Thursday, July 11, 2013

कर्मचारीको तलब वृद्धिकालागि स्रोत छैन् ः अर्थमन्त्रालय
रोशन कार्की
काठमाडौं ।
लामो समयदेखि तलवमा समयसापेक्ष समायोजन नभएको भन्दै तलववृद्धिको माग राख्दै आएका निजामति कर्मचारीको तलववृद्धि गर्न अर्थमन्त्रालयले भरपर्दो स्रोत अझै भेटाएको छैन् । कर्मचारीले आगामी नयाँ आर्थिक वर्षमा भारी तलववृद्धि गर्ने पटक–पटक अर्थमन्त्री शंकरप्रसाद कोइरालालाई दवाव दिदै आएपनि बजेट सार्वजनिक गर्ने समय आइपुग्दासमेत स्रोत नभेटिएपछि तलववृद्धि नहुने अबस्थामा पुगेको अर्थमन्त्रालयले जनाएको छ ।
मन्त्रालयको उच्च स्रोतका अनुसार नयाँ आर्थिक वर्षमा कर्मचारीको तलव वृद्धि गर्नेकालागि सरकारले ठूलै कसरत गरेको हो, तर भरपर्दो स्रोत नभएका कारण सोचेअनुसार वृद्धि हुन नसक्ने भएको छ ।
यसैविच, नयाँ नीति तथा कार्यक्रम बिनानै बजेट आएको र आगामी नयाँ आवमा पनि कार्यक्रम विनाको बजेट  ल्याउँदा मुलुकको आर्थिक विकासमा अबरुद्ध हुन जाने मन्त्रालयले जनाएको छ । सरकारले नयाँ बजेटमा गरिनु पर्ने नयाँ कार्याक्रम नीति नियम, करको दर र दायरा बढाउन नपाउने भएपछि कर्मचारीको तलब वृद्धि लगायत अन्य विकास निमार्णमा समेत अबरोध पुग्ने मन्त्रालयको ठप्याइए रहको छ । 
चालु आव सकिन ५ दिन बाँकी रहदा समेत कर्मचारीको तलब कसरी बढाउने भन्ने विषयमा अर्थ मन्त्रालयले आधार तय गर्न नसकेको स्रोतको भनाई रहेको छ । अर्कोंतर्फ, कर्मचारीको तलब र भत्ता तीन वर्षदेखि यथावत रहेको र कर्मचारी संगठनले चर्को दबाब दिइरहेका छन् ।

सरकारले करको दायरा र दर हेरफेर नगर्दा राजस्वको वृद्धिदर २० प्रतिशत भन्दामाथिको लक्ष्य राख्न समेत नपाउने भएको छ । उक्त वृद्धिदरले कर्मचारीको तलब वृद्धि गर्न नसकिदैन । राजस्वको मुख्य स्रोतका रुपमा भन्सार महसुल र मूल्य अभिवृद्धि कर (भ्याट) भएको हुनाले आयात र मूल्यवृद्धि जति बढी हुन जान्छ त्यही अनुसा राजस्व संकलन हुने गर्दछ ।
एकातर्फ कर्मचारीको चर्को दवाव र तलववृद्धि नगरेको खण्डमा सरकारलाई असहयोग गर्ने धक्कीका कारण सरकार कर्मचारीको तलबवृद्धि नगरी भत्तामात्रै वृद्धिगर्ने तयारीकासाथ नयाँ बजेट निमार्ण भएको अर्थमन्त्रालयका एक कर्मचारीले नाम नछाप्ने सर्तमा बताए । मन्त्रालयका अनुसार अझै सम्म कतिमात्रामा भत्ता वृद्धि गर्ने भन्ने बारेमा समेत आँकलन गर्न नसकिए जनाए ।
पुँजीगत खर्चमा राजस्वको योगदान नहुने हुँदा त्यसमा कटौती गरेर चालू खर्च बढाउन सकिने अवस्था समेत नभएको मन्त्रालयको भनाई रहेको छ । हालको राजस्वको सबै रकम चालू खर्च र सावाँब्याज भुक्तानीमामात्र पुग्ने गरेको छ । राजस्वले चालू खर्च धान्दै आएकोमा आगामी आवमा हालको दररेटले चालु खर्चमात्र पु¥याउन समेत मुश्किल पर्ने मन्त्रालयले जनाएको छ ।
गत वर्षको कूल ग्राहस्थ उत्पादनको २ दशमलव ६ प्रतिशतसम्म घाटा बजेट तर्जुमा गर्न सक्ने व्यवस्था राष्ट्रिय ऋणअसुली ऐनमा रहेको छ । नीतिगत परिवर्तन नगर्ने भएपछि आगामी बजेटमा उक्त ऐन संशोधन हुने छैन । कानुनअनुसार सरकारले ४० अर्ब रुपैयाँभन्दा बढी आन्तरिक ऋण उठाउन पाउँदैन् । आन्तरिक ऋणमा सिलिङ तोकिएको कारण वैदेशिक ऋण थप्न सक्ने अवस्था छैन । आर्थिक वर्षको सुरुमा सामान्य अवस्थाको बजेट आउन नपाएको यो पाँचौं वर्ष हुन्छ । यस्तो बजेटले गर्दा मुलुकको अर्थतन्त्रमा ठूलो नोक्सानी भइरहेको अर्थविद्हरुको भनाई रहेको छ ।
निर्वाचन गराउने जिम्मेवारी प्राप्त मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मी नेतृत्व सरकारका अर्थमन्त्री कोइरालाले नयाँ कायक्रमका रुपमा निर्वाचनका लागि १५ देखि १७ अर्ब रुपैयाँ बजेट विनयोजन गर्ने भएका छन् । यसमध्ये चारदेखि पाँच अर्ब रुपैयाँ निर्वाचन आयोगका लागि जाने छ, भने बाँकी रकम निर्वाचन सुरक्षाका लागि सेना, प्रहरी र शसस्त्रमा खर्च गर्ने छन् ।
नयाँ अर्थमन्त्रीका रुपमा जिम्मेवारी सम्हाल्दा र अपुरो बजेटलाई पूर्ण बनाउनका लागि बजेट भाषण गर्दा कोइरालाले बजेटमा आफ्ना चार प्राथमिकता रहेको बताएका थिए । तर उनले छुट्टाएका चार प्राथमिकता नेपालको व्यापार घाटा न्युन गर्न, उर्जा, कृषि र पर्यटनमा लगानी बढाउन उनी आफैसँग नयाँ योजना र कार्यक्रम हुने भने छैन् । पुर्वअर्थमन्त्री भरतमोहन अधिकारीले  सार्वजनिक गरे अर्थतन्त्रका तीन खम्बा हुने परिभाषा गरेका थिए । तीनै परिभाषालाई उनीपछि आएका सरकारले निरन्तरतामात्र दिएका छन् ।
पुर्वअर्थमन्त्री अधिकारीले सरकार–निजी क्षेत्र र सहकारीलाई प्राथमिकतामा राखेका थिए । अधिकारीको प्राथमिकताले ६ प्रतिशतको आथिर्क वृद्धि र ३५ प्रतिशत राजस्व वृद्धिको लक्ष्य प्राप्त गर्न कठिन मात्रै होइन असम्भव नै हुने पक्का भएको छ । कोइरालालाई राष्ट्रिय गौरवका १७ आयोजनाका लागिमात्र बजेट बढाउन पाउने अधिकार रहेको छ, भने अन्नक्षेत्रमा बजेट विनियोजन गर्ने नपाउने कानूनी आधार रहेको मन्त्रालयलेनै जनाएको छ ।

Tuesday, July 9, 2013

          बजेट असार मसान्तमै ल्याइने
          नयाँ कार्यक्रमविनै बन्यो बजेट

रोशन कार्की
काठमाडौं ।
सरकारले नयाँ कार्यक्रमविनाको बजेट ल्याउने तयारी गरेको छ । नयाँ कार्यक्रमसहित बजेट बनाइए पनि असार मसान्तभित्रै कार्यक्रम नथपी बजेट ल्याउने तयारी भएको स्रोतले जनाएको छ ।  अर्थमन्त्री शंकरप्रसाद कोइरालाले ४ महिना लगाएर तयार गरेको नयाँ कार्यक्रम र अन्य विषयमा परिवर्तन गरी तयार गरेको नयाँ आर्थिक वर्ष ०७०÷७१ को बजेटबाट नयाँ कार्यक्रम हटाइएको छ । ‘नयाँ कार्यक्रम छैन, कामचलाउ बजेट आउने भएको छ,’ अर्थ मन्त्रालय स्रोतले भन्यो ।  मन्त्रालयको एक उच्च स्रोतले दिएको जानकारीअनुसार सरकारले पूर्णबजेटका साथै नयाँ कार्यक्रम निजामती कर्मचारीको तलबमा समायोजनलगायत थुप्रै शीर्षक÷उप–शीर्षकमा बजेट निर्माण भएको थियो । तर, राष्ट्रपति रामवरण यादवले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई पूर्णबजेट र नयाँ कार्यक्रमविनै कामचलाउ बजेट ल्याउन निर्देशन दिएपछि सरकार आफ्नो अडानबाट पछि हटेको हो ।
अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘राष्ट्रपतिको निर्देशनपछि सबै कार्यक्रम हटाई कामचलाउ अर्थात् मंसिरसम्मको बजेट सार्वजनिक गरिने तयारी अर्थ मन्त्रालयले गरेको छ, त्यो बजेट असार मसान्तभित्र आउने पक्कापक्की भएको छ ।’ मन्त्रालयले असार ३१ गते बिहीबार बजेट ल्याउने अन्तिम तयारी गरेको छ । सरकारले नयाँ नीति तथा कार्यक्रम केही पनि समेटेको छैन । सरकारले ५ खर्ब ६ अर्ब रूपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको थियो । तथापि, सार्वजनिक गरिने बजेट दायरा बढाएर ५ सय १९ अर्ब रूपैयाँ पु¥याइएको स्रोतले जनायो । सरकारले लक्षित बजेट सीमामा भने व्यापक परिवर्तन गरेको छ । राष्ट्रिय योजना आयोगले दिएको बजेट सिलिङअनुसार ५ खर्ब ६ अर्ब रूपैयाँको दायरा थियो । निर्वाचनको तयारी र कर्मचारीको तलबवृद्धि भने कामचलाउ बजेटबाट गरिने भएकै कारण लक्षित सिलिङभन्दा बढी हुन गएको अर्थ मन्त्रालयले जनाएको छ । विभिन्न कर्मचारी ट्रेड युनियनले २५ प्रतिशत तलब वृद्धि गर्न दबाब दिएकाले सरकारले तलब वृद्धि गर्नै पर्ने बाध्यात्मक अवस्था व्यहोरेको स्रोतले जनायो ।

सरकारले आन्तरिकतर्फ ३ सय ४५ अर्ब राजस्व संकलन गर्ने महत्वाकांक्षी लक्ष्यसमेत बनाएको छ । २३ प्रतिशतको हाराहारीमा राजस्व लक्ष्य बढ्ने मन्त्रालयको दाबी गरेको छ । पूर्णबजेट ल्याउने सरकारको तयारी विस्तारै संकटमा परेपछि कर्मचारीलाई भने आफ्नो समर्थन रहने गरी तलब वृद्धि गर्ने भएको छ ।
सरकार पनि पूर्णबजेट नल्याई मध्यमार्गी बजेटको तयारीमा जुटेको थियो । चार महिनाअघि सरकार गठन भएपछि अर्थमन्त्री कोइरालाले चालु आर्थिक वर्षका लागि पूर्णबजेट ल्याएका थिए । त्यसअघि असारमा एक तृतीयांश र पछि अध्यादेश बजेट ल्याएर तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले सरकारी खर्चको जोहो गरेको थियो । सुरुमा सरकारले असार २६ गते, त्यसपछि असार २८ गते बजेट घोषणाको तयारी गरेको थियो । स्रोतले भन्यो, ‘अब सम्भवतः असार ३१ गते मात्रै बजेट आउनेछ तर बजेट कस्तो आउँछ, स्वयं अर्थमन्त्री, अर्थसचिवसमेत अहिलेसम्म अलमलमा परेका छन् ।’
पूर्वमन्त्रीहरू पनि पूर्णबजेटको पक्षमा छैनन्, उनीहरूले मंसिर ४ गतेसम्मका लागि मात्रै बजेट आउनुपर्ने संकेत गरेका छन् । चुनावपछि जो सरकारमा आउँछ, त्यसैले आफ्ना नीति तथा कार्यक्रमसहित बजेट बनाउने भन्दै कामचलाउ बजेट ल्याउन सरकारलाई पूर्वअर्थमन्त्रीहरूले आग्रह गरेका थिए । यसैबीच, सरकार दलहरूसँग दूरी बढाएर जोखिमपूर्ण ढंगले पूर्णबजेट ल्याउन नचाहेकै कारण र सहमतिविना नयाँ कार्यक्रमसहितको बजेट नल्याउने पक्षमा अर्थमन्त्री कोइराला पुगेको स्रोतको भनाइ छ । कर्मचारीको मागअनुसार तलब बढाउँदा बजेट सन्तुलन गर्न समस्या पर्ने र कम बढाउँदा जोखिमपूर्ण ढंगले ल्याएको पूर्णबजेटसँग रुष्ट दलहरूसँगै कर्मचारीको विरोध पनि झेल्नुपर्ने अवस्था आएपछि सरकारले कामचलाउ बजेट सार्वजनिक गर्ने भएको हो ।
तलबमा मागअनुसार वृद्धि नभए मंसिर ४ गते हुने चुनावमा सहयोग नगर्ने घोषणा कर्मचारीले गरिसकेका छन् । त्यसैले अर्थमन्त्री कोइराला अप्ठ्यारो परेका थिए । सोही धम्कीका कारण उनले एक साताअघि तलब बढाउन माग गर्ने कर्मचारी संगठनका पदाधिकारीसँग भेटेर ‘धम्कीका भरमा तलब नबढ्ने’ चेतावनी दिइसकेका छन् ।
चालु आर्थिक वर्ष सकिन एक साता बाँकी रहँदासमेत अर्थमन्त्री कोइराला बजेट कस्तो बनाउने भन्ने विषयमा रनभुल्लमा परेका छन् । उनीसँग बजेटका लागि आफ्ना नीति, कार्यक्रम र एजेन्डा छैनन्, साहित्यिक पृष्ठभूमिका कोइरालाका लागि अर्थ मन्त्रालय नौलो हो भने बजेटमा उनी अभ्यस्तसमेत छैनन् । यस्तो अवस्थामा अर्थ मन्त्रालयमा मन्त्री कोइरालालाई सहयोग गर्ने टिमसमेत नभएका कारण उनी बजेट निर्माणमा रनभुल्लमा परेका मन्त्रालय स्रोतको दाबी छ ।
अर्थमन्त्री कोइरालालाई अर्थसचिव शान्तराज सुवेदीले जुन तवरबाट बजेट निर्माण र अन्य विषयमा सहयोग पु¥याउनुपर्ने हो त्यो सहयोग नगरेको र सचिवको हैसियतले मन्त्रीलाई दिनुपर्ने सल्लाहसमेत नदिएकै कारण कोइरालालाई समस्या परेको स्रोतले जनाएको छ । कोइरालाले सुवेदीलाई तत्कालै अर्थबाट परिवर्तन गर्न खोजेको भए पनि विभिन्न कारणले उनले सचिव सुवेदीलाई हटाउन असफल भएपछि मन्त्री र सचिवबीच राम्रो सम्बन्ध पनि कायम छैन ।  बजेट बनाउने जिम्मा पाएका बजेट महाशाखा प्रमुख सहसचिव लोकदर्शन रेग्मी पनि अर्थमन्त्रीप्रति सकारात्मक छैनन्, उनी सचिव बढुवाको सूचीमा रहेका छन् । भट्टराई सरकार लम्बिएको भए उनी त्यतिबेलै सम्पत्ति शुद्धीकरण विभागको सचिव बन्ने तयारीमा थिए । तर, कोइराला आएपछि विभागलाई बलियो बनाउने र सचिव दरबन्दी तयार गर्ने विषयमा सकारात्मक नबनेपछि उनले कोइरालालाई साथ नदिएका हुन् ।
म विवादमा नआउने बजेट ल्याउँछु m अर्थमन्त्री
रोशन कार्की
काठमाडौं ।
अर्थमन्त्री शंकरप्रसाद कोइरालाले नयाँ आर्थिक वर्ष २०७०÷०७१ को बजेटका बारेमा राष्ट्रपति डा.रामबरण यादवलाई पूर्णरुपमा जानकारी गराएका छन् । विभिन्न समुहले नयाँ कार्याक्रम नीति र राजस्व दररेटसमेत समाबेश गरी पूर्ण बजेटको माग गरि रहेको अबस्थामा राष्ट्रपति डा. यादवले चालु आव सकिन ७ दिन बाँकी रहदाँ बजेटका बारे चासो राखेपछि अर्थमन्त्री कोइरालाले सोमबार विहान सवै जानकारी गराएको अर्थमन्त्रालयले जनाएको छ । उनले शितलनिवास पुगेर राष्ट्रपतिलाई आफु विवादमा पर्ने र निर्देशन विपरित कुनै पनि काम नगर्ने भन्दै नयाँ कार्याक्रम विनाको बजेट निमार्ण गरेको ‘बिफ्रिङ’ गरेका थिए ।  आगामी बजेट कस्तो बनाउने भन्नेबारे शीतल निवासमा अर्थमन्त्रालयका पदाधिकारी र शीतलनिवासवीच छलफल भएको थियो । सोमबार बिहानै भएको छलफलमा राष्ट्रपतिका सल्लाहकार र अर्थसचिव शान्तराज सुवेदीसहितको एक टोली सहभागी रहेका थिए ।
छलफलमा अर्थ सचिव सुवेदीले सरकारले अध्यादेश मार्फत् ल्याउन लागेको बजेटबारे जानकारी गराएका थिए । बजेट छलफलमा राष्ट्रपतिका नवनियुक्त आर्थिक सल्लाहकार शम्भुशरण कायस्थ, राष्ट्रपति कार्यालयका सचिव शारदाप्रसाद त्रिताल, कानूनविद् ललितबहादुर बस्नेतको समेतको सहभागिता रहेको थियो ।चुनावी सरकारले नयाँ योजना तथा कार्यक्रम राखे पूर्ण आकारको बजेट ल्याउन नमिल्ने राष्ट्रपति डा. यादवले यस अधिनै मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई निर्देशन दिएका थिए । यसअघि चैत्र २७ गते ४ खर्ब ४ अर्ब ८२ करोड ४७ लाख रुपैयाँको पूर्ण आकारको समायोजित बजेट सार्वजनिक गरेको सरकारले नयाँ आवको बजेटको तयारी गरिरहेको छ ।
अघिल्लो साता मन्त्रीपरिषद् अध्यक्ष रेग्मीले गरेको एक भेटमा राष्ट्रपति डा.  यादवले यो सरकार चुनावी भएकाले नयाँ कार्यक्रम राखेर पूर्ण आकारको बजेट नल्याउन र चुनाव सम्पन्न गर्ने विषयलाई मात्रै समेटेर बजेट अध्यादेश सिफारिस गर्न निर्देशन दिएका थिए ।  यसैविच, सरकारले विद्यमान राजनीतिक आस्थाका नीति तथा कार्यक्रमलाई निरन्तरता नदिई पूर्ण बजेट ल्याउने तयारी गरेको थियो । तर आवको अन्तमा राजनीतिक दलले सरकारीको तयारी परिवर्तन गर्न दबाब दिएपछि अन्योल देखिएको छ ।
अर्थमन्त्री कोइरालाले आगामी बजेट ‘एक वर्षको आय व्ययको विवरण हुने’ बताए । दलहरुले सरकारलाई नयाँ नीति र कार्याक्रम बिनाको बजेट ल्याउन दबाब दिइरहेका छन् । करको दर र दायरा पनि यथावत राखेर एक वर्षको बजेट ल्याउनुपर्ने र मंसिरपछि आउने निर्वाचित सरकारले नीति तथा कार्यक्रम ल्याउने दलहरुको भनाइलाई आत्मसाथ गर्दै उनले कामचलाउ बजेट ल्याउने तयारी गरको बताए   ।
अर्थमन्त्री कोइरालाले आफू ‘विवादमा नआउने बजेट’ ल्याउने पक्षमा रहेको बताए । उनले भने,‘तर नीतिगत र कार्यक्रमगत विषय बजेटले छोड्नुपर्छ भन्ने पक्षमा पनि म छैन’,
संविधानको तेस्रो संशोधनलाई आधार लिएर सरकारले बजेट जारी गर्ने उनले बताए । जननिर्वाचित सरकारले स्वामित्व ग्रहण गर्न सक्ने बजेट ल्याउने उनको भनाइ थियो ।सरकार विवादमा आउने गरी बजेट ल्याउने पक्षमा नरहेको भए पनि दलहरुको दबाबप्रति भने उनले असन्तोष जनाएका छन् । उनले भने, ‘चालू आर्थिक वर्षमा तीन पटक बजेट आउँदा कति नकारात्मक प्रभाव प¥यो भन्ने विषयमा सबै जानकार नै हुनुहुन्छ ।’
उनले यसलाई मध्यनजर गरी मुलुकको अर्थतन्त्रलाई गतिशीलता दिने बजेट ल्याउँने पक्षमा हामी रहेका बताए  । बजेटको नियमित तयारीमा व्यस्त भई अन्तिममा फेरि फरक बजेटको तयारीमा खटिनुपर्ने अर्थ मन्त्रालयका कर्मचारीको नियति पाँँचौं पटक पनि दोहोरिएको छ । यस अवधिका सबै सरकारले अन्तिम समयसम्म राजनीतिक सहमति जुट्ने दाबी गर्दै कर्मचारीलाई सामान्य अवस्थाको पूर्ण बजेट तर्जुमा गर्न निर्देशन दिएको थियो । तर केही दिन बाँकी रहँदा सरकारबाट बजेट परिमार्जनको निर्देशन दिएका कारण कर्मचारीले पुन ः बजेटमा हेरफेर गर्नु परेको छ ।
 शितलनिवासमा नयाँ बजेट


सरकारले एक वर्षका लागि बजेट ल्याउने
कमाण्डर पोष्ट
काठमाडौँ ।
अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आगामी आवको बजेट निर्माण अन्तिम चरणमा रहेको बताए । नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा आर्थिक पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित दुईदिने प्रशिक्षण कार्यक्रमको राजधानीमा आयोजित कार्याक्रमको उद्घाटन गर्दै मन्त्री कोइरालाले पूरक वा पूर्ण बजेट कुन ल्याउने भन्ने विभिन्न पक्ष र कोणबाट जेजस्ता भनाइ आए तापनि सरकारले मुलुकलाई चलाउन एक वर्षका लागि आवश्यक पर्ने बजेट सरकारले ल्याउने बताए ।
विकासकेन्द्रित बजेट ल्याइने भएकाले आफूले ल्याउने बजेटमा त्यति ठूलो विवाद नहुने तर्क बताउँदै उनले आगामी बजेटले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने जिकिर गरे । उनले भने, ‘आगामी मंसिरमा हुने संविधानसभाको निर्वाचन र मुलुकको अर्थतन्त्रलाई गति दिने ढङ्गले बजेट आउनेछ ।’
आगामी निर्वाचित सरकारले सहज रुपमा स्वीकार गर्ने गरी आगामी आव २०७०÷०७१ को बजेट निर्माण भइरहेको बताउँदै उनले अघिल्ला वर्षको बजेटको जस्तो धेरै टीकाटिप्पणी नआउने विश्वास व्यक्त गरे । पत्रकारको क्षमता अभिवृद्धि गर्न अर्थमन्त्रालयले तालिम प्रशिक्षणलगायत क्षेत्रमा संस्थागत रुपमा सहयोग गर्न तयार रहेको बताउँदै उनले व्यावसायिक र क्षमता अभिवृद्धि गर्ने खालका कार्यक्रम बनाएर अघि बढ्न सेजनलाई सुझाव दिए ।
सो अवसरमा सेजनका अध्यक्ष प्रदीप चापागाईंले आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारको व्यावसायिक क्षमता अभिवृद्धि गर्न र मुलुकमा औद्योगिकीकरणको वातावरण बनाउन सेजनले विभिन्न दृष्टिकोण प्रस्तुत गर्दै आएको बताए । निजी क्षेत्रले लगानीमैत्री वातावरण बनाउन माग गर्दै आएको सन्दर्भमा समयमै पूर्ण बजेट आउनाको विकल्प नरहेको उनले बताए । संस्थाका उपाध्यक्ष गोकर्ण अवस्थीले आर्थिक क्षेत्रमा कलम चलाउन नवइच्छुक पत्रकारका लागि क्षमता अभिवृद्धि गर्नका लागि मन्त्रालयको सहयोगमा सेजनले  प्रशिक्षण तालिम सञ्चालन गरेको जानकारी दिए । 

Monday, July 1, 2013

            
           उच्चतहलाई फाइदा, तल्लो तहलाई मर्का
रोशन कार्की
काठमाडौं ।
नयाँ आर्थिक वर्ष सुरु हुनै लाग्दा कर्मचारीको तलब वृद्धि हुने पनि निश्चित भइसकेको छ । वृद्धि हुन लागेको तलबले भने हाकिमहरूका लागि मात्र फाइदाजनक हुने भएको छ ।  निजामती कर्मचारी टे«ड युनियनले समान रूपमा तलब वृद्धिको माग राख्दै आए पनि बजेटबाट वृद्धि हुने तलब उच्चपदस्थ कर्मचारीलाई मात्र नाफामूलक हुने भएको छ । सरकारले सार्वजनिक गर्न लागेको आर्थिक वर्ष ०७०÷७१ को बजेटले निम्नतहका कर्मचारीलाई भने खासै सम्बोधन नगर्ने भएको छ । सरकारी कर्मचारीको तलब वृद्धिमा समानता नहुने भएपछि यस वर्ष पनि तल्लो तहका कर्मचारी मारमा पर्ने निश्चित छ । कर्मचारी टे«ड युनियनका पदाधिकारीले सरकारलाई जति दबाब दिए पनि अन्ततः वृद्धि हुने तलबको प्रत्यक्ष फाइदा भने सचिव र सहसचिवलाई बढी हुने अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
मन्त्रालय स्रोतका अनुसार कर्मचारीको तलबमा ३ देखि ५ हजार रूपैयाँ समान दरमा वृद्धि गर्ने कि १८ देखि २५ प्रतिशतको दरमा वृद्धि गर्ने भन्ने विषयमा अझै सरकारले निर्णय गर्न सकेको छैन । मन्त्रालयका एक अधिकारीले भने, ‘बजेट निर्माण मण्डलले ३ देखि ५ हजार रूपैयाँ र १८ देखि २५ प्रतिशत दुवैबाट तलब वृद्धिको खाका तयार गरेको छ, अर्थमन्त्रीबाट जुन लागू गर्न निर्देशन आउँछ त्यहीअनुसार बजेटमा समावेश गरिनेछ ।’
बजेट महाशाखामा सचिव र सहसचिवको तलबमा न्यूनतम ५ हजार रूपैयाँ वृद्धि गर्ने तयारी भएको छ । स्रोतले भन्यो, पियन, खरिदार, सवारी चालकलगायत तल्लो तहका कर्मचारीको हकमा भने ३ देखि ३ हजार ५ सय रूपैयाँसम्म वृद्धि गर्ने तयारी भइरहेको छ ।’  त्यसैगरी, शाखा अधिकृत र उपसचिवको हकमा भने ४ हजार रूपैयाँको दरमा वृद्धि गर्ने तयारी सरकारले गरेको छ । सरकारले एकमुष्ट रूपमा तलब वृद्धि गरे पनि प्रतिशतका आधारमा गरे पनि त्यसको मार तल्लो तहकै कर्मचारीमा पर्नेछ ।
सरकारले उच्चतहका कर्मचारीलाई अर्थात् सचिवलाई मासिक ३० हजार रूपैयाँ र पियनलाई १० हजार रूपैयाँ तलब दिँदै आएको छ । असमान तलबकै कारण लामो समयसम्म काममा व्यस्त हुनुपर्ने पियन, सवारीचालक र खरिदारको तलब अहिलेको महँगीअनुसार अत्यन्तै न्यून रहेको अर्थविद्हरूको भनाइ छ । अर्थविद्हरूका अनुसार सरकारले उच्चपदस्थ कर्मचारीको हकमा न्यून तलब वृद्धि गरिनुपर्ने र तल्लोतहका कर्मचारीको हकमा अधिकतम तलब वृद्धि गरिनुपर्ने अवस्था अहिले नै छ ।
०७०÷७१ को बजेटमा तयार गरेको प्रारम्भिक वृद्धिलाई आधार मान्ने हो भने र सरकारले १८ देखि २५ प्रतिशतका दरले वृद्धि गरिँदा सचिव र सहसचिवको मासिक तलब तल्लो तहका कर्मचारीको भन्दा साढे ३ गुणाभन्दा बढी हुन जान्छ । एकातर्फ उच्च तहका कर्मचारीको भारी मात्रामा तलब वृद्धि हुने अवस्था रहेको छ भने अर्कोतर्फ आमजनमानसमा महँगीको मार पर्ने भएको छ । अर्कोतर्फ कर्मचारी टे«ड युनियनको दबाबपछि अर्थमन्त्री शंकरप्रसाद कोइराला सुविधा बढाउने मनस्थितिमा पुगेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । अर्थमन्त्री कोइरालाले तलबमा समयसापेक्ष समायोजन गरिने बताएपछि महँगी पनि वृद्धि हुने निश्चित भएको छ । 
बजेटमा तलब वृद्धिको तयारी

सरकारले आर्थिक स्रोत र राजस्वको आधारलाई हेरेर तलब वृद्धि गर्ने बताउँदै आए पनि कर्मचारीले भने एकमुष्ट २० हजार र अन्य सेवा–सुविधा वृद्धि गर्ने दबाब दिँदै आएका छन् । कर्मचारीको मागअनुसार र अन्य मन्त्रालयले मागेको बजेटअनुसार नयाँ बजेटको आकार ठूलो हुन जाने मन्त्रालयले जनाएको छ । सो मागअनुसार नयाँ बजेट बनाउने हो भने राजस्वको लक्ष्यमा समेत ठूलो आकारमा परिवर्तन गरिनुपर्ने भएको छ ।
तलब वृद्धिको तयारीअनुसार सरकारले राजस्व ३५ प्रतिशतले बढाउनुपर्ने अवस्था छ । अस्थिर राजनीतिक र अस्थिर सरकारका कारण लक्ष्यअनुसार राजस्व संकलन गर्न चुनौतीपूर्ण छ ।
अर्थमन्त्री कोइरालाको महत्वाकांक्षासँगै कर्मचारीको तलबका साथै अन्य सुविधा वृद्धि भए आगामी आर्थिक वर्षको चालु खर्चमा पनि भारी रूपमा वृद्धि हुनेछ । न्यून आर्थिक धरातल भएको अर्थतन्त्रमा करको दरसमेत बढाएर राजस्व वृद्धि गर्नु र निर्वाचन गर्नुपर्ने मुख्य दायित्व बोकेको सरकारले तलब वृद्धिमा अल्झिनु उचित नहुनेसमेत अर्थविद्को टिप्पणी छ ।
उत्पादनमा गिरावट आई निर्यात घटेको छ र आयातमा वृद्धि भएको छ । यस्तो अवस्थामा सरकारको महत्वाकांक्षी योजना सफल हुनेमा द्विविधा छ । आर्थिक विकासमा एकपछि अर्को समस्या झेलिरहेका बेला ३५ प्रतिशतको राजस्व बढाउने नीति सफल हुनेमा पनि शंका छ ।
सरकारले राखेको ३५ प्रतिशत राजस्व बढाउने लक्ष्य हासिल गर्न करिब एक खर्ब रूपैयाँ थप उठाउनुपर्छ । राजस्वमा भन्सार, त्यहाँबाट उठ्ने मूल्य अभिवृद्धि कर र अन्तःशुल्कको हिस्सा करिब ५० प्रतिशत छ । ३५ प्रतिशतको वृद्धि महत्वाकांक्षी भएकाले आयातलाई बढावा दिनु बाध्यात्मक हुनेछ ।
राष्ट्रिय योजना आयोगले पनि प्रतिकर्मचारी ३ हजारदेखि ५ हजार रूपैयाँ तलब बढाउन प्रस्ताव गरेका बुझिएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटका लागि पाँच खर्ब ६ अर्ब रूपैयाँको प्रारिम्भक सिलिङ तोकिसकेको छ । बजेटको शीर्षगत खर्चलाई प्रशासनिक तहबाट अन्तिममा टुंगो लगाइसकेको छ भने अन्य विषयमा टुंगो लगाउन बाँकी छ । जुन असार मसान्तभित्र सम्पन्न गरी साउनको पहिलो साता बजेट सार्वजनिक गर्ने तयारी थालिएको छ । सरकारी कोषबाट तलब खानेको संख्या करिब ५ लाख रहेको छ । देशको समग्र अर्थतन्त्र विस्तार नभई बढेको ज्यालाले मुद्रास्फीति बढाउने पनि अनुमान गरिएको छ ।

Sunday, June 30, 2013

        अर्थ मन्त्रालयमा अघोषित कफ्र्यु
रोशन कार्की
काठमाडौं ।
चालु आर्थिक वर्ष ०६९÷७० सकिन १५ दिन बाँकी रहँदा बजेट निर्माणमा अवरोध पुगेको भन्दै अर्थ मन्त्रालयमा अघोषित कफ्र्यु लगाइएको छ ।  विभिन्न समूह÷उपसमूहले बजेटमा आफ्ना माग सम्बोधन गर्न र तलब वृद्धिको माग राख्दै मन्त्रालयमा आउनेको संख्या बढेपछि मन्त्रालयले बजेट महाशाखा र मन्त्री कार्यालय आसपासमा कफ्र्यु नै लगाएको एक सुरक्षाकर्मीले बताए ।
मन्त्रालयका एक कर्मचारीका अनुसार अर्थमन्त्री शंकरप्रसाद कोइरालाले बजेट निर्माणमा अवरोध पुगेको र समयमा बजेट सार्वजनिक गर्न नसकिने अवस्था आएको भन्दै अघोषित रूपमा कफ्र्यु नै लगाएको बताए ।
सरकारले आर्थिक वर्ष ०७०÷७१ कोे बजेट सार्वजनिकसँगै समयमै निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व पनि छ । तर, बजेट निर्माणपूर्व नै विभिन्न राजनीतिक दलआबद्ध निजामती कर्मचारी संघसंगठनका नेताले मन्त्रालयमा तलब वृद्धिको माग राखेपछि बजेट निर्माण मण्डल पछिल्लो समयमा तनावमा रहेकाले मन्त्रालयको पहिलो र दोस्रो तलामा अघोषित रूपमै कफ्र्यु लगाइएको मन्त्रालय स्रोतले बतायो ।
तनाव र दबाबबीच सरकार बजेटको अन्तिम तयारीमा जुटेको छ भने अर्कोतर्फ कर्मचारीको महत्वाकांक्षी माग न्यूनतम २० हजार रूपैयाँ र अन्य सेवा–सुविधालाई नयाँ बजेटमा समेटेर वृद्धि गर्न दिइएको दबाबका कारण बजेटलाई अन्तिम रूप दिन कठिनाइ उत्पन्न भएको छ ।

अर्थमन्त्री कोइरालाले राजस्व वृद्धि र उपयुक्त स्रोत भेटिए मात्रै कर्मचारीको तलब वृद्धिमा विचार पु¥याउन सकिने बताउँदै आएका छन् । कर्मचारी कुनै पनि हालतमा मागअनुसार तलब वृद्धि नभए कडा आन्दोलन गर्ने चेतावनीसमेत दिन थालेपछि समयमै बजेट ल्याउन ती दुई तलामा कोही कसैलाई जम्मा हुन नदिन कडा निर्देशन नै जारी गरेको मन्त्रालयले जनाएको छ । लामो समयदेखि तलब वृद्धि नभएको र महँगी बढेको भन्दै चुनावी सरकारका अर्थमन्त्री कोइरालालाई कर्मचारीले एकसूत्रीय माग लिएर जाने, विभिन्न संघसंस्थाले समाज विकास र परिवर्तन भन्दै बजेट माग गर्ने, अन्य मन्त्रालयले आफ्नो क्षेत्रमा रहेका विकास निर्माणका काम सम्पन्न गर्नकै लागि बजेट माग गर्नेको भीड बिहानैदेखि अर्थ मन्त्रालयमा लाग्ने गरेको छ ।
अन्तरिम चुनावी सरकारले निजामती कर्मचारीका तलब वृद्धि सामान्य गर्ने योजना बनाएका छन् । तीन वर्षदेखि वृद्धि नभएको तलब न्यूनतम ३ हजारदेखि ५ हजार रूपैयाँसम्म वृद्धि गर्न सरकारले मापदण्ड र स्रोतसमेत जुटाएको मन्त्रालयको दाबी छ । तर, असन्तुष्ट कर्मचारीले कडा दबाबका साथै हजारौँ रूपैयाँ र अन्य सेवा सुविधासहित वृद्धि गर्ने दबाब दिएपछि अर्थ मन्त्रालयको पहिलो र दोस्रो तलामा कफ्र्यु लगाइएको हो । सरकार आफ्नै कर्मचारीको घेराबन्दीमा पर्ने भएपछि मन्त्रालयले दुई तलामा दायाँ–बायाँ नहेरी हिँड्न र भीडभाड नगर्न÷नगराउन त्यहाँ तैनाथ सुरक्षाकर्मीलाई कडा आदेश दिएको हो ।
असार अन्तिम साता या साउन पहिलो साता बजेट सार्वजनिक गर्ने तयारीमा मन्त्रालयले काम गरिरहेको अवस्थामा कर्मचारीले अघोषित रूपमै मन्त्रालय घेराउ गरेर दबाब दिँदै आएकै कारण मन्त्रालय बाध्य भएर अघोषित कफ्र्यु लगाउनुपरेको मन्त्रालय स्रोतको भनाइ छ ।
राष्ट्रिय योजना आयोगले नयाँ सिलिङ दिएको छ । विगतमा राजनीतिक असहमतिका कारण पूर्णबजेट ल्याउन नसकेको कारण देखाई प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा गठन भएको सरकारले नयाँ बजेट ल्याउने कार्यमा तीव्रताका साथ काम पनि गरिरहेको छ । रेग्मी नेतृत्व सरकारले निर्वाचन र अत्यावश्यक खर्च व्यवस्थापन गर्न चालु आर्थिक वर्ष ०६९÷७० को बाँकी अवधिका लागि विनियोजित बजेट अध्यादेशमार्फत ल्याएको थियो ।
कर्मचारीको मागअनुसार तलब वृद्धि गर्दा ३० देखि ४० प्रतिशत राजस्व असुली लक्ष्य राखिनुपर्ने अवस्था छ । जुन लक्ष्य पूरा गर्ने सरकारलाई ठूलो चुनौती छ । आयातमा भएको वृद्धि र निर्यातमा आएको गिरावटका कारण महत्वाकांक्षी राजस्व संकलनको लक्ष्य राख्न नसक्ने अवस्थामा सरकार छ । पछिल्लो समय सरकारले ५ खर्ब ६ अर्ब रूपैयाँको बजेट ल्याउने तयारी गरेको छ ।

Saturday, June 29, 2013

यस्तो बन्दैछ बजेट

बजेटमा समावेश हुन आएका असीमित मागलाई सीमित स्रोतभित्र अटाउने चटारोमा छ- यतिखेर अर्थ मन्त्रालय । मन्त्रालय र अन्य निकायबाट करिब ८ खर्ब रुपैयाँ बजेट माग भएको छ । तर योजना आयोगले खर्च गर्ने सीमा ५ खर्ब ६ अर्ब रुपैयाँको मात्रै दिएको छ । ँपूरै अंक त आइसकेको छैन’, अर्थमन्त्री शंकर कोइरालाले  भने, ँसकेसम्म योजना आयोगले तोकेको सीमामै बस्ने हो ।’ मन्त्रालयको भुइँतलाको आधा भाग ओगटेको बजेट माहाशाखामा बाहिरियालाई छिर्न नदिएर एक टोली यस्तै जोड/घटाउमा जुटेको छ । पहिलो तलामा रहेको अर्थमन्त्रीको कार्यकक्ष पनि दुवैतिर सुरक्षाकर्मी राखेर प्रवेश निषेध जस्तै गरिएको छ । चुनावी सरकार भए पनि कृषि र ऊर्जामा लगानी दोब्बर गर्ने आपmनै निर्णय र तलब बढाउनुपर्ने कर्मचारीको दबाबले पनि स्रोतको व्यवस्थापन अर्थको मुख्य चुनौती छ ।
तीन वर्षदेखि सरकारी कर्मचारीको तलब नबढेको भन्दै पारिश्रमिक बढाउनुपर्ने दबाब युनियनहरूले दिइरहेका छन् । कर्मचारीको तलब ४० प्रतिशतमात्रै बढाउँदा करिब २५ अर्ब रुपैयाँको व्ययभार थपिने अर्थका अधिकारी बताउँछन् । 'कति प्रतिशतमा बढाउने भन्ने तय भइसकेको छैन,' अर्थका एक अधिकारीले भने, 'स्रोतको उपलब्धता हेर्दा २० देखि २५ प्रतिशत मात्रै बढाउन सकिएला ।'
एक महिनाअघि बढेको औद्योगिक प्रतिष्ठानका मजदुरको ज्याला र सरकारी कर्मचारीको तलब वृद्धिले मूल्यवृद्धिमा चाप पर्ने विश्लेषक बताउँछन् । यसले अनौपचारिक क्षेत्रमा कार्यरत कर्मचारी, स्वरोजगारी र कृषकलाई मर्का पर्ने उनीहरूको भनाइ छ । तयारी भइरहे पनि अर्थमन्त्री कोइराला तलब वृद्धि छलफलमै रहेको बताउँछन् ।  विद्युत् प्रसारण लाइन बनाउन बजेटमा सरकारले विशेष महत्त्व दिएको छ । कोसी, सोलु र मोदी कोरिडरमा प्रसारण लाइन बनाउन भारतको एक्जिम बैंकले सहुलियत ऋण दिने तय भइसकेको छ ।
ढल्केवार-मुजफरपुर अन्तरदेशीय प्रसारण लाइनमा सरकारको विशेष चासो छ । 'ऊर्जा यस पटकको बजेटको पहिलो प्राथमिकता हो,' कोइरालाले भने । तयारीअनुसार ऊर्जा क्षेत्रका लागि ३० अर्बभन्दा बढी विनियोजन गर्ने योजना अर्थमन्त्रीको छ । यसमा जलाशययुक्त ठूला आयोजना निर्माणको बजेट पनि छ । 'तर ऊर्जा मन्त्रालयले ऊर्जा क्षेत्रको बजेटको माग र अवस्था ल्याएकै छैन,' बजेट निर्माणमा संलग्न एक अर्का अधिकारीले भने । कृषिमा २० अर्बसम्म पुर्‍याउने तयारी छ । विशेषगरी कृषि पूर्वाधार, मासुजन्य पदार्थको उत्पादन वृद्धि, रसायनिक/प्रांगारिक मल र सिँचाइमा खर्च गर्ने योजना छ ।
बजेटका निम्ति हरेक मन्त्रालयसँग एक 'विशेष कार्यक्रम' प्रस्ताव गर्न आग्रह गरिएको थियो । तर प्रायःजसो मन्त्रालयले प्रस्ताव अझै पेस गरेका छैनन् । 'बढीजसो भत्ता बढाउने, गाडी किन्नेलगायत फजुल खर्चमा आएका छन्,' स्रोतले भन्यो, 'रोजगारी र राजस्व बढ्न सक्ने खालका कार्यक्रम आएको छैनन् ।' करिब एक महिनाअघि अर्थले सबै मन्त्रालयका सचिवलाई डाकेर एउटा कार्यक्रम मागेका थिए ।
मंसिर ४ को संविधानसभा निर्वाचनका लागि सरकारले करिब १८ अर्ब रुपैयाँ प्रबन्ध गर्ने भएको छ । गत वैशाखमा आएको बजेटमा १४ अर्ब रुपैयाँ चुनावका लागि विनियोजित थियो । प्रहरीको दरबन्दी थपिएको लगायत कारणले थप ४ अर्ब रुपैयाँको माग भएको छ । 'तर १५ अर्बभन्दा बढी दिन सकिएला जस्तो छैन,' स्रोतले भन्यो । यस पटकको बजेटले कम्तीमा एउटा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन पर्याप्त बजेट दिने भएको छ । राजधानीको मूलपानीमा जग्गा लिएर पनि बन्न नसकेको मैदान बनाउन उक्त खर्च हुनेछ ।
बैंक वित्तीय संस्था एकअर्कामा गाभिन चाहे आयकरमा छुट दिने योजना आगामी बजेटको छ । राष्ट्र बैंकले पनि मर्जरलाई प्राथमिकता दिएकाले यसलाई थप टेवा दिन खोजिएको अर्थ स्रोतको भनाइ छ । 'आयकरमा छुट दिने भन्नेबारे छलफल भइरहेको छ,' स्रोतले भन्यो, 'तर कति दिने तय भएको छैन ।' यसैगरी आर्थिक अध्यादेशबाट कमोडिटी बजारलाई नियमन गर्ने योजना र स्टक एक्सचेन्जको पूरा अटोमेसन पनि प्राथमिकतामा छ ।
सहरी क्षेत्रका सडकमा सोलार बत्ती राख्ने योजना अर्थको छ । यससँगै लगातार ५ वर्ष बैंकिङ च्यानलबाट रेमिट्यान्स पठाउने वैदेशिक रोजगारमा गएका युवालाई प्रोत्साहनको व्यवस्था गर्ने तयारी पनि छ । उनीहरू स्वदेश फर्किएपछि निश्चित अवधिका लागि मासिक भत्ता दिइने अर्थ स्रोतले भन्यो । सुदूरपश्चिममा एउटा मेडिकल कलेज सरकारले नै बनाउने विषय पनि बजेटमा समेट्ने योजना छ ।
आगामी बजेटले कम्तीमा ३ खर्ब ६० अर्ब रुपैयाँ राजस्वबाट उठ्ने अनुमान गर्ने छ । यो चालू आर्थिक वर्षमा उठेको बजेटभन्दा २५ प्रतिशत बढी हो । सुरुमा त अर्थमन्त्री कोइरालाले ३५ प्रतिशत बढाएर झन्डै एक खर्ब थप उठाउने दाबी गरेका थिए । 'तर लगानी, आयात सबैको अवस्था हेर्दा २० प्रतिशत राजस्व वृद्धि हुन्छ,' अर्थ स्रोतले भन्यो, 'साढे ३ खर्बजति राजस्व उठ्न सक्छ ।'
यससँगै दातृ निकायले करिब १ खर्ब १६ अर्ब रुपैयाँ दिने प्रतिबद्धता जनाइसकेका छन् । यो खर्च गर्ने क्षमतामा बढी निर्भर हुन्छ । चालू आर्थिक वर्षको जेठ मसान्तसम्म ३३ अर्ब विदेशी सहायता आएको छ । जबकि दातृ निकायले ७३ अर्ब दिने प्रतिबद्धता जनाएका थिए । 'प्रतिबद्धता जनाएजति सहायता आउँदैन,' अर्थ स्रोतले भन्यो ।
यसरी हेर्दा ४० अर्ब रुपैयाँ मात्रै आन्तरिक ऋण उठाए खर्च धान्न सकिन्छ । तर अर्थमन्त्रीको प्राथमिकता मात्रै हेर्ने हो भने पनि अहिलेको सम्भाव्य स्रोतले पूरा गर्न सक्ने देखिँदैन । निर्वाचन, तलब वृद्धि र प्राथमिकता प्राप्त आयोजनामा खर्च गर्न पनि करिब १ खर्ब रुपैयाँ थप राजस्व उठ्नुपर्छ । 'स्रोत नबढ्ने भएकाले यतिखेर हाम्रो मुख्य काम खर्च कटौतीमै छ,' बजेट निर्माणमा संलग्न एक अधिकारीले भने ।

Friday, June 28, 2013

ग्यास कारोबारीसँग सरकार झुक्दा उपभोक्ता मारमा
रोशन कार्की
काठमाडौं ।
ग्यास व्यवसायीका मागमा सरकार नम्र बन्दा उपभोक्ता मारमा परेका छन् । विभिन्न माग राखेर व्यवसायी आन्दोलित भएपछि सरकारले उपभोक्तालाई पर्ने मार ख्याल नगरी सहमति गरेको हो । व्यवसायीको दबाब थेग्न नसकेपछि सरकारले पेट्रोलियम पदार्थ तथा ग्यास नियमन आदेशलाई समेत स्थगित गरेर व्यवसायीकै इच्छाअनुसार माग पूरा गरेको थियो । यसको प्रत्यक्ष मार उपभोक्ताले खेपेका छन् ।
वाणिज्य तथा आपूर्तिमन्त्री, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच भएको सहमतिपछि सरकारले सो आदेश स्थगन गरेको थियो । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई सरकारले निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको कारोबार गर्न दिने उद्देश्यले आदेश जारी गरेको थियो ।
आदेशमा पेट्रोल, ग्यास र रिफाइनरी उद्योग स्थापनाका लागि २० अर्ब तथा नेपाल आयल निगमले जस्तै पेट्रोलियम पदार्थ आपूर्ति र वितरण गर्न निजी क्षेत्रको कम्पनी स्थापनाका लागि २० अर्ब रूपैयाँ चुक्ता पुँजी राख्नुपर्ने व्यवस्था गरेकोे थियो । उपभोक्ताका हितमा ल्याइन लागेको नियमन आदेश व्यवसायीका दबाबका कारण लागू हुन सकेन । सरकारकै कारण व्यवसायीका माग विनाअध्ययन पूरा भएपछि उपभोक्ताले महँगोमा ग्यास खरिद गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

वाणिज्य विभागले ग्यास व्यवसायीले माग्दै आएको कमिसन र सुविधा नबढाउने बताए पनि व्यवसायीका अन्दोलनले कमिसन र अन्य सुविधा बढेपछि व्यवसायीले नै कालोबजारी सुरु गरेका छन् । विभागका प्रमुख नारायणप्रसाद बिडारीले उपभोक्तालाई मार पार्ने गरी आन्दोलनमा उत्रिने एलपी ग्यास उद्योग संघमाथि कारबाहीको चेतावनीसमेत दिएका थिए ।
बिडारीले उपभोक्तालाई असर पर्ने कुनै पनि गतिविधि गरे उद्योग सञ्चालक कारबाहीमा पर्ने चेतावनी दिएको २४ घन्टा नबित्दै सरकारले नतमस्तक भएर व्यवसायीका माग पूरा गरेको थियो । संघले विभिन्न १६ बुँदे माग राखेर आन्दोलन सुरु गरेका बेला विभागका प्रमुख बिडारीले बजारमा ग्यास अभाव गराउने उद्योगी र व्यापारीमाथि कारबाही गर्ने चेतावनी दिएका थिए । उनले अनावश्यक माग अघि सारेर संघले आन्दोलनका कार्यक्रम अघि सारेको बताएका थिए ।
ग्यास उद्योगीले ग्यासको बजार भद्रगोल बनाउँदासमेत सरकारले कुनै कारबाही नगरी कमिसन बढाएकामा उपभोक्ता आक्रोशित छन् । उपभोक्तालाई दिने भनिएको सिलिन्डरमा उद्योगीले कमिसन लिएर व्यावसायिक प्रयोजनमा धमाधम कार्ड वितरण भराइरहेको छ ।
एकातर्फ सरकारले ग्यासमा लगाउँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट)कै कारण उपभोक्ताले अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार महँगोमा ग्यास खरिद गर्नुपर्ने बाध्यता छ भने लामो समयदेखि व्यवसायीले भ्याट छुटमा ग्यास चलाइरहेको समेत ग्यास बिक्रेता महासंघले जनाएको छ । ग्यास बिक्रेता महासंघका अनुसार उपभोक्ताले पूरै भ्याटसहितको मूल्यमा ग्यास खरिद गरिरहेका कारण सरकारले तत्काल भ्याट फिर्ता गर्नुपर्नेमा उल्टो उपभोक्तामाथि मार पर्ने गरी कमिसन वृद्धि गरेको छ ।
एउटै मूल्य उपभोक्ता र व्यवसायीलाई तोक्दा उपभोक्ता फेरि पनि घाटामै रहने महासंघको भनाइ थियो । उपभोक्तालाई घटाएकै मूल्य १ हजार ४ सय २५ र व्यवसायीलाई बढाएको मूल्य प्रतिसिलिन्डर २ हजार १ सय ३० रूपैयाँमा ग्यास उपलब्ध गराउनु नै उचित हुने बिक्रेता महासंघले जनाएको छ ।
ग्यास बिक्रीलाई खुला र प्रतिस्पर्धी बनाएर लैजान सके मात्र बजार व्यवस्थित हुनेमा सरकार र व्यवसायीको मिलेमतोमा भएको कमिसन वृद्धिले प्रत्यक्ष फाइदा उद्योगीलाई मात्र हुने निश्चित भएको महासंघको भनाइ छ । बिक्रेताको अधिकार मिच्दै उद्योगीले कमिसनले आफ्ना मानिसलाई सिधै बजारमा ग्यास पु¥याउन लगाउने गरेको आरोप पनि बिक्रेताले उद्योगीलाई लगाएका छन् ।

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...