भेटी तत्काल उच्च पदस्थको क्षेत्रमा पनि सर्वसाधारणकै समयमा लोडसेडिङ गरि समान व्यवहार गर्न आग्रह गरेको थियो । तर, सो आग्रहको १ महिनापछिनै प्राधिकरणले साताको ८४ घण्टा लोडसेडिङ तालिका सार्वजनीक गरेको छ । हाल सरकारको ठाडो आदेशमा सिहदरबार, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री निवास र उच्च पदस्थ कर्मचारीको घरहरुमा लोडसेडिङ मुक्त गर्दै आएको छ । गत वर्ष विद्यार्थी र उपभोक्ताको चर्को दवावपछि उच्च पदस्थ वर्गका घरमा पनि लोडसेडिङ हुदै आएको थियो । नेपालमा जाडोमा बढी उर्जा खपत हुने गरेको भन्दै प्राधिकरणले लोडसेडिङको समय तालिका बढाएको दाबी गरेको छ । प्राधिकरणले दैनिक १२ घण्टा लोडसेडिङको तालिका दिए पनि दिउँसोमा बढी विद्युत् कटौती गरेको छ । आइतबारदेखि प्राधिकरणले दिउँसो चार घण्टा विद्युत् आपूर्ती गर्ने भएको छ । 

Wednesday, February 5, 2014

२०७३ मा मेलम्चीको पानी आउने पानी प्रशोधन                       केन्द्रको शिल्यान्यास
रोशन कार्की
सुन्दरीजल । बहुप्रतिक्षित मेलम्ची खानेपानी विकास समितिले काठमाडौंबासीको धारामा २०७३ सालको बैसाख महिनाको १ गते मेलम्ची खोलाको पानी छोड्ने महत्वकाक्षि योजना सार्वजनिक गरेको छ । एक दशक अगाडिदेखि सुरु भएको मेलम्ची खानेपानी आयोजनामा विभिन्न राजनीतिक दल, कर्मचारी र स्थानीय बासिन्दाको आ–आफ्नै स्वार्थका कारण ढिलाई हुदै गएको सो आयोजनाको निमार्ण पक्षलाई पछिल्लो समयमा आएर पुन ः तीब्रता दिएका कारण ३ वर्षमा पानी काठमाडौं आईपुग्ने दाबी सरकारको रहेको छ ।  
आगामी तीन वर्षभित्र मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गरिने गरि काम कारवाही भएको आयोजनका कार्यकारी निर्देशक कृष्णप्रसाद आचार्यले बताए । मेलम्ची खानेपानी आयोजनाको महत्वपूर्ण पाटो मुहान र सुरुङ निर्माण कार्यका लागि इटालीको को–अपरेटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सीएमसी) सँग ठेक्का सम्झौता भएपछि सो कम्पनीले २०७२ सालभित्र आयोजना सम्पन्न गरी २०७३ वैशाखमा मेलम्चीको पानी वितरण गर्ने लक्ष्य किटानी भएको निर्देशक शर्माले बताए । यसअघि सन् २०१३ सेप्टेम्बरभित्र काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी ल्याउन २६ दशमलव ५ किलोमिटर सुरुङ तथा मुहान निर्माणका लागि सरकारले सन् २००९ को फेब्रुरुअरीमा चिनियाँ कम्पनी चाइना रेलवे कन्स्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । तर, १० महिनाअघि अर्थात् सन् २५ सेप्टेम्बर २०१२ मा चाइना रेलवेले काम छोडेर गएपछि आयोजनाले नयाँ कम्पनीसँग सम्झौता गरि काम अगाडि बढाएको उनको भनाई रहेको छ । 
३ वर्षभित्र पानी वितरण गर्ने उदेश्यले मंगलबार काठमाडौंको सुन्दरीजलमा ‘पानी प्रशोधन केन्द्र’ को शिल्यान्यास समेत सम्पन्न भएको छ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री छविलाल पन्थले सो केन्द्रको शिल्यान्याश गरेका हुन । मन्त्री पन्थले शिल्यान्यासपछि सम्बोधनमा भने,‘कुनैपनि काम गर्दा समस्याहरु ऋाउनु सामान्य कुरा हो, सो कुरा स्थानीय स्तरमै समधान गर्नु गराउनु होला ।’ उनले जटिल समस्याबाहेक अन्य समस्या स्थानीय स्थरमै समधान हुने भएकाले सम्बन्धित निकायले आफ्नो स्वविभेक लगाउनु राम्रो हुने बताए । 

चाइना रेलवेले ठेक्का सम्झौता रद्ध गरी बीचमै काम छाडेर हिँडेको भएपनि मुख्य लगानीकर्ता एसियाली विकास बैंक (एडीबी) ले आयोजना जसरी पनि पूरा गरेरै छाड्ने सरकारसँग प्रतिबद्धता जनाए पछि नयाँ ठेक्का सम्झौता भएको थियो । बाँकी कामका लागि आयोजनाले डिसेम्बर २०१२ मा मुहान र सुरुङ निर्माणका लागि टेन्डर आह्वान गरेको थियो । टेन्डरमा चीन, जापान र इटालीका कम्पनीहरुले आर्थिक र प्राविधिक प्रस्ताव हालेका थिए । इटालीको सीएमसी कम्पनीले ७ अर्ब ७२ करोड ३४ लाख रुपैयाँ आर्थिक प्रस्ताव गरेको थियो । सबैभन्दा कम आर्थिक प्रस्ताव सीएमसीले हालेपछि सो कम्पनीसँग ठेक्का सम्झौता भएको हो । मेलम्ची आयोजना तीन चरणमा सम्पन्न गरी दैनिक ५१ करोड लिटर पानी काठमाडौं उपत्यका ल्याउने सरकारी योजना रहेको छ । आयोजनाले पहिलो चरणमा सिन्धुपाल्चोकको मेलम्ची नदीको पानी काठमाडौं ल्याउने तयारी भएको छ भने दोस्रो चरणमा याङग्री र लार्के खोलाबाट १७÷१७ करोड लिटर पानी सोही सुरुङमार्फत थप पानी ल्याइनेछ । मेलम्ची आयोजनाको पानी काठमाडौंमा ल्याउन केही समयअघि जापानी नियोग (जाइका) को ऋण सहयोगमा सुन्दरीजलस्थित महांकालचौरमा पानी प्रशोधन केन्द्र निर्माणका लागि भीएटेक–प्रतिभा इन्डस्ट्रिज लिमिटेडसँग ठेक्का सम्झौता भउकोे छ । 
पानी प्रधोधन केन्द्र निर्माणका लागि भीएटेक–प्रतिभा कम्पनीले ४ अर्ब २० करोड ४६ लाख रुपैयाँमा ठेक्का पाएको हो । मन्त्री पन्थले मंगलबार मेलम्ची खानेपानी आयोजनालाई सरकारले महत्वपूर्ण प्रोजेक्टको रुपमा राखेको भन्दै सो आयोजना सम्पन्न  गर्नकालागि सवै पक्षबाट सकारात्मक सुझाब र सहयोगको आबश्यकता रहेको बताएका छन् । एडीबीले नेपाल र नेपालीको विकासमा निकै ठूलो सहयोग गरेको बताउदै मन्त्री पन्थले भने,‘काठमाडौं उपत्यकाबासीको खानेपानीको मागलाई दीर्घकालीन रुपमा समाधान गर्ने यो आयोजना समयमै पूरा गराउन एडीबीले गरेको आर्थिक सहयोग महत्वपूर्ण छ ।’ मुहान र सुरुङ निर्माणका लागि भएको ठेक्का सम्झौता यस भन्दाअगाडि रद्ध भएकाले आयोजना पूरा हुँदैन कि भन्ने शंकालाई रहेको बताउदै उनले भने,‘अब सो शंका निवारण भएको छ, २०७३ सालको पहिलो विहानीमा मेलम्चीको पानी खान पाईन्छ ।’ 
एडीबीका प्रतिनिधिले मेलम्ची आयोजनालाई ठूलो प्रोजेक्टमा लिएको र आयोजना समयमै पूरा हुने प्रतिबद्धता जनाएको छ । मेलम्ची आयोजना अन्तर्राष्ट्रिय मापदण्डअनुरुप निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने प्रतिबद्धता एडिवी बैंकले जनाएको छ । समितिका कार्यकारी निर्देशक आचार्यले आयोजनाको भौतिक संरचना निर्माणमा भौगोलिक विकटता चुनौतीपूर्ण रहे पनि अब समयमै सम्पुर्ण काम सम्पन्न हुने दाबी गरे । उनले भने,‘हामीले १० महिनाको समय व्यर्थैमा गुजा¥यौं, यसबाट पाठ सिक्दै राजधानीबासीलाई २०७३ सालको नयाँ वर्षको उपहारस्वरुप मेलम्चीको पानी धारा–धारामा पु¥याउने छौ ।’ सहरी विकास मन्त्रालयका सचिव किशोर थापाले मेलम्ची खोलाबाट २६ दशमलव ५ किमि सुरुङ निर्माण गरी सुन्दरीजलमा ल्याइने पानी प्रशोधन केन्द्रमा आठ करोड ५० लाख लिटर पानी प्रशोधन गर्ने क्षमता हुने बताए । सभासद् रामेश्वर फुयाँलले राष्ट्रिय प्राथमिकताप्राप्त मेलम्ची खानेपानी आयोजनालाई तोकिएकै समयमा सम्पन्न गराउन राजनीतिक दलका तर्फबाट सहयोग जुटाइने प्रतिबद्धता व्यक्त गरे । मेलम्चीको पानी काठमाडौं उपत्यका ल्याउनुपूर्व अहिले आयोजना कार्यान्वयन निर्देशनालयले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको स्तरवृद्धि, काठमाडौंको विभिन्न स्थानमा पानीपोखरीहरुको निर्माण, वितरण सञ्जाल सुधार र ढल प्रणाली सुधारको निर्माण कार्य गरिरहेको छ । दैनिक १७ करोड लिटर पानी आपूर्ति गर्ने लक्ष्य रहेको उक्त आयोजनामा ४६ करोड ४० लाख अमेरिकी डलरभन्दा बढी रकम लाग्ने अनुमान गरिएको छ । सुरुङ र इन्टेक निर्माणका लागि मात्र करिब  १० करोड डलर खर्च हुने छ ।

Tuesday, February 4, 2014

     कर संकलन अभियानमा सरकार असफल 
रोशन कार्की
कठमाडौं । सरकारले पटक–पटक ‘राष्ट्रिय कर दिवस’ का साथ अभियानकै रुपमा सुरु गरेको कर संकलनबाट सरकार असफल हुन पुगेको छ साथ अभियानकै रुपमा सुरु गरेको कर संकलनबाट सरकार असफल हुन पुगेको छ । सरकारले विभिन्न समयमा समयमा कर नबुझाउने र मिसम्याच गर्ने व्यवसायी, पेशाकर्मी र अन्यलाई छुटको व्यवस्था गरेपनि दिएको समयसिमाभित्र कर बुझाउन नआएपछि सरकारको अभियाननै विफल भएको हो ।  देश विकासका लागि आवश्यक रकमको मुख्य स्रोत करलाई सरकारले लिएको छ । मुलुकको कुल गार्हस्थ उत्पादनमा राजस्वको योगदान २० प्रतिशत पु¥याउने योजना सहित सरकारले अर्थतन्त्रमा राजस्वको हिस्सा बढाउन नयाँ रणनीति सार्वजनिक गरेको थियो । आन्तरिक राजस्व विभागले पछिल्लो समय कर संकलनलाई प्रभावकारी बनाउन विभिन्न प्रवद्र्धनात्मक अभियानहरू सञ्चालन गरेपनि लक्ष्य अनुसार कर संकलन हुन सकेको छैन । साना, मध्यम र ठूला करदाता आयकर र मुल्य अभिवृद्धि कर (भ्याट) छलीमा सहभागी भएको पाएपछि विभागले अभियानकै रुपमा आफ्नो सक्रियता बढाएको थियो । 
औद्योगिक प्रतिष्ठानहरू नै नक्कली बील बनाएर कर छल्ने र सरकारले दिने सुविधा लिने गरेकाका कारण ठूलोमात्राममा मिसम्याच बाट कर छली हुदै आएको छ । अघिल्लो आर्थिक वर्षमा ४ सयले भ्याट छलेको र उनीहरुलाई विभागले कारवाहीकालागि सम्बन्धित निकायमा सिफारीस गरेपनि अझैसम्म उनीहरूलाई सरकारले कारर्वाही गर्न सकेको छैन । एकातर्फ ठूलोमात्रामा कर छली हुदै गएको छ । विभागले सोही कर छलीलाई नियन्त्रण गर्नकालागि सञ्चालन गरेको प्रवद्र्धनात्मक कार्यक्रम, जरिवाना सम्बन्धी कुराहरू, अनुगमन लगायत कार्यक्रमले कर संकलनमा खासै सकारात्मक असर परेको छैन । कर संकलन वृद्धि गर्ने उद्देश्यका साथ सरकारले चालू आर्थिक वर्षलाई कर प्रणाली सुधार वर्ष घोषणा गरेको थियो । कर प्रशासनको सुधार गर्ने भन्दै विभागले पाँच वर्षे रणनीतिक योजना समेत ल्याएको छ । यसमा तीन वर्षको सुधार योजना छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत दिएको छुट सुविधाबाट सतप्रतिशत कर संकलन गर्ने लक्ष्य लिएको भएपनि सो अबधिमा ४५ करोड रुपैयाँमात्र राजस्व संकलन गर्न सकेको छ । कर छुट सुविधा उपयोग गर्ने ९ हजार नयाँ करदाताबाट सो राजस्व संकलन भएको विभागले जनाएको छ । विभागको तथ्याङ्क अनुसार करमा दर्ता भएका करदाताको संख्या ११ लाख पुगेको उल्लेख छ । सरकारले राजस्व संकलनमा वृद्धि गर्न पुसमसान्तसम्म करको दायरामा आउने करदातालाई कर, शुल्क तथा ब्याजमा मिनाहा सुविधा प्रदान गरेको विभागका महानिर्देशक टंकमणि शर्माले बताएका छन् । उनका अनुसार सो अबधिमा सोचेअनुसारले करको दायरामा नआएको बताए । महानिर्देशक शर्माले थपिएका नयाँ करदाताहरूमा चिकित्सक, कलाकार, इन्जिनियर, कानुन व्यवसायी, लेखा परीक्षक, सहकारी संस्थालगायतका व्यवसायीहरू रहेका बताए । 
उनले कर छुट सुविधा उपयोग गर्ने नौ हजार र करमा दर्ता भएर विवरण नबुझाई बसेका २० हजार गरी जम्मा २९ हजार करदाता करको दायरामा आएको बताए । करको दायरामा आएकामध्ये १८ हजार आयकर र दुई हजार मूल्य अभिवृद्धि करका करदाता रहेको उनले बताए । करमा दर्ता भई विवरण नबुझाएका करदाताको संख्या ठूलो मात्रामा रहेको महानिर्देशक शर्माले बताए ।  उनले भने,‘कुनै पनि व्यवसाय तथा पेसा गर्ने व्यक्तिले व्यवसाय सुरु गर्नुपूर्व स्थायी लेखा नम्बर अनिवार्य लिनुपर्ने व्यवस्था रहेको छ, लेखा नम्बर नलिई वा मूल्य अभिवृद्धि करमा दर्ता नभई कारोबार गरे आयकर ऐन तथा मूल्य अभिवृद्धि ऐनअनुसार कारबाही हुने हुन्छ ।’ हाल करिब ११ लाख करदातामध्ये एक लाख ३० हजार मूल्य अभिवृद्धिमा दर्ता भएको विभागको तथ्याङ्कले देखाएको छ । 

Saturday, February 1, 2014

पिएनदेखि सिइओसम्म आफै काम गर्दछन् जुत्ताचप्पलका लगानीकर्ता
रोशन कार्की
काठमाडौं । नेपालका अधिकाशं उद्योगमा विभिन्न पद र उपपदहरु सृजना गरेर सञ्चालन हुने गरेका छन् । तर देशै एक उद्योग छ जहाँ सवै काम एकै व्यक्तिले तल्लो तहको पददेखि उच्चपदस्थ तहसम्मको पदसमेत सम्हालेका छन् । विदेशबाट आयात हुने अधिकाशं उद्योगहरुमा पिएनको पददेखि उच्चतहसम्मको पदमा जनशक्ति माग हुने गरेको छ भने नेपाली उत्पादनको नाममा विगद केही वर्षदेखि उत्पादन हुन थालेको नेपाली जुत्ता चप्पल उद्योगमा सवै पद एकै व्यक्ति अर्थात लगानीकर्ताले नै सम्हालेका छन् । 
विगद केही वर्ष अगाडिसम्म नेपाली बजारमा विदेशी जुत्ताचप्पलले ओकटेको थियो । हाल आएर सो स्थानलाई विस्तारै ओकटन थालेपछि सो उद्योगका मालिक तथा लगानीकर्ता ‘पिएनदेखि सिइओ’ सम्म आफैले कार्यासम्पादन गर्नु परेको छ । ‘हामी विस्तारै आम उपभोक्तालाई नेपाली उत्पादनका जुत्ताचप्पल पनि विदेशीभन्दा कम छैन भन्ने सन्देश दिन सफल भएको जस्तो लाग्छ, यो हाम्रो परिक्षण काल हो जव उपभोक्ताको हामीले विश्वास दिलाउनकालागि पियनदृेखि सिइओसम्म’ को काम गरेका छौ ।’ हरुलाई नेपाल छाला जुत्ता तथा बस्तु उत्पादक संघका अध्यक्ष होमनाथ उपाध्यायले बताए । उनका अनुसार अरु कम्पनीजस्तो सवै पदमा जनशक्ति राखेर काम गर्नसक्ने क्षमतामा हामीहरु नभएकाले सवै काम आफैले गर्नु पर्ने बाध्यता रहेको बताउछन् । बिएफ डियर हिलका प्रबन्ध निर्देशक समेत रहेका अध्यक्ष उपाध्ययले भने,‘हामी सुरुकै अबस्थामा रहेका छौ त्यसैले बजारीकरण, उपभोक्ता र डिलरसंग पैसा उठाउने काम समेत आफैले गर्नु पर्छ ।’
यसैक्रममा, सो उद्योगका लगानीकर्ताहरु आफ्नो उत्पादनमा पर्ने ऐन कानून र अन्य असुविधाबारे समधान गर्न सरकारी निकायसम्म पनि समय निकालेर जानु अबस्था रहेको बताउदछन् । सो संघका सदस्य नवराज गौतमले भने,‘ सुरुको अबस्थामा रहेका कारण हामी आफै फ्याक्ट्रिमा गएर खोल्ने, कालीगढ खोज्ने, जुत्ताचप्पल बनाउनेदेखि लिएर बनेका जुत्ताचप्पल बोकेर पुन ः बजारसम्म पु¥याउने काम हामी आफैले गर्ने गरेका छौ ।’ यसरी आफैले गर्दा कुनैकुनै विषयमा भने बाधा पुग्ने गरेको अनुभब सदस्य गौतमको रहेको छ । उनले भने,‘सवै आफैले गर्दा सवैलाई भनेजस्तो समय दिन नसक्ने भएकाले विभिन्न समयमा संघ र हाम्रो उत्पादनमा पर्ने समस्यालाई समधान गर्न भने सम्बन्धित निकायसम्म जान समेत समय नहुदाँ समस्या यथावत रहने गर्दोरैछ ।’ तरपनि सवै आफैले गर्दापनि त्यसमा आफुहरुलाई भने कुनै हिनताबोध नभएको टाकुरा शु का प्रबन्ध निर्देशक समेत रहेका गौतमको भनाई रहेको छ । सदस्य गौतमका अनुसार नेपाली उत्पादनलाई सवै उपभोक्ताबीच लोकप्रिय बनाउनकालागि जुत्तामेलाको स्टलदेखि फ्याक्ट्रि सम्म आफै पुग्दा उपभोक्ता र कामदारलाई समेत विस्वासनीय हुने दाबी गर्दछन् । 
उनले भने,‘मेलाको स्टलमा बसेर आफैले काम गर्दा एउटा उपभोक्तालाई जुत्ताको मुख्यमान्छेसंगै कुरा गरेर लिन पाउदाँ जुत्ता चप्पलमा बढी विस्वासिलो हुन जाने भएकाले हामीहरु प्राय ः मेला अबधिभर स्टलमै बस्ने गरेका छौ ।’ प्रत्येक वर्ष नेपाली उत्पादनलाई आम उपभोक्ताबीच चिनाउने उदेश्यले मेलाको आयोजना गरेपनि उपयुक्त मेला स्थल नहुदाँ जुन उदेश्यले आयोजना गरेको हो त्यो उदेश्य पुरा गर्न नसकेको उनीहरुको भोगाई रहेको छ । ठूलोमात्रामा विदेशी ब्राण्डका सामानहरुले नेपाली बजार ओकटेको अबस्थामा त्यसलाई चिर्नकालागि मेलाको आयोजना गर्ने गरेको संघका सचिब तथा स्काइ सु इन्डस्ट्रिजका प्रबन्ध निर्देशक मनोजकुमार श्रेष्ठले बताए । उनले भने,‘ यदी सरकारले सहजरुपमा मेलागर्ने स्थानको निमार्ण गरिदिएको खण्डमा विदेशी उच्च ब्राण्डका सामानसंग नेपाली उत्पादनका सामानले २÷३ महिनामै पछाडि पार्ने छ ।’
पछिल्लो समयमा नेपाली बजारमा विदेशी उत्पादनका सामानभन्दापनि स्वदेशी उत्पादनका सामानको माग अत्याधिक हुने गरेको छ । माग अनुुसार सामान उपलव्ध गराउन नसक्नुको मुख्य कारण जनशक्तिको अभाव भएको समेत व्यवसायीहरुले बताएका छन् । सरकारले यो छाला जुत्ता तथा चप्पल कम्पनीमा दक्ष उपभोक्ताहरुको उत्पादन हुने तालिम तथा विद्यालयबाटै सो व्यवस्था गरेको खण्डमा हामी केही वर्षभित्रै नेपाली जुत्ताचप्पललाई विदेश निकासी गर्न सक्ने सदस्य गौतमले दाबी गरे । उनले भने,‘हामीलाई विदेशमा उत्पादन हुने जुत्ताचप्पलका फ्याक्ट्रिको भ्रमणमात्र गराउने हो भने त्यहाँ उत्पादन हुने जुत्ताचप्पल जस्ताको तस्तै नेपालमै उत्पादन गर्न सक्ने क्षमता हामी संग रहेको छ, तर सो अबसर नपाउदाँ अनुमानको भरमा नयाँ मोडल उत्पादन गर्ने गरेका छौ ।’ 

सदस्य गौतमका अनुसार सरकारले आफ्नो राष्ट्रियताकालागि स्कूलबाटै पोख्त बनाउनु पर्ने र सरकारी गैरसरकारी तथा नीजि कम्पनी, कार्यालयमा अनिबार्य रुपमा स्वदेशी उत्पादनकै सरसमान प्रयोग गर्नु पर्ने व्यवस्था लागु गर्ने हो भने नेपाली उत्पादनको राम्रो भविश्य हुने बताउछन् । गौतमले भने,‘यहाँ बाहिर स्वदेशी उत्पादनमा जोड दिने व्यवहारमा भने त्यो कार्यान्वयन नगर्ने भएकाले खोक्रो राष्ट्रियताको वकालत भन्दापनि व्यवहारमा स्वदेशी उत्पादनलाई ल्याउनुपर्नेमा व्यवसायीहरुको भनाई रहेको छ । 
नेपाली जुत्ता घर कम्पनीले गत बिहीबारदेखि माघ २० गतेसम्म सञ्चालन गरेको विग सेल मेलामा अन्य मेलाको भन्दा राम्रो उपभोक्ताहरुको आकर्षण बढेको छ । मेलामा स्पोर्टस, क्याजुअल, पार्टी सुज लगायत मोडलका जुत्ता राखिएका छन् । यिनै मोडलका चप्पल पनि मेलामा उपलब्ध छन । मेलामा महिला, पुरुष र बालबालिका सबैका लागि उपयुक्त जुत्ता–चप्पल किन्न सकिने व्यवस्था मिलाइएको छ । ग्राहकलाई २० देखि ७० प्रतिशतसम्म छुटमा जुत्ता–चप्पल बिक्री गरेको आयोजकले जनाएको छ ।
रक्सी र तासकालागि हजारौँ, पुस्तकका लागि १ रुपैयाँ पनि छैन
–रोशन कार्की
सिन्धुपाल्चोक, फुल्पिङकोट कल्लेरी–३ मा विसं २०२४ साल कात्तिक २८ गते पिता हिरालाल र माता अम्बिकाका कान्छा पुत्रका रुपमा चन्द्रप्रसाद न्यौपानेको जन्म भयो । जीवनको करिब करिब सबै वसन्तमा अन्य रमाइला पाटोलाई चटक्कै बिर्सिएर दर्जन कृतिका ठेली लेख्दैमा उमेरले नेटो काट्न लागेको उनलाई पत्तो नै भएन । नेपाली साहित्यलाई समृद्ध बनाउन केही गर्नु पर्छ भन्दै पसिना बगाएर कमाएको तलब एक रुपैयाँ पनि घरमा लगेनन् । गाउँकै विद्यालयमा शिक्षक भएर लाखौँ विद्यार्थीको भविष्य बनाउँदै र आफ्नो भविष्य साहित्यमा खोज्दै गर्दा उनले हरेक रात भोकै पनि कटाएका छन् । 
चौमासिक रुपमा आउने शिक्षकको मासिक तलब पाएपछि सबै रुपैयाँ बोकेर उनी आफ्नो घर जानुको साटो सिधै एककाँधे झोला बोकेर पैदल आउँथे चौतारा सदरमुकाम । अनि कमाएको रकम दिन्थे छापाखाना र कम्प्युटरलाई । खुला दिल भएका न्यौपानै लामो समयसम्म झुस्स दाह्री नकाटेर खाली समयमा विभिन्न रचना खाली कागज या टेपरेकर्डमा राख्ने गर्दथे । अनि रातका समय टुकी बालेर त्यसलाई उतार्थे कापीमा । 
दुःखी, रुग्ण र असन्तुष्ट प्राणीको छवि बोकेर कवि युगौँदेखि बाँचिरहेछ । अझ नेपाली सन्दर्भमा कवि भन्नासाथ मस्तिष्कमा एक काया टुप्लुक्क देखापर्छ झुस्स दाह्री र कठालोमा मयल जमेको कमिज धारण गरेको, भुक्क उठेको झोला भिरेको र अनुहारमा यति तनाव पोतिएको कि मानौँ सिंगै ब्रम्हान्डको पिर थाप्लोमा बोकेर हिँडिरहेको जस्तो । हो, ठिक त्यस्तै देखिन्थे चन्द्रप्रसाद न्यौपाने पनि । जुन समय मैले पहिलो पटक चौतारामा परिचय हुदाँ उनलाई यही रुपमा भेटेको थिएँ । तर उनको अनुहार पूरै दाह्रीले छोपेको थियो । अनुहार पत्ता लगाउनै हम्मेहम्मे पर्ने खालको तर उनको कमिज÷ सर्टको कलरमा भने मयलचाहिँ थिएन, सफा नै थिए न्यौपाने ।  
भानुभक्तले भोगेका भुक्तमान र देवकोटाले बेहोरेका वेदनालाई यथासम्भव किम्बदन्तीकरण गरियो र नेपाली समाजले कविलाई शिरदेखि पाउसम्म दुखैदुःखमा चुर्लुम्म डुबेको विम्बका रूपमा ग्रहण गरेको छ अन्य साहित्यका पुस्तक पढ्दा । अझ हरिभक्त कटवालको कष्टकर मृत्युपश्चात कवि दुःखी प्राणी हो भन्ने धारणाले बढी आधिकारिकता प्राप्त गरेको छ । 
सत्ता, समाज र घरपरिवार, सबै–सबै कविका सुखका वैरीका रूपमा दरिएर आएका छन । किनकी आफूले कमाएको रकम पनि कागजी कात्रोमा खर्च गरेका कारण । चन्द्रप्रसाद यस्ता कवि हुन्, आफूले कमाएको रकमले नपुगेर किताब प्रकाशनका लागि दाताको खोजीमा धेरै पटक भौँतारिएको मैले पाएको छु । उनी पनि धेरै ठाउँमा धाए । कतिले सहयोग गरे । कतिले चासो समेत नदिएको भनेर उनले धेरैपटक भनेका छन् । धेरै जुत्ता फटाए । धेरै दुःख पाए । सरकारी अड्डामा धाए । जानेमाने र छोटेबडे नेताकहाँ पनि धाए । तर, उनलाई कसैले फुट्या कौडी सहयोग गरेनन् । अन्तमा आफ्नो तलबले जति पुग्छ, त्यति नै छापाखानामा दिएर पुस्तक निकाले । अनि ठूलो पहाड फोडेझैँ लामो सास फेरेर भन्थे, ‘अब ३÷४ दिनमा मेरो पुस्तक बजारमा आउँछ ।’   

न्यौपानेका धर्मपत्नी होममाया न्यौपाने प्रकाशिका रहेको पुस्तकको मूल्य २ हजार १ सय रुपैयाँ राखे । चन्द्रयुगको टाइप र सेटिङ पनि महाकवि पुत्रीद्वय प्रतिमा र अर्चनाले गरेर ठूलो सहयोग पु¥याएको उनले भनेका थिए । पुस्तकमा चित्रहरु अमित घिमिरे, नारायण घले, सूर्यनारायण श्रेष्ठ, श्याम रञ्जित, युवराज न्यौपाने र श्याम रञ्जितले कोरेका थिए । यसरी सिन्धुको साहित्यिक इतिहासको सय वर्षे अनुपम बन्न पुगेको यस पुस्तकलाई क्लासिक प्रिन्टिङ सर्भिसले छापेको हो ।
चन्द्रयुगलाई १८ वर्ष लगाएर महाकविले तयार पारे । जब वसन्त ऋतु आउँछ, तब काग, कागकै रुपमा र कोइली, कोइलीकै रुपमा पहिचान प्रदर्शन गरेर आप््mनो वास्तविकता मञ्चन गर्नेछ भने झैँ उनले पनि यस समाजमा रहेका अध्ययन नभएका र लेख्न नआउने ठूलै साहित्यकारलाई समेत चुनौति दिए चन्द्रयुग प्रकाशन गरेर  ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले समेत यो कृति साहित्यमा चमत्कार भएको बताएका थिए । एक धार्नी तौल भएको चन्द्रयुगका एक–एक ठेली एक–एक हातले सजिलै उचालिदिएर विमोचन गरिदिए । चन्द्रप्रसादलाई प्रधानमन्त्रीले सहजै उचाल्न सक्दैनन् कि जस्तो लागिरहेको थियो रे ! एकहातले उचाल्नसमेत यति श्रम पर्ने यो किताब पढ्न कति श्रम प¥यो होला भनेर न्यौपानेले कुरै कुरामा बताए । चन्द्रयुगको मोटोपनको रहस्य खोतल्न, लेख्दै जाँदा पत्तै नपाई यो यति मोटो भएछ, खाँदै जाँदा पत्तै नपाई कोही मोटाएजस्तै यो किताब पनि लेख्दै जाँदा मोटाए छ रे, उनले भने । २०४७ सालदेखि कविता लेख्न थालेका चन्द्रप्रसादले दुई दर्जन वर्षभन्दा कम अवधिमा तीन दर्जनभन्दा बढी किताब छपाइसके । आठवटा त महाकाव्य छन उनका । कथा र निबन्ध–संग्रहका साथै इराक–अमेरिका युद्धमा आधारित जासुसी उपन्यास युद्धको नाइके पनि प्रकाशित छ । 
कविले दुःख पाउँछ भन्ने आम मान्यता मुताविक त उनी घनघोर दुखिया प्राणी हुन आर्थिक रुपमा । उनले पुस्तक छपाउन कसलाई हारगुहार गरेनन् भन्ने लेखाजोखा नै छैन । उनले कुरै कुरामा भन्ने गर्थे ‘यहाँ रक्सी, तास खेल्नलाई हजारौँ रुपैयाँ दिँदा रै’छन्, तर पुस्तक छपाउन सय रुपैयाँ सहयोग गर्नुहोस् न भन्दा कुरै नसुन्दा रहेछन्’ त्यसैले उनलाई मैले दुःखी न्यौपाने भनेको । उनको किताबबाट न घरखर्च चलेको छ न उनले कमाएको तलबले घरमा नूनतेल नै किन्न प्रयोग गरे । घरपरिवारको कुरो गर्दा उनले भने, ‘दुःख त छ नि । भनेको बेला एकजोर लुगा हाल्न सकिन्न, मीठो–मसिनो खान सकिन्न, छोराछोरीका चाहना पूरा गर्न पनि सकिन्न ।’ गाउँमा मास्टर कान्छोका नाउँले बोलाइन्छन् । फुल्पिङकोटवासी गद्गद् हुँदै मास्टर कान्छोले लेख्यो रे, १४ अञ्चल, ७५ जिल्लामा नाम पु¥यायो रे भनेर भन्न थाले भनेर खुशी भएका छन् । दाम कमाउन नसकेपनि नाम कमाए भनेर । 
मीठो–मसिनो नखाएर, छोराछोरीका चाहना मारेर, गतिलो लुगा पनि नकिनेर सबै खर्च महाकाव्य लेख्न र छाप्न लगाए उनले । सदरमुकाम चौतारामा तलब लिन गएको मान्छे घर फर्किँदा झोलाभरि किताब बोकेर फर्किछन् र खल्तीबाट यौटा सयको नोट झिकेर पत्नीको  हातमा राखिँदिँदै भन्छन रे, ‘बचेको यत्ति हो ।’
महिनाको तलब किताब छाप्न खर्च गर्छन उनी । सुरुसुरुमा त घरपरिवारले काँच्चै खान खोज्थ्यो रे । तर यो मान्छेसँग केही लाग्दैन भन्ने बुझेपछि परिवार मौन रहन थालेका हुन रे । उनले जाँड–रक्सीमा खर्च ग¥या होइन, राम्रै काममा खर्च ग¥या हो भनेर चित्त बुझाएका छन रे परिवारले भनेर उनी भन्छन् । किताब प्रकाशकको खोजीमा उनी धेरै ठाउँमा धाए । धेरै जुत्ता फटाए । धेरै दुःख पाए । सरकारी अड्डामा धाए । जानेमाने र छोटेबडे नेताकहाँ धाए । तर, कसैले फुट्या कौडी सहयोग गरेनन् । सहयोग त परको कुरो, नेताहरूबाट उनले प्रोत्साहनका दुई शब्द पनि भेटाएनन् । 
उनले २०४७ सालमा लेखेको कवितालाई लिएर सिन्धुपाल्चोकका तत्कालीन सिडिओले बोलाएर झार्नुसम्म झाँको झारे, यस्तो वाहियात नलेख्नू, नत्र कारबाहीमा पर्लाउ भनेर चेतावनी दिए । तै कारबाहीमा चाहिँ परिनँ भनेर अतितलाई पनि सम्झना गरे चन्द्रप्रसादले संकटकालमा रेकर्डरले झन्डै बित्यास पारेको उनले सम्झिए । संकटकालताका एक दिन नलिन चोकमा आर्मीको चेकिङमा पर्दा उनको गोजीबाट रेकर्डर निक्ल्यो । को होस ? काँ को होस ? कताबाट आइस ? कहाँ जान लागिस् ? किन जान लागिस् ? रेकर्डर किन बोकिस ? माओवादी होस कि माओवादीको जासुस होस तँ ? जस्ता केरकार गरेकाले सेनाले मार्छ कि जस्तो लागेको सुनाए । दुःखैदुःखका साथ चन्द्रयुग निकालेको सुनाए उनले । ‘सकेसम्म चन्द्रयुग भाग–२ निकाल्ने तयारीमा जुटेको छु,’ उनले भने, ‘अब सवैको सहयोग र साथमा दोस्रो भाग निकाल्छु ।’ उनको सपना पूरा होस्, हामी खुला दिलले साथ दिउँ यस्ता यशस्वी कविलाई ।   
        

Thursday, January 30, 2014


नितिगत कमजोरीले गर्दा उद्यमीको क्षमता विकास भएन 

नेत्रप्रसाद पाठक
संयोजक, मेला समिति 
नेपाल घरेलु तथा साना उद्योग महासंघ

घरेलु तथा साना उद्योगको विकास विना मुलुकको अर्थतन्त्र बलियो हुन सक्दैन् । सरकारले उद्योगी व्यवसायीका लागि तयार पारेको ऐन तथा नियममा त्रुटि रहेका कारण तिव्र रुपमा उद्योगको बिकास हुन सकेको छैन् । उद्यमीको विकासकालागि महासंघले विभिन्न नितिगत रुपमा लविङग गर्दै आएको छ । तर, पनि तिव्र रुपमा बिकास भएको पाईदैन् । यसै परिवेशलाई ध्यान दिदै हामीहरुले मेला आयोजना गरेका हौ । 
रुपन्देही जिल्लाको आनन्दवन गाविसमा २०२२ सालमा जन्मनुभएका नेत्रप्रसाद पाठक नेपाल घरेलु तथा साना उद्योग महासंघको केन्द्रीय सदस्य हुनुहुन्छ । पाठक रोडाढुंगा, प्रशोधन उद्योग, पाठक इन्टरनेशनल ट्रेडिङ, पाठक प्रोडक्ट प्रालि लगायतका व्यवसाय संञ्चालन गर्दै आउनुभएको छ । उद्योग व्यवसाय २०४६ सालदेखी संञ्चालन गर्दै आउनुभएका सदस्य पाठठ घरेलु तथा साना उद्योगीको हितमा काम गर्दै आउनुभएको छ । उद्योगीको रुपमा भन्दापनि उहाँ विभिन्न सामाजिक सेवामा सकृय रुपमा लाग्नु भएको छ । उनी बढीमात्रामा सामाजिक उत्तरदायित्व बहन गर्न रुचाउने गरेका छन् । घरेलु महासंघले आगामी २३ देखी आयोजना  गर्न १२ औं राष्ट्रिय औद्योगिक मेलाको सभापति समेत रहनु भएको छ । मेला सम्बन्धि केन्द्रीत भएर कमाण्डर पोष्ट दैनिकलागि रोशन कार्कीले  गरेको कुराकानीको संपादित अंश ः 

घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुहरुको बजार विस्तार गर्न महासंघले के गरिरहेको छ ? 

घरेलु तथा साना उद्योगवाट उत्पादित सामानको बजार विस्तारका सन्दर्भमा महासंघले मुलत ः तीनवटा कार्यक्रमलाई प्राथमिकता दिने गरेको छ । पहिलो जिल्ला, क्षेत्र र राष्ट्रिय तहमा औद्योगिक व्यापार मेला र प्रदर्शनी मार्फत बजार सञ्जाल निर्माण गर्ने र विक्रेता र क्रेता तथा उत्पादक र विक्रेता बिचको अन्तरसम्बन्ध विस्तार गर्ने काम हुँदै आएको छ । यसैको पछिल्लो श्रृंखला १२ औं राष्ट्रिय औद्योगिक व्यापार मेला आगामी २३ देखि २७ माघसम्म राजधानीको भृकुटीमण्डपको प्रर्दशनी हलमा हुँदै छ । जसमा ५५ भन्दा बढी जिल्लाका उद्योगीहरु सहभागी हुँदै छन । दोस्रो कोशेलीघरको माध्यामबाट जिल्ला जिल्लाका उद्योगीहरुको उत्पादनलाई बजारीकरण गर्ने लक्ष्यकासाथ कोशेलीघरहरु स्थापनाको क्रम सुरु गरिएको छ । जसअन्र्तगत अहिलेसम्म १६ वटा जिल्लामा कोशेलीघर स्थापना भईसकेका छन । महासंघले आफ्नै पहलमा केन्द्रीय निर्यात गृह निर्माण गर्ने तर्फ प्रारम्भिक काम पनि अघि बढाईसकेको छ । 

मेलाको मुख्य उदेश्य के हो ? 
नेपालभरका उद्यमीले उत्पादन गरेका वस्तुको बजारीकण गर्ने उदेश्यका साथ मेला आयोजना गरीएको हो । यस पटकको मेलालाई विगतका वर्षको भन्दा पृथक रुपमा अगाडी लैजाने हाम्रो योजना छ । उद्यमीले उत्पादन गरेका सामानलाई एक्कै स्थानमा जम्मा गरेर उपभोक्तालाई लिन सजिलो बनाउनका लागि मेला आयोजना गरेका छौ । यसका अतिरिक्त सामानको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सामानको बजारीकरण गर्ने पनि हो । मेलामा ३ लाखले अवलोकन गर्ने र १० करोड रुपैयाँको आर्थिक कारोवार गर्ने लक्ष्य हामीले लिएका छौ । 

मेलामा कस्ता उद्यमीले सहभागिता जनाउने छन् ?
घरेलु तथा लघु उद्यमीको धेरै संख्यामा सहभागिता हुने छ । मेलामा ३ सय ४० स्टल रहनेछन् । जसमध्ये महासंघले यसपटकको मेलामा उद्यमीको सहभागितालाईनै प्रमुख बनाएको छ । हामीले उपत्यका बाहिरवाट आउने उद्यमीलाई निःशुल्क स्टलका अतिरिक्त सवारी साधन र आवसको पनि व्यवस्था मिलाएका छौ । महासंघको संगठनात्मक अवस्थाको कुरा गर्दा अहिलेसम्म ७४ वटा जिल्लामा शाखा विस्तार भएका छन । अहिलेसम्म ३५ हजार उद्यमीले महासंघको सदस्यता लिएको आँकडा देखिन्छ । त्यसैगरी, महासंघ अन्तर्गत महिला उद्यमीहरुको छुट्टै केन्द्रीय महिला उद्यमी समिति कार्यरत छ । जसअन्तर्गत ५४ जिल्लामा जिल्ला महिला उद्यमी समित रहेका छन् र त्यसमा आबद्ध झन्डै ८ हजार महिला उद्यमीहरु संगठित छन् । यसका अतिरिक्त महासंघ अन्तर्गत १६ वटा वस्तुगत उद्योग संघहरु रहेका छन् । यसरी हेर्दा निजी क्षेत्रमा महासंघ उद्योग वाणिज्य महासंघपछिको दोस्रो ठूलो सञ्जाल हो । 

अहिलेका मूल समस्याहरु के हुन् ?
लघु उद्यम, घरेलु तथा साना उद्योग परम्परागत सीप, स्थानीय सीप र कच्चापदार्थ तथा पारिवारिक लगानीमा सञ्चालन हुने उद्योगहरु हुन् । यिनको मूल समस्या भन्नु नै उद्योगमा संलग्न व्यक्तिहरुको व्यवस्थापकीय तथा प्राविधिक क्षमता, थप लागानीका लागि वित्तीय पहुँचको समस्या, त्यसैगरी, उपयुक्त र उन्नत प्रविधिको ज्ञान र उपयुक्त माध्यमद्वारा बजार पहुँचको समस्या प्रमुख हुन् । यी समस्याको समाधान उपयुक्त नीतिगत प्रोत्साहन र प्रवद्र्धनात्मक कार्यक्रमका माध्यमबाट मात्र सम्भव छ । तर, लामो समयदेखि यस क्षेत्रमा राज्यको उपयुक्त ध्यान पुग्न नसकेको कारणले गर्दा यस क्षेत्रका समस्या सम्बोधन हुन नसकिरहेको अवस्था छ । 
उद्यमीहरुको क्षमता विस्तारकालागि के कस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ ? 
क्षमता विकासको कुरा गर्दा लघु, घरेलु तथा साना उद्योगको क्षेत्रमा मालिक आफै कामदार हुने, आफै व्यवस्थापक हुने र आफै बजार प्रवद्र्धक हुने अवस्था विद्यमान छ । यो पनि परम्पराकै उपज हो । त्यसैले यस्ता उद्योगको प्रवद्र्धन र विकासका लागि आवस्यक हुने सबै खाले जनशक्ति उत्पादन गर्नु आजको आवस्यकक्ता छ । यसका लागि महासंघले विभिन्न शैक्षिक प्रतिष्ठान र तालिम प्रदायक संस्थाहरुसँग समझदारी त विकास गरेको छ । तर, यसको प्रभावकारी कार्यान्वयन हुन नसकिरहेको अवस्था छ । हाम्रो मुलुकमा एकातिर चरण शैक्षिक बेरोजगारी छ । अर्कोतर्फ ठुलो संस्थामा सञ्चालित लघु, घरेलु तथा साना उद्योगहरु उपयुक्त जनशत्तिको अभावमा पिडित बनेका छन । त्यसैले महासंघले यो समस्या समाधान गर्न एउटा एकिकृति दिृष्टकोण र कार्यक्रम ल्याउने सन्दर्भमा पहल र पयत्न गरिरहेको त छ । तर, निती निर्माताहरुको चासोमा यो विषय पुग्न नसकेको हुँदा स्थिती यथावत छ । 
समस्या समाधानकालागि कस्तो पहल भएको छ ?
महासंघ लघु घरेलु तथा साना उद्यमीहरुको छाता संगठन हो । महासंघले मूलत ः यस्ता उद्यमीहरुको प्रवद्र्धन र विकासका लागि राज्यलाई उपयुक्त नीति निर्माणमा सल्लाह र सहयोग पु¥याउँदै आएको छ । यसको पछिल्लो शृंखला भनेको औद्योगिक नीति २०६७ को निर्माण र यस अनुरुपका औद्योगिक व्यवसाय ऐन र नियमावलीको निर्माण हो । महासंघको विशेष सहभागीतामा पारित औद्योगिक नीति अन्र्तगत लघु, घरेलु तथा साना उद्योगीलाई छुट्टै विषेस नितीगत विशेषता गरेको छ । ति व्यवस्था अनुरुप औद्योगिक व्यवसाय ऐन र नियमावली बन्नुपर्छ भन्ने महासंघको अवधारणा हो । अब हाल रहेको मस्यौदालाई पूर्नलेखन गरि एउटा पूर्ण औद्योगिक व्यवसाय ऐन बनाउन आवस्यक छ । 

कस्तो औद्योगिक निती आवश्यक छ ? 
सरकारले औद्योगिक निति निर्माण गर्न अगाडी सरोकारवाला निकायसँग व्यापक रुपमा परामर्श र सहकार्य गर्नुपर्छ । उद्योगलाई प्रोत्साहित गर्ने खालको निति हुनुपर्छ । जुन उद्योग निरुसाहीत भएर विस्थापन गर्ने खालको हुन हुदैन् । उद्योग वातावरणमैत्रि बनाउन विभिन्न निति तर्जमा गरेपनि अनुगमन र मुल्याकनको अभाबका कारण  पछिल्लो समय उद्योग पुनस्थापनको नाममा मापदण्ड लागु गरी उद्योगलाई विस्थापन गर्ने काय हुदै आएको छ । यस्तो कार्य तत्काल रोकी पुनस्थापन गर्ने स्थान राज्यले व्यवस्थापन गर्ने निति ल्याउन जरुरी छ । 


महासंघ समस्या समाधान गर्न व्यवहारिक रुपमा कस्तो पहल गर्दै आएको छ ?
मुलुकमा सञ्चालनमा रहेका कुल उद्योग मध्ये ६० प्रतिशत भन्दा बढी उद्योग रुग्ण अवस्थामा छन् । त्यसको विकाशका लागि राज्यले कुनै पहल गरेको पाइदैन् । आर्थिक वर्ष २०६६÷०६७ सालसम्ममा करिब २ लाख ३० हजार लघु घरेलु तथा साना उद्योग दर्ता भएकामा आव २०६७÷०६८ मा करिब एक लाख १० हजार उद्योगहरुले मात्रै नविकरण गरे । यसबाट ठुलो संख्यामा उद्योग बन्द भएको अवस्था देखिन्छ । यसैगरि उद्योग बन्द हुनुका पछाडी थुप्रै कारणहरु छन । ति कारणहरुको खोजविन गरि समस्या समाधान गर्न सरोकारवाला सबैको चासोको विषय हुनुपर्दछ । यसकालागि महासंघले घरेलु तथा साना उद्योग विभागसँग मिलेर जिल्ला तहमा उद्योग नविकरण र दर्ता गर्दा परामर्स सेवा दिने कार्यको थालनी गरेको छ । यसबाट उद्योगीहरु लाभावित् हुने एउटा पक्ष हो भने अर्कोतर्फ यसले उद्योगको आयु बढाउन सहयोग पु¥याउँछ । यसकालागि महासंघले केन्द्रीय बैंक र वाणिज्य तथा विकास बैंकहरुसँग उपयुक्त कर्जा प्रवाहका लागि पहल गर्दै आएको छ । 

किन महासंघले वैकल्पीक उर्जासँग मेला आयोजना गर्न सहकार्य गरेको हो ? 
मुलुकमा दैनिक रुपमा हुने लोडसेडिङबाट घरेलु तथा साना उद्योगहरु धरासायी वन्दै आएका छन् । उद्योगिहरुले कसरी उद्योग संञ्चालन नियमित रुपमा गर्न सक्छन भनेर हामीले वैकल्पीक उर्जासँग सहकार्य गर्न आवश्यकता देखियो । मेलामा वैकल्पीक उर्जाको वारेमा उद्यमीलाई जानकारी गराउन सकेमा उद्योगहरु नियमित रुपमा संञ्चालन हुने र उद्यमीले गरेको लगानि खेर जादैनन् । पछिल्लो समयमा उद्यमीलाई उर्जाले गरेको सहयोगका कारण पनि एकसाथ अगाडी बढेका हौ ।  
अन्त्यमा 
हामीले मेला आयोजना गरेका छौ । यस मेलामा उद्योगी व्यवसायीको सहभागिताको साथै उपभोक्तालाई वस्तुको जानकारी राख्ने मौकाको रुपमा सदुपयोग गर्नुहुन अनुरोध गर्दछु । प्रर्दशनीलाई थप प्रभाबकारी बनाउन हामीले सवैको सहयोगको अपेक्षा राखेका छौ । प्रर्दशनीका अवसरमा विभिन्न राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरुद्वारा सास्कृतिक कार्यक्रम पनि आयोजना गरेका छौ । उद्यमीको हितका लागि सञ्चार माध्यमले पु¥याएको योगदान महत्वपुर्ण रहने छ ।  

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...