Friday, August 5, 2011


तातोपानी भन्सारमा ठेकेदारी

 बजारमा बिल नपाइनु तथा नक्कली बिलको धन्दा मौलाउनुमा भन्सारमा भित्र्याउँदा सामानको मूल्य र परिमाण कम देखाउने -न्यून बिजकीकरण र गलत घोषणा) तथा ठेकेदारी प्रवृत्ति प्रमुख कारक रहेको छ । न्यून बिजकीकरण र गलत घोषणा नियन्त्रण नभएसम्म बजारको कारोबार पारदर्शी नहुने राजस्वसम्बद्ध अधिकारी बताउँछन् ।
भन्सार बिन्दुमा न्यून बिजकीकरण र गलत घोषणा गरी भित्र्याएको सामानको वास्तविक बिल काट्दा मुनाफा बढी देखिन्छ । यसैले यस्ता आयातकर्ताबाट सामान खरिद गर्ने व्यापारीले नै वास्तविक बिल पाउन सक्तैनन् । व्यापारीले नै वास्तविक बिल नपाउने अवस्थामा उपभोक्ताले बिल पाउने सम्भावना हुँदैन । 'यसैले बजारमा बिल नदिने र दिए पनि नक्कली बिल दिने प्रवृत्ति मौलाएको छ,' अर्थ मन्त्रालय सम्बद्ध एक सहसचिवले भने ।   
भन्सारमा हुने सामानको गलत घोषणा व्यवसायलाई पारदर्शी बनाई कर असुली गर्न सबैभन्दा ठूलो चुनौती बनेको राजस्वसम्बद्ध अधिकारी बताउँछन् । त्यसमा पनि तातोपानी नाकामा जारी  ठेकेदारीमार्फत सामान आयात गर्ने प्रवृत्तिले बजारभरि कर छली मौलाएको तिनको भनाइ छ । विदेशबाट ल्याएको सामान मालधनी वा उसको एजेन्टले भन्सारमा राजस्व तिरेपछि मुलुकमा भित्रिन्छन् । तर तातोपानी नाकामा यस्तो वैध अभ्यास सुरु हुन बाँकी छ । यहाँ वास्तविक मालधनीले भन्सार जाँचपासको लागि खडा गरिएका 'नक्कली' आयातकर्तामार्फत सामान भित्र्याउँछन् ।   
सम्बद्ध व्यवसायीका अनुसार तातोपानीबाट सामान भित्र्याउने व्यवसायीले पहिले हुन्डीमार्फत पैसा चिन लैजान्छन् । गोन्जाउ र यिउ सहरमा आवश्यक सामान किनमेल गरी प्याकिङ गराएर र्फकेपछि व्यवसायी काठमाडौंमा बसेर उक्त सामान कम मूल्यमा ल्याइदिनेको खोजी गर्छन् । 'घटाघटमा सबैभन्दा थोरै मोलमा ल्याइदिनेसँग सम्झौता भएपछि सामान बराबरको ग्यारेन्टी राखेर भित्र्याउने प्रक्रिया सुरु हुन्छ,' ती व्यवसायीले भने ।
यसरी कम मोलमा सामान काठमाडौं ल्याइदिन सकार्नेले आफ्नो र्फमको नाममा चीनका विभिन्न र्फमसँग खरिद गरेको कागजपत्र बनाई सामान भित्र्याउँछ । 'कागजपत्रमा उल्लिखित एकाधमात्र वास्तविक आयातकर्ता हुन्छन्,' सम्बद्ध व्यवसायीले भने, 'बाँकी सबै ठेकेदार ढुवानीकर्ता मात्र हुन् ।' काठमाडौं वा तातोपानीमा बसेर बनाइने चिनियाँ कम्पनीका अधिकांश बिल काल्पनिक हुने गरेको कुरा भन्सारलाई पनि थाहा छ । यस्ता बिलमा सामानको मूल्य न्यूनतम कायम गरिएको हुन्छ । काठमाडौंमा नाम चलेका अधिकांश डिपार्टमेन्टल स्टोर पनि यसै तरिकाद्वारा सामान भित्र्याई व्यापार गरिरहेका छन् । यस्तै व्यापारद्वारा केहीले डिपार्टमेन्टल स्टोरको चेन खडा गरिसकेका छन् ।
ठेकेदारहरूले एउटा र्फम खडा गरेर भन्सारमा केही राजस्व तिरेर सामान छुटाएपछि उक्त र्फमबाट कारोबार बन्द गरी अर्को र्फमबाट सुरु गर्ने -ननफाइलर) प्रवृत्ति कायम रहेकाले आयातित सामान भित्रिएपछि करको दायरामै नपर्ने अवस्था छ । तैपनि तातोपानीमा ननफाइलरको संख्या घट्दै गएको दाबी भन्सार विभागको छ ।
तुलनात्मक रूपमा कम कर छल्ने वास्तविक व्यवसायीले सामान भित्र्याउन खडा गरिएको व्यवसायीसँग खरिद गरेको देखाई केही कर तिर्छन् । तर कतिपयले चाहिँ ननफाइलरको सहयोगमा सामान भित्र्याई आयातित वस्तुको कारोबारमा राजस्व तिर्दैनन । घटाघटमा पहिलो हुने ठेकेदारमार्फत आयात हुँदा वास्तविक आयातकर्ताको कारोबार आन्तरिक राजस्वको निगरानीबाट बच्न सजिलो हुन्छ । यसबाट भ्याटका साथै आयकर छली भइरहेको छ ।
तातोपानी नाकाको व्यापारमा रहेको विचलन केही कम भए पनि यसलाई पूरै ठीक पार्न प्रतीतपत्रमार्फत व्यापार गर्न बाध्य गराउनुपर्ने अर्थ सम्बद्ध कर्मचारी बताउँछन् । 'बरु सुरुवातमा प्रतीतपत्रमार्फत व्यापार गर्नेलाई सहुलियत दिनुपर्छ,' उनी भन्छन्, 'अनिमात्र भन्सार जाँचपासमा रहेको यस्तो विकृति अन्त्य हुन्छ ।' भन्सार विभागका महानिर्देशक नवराज भण्डारी पनि तातोपानीबाट हुने आयात प्रतीतपत्रमार्फत गर्दा विकृति नियन्त्रण हुने बताउँछन् । पछिल्ला वर्षहरूमा तातोपानी नाकामा सुधारका केही प्रयास भएका छन् । वस्तु विनिमय -बार्टर) बाट आयातनिर्यातको काम बन्द भइसकेको छ । वस्तु विनिमय प्रणालीमा कुनै सामान निर्यात भएपछि सोही रकम बराबरको आयात गर्न पाइन्थ्यो । तर निर्यात घट्ने र आयात बढ्ने क्रमसँगै वस्तु नलगे पनि  कागजमा निर्यात देखाउने प्रवृत्ति मौलाउँदै गएको थियो ।   
विगतमा चीनबाट भित्रिएका सामान तातोपानी भन्सारमा रोक्नसमेत पर्दैनथ्यो । बजारमा पुर्‍याएपछि कागजपत्र मिलाएर भन्सार जाँचपास गर्ने 'सुविधा' थियो । २०६० सालदेखि भन्सारमै रोकेर जाँचपास गराउन बाध्य बनाइएको थियो । मूल्यांकनका लागि सन्दर्भ पुस्तिका पनि बनाइयो ।
माओवादी नेतृत्वमा सरकार बनेपछि अर्थमन्त्री बाबुराम भट्टराईले भन्सार सुधारमा ठोस पहल गरेपछि दस्तुरी खारेजी गर्नुका साथै तातोपानीबाट भित्रिने सामानको मूल्यांकनमा कडाइ गरिएको थियो । त्यसअघि प्रतिगाडी ६ हजार रुपैयाँ दस्तुरीका साथै जाँचकीले छुट्टै प्रतिगाडी २ हजार रुपैयाँ संकलन गरी कर्मचारीमा भागबण्डा हुन्थ्यो । तातोपानीबाट त्यतिबेला दैनिक ७०/८० गाडी सामान भित्रिन्थ्यो । यसबाहेक कर्मचारीले सामानको मूल्यांकन र सामानको परिमाण घटाउँदा (गतल घोषणा) बापत ठूलो रकम हात पार्थे । दस्तुरी अहिले पनि बन्द छ । कतिपय सामानको मूल्यांकन दोब्बरसम्म वृद्धि गरिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०५९ मा कारबाही गरेको अकूत सम्पत्ति कमाउने २२ जना राजस्वका कर्मचारीमा अधिकांश तातोपानी भन्सारमा बसिसकेका थिए ।
गत फागुनदेखि केन्द्रीय बैंकले तातोपानीमा उपलब्ध उधारो व्यापारको सुविधा कटौती गरेको छ । तातोपानीमा परम्पराको नाममा उधारोमा सामान ल्याई ९० दिनभित्र रकम पठाए हुने सुविधा  दिइएको थियो । तर व्यापारीहरूले हुन्डीमार्फत पैसा पठाएर सामान खरिद गर्ने व्यवसायीले उधारो भन्दै सामान भित्र्याउँथे । उक्त सामानबापत पैसा पठाउने विदेशी मुद्राचाहिँ सीमावर्ती क्षेत्रका चिनियाँ व्यापारीसँग हुने नेपाली मुद्रा साट्न प्रयोग गर्थे । उधारो व्यापारमा एकपटक सामान आयात गर्दा दुईपटक पैसा जान्थ्यो- पहिलोचोटि हुन्डी र दोस्रोपटक डलर ।

पछिल्लो समय मूल्यांकन र सामानको भौतिक निरीक्षणमा थप कडाइ गरिएको तातोपानीका प्रमुख भन्सार अधिकृत निर्मलहरि अधिकारीले बताए । कसैले घोषणा गरेको मूल्यभन्दा बढी मूल्यमा अघि नै  सामान जाँचपास भएको भए कम मूल्यलाई भन्सारले मान्यता दिन छाडेको छ । 'यसरी मूल्यांकन बढाउँदा पुसमा ३० लाख रुपैयाँ थप राजस्व संकलन भयो,' उनले भने । यस्तै भौतिक निरीक्षणका क्रममा व्यवसायीले घोषणा गरेभन्दा बढी परिमाण वा फरक गुणस्तरका सामान भेटिएमा भन्सार ऐनअनुसार जरिवाना गराउन थालिएको छ । यसबाट राजस्वमा १ करोड ६० लाख रुपैयाँ थपिएको छ । यसअघि गलत घोषणा गरेको फेला परे पनि जरिवाना नगरी थप राजस्वमात्र तिराउने चलन थियो । सामानको भौतिक परीक्षणमा अधिकृत तहका कर्मचारी परिचालन गरी कडाइ गरिएको उनले बताए ।        
तर जति प्रयास गरे पनि एलसीमार्फत व्यापार नहुँदा विचलन केही हदसम्म मात्र नियन्त्रण हुने अर्थसम्बद्ध अधिकारी बताउँछन् । चीनका सामान अरू नाकाबाट आयात हुँदा एलसीमार्फत हुने गरेको औल्याउँदै ती अधिकारीले तातोपानीमा परम्पराको नाममा ड्राफ्ट र टीटीलाई निरन्तरता दिन नहुने जिकिर गरे । 'तातोपानी नाका सरकारी मान्यताप्राप्त अवैध व्यापारको नाका हो,' तिनले भने ।      

Thursday, August 4, 2011


रक्तचन्दनमा माओवादी, सैनिक र भन्सार                  कर्मचारीको संलग्नता 

संगठित रुपमा रक्तचन्दनको अवैध कारोबार सुरु भए पछि माओवादीका साथै सैनिक अधिकृत र भन्सार कर्मचारीको पनि संलग्नता खुलासा भएको छ । माओवादीभित्र  रक्तचन्दनको कारोबारमा संलग्नता रहेको आरोपप्रत्यारोप केन्द्रीय नेतृत्वसम्म पुगे पछि यसबारे छानविन समितिनै बनेको छ । रक्तचन्दन ओसारपसारमा सघाएको ठहर्‍याई नेपाली सेनाले एक प्रमुख सेनानीलाई कारबाही गरिसकेको छ । भन्सारबाटै रक्तचन्दन पास गराएको फेला परे पछि तातोपानी भन्सारका एक खरिदार र कार्यालय सहयोगीमाथि कारबाहीको प्रक्रिया सुरु गरिएको छ ।
माओवादीका तर्फबाट आवास तथा भौतिक योजना राज्यमन्त्री बनेकी देवी खड्काले सूचना तथा सञ्चार मन्त्री अग्नी सापकोटा रक्तचन्दनको कारोबारमा संलग्न भएको आरोप लगाउदै केन्द्रीय समितिमा उजुरी गरे पछि अमिक शेरचनको संयोजकत्वमा छानविन समिति गठन भएको थियो ।

'रक्तचन्दनको कारोबारमा जस्तो मुनाफा अरु व्यवसायमा नहोला,' यसको कारोबारमा धेरैथरिको संलग्नता बारे अञ्चल प्रहरी कार्यालय, लुम्बिनीका एसएसपी प्रकाश अर्यालले भने । पक्राउ परेका रक्तचन्दन कारोबारीका अनुसार दक्षिण भारतबाट नेपालमा ल्याउूदा एक किलो रक्तचन्दनको मोल करिब ३ हजार रुपैयाू पर्छ । सीमापारी चीनमा नौ हजार रुपैयाू किलोमा हाताहात बिक्री हुन्छ ।

रक्तचन्दन चीन पुर्‍याउन सघाएको फेला परे पछि नेपाली सेनाले धुन्चे ब्यारेकका गणपति रामजी थापालाई 'कोर्ट मार्शल' को तयारी गरेको छ । 'कोर्ट अफ इन्क्वायरी' ले संलग्नता पुष्टी गरे पछि उनलाई मुख्यालय झिकाई कोर्ट मार्शलको प्रक्रिया सुरु गरिएको स्रोतले जनाएको छ । तातोपानी भन्सारबाट रक्तचन्दन पास गराएकोमा खरिदार भवानी खनाल र कार्यालय सहयोगी रामहरी कार्की शंकाको घेरामा परेका छन् । दुवैमाथि कारबाहीको प्रक्रिया सुरु गरिएको छ । 'छानविन जारी रहेकाले अहिले केही भन्न मिल्ने अवस्था छैन,' भन्सार विभागका महानिर्देशक टंकमणी शर्माले भने । 

भक्तपुर पुरानो ठिमीका नेत्रबहादुर श्रेष्ठ अपरहण अनुसन्धानको क्रममा रक्तचन्दनको कारोबारमा  माओवादीको संलग्नताका साथै रकमलाई लिएर तिनीहरुबीच उत्पन्न विवादको थप खुलासा भएको छ । साउन १ गते बेलायतबाट आशिष श्रेष्ठले भाई नेत्र अपहरणमा परेको अपराध महाशाखामा जानकारी गराए पछि प्रहरी सक्रिय भएको थियो । 'अपहरण गरेर १ करोड रुपैंया मागिरहेको सूचना पाइयो' अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने 'अनुसन्धानमा रक्तचन्दन लुकाएर पैसा मागेका कारण अर्को समुहले अपहरण गरेको खुलासा भयो ।' प्रहरीले अपहरणमा संलग्न कृष्ण श्रेष्ठलाई पक्राउ गरेपछि रक्तचन्दनको तस्करी खुलासा भएको थियो । एक बर्ष देखि रक्तचन्दनको ओसारपसारमा संलग्न भएको बयान उनले दिएका छन् । महिना अघि एक पटक रक्तचन्दन चीन पठाइसकेको बताएका छन् । महाशाखाले अपहरित र अपहरणमा संलग्न दुवैलाई नियन्त्रणमा लिएर सार्वजनिक मुद्दा दायर गरेको छ । अपहरणकारीले सल्लाह गर्न मात्र नेत्रलाई राखेको बयान दिएका थिए ।   नेत्रले पनि अपहरणमा परेको इन्कार गरे पछि उनीमाथि पनि मुद्दा चलाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नेत्रलाई अपहरण गरेर पुतलीसडकको तिरुपती होटलमा राखेका थिए । प्रहरीले गुमराहमा राखेको भन्दै अपहरणमा संलग्न कृष्ण श्रेष्ठ र अपहरीत नेत्रलाई सार्वजानिक मुद्धा दायर गरेको हो ।

प्रहरीले झण्डै एक करोड मूल्य बराबरको रक्तचन्दन सिन्धुपाल्चोकको चौतारामा बरामद गरेपछि कारोबारीबीच विवाद उत्पन्न भएको थियो । असार १४ गते कृष्णलगायत दीपक सापकोटा, मीनबहादुर श्रेष्ठ, जीत श्रेष्ठ र कमल थापाको समूहले बुटवलका दिनेश यादबबाट ४ हजार ८ सय किलो रक्तचन्दन किनेर चितवनको नारायणगढमा लुकाएका थिए । केहि दिनपछि लुकाएको ठाउूबाट उक्त रक्तचन्दन गायब गरी ३० लाख रुपैयाू माग गरे पछि नेत्रलाई अपहरण गरिएको प्रहरीले जनाएको छ । 

अपहरणमा परेका नेत्र श्रेष्ठसहित वाइसिएल काठमाडौं इन्चार्ज प्रताप गुरुङ मौसम, वाइसिएल कार्यकतर्ा दीपक क्षेत्री, गणेश श्रेष्ठ, योजनाकार हिमाल श्रेष्ठलगायतले उक्त रक्तचन्दन प्रकाश थापाको कावासोतीस्थित गोदाममा लुकाएका महाशाखाले जनाएको छ । प्रहरी सक्रिय भए पछि उक्त रक्तचन्दन जंगलमा फालिएको महाशाखाले जनाएको छ ।  

रक्तचन्दनले नवलपरासी वाइसिएलमा पनि तनाब उत्पन्न गराएको छ । कारोबारमा वाइसिएल केन्दि्रय सदस्यसमेत रहेका मौसमको संलग्नता रहेको जिल्ला नेतृत्वले बताउदै आएको छ । मौसम माओवादीको नेवा: राज्य समिती सदस्य हुन् । नवलपरासीका वाइसिएल इन्चार्ज पदमबहादुर केसी 'जुझारु' ले मंगलबार पत्रकार सम्मेलन गरी कावासोतीमा ठुलो परिमाणमा रक्तचन्दन लुकाइएको दाबी गरेका थिए ।  

ठूलो परिमाणमा कारोबार गर्ने योजना

गोप्य रुपमा ससानो परिमाणमा ओसारपसार गरिरहेका समूह पछिल्लो पटक लाइन मिलाएर ठूलो परिमाणमा रक्तचन्दन चीन पुर्‍याउने योजनामा छ । करिब एकसय टन -१ लाख किलो) रक्तचन्दनका लागि सम्झौता गरिसकेको समूह लाइन मिलाउन राजनीतिक नेतृत्वसूग मोलमोलाई गरिरहेको छ । एक पैसा घूस नखाने किरिया खाएर प्रहरीको अवैध असुली नियन्त्रणमा लागेको गृह प्रशासनसूग कुरा मिल्ने नदेखे पछि गिरोह अनुकूलको गृहमन्त्री बनाउन माओवादी नेतृत्वसमक्ष लविङ गरिरहेको प्रहरी सम्बद्ध स्रोतले जनाएको छ । तातोपानी भन्सारमा अनुकूलका अधिकृत सरुवा गराई हजारौं टन रक्तचन्दन चीन पुर्‍याउन गिरोह सक्रिय छ । 


भैरहवाबाट रक्तचन्दन भित्रिएको थाहा पाए पछि प्रहरीले सक्रियता बढाएको छ । प्रहरीले पाूच दिनअघि बोलेरो जिपबाट डेढ क्विन्टल रक्तचन्दन बरामद गरी चालकसमेत नियन्त्रणमा लिएको छ । अञ्चल प्रहरी कार्यालय, लुम्बिनीका एसएसपी प्रकाश अर्यालका अनुसार भारतबाट ट्रकमा तलपट्ट िरक्तचन्दन राखेर माथिपट्ट िफलफूल, तरकारी लगायत सामानले ढाकेर भित्रिने गरेको सूचना छ ।' हामीले आफ्नो सूचना सञ्जालका साथै भन्सारलाई पनि सचेत हुन भनिएको छ,' उनले भने । समूहमा १ सय ४ जना रहेको पत्ता लागेको छ ।  


                   फेरि रक्तचन्दन बरामद

रुपन्देहीको भैरहवामा बुधबार रक्तचन्दनसहित एक व्यक्ति पक्राउ भएको अर्को दिन नवलपरासीको प्रगतिनगर गाउं विकास समिति वडा नं. ३ स्थित महाराजा सामुदायिक वनको जंगल भित्र बिहीबार प्रहरीले ठुलो परिणाममा रक्तचन्दन बरामद गरेकेा छ । तिन दिनदेखि सो स्थान वरपर र बजार क्षेत्रमा रक्तचन्दन लुकाएर राखेको भन्ने सुराकि पाएर तिन दिन अघि रक्तचन्दन बरामद गर्न गएको लुम्बिनि अंचल प्रहरी टोलि रित्तो हात फर्किएको थियो । 
नवलपरासीको प्रगतिनगर गाउं विकास समिति वडा नं. ३ स्थित महाराजा सामुदायिक वनको जंगल भित्र बिहीबार प्रहरीले बरामद गरेकेf रक्तचन्दन 
बिहीबार स्थानीय बासिन्दा गुणाखर भुसालले सामुदायिक वनमा घांस काट्न जाने क्रममा रक्तचन्दन देखेपछि सामुदायिक वनका पदाधिकारीलाई खबर गरेका थिए । यस लगतै सामुदायिक वनका पदाधिकारी, स्थानीय राजनीतिक दल, इलाका वन कार्यालय कावासोती र प्रहरीको को संयुक्त टोलीले उक्त परिणामको रक्तचन्दन बरामद गरेको हो । 
सामुदायिक वनमा रक्तचन्दन छरिएर लुकाइएको अवस्थामा फेला परेको थियो । वनमा अनेत्र पनि लुकाइएको हुन सक्ने आशंकामा वनमा अझै खोजी कार्यजारी राखिएको छ । यस बारे थप जानकारी आउन बाँकी रहेको छ  । यस अगाबै  कावासोतीका स्थानीय बासिन्दा र राजनीतिक दलको व्यापक दबाब पछि  प्रमुख जिल्ला अधिकारी शशिशेखर श्रेष्ठले रक्तचन्दन लुकाईराखिएको आशंका गरिएको ठाउंमा तत्काल छापा मार्न निर्देशन दिए लगतै पुन मंगलबार राति उक्त स्थलमा इलाका प्रहरी कार्यालय नवलपुर र इलाका वन कार्यालय कावासोतीका टोलीले संयुक्त रुपमा छापा मारे पनि रक्तचन्दन बरामद गर्न सकेको थिएन । 
कावासोतीमा रहेको युनाईटेड पोल्ट्री फर्ममा रक्तचन्द लुकाएर राखेको भन्ने सुराकि पाएर गत मंगलबार सांझ फर्ममा छापा मार्न गएको लुम्बिनि अंचलको प्रहरी टोली सो स्थानमा रक्तचन्द नभएको भन्दै फर्किएको थियो । 
सो र्फममा रक्तचन्दन नभएपनि कावासोति र रजहरको बिच जंगलमा रक्तचन्दन लुकाएर राखेको हुन सक्ने स्थानियवासीले बताउदै आएपनि प्रहरीले भने चासो देखाएको थिएन । 
र्फममा छापा मारेर प्रहरी गएपछि रातारात सो स्थान वाट लगेर जंगलमा लुकाएर राखेको भन्ने सुराकि समेत केहि स्थानीयवासीले प्रहरीलाई दिएका थिए । प्रहरीले वेवास्ता गरेपनि स्थानियबासीले रक्तचन्द्रन देखेपछि  लुकाईराखेको अवस्थामा रक्तचन्द्रन भएको जानकारी गराएपछि प्रहरीको टोलीले ठुलो परिणाममा रक्तचन्दन फेला परेको  हो । फेला परेको रक्तचन्दन ५८ वटा गुलिया रहेको नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानविक्रम शाहले बताउनुभयो । बरामद भएका रक्तचन्दको मुचुल्का उठाई जिल्ला प्रहरी कार्यालय ल्याउने र त्यस पश्चात वन कार्यालयलाई बुझाउने प्रहरी उपरिक्षक शाहले बताउनुभयो ।
                                                                                  परासी,साउन ६

Wednesday, August 3, 2011


यसरी लुटियो राज्यकोषबाट १२ करोड लुट

काठमाडौ, फाल्गुन २५ –
 कुनै लगानी र कारोबार नगरी कसैले १२ करोड रुपैयाँ हात पार्न सक्छ ? सक्दो रहेछ, त्यो पनि सोझै राज्यकोष लुटेर । एकजना लेखापरीक्षकको संलग्नतामा नक्कली बिल प्रयोग गरी राज्यकोषबाट ११ करोड ७० लाख रुपैयाँ सरकारी ढुकुटीबाट झिकिएको तथ्य फेला परेको छ । लेखापरीक्षक थलमान सुवेदीले सामान खरिद गरेको नक्कली बिल बनाई भन्सारबाट निकासी गरेको प्रमाण बनाएर रकम झिकेका हुन् ।

सरकारले कुनै सामान निकासी गरेपछि त्यस्तो सामान खरिद वा उत्पादनका लागि कच्चा पदार्थ खरिद/आयातका क्रममा तिरेको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता पाउने सुविधा निकासीकर्तालाई दिएको छ । विदेशी बजारमा प्रतिस्पर्धी बन्न सकुन् भनेर स्थानीय उद्योगको उत्पादन लागत घटाउन यस्तो सुविधा दिइएको हो ।
निकासीमा प्रतिप्रज्ञापनपत्र सेवा दस्तुर (५ सय ७८ रुपैयाँ) बाहेक राजस्व तिर्नु पर्दैन । तर थलमानले सामान किनेको नक्कली बिल बनाई भन्सारका कर्मचारीको मिलेमतोमा निकासी गरेको प्रज्ञापनपत्र देखाएर राज्य कोषबाट रकम झिकेका हुन् ।
उनले सातवटा फर्मबाट ९० करोड बराबरको सामान निकासी गरेको नक्कली कागज बनाई रकम झिकेका थिए । चाउचाउ, मैदा, वनस्पति घिउ, अगरबत्तीलगायत सामान निकासी गरेको देखाइएको छ । सातमध्ये दिगम्बर ट्रेड हाउस र दिगम्बर ट्रेड इन्टरनेसनल थलमानको र भीमेश्वर ट्रेड हाउस उनकी छोरीको नाममा दर्ता छ । बाँकी चारवटा– सरिता बिजनेस इन्टरनेसनल, सरिता इन्टरप्राइजेज, आशुतोष इम्पेक्स र शिवशक्ति इन्टरनेसनल उनका सहयोगी अशोक अधिकारीको नाममा दर्ता छन् । ‘अशोकको नाममा दर्ता भएका फर्मबाट निकासीको कागज बनाई पैसा झिक्ने काममा उनको प्रत्यक्ष संलग्नता देखिन्छ,’ सम्बद्ध स्रोतले भन्यो ।
थलमानले सामान खरिदै नगरेकाले भ्याट तिरेका थिएनन् । ‘कर नतिरे पनि कागजकै भरमा तिरेको देखाई कर फिर्ताको नाममा रकम झिकिएको यो प्रकरण राज्य कोषमाथि भएको लुट हो,’ अर्थसचिव रामेश्वर खनालले भने ।
थलमानले कर फिर्ताका लागि तिब्बतस्थित बैंक अफ चाइनाबाट कागजमा निकासी देखाए बराबरको रकम स्थानीय बैंकमा आएको प्रमाण पनि पेस गरेका छन् । ‘आफैंले हुन्डीमार्फत तिब्बतमा पैसा पुर्याई त्यहाँको बैंकमा जम्मा गरेर यहाँ ट्रान्सफर गरेको हुनसक्छ,’ स्रोतले भन्यो, ‘यसरी स्थानीय बैंकमा रकम आएकै दिन चेक काटेर आफैं निकालेको देखिन्छ ।’ बैंक अफ चाइनाबाट एभरेस्ट बैंकको तातोपानी, ठमेल र न्युरोड शाखामा रकम जम्मा भएको थियो ।
थलमानको धन्दामा राजस्वसम्बद्ध कर्मचारीका साथै उत्पत्तिको प्रमाणपत्र दिने उद्योग वाणिज्य संघका कर्मचारीको पनि मिलेमतो देखिएको छ । उनले आर्थिक वर्ष २०६१/६२ देखि तातोपानी भन्सारबाट प्रज्ञापनपत्र बनाई राज्यकोषको पैसा झिक्न थालेका थिए । तर त्यहाँ कुरा नमिलेपछि दुई वर्षयता उनले रसुवा नाकाको प्रज्ञापनपत्र प्रयोग गरी राज्यकोष निरन्तर लुटेका थिए । तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले सदाचार पद्धतिको नाममा भन्सार सुधारको प्रक्रिया सुरु गरेका कारण तातोपानी भन्सारबाट प्रज्ञापनपत्र बनाउन नसकेपछि उनले व्यापार नहुने रसुवा नाकाबाट कागज बनाउन थालेका थिए ।
यातायात सुविधा नपुगेको रसुवा नाकाबाट ठूलो परिमाणमा सामान निकासी भएको देखिएपछि खोजीनीति गर्दा राज्यकोषमा भइरहेको यस्तो लुटको खुलासा भएको हो । रसुवा नाकाबाट ४० करोड बराबरको सामान निकासी गरेको देखाइएको छ । रसुवामा भरियालाई बोकाएर निकासी गरेको कागज बनाइएको थियो ।
कर फिर्ता प्रकरणमा कर्मचारीको संलग्नता देखिए तिनमाथि कारबाही हुने अर्थसचिव खनालले बताए । थलमानले आन्तरिक राजस्व कार्यालय भक्तपुरमार्फत ७ करोड रुपैयाँ झिकेका थिए । उनलाई निकासीका लागि उत्पत्तिको प्रमाणपत्र दिने उद्योग वाणिज्य संघका कर्मचारीको पनि मिलेमतो हुन सक्ने आशंका छ । उनले भक्तपुर र वीरगन्जमा दर्ता भएका फर्मबाट निकासी गर्दा पनि चेम्बर अफ कमर्स र ललितपुर उद्योग वाणिज्य संघबाट उत्पत्तिको प्रमाणपत्र बनाएका थिए ।
निर्यातमा पाइने भ्याट छुटको सुविधाबापत राज्यकोषबाट बर्सेनि करिब दुई अर्ब रुपैयाँ निकासा हुने गरेको छ । ‘थलमानले जस्तै लुट अरूबाट पनि भएको हुन सक्छ,’ एक जानकारले बताए ।

थलमान को हुन्  ?

ओखलढुंगाको पोकली गाविस–२ स्थायी ठेगाना भएका थलमान रजिस्टर्ड अडिटर हुन् । डेढ दशकदेखि लेखापरीक्षण पेसामा संलग्न उनले ५/६ वर्षयता अवैध पैसा कमाउन थालेको यसै पेसामा संलग्न एकले बताए । ‘उपत्यकाका आन्तरिक राजस्व कार्यालयहरूका कर्मचारीसँग सुमधुर सम्बन्धकै कारण उनले दिन दुगुना रात चौगुना प्रगति गरेका हुन्,’ अर्का एक लेखापरीक्षकले भने, ‘कतिपय कर्मचारीले त लेखापरीक्षणको काम थलमानलाई दिनुस् भनेर व्यवसायीलाई दबाब दिने गर्थे ।’
राजस्व छलीमा फसेका कम्पनीको फाइल जिम्मा लगाए ‘कुरा मिलाउन’ सक्ने लेखापरीक्षकको पहिचान उनले बनाएका थिए । कर फिर्तामा संलग्न देखिन थालेपछि लुकिछिपी बस्न थालेका उनी हाल मुलुकबाहिर रहेको ती लेखापरीक्षकले बताए । आन्तरिक राजस्व विभागले उपस्थित हुन फागुन ८ गते पत्र काटे पनि उनी सम्पर्कमा छैनन् । विभागले एक साताभित्र उपस्थित हुन गत १३ गते सार्वजनिक सूचना जारी गर्दा पनि उनी सम्पर्कमा नआएको विभागसम्बद्ध स्रोतले जनाएको छ । 

Saturday, July 30, 2011


शुल्क नलिई सामान छाडियो
भन्सारका छ कर्मचारीमाथि कारबाही सुरु

राजस्व नतिरी आयातकर्ताको गोदाममा पुगेको ४८ लाख रुपैयाँ मूल्यको सामान जेठ २४ गते राजस्व अनुसन्धान विभागले बरामद गरेपछि विमानस्थल भन्सारमा अनियमितता हुने गरेको खुलासा भएको थियो ।

विमानस्थल भन्सारका अधिकृतद्वय राजेन्द्र ढुंगाना र गोविन्द अधिकारी लगायत कर्मचारी विभागको अनुगमन इकाईले उपस्थित गराएको छ । उक्त दिन ढुंगाना जाँचपास र अधिकारी मूल्यांकनको काममा खटिएका थिए । बयान गराएपछि तिनलाई निजामती सेवा ऐनअनुसार कारबाही अघि बढाइने विभागले जनाएको छ । राजस्व अनुसन्धान विभागले प्रज्ञापनपत्र दर्ता नगरी सामान छोडेको फेला परेपछि संलग्न कर्मचारीलाई कारबाही गर्न भन्सार विभागलाई भनेको थियो । यसअघि विभागका उपमहानिर्देशक मधुसुदन पोखरेलको संयोजकत्वमा गठित निरीक्षण टोलीले पनि कार्यालयको कमजोरी भएको ठहर्‍याई कारबाही गर्नुपर्ने प्रतिवेदन दिएको थियो ।   

पिएस मार्केटिङ र सर्डिस इन्टरनेसनलको नाममा आयात भएका क्यामेरा, आइपड, चिप्सलगायत सामान राजस्व नतिरी भन्सारबाट बाहिरिएको थियो । विभागले सामान बरामद गरिसकेपछि आयातकर्ताले राजस्व तिरेर सामान छुटाउन प्रयास गरे पनि विभागले जफत गर्नुका साथै संलग्न कर्मचारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो । 'जफत 

भएको थाहा पाएपछि प्रज्ञापनपत्र दर्ता गरी आयातकर्तालाई जोगाउन खोजिएको थियो,' राजस्वसम्बद्ध स्रोतले भन्यो, 'भन्सारले दोहरो अनियमितता गरेको छ ।'

सरकारले भन्सार र आन्तरिक राजस्व कार्यालयलाई घूसमुक्त बनाउने भन्दै कार्य सम्पादनको आधारमा तीन वर्षदेखि २ सय प्रतिशतसम्म प्रोत्साहन भत्ता दिइरहे पनि यस्ता अनियमितता जारी छन् । 

उपप्रधानमन्त्री भरतमोहन अधिकारीले अर्थ मन्त्रालय सम्हालेयता सरुवामा कर्मचारी संगठनका साथै विभिन्न शक्ति केन्द्रको हस्तक्षेप सुरु भएपछि भन्सारमा अनियमितता बढेको अर्थसम्बद्ध स्रोतको भनाइ छ । 'अनियमितता पुष्टि हुँदा पनि संलग्न कर्मचारीलाई कारबाही नगरिएका कारण भन्सारका कर्मच्ाारी अनियमितता गर्न प्रोत्साहित छन्,' स्रोतले भन्यो ।

निकासी नै नगरेका व्यवसायीलाई रसुवा र तातोपानी भन्सारबाट निकासी गरेको प्रज्ञापनपत्र बनाइदिएर राज्यकोषबाट कर फिर्ताको सुविधा अन्तर्गत ७ करोड रुपैयाँ झिक्न सघाउने कर्मचारीलाई अझै कारबाही भएको छैन । रसुवा नाकाको अनियमितता खुलासा भएको एक वर्ष बितिसकेको छ । तातोपानीबाट कागज बनाइदिने सात अधिकृतको पहिचान भएको पनि छ महिना भइसकेको छ । सार्वजनिक लेखा समितिले नक्कली निकासीको प्रमाण बनाइदिएर राज्यकोषमा लुट मच्चाउन सघाउने कर्मचारीमाथि कडा कारबाही गर्न निर्देशन दिएको छ । 
समितिको निर्देशनअनुसार कारबाहीको प्रक्रिया सुरु भइसकेको भन्सार विभागका महानिर्देशक टंकमणि शर्मा बताउँछन् । 'प्रमाण जुटाउने काम भइरहेको छ,' उनले भने ।
काठमाडौ, श्रावण १३ - 

Thursday, July 28, 2011


               रक्तचन्दन छाड्न दबाब
  
काठमाडौ, श्रावण ११ - 
रक्तचन्दन ओसारपसारमा छुट दिन विभिन्न 'शक्तिकेन्द्र' ले गृह प्रशासन र भन्सारमाथि चर्को दबाब दिइरहेका छन् । छुटाउन लबिङ गर्नेहरूले 'भारतबाट आएर चीन पुग्ने काठमा सरकारले टाउको दुःखाउनु हुँदैन,' भन्ने जिकिर गरिरहेको गृहसचिव लीलामणि पौड्यालले जनाए ।

'अहिलेसम्म कसैले पैसाको प्रस्ताव गर्ने हिम्मत त गरेको छैन,' पौड्यालले भने, 'तर भारतको काठ चीन जान्छ भने हामीले किन टाउको दुःखाउने भनेर छुट दिनुपर्ने कुरा गर्न आउँछन् ।' फाट्टफुट्ट परिमाणमा जारी रहेको रक्तचन्दनको ओसारपसार लाइन मिलाएर -राज्य संयन्त्रको मिलेमतोमा) चीन निकासीका लागि कारोबारीले दबाब दिइरहेका छन् । गृहमन्त्री कृष्णबहादुर महराको अडानका कारण लाइन मिलाउन बिफल गिरोह नयाँ गृहमन्त्रीबाट केही होला कि भनेर आशावादी रहेको सम्बद्ध स्रोतले जनाएको छ । कारोबारमा संलग्न एउटा समूहले राजनीतिक नेतृत्व, प्रहरी, भन्सार र वन कार्यालयलाई मिलाउन ७५ करोड रुपैयाँ छुट्याएर लाइन मिलाउन प्रयास गरिरहेको प्रहरी स्रोतले दाबी गरेको छ । 

दक्षिण भारतको तमिलनाडु र कर्नाटकको जंगलबाट नेपाल भित्र्याइने रक्तचन्दन चीनको बजारमा उच्च माग छ । नेपालसम्म ल्याउँदा प्रतिकिलो ३ हजार रुपैयाँ पर्ने रक्तचन्दनको मोल चीनमा ९ हजार रुपैयाँ छ । प्रतिकिलो ६ हजार रुपैयाँ मुनाफा हुने भएकाले कारोबारी समूह जसरी भए पनि लाइन मिलाउने प्रयासमा छ । 

'अवैध कारोबार भएकाले सरकारले आँखा चिम्लिने कुरै नहुने' गृहसचिव बताउँछन् । वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रणसम्बन्धी महासन्धि -साइटिस) मा हस्ताक्षर गरेकाले यसको कारोबारमा रोक लगाउन नेपाल बाध्य छ ।
झट्ट हेर्दा मुलुकलाई हानि नदेखिए पनि यस्तो अवैध कारोबारको दूरगामी प्रभाव हुने अञ्चल प्रहरी कार्यालय लुम्बिनीका एसएसपी प्रकाश अर्याल बताउँछन् । विगतमा यसको कारोबारबाट लाभान्वित हुने गिरोहले अकुत सम्पत्ति आर्जन गरी गणेश लामालगायत 'डन' जन्माएको थियो । रक्तचन्दनमा कमाएको पैसा लगानी गरी संगठित अपराधमा सक्रिय भएको पनि देखिएको छ । 'राज्यले अवैध कारोबारमा छुट दिँदा तिनले पैसाकै बलमा राज्य संयन्त्रलाई कमजोर बनाउँछन्,' उनले भने ।

करिब ५ हजार किलोमिटर भारतीय भूमि पार गराई रक्तचन्दन यहाँ भित्रिनुमा भारतीय राज्य संयन्त्रको पनि मिलेमतो रहेको अनुमान छ । 'कारोबार प्रतिबन्धित भए पनि जंगलमा प्रशस्त उत्पादित रक्तचन्दन रोक्न राज्य संयन्त्रले उति चासो नदेखाएको देखिन्छ,' सुरक्षा सम्बद्ध स्रोतले भन्यो । 

नेपालमा बरामद भएको रक्तचन्दन फिर्ता लैजान पनि भारतले चासो देखाएको छैन । चिनियाँ अधिकारीले पनि अनौपचारिक कुराकानीमा भारतबाट आएर हाम्रो मुलुकमा आउने भएकाले नेपालले टाउको दुःखाउन नहुने तर्क गर्ने गरेको अर्थ सम्बद्ध स्ा्रोतले  बतायो । नेपालबाट अवैध रूपमा बाहिरिएका रक्तचन्दन चीनको भन्सारले राजस्व लिएर पास गर्ने गरेको छ । 'तिनले चीनले साइटिसमा हस्ताक्षर गरे पनि बाहिर जान मात्र रोक लगाउने तर्क गर्छन्,' अर्थका एक अधिकारीले चिनियाँ अधिकारीलाई उद्धृत गर्दै भने, 'भित्रिन रोक लगाउन पर्दैन ।' चीनमा महँगा फर्निचरका साथै औषधी बनाउन रक्तचन्दन प्रयोग हुने गरेको छ ।  


        चार वर्षदेखि रक्तचन्दन कुर्दै प्रहरी

रसुवामा बरामद भएको रक्तचन्दनमा सुरक्षा गर्न वन कार्यालयले नसक्ने भएपछि चार वर्षदेखि सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ । रसुवामा २०६४ साल जेठ र चैतमा गरी झन्डै ११ टन रक्तचन्दन बरामद गरी वन कार्यालयमा बुझाइएको थियो । 'तर सुरक्षा गार्ड अभावको कारण प्रहरीले सुरक्षा दिइरहेको रहेछ,' डिएसपी अच्युत पुडासैनीले भने, 'मैले पनि निरन्तरता दिएको छु ।' प्रहरीले वन कार्यालयको हातामा रहेको रक्तचन्दन सुरक्षामा हवल्दारको नेतृत्वमा पाँच जनाको टोली चौबीसै घन्टा खटाउने गरेको छ । प्रहरीले शान्ति सुरक्ष्ाामा परिचालन गर्नुपर्ने जनशक्तिलाई चार वर्षदेखि रक्तचन्दनको गोलिया सुरक्षामा खटाउन नसकिने भन्दै सुरक्षाको बन्दोवस्त मिलाउन पटकपटक अनुरोध गरेको पुडासैनीले बताए । 'चाँडै काठमाडौं लैजाने आश्वासन पाइएको छ,' उनले भने । उपत्यकाका साथै मुलुकका २२ जिल्लामा बरामद भएका २ सय टनभन्दा बढी रक्तचन्दन थुपि्रएको छ । भारत सरकारले केही रक्तचन्दन फिर्ता लगे पनि बाँकी लैजान इन्कार गरेकाले थुपि्रएको हो ।



रक्तचन्दन तस्करीबारे माओवादीमा आरोपप्रत्यारोप

काठमाडौं, असार २६
चार वर्ष अघिजस्तै रक्तचन्दन तस्करीमा संलग्न भएको भनी माओवादी नेताबीच आरोप-प्रत्यारोप सुरु भएको छ। ओसारपसारमा प्रतिबन्धित रक्तचन्दन सीमावर्ती भारतीय गाउ"बाट तस्करी गरी तिब्बत पुर्‍याउन सहयोग गरेको भन्दै सिन्धुपाल्चोकका माओवादी नेता र सभासद्ले एक अर्कालाई दोष लगाएका छन्।
गृह मन्त्रालय स्रोतका अनुसार रक्तचन्दन तस्करी भई तिब्बत जाने प्रमुख स्टेसन सिन्धुपाल्चोक जिल्लामा छन्। माओवादी पोलिटब्युरो सदस्य एवं सञ्चारमन्त्री अग्नि सापकोटाले सिन्धुपाल्चोककै अर्का सभासद् राजकुमार श्रेष्ठ रक्तचन्दन कारोबारमा संलग्न भएको सार्वजनिक आरोप लगाएका छन्। श्रेष्ठ 'तस्करीको नाइके' भएको भन्ने आरोपसहितको एसएमएस सापकोटाले तामासालिङ राज्य समितिका सबै सदस्यलाई पठाएपछि विवाद बाहिर आएको हो। समिति संयोजक सापकोटाले श्रेष्ठकी पत्नी भौतिक योजना राज्यमन्त्री देवी खड्काले पनि सघाइरहेको आरोप लगाएका छन्।
भारतबाट तस्करी भएर काठमाडौंमा जम्मा हुने रक्तचन्दनको 'क्यारिङ' जिम्मा लिने गरेको आरोप उनीहरूमाथि लागेको छ। यसबारे जानकारी पाउनेबित्तिकै सभासदद्वय श्रेष्ठ र खड्काले 'झुटो आरोप' भन्दै प्रतिवाद गरे। केहि दिनदेखि खड्का दम्पती 'आफूहरूलाई फसाउन खोजियो' भनी नेताहरूलाई प्रष्टीकरण दिँदै छन्।'सापकोटाले लगाएको आरोप सत्य हैन भन्दै खड्का र श्रेष्ठले स्थायी समितिका धेरै सदस्यलाई भेटिसकेका छन्,' सिन्धुपाल्चोकका एक माओवादी जिल्ला नेताले भने, 'अब पार्टी केन्द्रको रिपोर्ट कुरेर बसेका छन्।'
सापकोटाको आरोप झुटो भन्दै खड्का दम्पतीले शुक्रबार माओवादी स्थायी समितिमा निवेदन दर्ता गराएका छन्। आरोप-प्रत्यारोपबारे जानकारी लिएर प्रतिवेदन पेस गर्न पार्टीले अमिक शेरचन, दीनानाथ शर्मा र वर्षामान पुनको उच्चस्तरीय समिति गठन गरेको छ। छानबिन समिति सदस्यस"ग खड्का दम्पतीले शनिबार छुट्टाछुट्टै भेटमा छलफल गरेका छन्। 'हामी हैन, अग्नि सापकोटा नै संलग्न छन्,' दम्पतीले समितिमा भनेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो। दक्षिण भारतबाट नेपाल हु"दै तिब्बत र चीनका अन्य सहरमा रक्तचन्दन तस्करी भएर जाने क्रम अहिले बढेको गृहको अनुमान छ।
गृह मन्त्रालयका एक अधिकारीका अनुसार भारतीय सीमामा ३ हजार रुपैया" प्रतिकिलोमा पाइने रक्तचन्दन तिब्बत पुर्‍याउँदा 'बाटो खर्च' ६ हजार रुपैया"सम्म पाइन्छ। सापकोटाले रक्तचन्दन तस्करीमा खड्का दम्पती संलग्न भएको ठोकुवा गर्दै उपप्रधान एवम् गृहमन्त्री कृष्णबहादुर महरासमक्ष मौखिक उजुरीसमेत गरेका छन्। खड्का दम्पतीले भने आरोप सरासर गलत भएको दाबी गर्दै अविलम्ब छानबिनको माग गरिरहेका छन्।
गृहका एक अधिकारीका अनुसार रक्तचन्दनमा माओवादीका धेरै नेताको नाम जोडिएको छ। 'कहा"बाट सुरु गर्ने भन्नेमा मन्त्री अल्मलिनुभएको छ,' ती अधिकारीले भने, 'तानेर साध्य लाग्ने देखिएको छैन।'
सभासद् राजकुमार श्रेष्ठ 
सिन्धुपाल्चोकबाट रक्तचन्दन तस्करी भइरहेको उजुरी गृहमा दैनिक एउटा पर्ने गरेको छ। 'हाम्रो टोली पुग्दा मानिस पक्रन गाह्रो छ,' ती अधिकारीले भने, 'कसैलाई प्रत्यक्ष घाटा नहुने भएकाले यसमा उजुरी पनि कमै पर्दोरहेछ।' धेरैजसो झगडा भागबन्डा नमिलेर पर्ने गरेका छन्।



अग्नि सापकोटा
संविधान सभा निर्वाचनको एक वर्षअघि जस्तै यसपालि पनि रक्तचन्दनको रकम उठाउन माओवादी नेतृत्वमा हानाथाप छ। भारतीय सीमाबाट एक ट्रक रक्तचन्दन तिब्बतको सीमा पुर्‍याउनेले प्रतिट्रक ५ करोड रुपैया" हाराहारी पाउने स्रोतको दाबी छ। तीन वर्षअघि मध्यावधि निर्वाचनका लागि रकम संकलन गर्न माओवादीले रक्तचन्दन तस्करीलाई प्रमुख स्रोत बनाएको थियो। तत्कालीन वनमन्त्री मातृका यादवले माओवादी नेताको नामै तोकेर 'तस्कर' भनेका थिए। 'अहिले फेरि नेताहरू कमाउन थालेजस्तो देखिन्छ,' गृह स्रोतले भन्यो।

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...